सहमतिसँगै मेलम्चीको पानी साँझदेखि वितरण हुने

सहमतिसँगै मेलम्चीको पानी साँझदेखि वितरण हुने

काठमाडौं : बन्द भएको साढे तीन महिनामै मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँमा वितरण हुने भएको छ। वर्षायाम सुरु भएसँगै ७ असारदेखि बन्द भएको मेलम्ची आयोजनाको पानी मङ्गलवार साँझदेखि उपभोक्ताको धारामा पठाउने खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए।

मनसुनजन्य विपत्तिबाट आयोजनाको हेडबक्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ। सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको बन्द गरिएको मूलद्वार खानेपानी मन्त्री यादवको पहलमा साढे तीन महिनामै खोल्न लागिएको हो।

२०७७ सात चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रूपमा काठमाडौँमा उपत्यकामा वितरण सुरु भएको थियो। तर, २०७८ सालमा आएको बाढी पहिरोले मेलम्चीको मुहानमा क्षति पुर्‍याउनुका साथै स्थानीयको घर बगाएको थियो। मानवीय क्षति समेत भएको थियो।

स्थानीयले बाढी पहिरोबाट पुगेको क्षति नपाएसम्म काठमाडौँमा पानी नपठाउने अडान लिएका थिए। तर, खानेपानी मन्त्री यादवले तीन महिनाभित्र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि मङ्गलवारदेखि नै मेलम्चीको पानी काठमाडौं पठाउन स्थानीय सहमत भएका हुन्।

उनले देशमा विपत्ति परेको बेला सहयोग गर्न अनुरोध गरे पछि सङ्घर्ष समिति पानी काठमाडौं पठाउन सहमत भएको बताए। ‘राज्य आफैँ पुग्यो भने जनतामा आशा पनि हुन्छ,निराशा कम हुन्छ,’उनले भने,‘म आफैँ पुगे,आक्रोश थियो, आक्रोशको कदर गरेर हात जोडेर बिन्ती गरेर, अनुरोध गरेर पानी खोल्न अनुरोध गरे।’

मन्त्री यादवका अनुसार मेलम्चीको पानी केहीबेरमा सुन्दरीजल पठाइनेछ। त्यसलगत्तै साँझबाट काठमाडौं उपत्यकामा वितरण गरिनेछ। सहमतिअनुसार आयोजना पुनःनिर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन हुने सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पेस गर्नेगरी अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले पहल गर्नेछ।

मन्त्री यादवले ८ महिना बन्द हुने र ४ महिना मात्रै वितरण हुने अवस्था आफ्नै कार्यकालमा अन्त्य गर्न पहल गरिरहेको बताए। मेलम्चीको बाढीप्रभावितले राख्दै आएका माग केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सहमति भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।

मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भेलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडक कालोपत्रेका लागि प्राथमिकतामा राखेर सङ्घीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने सहमति भएको छ।

बाढीले बगाएका मेलम्चीको पुल, चनौटेको रातोपुल, कात्तिके, घट्टेखोला, हल्दे, तिम्बु, नाकोते, तालामाराङ भट्टार, गोरेखोला र सर्कथलीको पुल निर्माणका लागि पहल गर्ने सहमति भएको छ।

त्यस्तै चिउरीखर्क, ओडारे, तिम्बु, ढोरोसिंह, थापाटार-भाङटार, महांकाल, तारूकेटार, ज्यामिरे, शेराचौकी, पाल्चोक शेरा र ग्याल्थुमबाट पाल्चोक गैरबेसी झोलुङ्गे पुल निर्माणका लागि विशेष पहल गरी बजेट व्यवस्था गर्ने सहमति भएको छ।

२०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढीले मेलम्ची नदी तटीय क्षेत्र तहसनहस पारेको थियो। मेलम्ची क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकतामा नराखी पानी पथान्तरण गरेको भन्दै बाढी प्रभावित स्थानीय सङ्घर्षमा उत्रिएका थिए।

उनीहरूले बाढीबाट ज्यान गुमाएका हेलम्बु भेगका १४ जनलाई जनही १०/१० लाख रुपैयाँ दिनुपर्ने, बाढीबाट घरबास गुमाएकालाई आवास निर्माणका तत्काल अनुदान दिनुपर्ने लगायत १७ बुँदे माग राखेर आन्दोलन गरेका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.