आध्यात्मिक चेतना र धार्मिक आस्थालाई जीवनको दर्शन मानेर जीवन व्यतित गरिरहेका सादा जीवन उच्च विचारमा विश्वास राख्ने कर्मप्रायण नेता एवं पूर्वमन्त्री तथा राजदूत दीपकुमार उपाध्यायसँग नैतिक मूल्य, मान्यता र आदर्श विचारका बारेमा केन्द्रित रहेर स्वतन्त्र पत्रकार सञ्जय पन्थीले गरेको कुराकानीको संक्षिप्त अंश।
पछिल्ला दिनहरू कसरी व्यथित गरिरहनुभएको छ?
सामान्य नै भन्नुपर्छ, मेरो स्वास्थ्यको कारणले स्वास्थ्य लाभ गरेर बिताइरहेको छु। मेरो गृह जिल्ला कपिलवस्तु त्यसैले कपिलवस्तु काठमाडौँ गरिरहन्छु र सीमित मानिसहरूसँग मात्र भेटघाट वा सम्पर्कमा रहन्छु।
कुनै समय त सक्रिय राजनीतिमा रहेर नेतृत्व गरेको मानिस पछिल्ला दिनहरूमा राजनीतिक परिदृश्य देख्दा कस्तो लाग्छ?
सबैभन्दा पहिला त जीवन के हो बुझ्नु आवश्यक छ। जीवन त रमाइलो छ। मैले बुझेको जीवन जर्नी फरम जिरो टु जिरो भन्न रुचाउँछु। अर्थात् जीवन शून्यबाट सुरु भएर शून्यतामा नै अन्त्य हुन्छ। मानिस जन्मेको क्षण कल्पना गर्ने हो। तर अनुभव त गर्न सक्दैन र त्यसैगरी अन्त्य पनि कसरी हुन्छ सायदै कल्पना गरेको हुन्छ। अन्त्य कल्पना गर्न सक्नु अध्यात्म हो। र मैले बुझेको आध्यात्मिक जीवन त्यही हो।
त्यसैले जीवनको मूल्य बुझ्न आवश्यक छ। फेरि जिज्ञासा हुनसक्छ तपाईँले बुझेको जीवनको मूल्य के हो? भनेर। मैले बुझेको जीवन अध्यात्ममा आधारित जीवन शैली हो। अलिकति पनि आध्यात्मिक चेत नभएको मान्छे जे पनि बोल्छ। जे पनि गर्छ अहिले भइरहेको त्यही हो। त्यसैले राजनीतिमा लाग्नेहरूले अलिकति आध्यात्मिक चेतनालाई मनन गर्ने की? हुन त धर्मलाई अफिम भन्नेहरू पनि हुनुहुन्छ। तर म धर्मलाई अध्यात्म मान्छु। धर्म र अधर्मको ख्यालै भएन भने त्यो मान्छे कस्तो चेतनाको होला?
यही सन्दर्भमा गान्धीजीलाई स्मरण गर्न चाहन्छु। गान्धीजीले भन्नु पनि भएको छ, यदि विज्ञानमा धर्म भए भने त्यो हिंसक हुन जान्छ। अर्थशास्त्रमा धर्म भएन भने त्यो आसुरी भएर जान्छ। त्यसैगरी राजनीतिमा पनि धर्मको पालना भएन भने कि त ऊ दास हुन्छ की आसक्त मात्र हुन्छ।
अहिलेको हाम्रो राजनीति गान्धीजीले भने जस्तै कि त दासहरूले भरिपूर्ण छ कि आशक्तहरूको मण्डली बन्न पुगेको छ। नेताहरूका वक्तव्य र बोली सुन्दा कुनै बेलाका सर्कसमा प्रहसन देखाउने जोकर जस्तो लाग्छ। भन्नुको तात्पर्य भिडलाई आफूतिर आकर्षण मात्र गर्नु। त्यसको परिणाम के हुन्छ भनेर ख्याल नै नभएको देख्दा दिक्क लाग्छ। मृत्यु त अवश्यम भावी छ। त्यसका लागि पनि सोच राखे हुने नि? तर त्यो कुरालाई बिर्सिएको देख्दा अचम्म पनि लाग्छ। त्यसैले नेताहरूको सङ्गतमा भन्दा यतिबेला जनताको सङ्गत र सेवामा म क्रियाशील छु, त्यसमै आफ्नो जीवन व्यथित गरिरहेको छु। माग्नेहरूलाई अनुभवका आधारमा सुझाव पनि दिन्छु।
यही नेतृत्वकै सहकर्मी र सहयात्री पनि हो। जथाभाबी बोलेको देख्दा कहिलेकाहीँ सुझाव दिऊँ जस्तो लाग्दैन?
