सङ्कटग्रस्त पालिका ६५ पुग्ने, क्षतिग्रस्त सडक सञ्चालनमा सेना

सङ्कटग्रस्त पालिका ६५ पुग्ने, क्षतिग्रस्त सडक सञ्चालनमा सेना

काठमाडौं : सरकारले विपद् सङ्कटग्रस्त पालिकाको सङ्ख्या थप गरेको छ। यसअघि ४२ पालिकालाई सङ्कटग्रस्त घोषणा गरेको सरकारले सङ्ख्या थप गरेर ५९ पुर्‍याएको छ।

अझै सङ्ख्या थपेर ६५ पुर्‍याउने तयारी सरकारले गरेको छ। विपद्पछिको विपत्तिमा भिजिबिलिटी गुमाएको सरकारले ५९ पालिकालाई विपद् सङ्कटग्रस्त पालिका घोषणा गरेको छ।

सङ्ख्या थप भए सङ्कटग्रस्त पालिका ६५ पुग्नेछन्। हचुवा र गैरजिम्मेवार भएर विपद् सङ्कटग्रस्त पालिका घोषणा गरेको भन्दै सिन्धुपाल्चोकका ५ सांसदहरूले असन्तुष्टि जनाएका थिए। मङ्गलवार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद् सङ्कटग्रस्त पालिका अझै बढ्न सक्ने बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल सङ्कटग्रस्त घोषित स्थानीय तहमा सबै निकाय केन्द्रित भएर काम गर्ने कानुनी व्यवस्था रहेको जानकारी दिए।

बाढी पहिरोको हप्ता दश दिन नाघिसक्दासमेत कतिपय राजमार्ग र सडक खुलाउन नसकिएको भन्दै कार्यकारी प्रमुख पोखरेलले पीडितको भत्कन लागेको घर पनि सरकारले भत्काइदिनुपर्ने अवस्था रहेको उल्लेख गरे।

उनका अनुसार अस्थायी आवास र निजी आवासको व्यवस्था नहुन्जेलसम्म पीडितलाई सार्वजनिक ठाउँमा राख्नेदेखि खोलो तर्काउनेसम्मको काम गर्न पनि कानुनी आधार नै खोजिने गरिएको छ।

बाढी पहिरोले क्षति पुर्‍याएको १० दिनपछि सङ्घीय सरकारका मन्त्रीहरू बल्ल प्रभावित क्षेत्रमा पुग्न थालेका छन्। मङ्गलवार तीन मन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सिन्धुली र सिन्धुपाल्चोक पुगेको छ।

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर राईसहितको टोलीले प्रभावित क्षेत्रको अवलोकन गरेको हो।

अवलोकनका क्रममा गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्सनसहित विपद्का कारण अवरुद्ध बिपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताए। मन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरे।

६ हजार सेना परिचालन

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ। हालैको बाढी पहिरोबाट क्षतिग्रस्त पुलहरूमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जानकारी दिए।

सिन्धुपाल्चोकमा बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न पुगेका उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए।

नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्न ६ हजार सैनिक खटाएको छ। अविरल वर्षासँगको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न ६ हजार सकल दर्जा खटिइरहेको प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए।

सेना विपद् प्रभावित जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरसँगै काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप र पाँचथरमा तत्काल खोज तथा उद्धारमा जुटेको उनले बताए।

बिपी राजमार्ग, अरनिको राजमार्ग, मध्यपहाडी लोकमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलगायत राजमार्ग तथा ग्रामीण सडक, दुई जिल्ला जोड्ने पक्की पुल निर्माण गरी यातायात सञ्चालन गर्न सेनाका प्राविधिकसहितका जनशक्ति खटिएका छन्।

खुर्कोटस्थित सुनकोसी नदीमा ‘बेलीब्रिज’ राख्ने तथा रोशी खोला करिडोरअन्तर्गत बिपी राजमार्गको ठाउँठाउँमा क्षतिग्रस्त सडकको विस्तृत अध्ययनका लागि सेनाका प्राविधिकले सडक विभागको टोलीलाई सहयोग पुर्‍याएको सहायक रथी केसीले बताए।

बाढी पहिरोका कारण क्षति भएका विभिन्न ५ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। बिपी राजमार्ग अन्तरगत काभ्रेको रोशी गाउँपालिका–८ चारसयबेंसी र भ्याकुरेमा सडक पूर्ण रूपमा अवरुद्ध छ।

यस्तै रामेछाप–सिन्धुली–खुर्कोट, बाह्रबिसे–तातोपानी, बझाङको छबिसपाथीभेरास्थित जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। अन्य राजमार्गका विभिन्न ८ स्थानमा सडक एकतिर्फ छन्।

मनसुन बाहिरिँदै

चाडपर्वको मुखैमा विध्वंस मच्चाएर यो वर्षको मनसुन आंशिक रूपमा बाहिरिएको छ। गृह मन्त्रालयको विवरण अनुसार असोज ११ र १२ दुई दिनको अविरल वर्षाले २४६ जनाको ज्यान लियो भने अझै १८ जना बेपत्ता छन्।

वर्षाले क्षतविक्षत भएका सडकमा कष्टकर यात्रा गर्दै दशैं मान्न घर जानु पर्ने बाध्यतामा सर्वसाधारण छन्। विपत्तिको अवस्था सिर्जना गरेर यस वर्षको मनसुन कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागबाट बाहिरिएको छ भने काठमाडौं उपत्यका लगायत बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेस प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट पनि बाहिरिएको छ।

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.