सरकार फेष्टिभ मुडमा, १८ जना अझै बेपत्ता

सरकार फेष्टिभ मुडमा, १८ जना अझै बेपत्ता

काठमाडौं : असोज दोस्रो साताको विपद्बाट क्षत विच्छेद बनेका स्थानीय तहका पीडितको दसैँ खल्लो भएको छ। असोज ११ र १२ गतेको बाढी पहिरो र डुबानबाट १४ जिल्लाका ७१ पालिका बढी प्रभावित भएका छन्। २४६ जनाको मृत्यु भएको छ। १८ जना अझै बेपत्ता छन्।

सरकारले ७१ पालिकालाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। बाढी पहिरो र डुबानले राजमार्ग अवरुद्ध बनाएपछि विगत वर्षको तुलनामा यसपटक दसैँको उल्लास देखिएन। कतिपय घर जान समेत पाएनन्।

बाढी पहिरोले अवरुद्ध सडक सुचारु गर्ने र बेपत्ता भएका व्यक्तिको खोजी बाहेक अरू काम पहिले नै सकिसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए।

बाढी पीडितले राहतको हात फैलाइरहँदा सरकार फेष्टिभ मुडमा छ। सरकारी कार्यालयहरू बन्द छन्। कर्मचारीहरू दसैँ बिदा मनाइरहेका छन्।

सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरू झन्डा हल्लाउँदैमा दिन कटाइरहेका छन्। गृह मन्त्रालयका अनुसार दसैँ बिदामा आकस्मिक रेन्सपोन्स बाहेकका काम बन्द छन्। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आकस्मिक रेन्पोन्स गरिरहेको बताए।

दसैँ सुरु भए पछि राहत तथा पुनर्निर्माणलाई प्राथमिकतासाथ अघि बढाउने बताएको सरकारले पीडितको दसैँ सुखद बनाउन सकेन। विपद् प्रभावित क्षेत्रमा सडक बाटो, बिजुली बत्ती र शुद्ध खानेपानी नै हालसम्म बन्द छ।

ललितपुर, काभ्रे, सिन्धुली, चितवन, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, पाँचथर, उदयपुर बाढी पहिरोबाट बढी प्रभावित भएका छन्। काभ्रेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढी पहिरो पीडितले भोकभोकै अँध्यारोमै दसैँ मनाउनु परेको बताए।

घाइतेहरूको उद्धार गरेको सङ्घीय सरकारले मृतकलाई दिने २ लाख राहत पनि अझै पाउन सकेका छैनन्। रोशी गाउँपालिकामा बाढी पहिरोले १२ जनाको मृत्यु भएको छ। अझै दुई जनाले राहत पाउन नसकेको अध्यक्ष लामाले बताए।

मृतकका परिवारलाई काजक्रिया खर्च भनेर ५० हजार दिएको गाउँपालिकाले खाद्यान्न, खानेपानीको पाइप, बिजुली बत्ती बाल्ने काम गरिरहेको जनाएको छ। क्षतिको पूर्ण विवरण नै सङ्कलन भइनसकेको र दसैँ लागेकोले राहत वितरण गर्न नसकिएको अध्यक्ष लामाले जानकारी दिए।

एक साताअघिको बाढी पहिरो पीडितले मात्र होइन एक वर्षअघिको भूकम्पबाट प्रभावित भएकाहरूको दसैँ पनि उत्साहपूर्ण हुन सकेन। उक्त भूकम्पबाट वासस्थान गुमाएका जाजरकोट, रुकुमपश्चिम र सल्यानका पीडितहरूको अवस्था अझै कष्टकर रहेको छ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार जाजरकोट भूकम्पमा परेर २६ हजार घरहरू पूर्ण रूपमा र ३५ हजार भन्दा बढी घरहरूमा आंशिक क्षति पुगेको थियो। विद्यालय भवनहरू, ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्त्विक महत्वका धरोहरहरू समेत ध्वस्त भएका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.