सुझाव पनि त माग्नेलाई नै दिने हो। नमागी दिने कुरा पनि भएन। आखिर सुन्ने कसले? सुन्न सक्ने गुण कसैमा पनि देखिँदैन। यही प्रसङ्गमा दिवङ्गत नेता प्रदीप गिरीलाई स्मरण गर्न चाहन्छु। उहाँ जीवित हुँदासम्म कहिलेकाहीँ यी यस्ता सवालहरूमा हामी संवाद गर्थ्यो। हाम्रो संवादको सवाल हुन्थ्यो। यी नेताहरूलाई कसरी सुधार्ने होला? जति भने पनि सुध्रिँदैनन्? म त सक्रिय राजनीतिबाट अलग नै भएको छु। दुखद संयोग प्रदीप गिरिजी धर्तीबाट नै बिदा हुनुभयो। हाम्रो सक्रियतालाई भाग खोसेको मान्नेहरू यतिबेला पक्कै पनि खुसी होलान्। किनकि आफ्ना लागि स्थान सुरक्षित भयो भनेर। वर्तमान परिणतिका लागि नेतृत्व पङ्क्ति जिम्मेवार छ। त्यो काँग्रेस होला एमाले होला। माओवादी होला अरू कोही एबीसी किन नहोस्? वर्तमान अवस्थाको जिम्मेवारी धेरथोर मैले पनि लिनुपर्छ। त्यसमा म स्पष्ट छु। नढाँटी भन्नुपर्दा राजनीतिमा उत्साह नै मरिसक्यो त्यसैले अचेल नेताहरूसँग सम्पर्कमा रहे पनि सुझाव गर्दिन।
नेतृत्वले जनअपेक्षालाई पूरा गर्न नसकेकै हो। कुनै समय पार्टीको आन्तरिक जीवन र समाज वा वादको बारेमा, संवाद हुन्थे एक अर्काबीच पारस्परिक सम्बन्ध रहन्थ्यो। सुमधुर सम्बन्धले गर्दा केही उत्प्रेरणा पनि जागृत हुन्थ्यो। तर अहिले त समयमा निकै बदलाव आइसकेको छ। कोही कसैको निस्वार्थ सुझाव ग्रहण गर्नै चाहँदैन। कसैका गयो भने के माग्न आयो जस्तो गरिन्छ। निहित स्वार्थभन्दा बाहिर कुनै सम्बन्ध नै छैन जस्तो भइसक्यो। विडम्बना नै भन्नुपर्छ लोकतन्त्रमा स्वतन्त्रता भन्दा स्वच्छन्दता हाबी भएर गयो। यसको परिणति के होला कसैले अन्दाज गरेको छ? मैले त शुभ सङ्केत देखिरहेको छैन।
यति भनिरहँदा मैले अरूलाई गलत साबित गर्न खोजेको पक्कै हैन। प्रवृत्तिलाई उजागर गरेर दर्पण मात्र गराउन खोजेको हुँ। स्वयं म आध्यात्मिक चेतना र चिन्तनको मानिस, त्यसैले अध्यात्ममा विश्वास गर्छु। अझै त्यसैमा भन्नु पर्दा गीतामा विश्वास गर्छु। कर्म गर फलको आस नगर र त्यो कर्म पनि तिमी आफै गर अर्कालाई अर्ति उपदेश नगर।
भलै पुस्ताका हिसाबले केही ग्याप रहे पनि यहाँहरू त गणेशमान, किसुनजी, गिरिजाप्रसाद कोइरालाको सङ्गतमा राजनीति गरेको मानिस हुनुहुन्छ। उहाँहरूले राजनीतिमा भविष्यको भयावहलाई मनन गर्नुभएन?
उल्लेखित तीन जना नेताहरूमध्ये गणेशमानजीले त भविष्यको भयावहलाई चिन्ता गर्नुभएको हो। त्यस चिन्ताको परिणाम उहाँले आफ्नो जीवनमा स्वयं भोग्नुपर्योल। त्यसैगरी किसुनजीले पनि केही गर्नुभएको, आफैले त्याग तपस्या गरेर हुर्काएको पार्टी जीवनको उत्तरार्धमा परित्यागसम्म गर्नुपर्योभ। तर गिरिजा बाबुले किसुनजी र गणेशमानको तुलनामा चिन्ता कम प्रकट गरेको पाउँथे।
गिरिजा बाबु वर्तमानमा धेरै रमाउने नेता हो। त्यसैले किसुनजी र गणेशमानजीको तुलनामा कार्यकर्ताहरूको भिडभाड गिरिजा बाबुको निवासमा रहन्थ्यो र बिहानैदेखि कार्यकर्ताको भिडभाडका बीच उहाँले कार्यकर्ताका गुनासाहरू सुन्नमा बढी समय व्यतीत गर्नुहुन्थ्यो। गुनासाहरू कति उपयोगी रहन्थे वा अनुपयोगी रहन्थे। त्यो समय र काल खण्डले प्रमाणित गरिसकेको छ। त्यसैले त्यस बारेमा धेरै टिका टिप्पणी नगरौँ। किसुनजी र गिरिजाबाबुको धार नै अलग थियो।
दुई नेताका धारको कुरा अलिक स्पष्ट पारिदिनुस् न?
किसुनजी कठोर अनुशासनको मानिस, उहाँ समयलाई निकै ख्याल गर्ने र प्रतिबद्ध रहने नेता हो। समयको पालना नगर्नेहरूसँग उहाँको मेल खाँदैनथ्यो।किसुनजीलाई रमाइलो पनि गर्नुपर्ने हाँसो ठट्टा पनि गर्नुपर्ने उहाँ विनोद प्रिय नेता हो। गिरिजा बाबुलाई जस्तो भेट्न सहज किसुनजीलाई हुँदैनथ्यो। गिरिजा बाबुलाई भेट्न बिहानै ५ बजे पुग्नेले पनि भेट पाउन सम्भव रहन्थ्यो भने। किसुनजीसँग त्यो सम्भव थिएन। किसुनजी सरल र सादा जीवन बिताउन रमाउने बिन्दास नेता हो।
गिरिजाबाबु पछिल्लो पटक प्रधानमन्त्री भइरहँदा स्वास्थ्यका कारण अलि गल्नु पनि भएको थियो। तर पनि उहाँसँग भेट गर्न पुग्नेहरूलाई सम्भव भएसम्म भेट दिनुहुन्थ्यो। कतिसम्म भने उहाँ अक्सिजन लगाएर मिटिङ एटेन्ट गरेका अनुभव मसँग पनि छ। दुवै नेताका आआफ्नै किसिमका गुण छन्। त्यसैले तुलना नगरौँ।
बहुदल आइसकेपछि किसुनजीको सामीप्यमा रहने नेताहरूमा प्रदीप गिरी र तपाईँ पनि पर्नुहुन्छ। प्रदीप गिरी आदर्शका हिसाबले उच्च विचारक भए पनि जीवनशैली सादा भएका गान्धीवादी नेता हुनुहुन्थ्यो। तपाईँ पनि सादा जीवन व्यथित गर्ने नेताहरूमा परिचित हुनुहुन्छ। त्यो गुण तपाईँहरूमा किसुनजीको सङ्गतबाट स्थान्तरित भएको त हैन?
मन्द मुस्कान,…। प्रदीप गिरी त विचारक नै हुनुभयो। उहाँमा प्रभावको कुरा नगरौँ। अवश्य तपाईँले भने जसरी किसुनजीको सामिप्यतामा हामी प्रगाढ रह्यो। प्रदीपजीमा कति प्रभाव रह्यो? त्यो त म भन्न सक्दिन तर मेरो सन्दर्भमा भन्नुहुन्छ भने केही न केही छ। किनकि उहाँ आध्यात्मिक स्वभावको नेता हुनुहुन्थ्यो साथै गीतामा विश्वास गर्नुहुन्थ्यो र कुनै पनि कुराको प्रसङ्गमा गीताको सन्दर्भलाई लिएर व्याख्यान गर्न सक्ने ज्ञानको उच्चतम तह थियो। र किसुनजीका कतिपय स्वदेश तथा विदेशका यात्राहरूमा सँगै सहयात्री हुने अवसर पनि जुरेको अनुभव यहाँ सेयर गर्न चाहन्छु। विशेषगरी भारतको यात्राका बारेमा उहाँ विशेषगरी भारतमा साधु, सन्त, महन्तहरूका निमन्त्रणामा पुग्नुहुन्थ्यो। ती विशेष कार्यक्रमहरूको आयोजना धनाढ्य व्यापारिक वर्गहरूले गरेका हुन्थे र ती व्यापारीहरू कतिसम्म सेवाभावका रहन्थ्यो भने उनीहरू स्वयं साधु सन्त र महन्तहरूलाई खाना पकाएर खुवाउन र व्यवस्थापनमा आफै तल्लीन रहन्थे। त्यो सेवा सत्कार वर्तमान नेपाली नेतृत्वले सायदै पाउला?
कतिसम्म भने निमन्त्रणा मानेर फर्किने बेलामा साधु सन्त वा कार्यक्रमका आयोजक धनाढ्य व्यापारिक वर्गले यथाशक्य दान दक्षिणा गर्दथे त्यो दान दक्षिणा कहिलेकाहीँ लाख लाख रुपैयाँ भन्दा पनि धेरै हुन्थ्यो। र त्यहाँ पनि किसुनजीले जिज्ञासा गर्नुहुन्थ्यो। यत्रो अनुष्ठान गर्दा तिमीहरूलाई खर्च कहाँबाट आउँछ? कसरी खर्च गर्न सक्छौ? त्यसैमा म जस्तोलाई निम्ताएर मलाई पनि यत्रो दान दक्षिणा गर्छौ? त्यस्ता अनुष्ठानमा अतिथि भएर पुग्ने अवसर मैले पनि पाएको छु र त्यहाँ दान दक्षिणाको अवसर पनि पाएको छु र कतिपय अवस्थामा किसुनजीले जस्तै त्याग पनि गरेर हिँडेको छु। किसुनजीले हाँसी हाँसी मजाक गरेर यो पैसा तिमीहरूले मलाई किन…? भन्नुहुन्थ्यो। कतिपय अवस्थामा इन्कार पनि गर्नुहुन्थ्यो। उहाँको अध्यात्म र त्यागको जीवन मैले नजिकबाट अनुभव गरेको छु।अहिलेको नेतृत्वमा धन वैभव सङ्ग्रहको होडबाजी छ। तर किसुनजीले जीवनमा अपरिग्रह व्रतलाई पालना गर्नुभयो, त्यसैले म, मा धेरथोर नपर्ने कुरै भएन?
त्यस्ता अनुष्ठान कार्यक्रममा सहयोग गर्ने व्यापारी वा धनाढ्य वर्गले त्यसको तात्कालिक बेनीफिट वा फाइदा खोज्नु हुन्थ्यो वा हुँदैनथ्यो?
नेपालको वर्तमान सन्दर्भलाई जोडेर यो कुरालाई मबाट बुझ्न खोज्नु भएको हो जस्तो लाग्यो? तर भारतमा गरिएका वा हुने त्यस्ता प्रकृतिका अनुष्ठानमा साधु सन्त वा महन्तलाई अगाडि सारेर गरिएको हुन्छ र त्यसको पछाडि धनाढ्य वर्गको सहयोग वा लगानी रहे पनि तत्कालीन बेनीफिट वा फाइदा रहेको मैले देखिन।
तर त्यसको फाइदा कहीँ न कहीँ त हुन्छ नै होला। त्यो फाइदा कसरी कस्तो अवस्थामा उपयोग गर्ने भन्ने कुरा व्यापारीहरूको मानसिकतामा भर पर्ने र नेतृत्वले बुझ्नु पर्ने कुरा हुन् जस्तो लाग्छ। भारतका सन्दर्भमा भन्नु पर्दा त परमात्माको सेवा गरेपछि परमात्माले नै जसरी भए पनि संरक्षण गर्नु हुन्छ भन्ने मान्यता राख्नेहरूलाई मैले स्वयम भेट्ने अवसर पाएको छु। तर पछिल्ला दिनमा हामी कहाँ गरिने सहयोग वा दान दातव्य जुवाको खालमा च्याँखे थापे जस्तै आज चारना सहयोग गरी भोलि आठना कसरी उठाउने मनोचिन्तनले ग्रसित भएर गरिएको पाउँछु। जुन अत्यन्तै शर्मिन्दाजनक र खेदजनक कुरा हो, जस्तो लाग्छ।
नेपालको सन्दर्भमा दान दातव्य वा व्यापारिक वर्गको सहयोगको कुरा गर्दाखेरि आज लगानी गरेर भोलि उठाऊ (जहाँ कनफ्लिक्ट अफ इन्ट्रेस्ट देखिन्छ) भन्ने किसिमबाट गरिएको पाइन्छ त्यस्तो सहयोग लिनु कति उचित वा अनुचित हो?
निस्वार्थ किसिमले दान दिनु र लिनलाई अस्वाभाविक मान्न सकिँदैन तर कतिपय अवस्थामा गरिएको दान वा सहयोग लिँदा त्यसको मूल्य भविष्यमा चुकाउनु पर्ने हुन्छ। त्यसैले जथाभाबी रूपमा स्वीकार गर्नु हुँदैन। ०४७ सालको परिवर्तन पछि संविधान आयो र लगत्तै देश चुनावमा जाने वातावरण सिर्जना भयो।
अन्तरिम सरकारको नेतृत्व किसुनजीले गरिरहनुभएको थियो, तर चुनावमा जान पार्टीसँग पैसा पर्याप्त थिएन। आर्थिक उपलब्धताका बारेमा चिन्तन मनन भइरहेको थियो। त्यसै बेला एक जना धनाढ्य व्यापारी बिकेमान श्रेष्ठ गणेशमानजी पनि साथै तीनै जना नेतालाई भेट्न पार्टी कार्यालय आइपुगे। उनको नेपाल र भारतमा राम्रै लगानी र जमेको व्यापार व्यवसाय थियो। उनले दुवै नेतालाई साथै राखेर प्रस्ताव गरे,’पार्टीलाई चाहिने आवश्यक आर्थिक उपलब्धताका लागि सबैसँग हात नपसार किनकि त्यो सहयोग म एक्लै तपाईंहरुलाई दिन सक्छु वा चाहन्छु। धेरै जनासँग लिनु भन्दा म आफै नै तपाईँहरूलाई सहयोग गर्न यहाँ आइ पुगेको छु।’
उक्त प्रस्तावका बारेमा गिरिजाबाबु सकारात्मक रहे पनि किसुनजी सकारात्मक देखिनु भएन। ‘एकै व्यक्तिले यत्रो सहयोग गरेपछि यो त पार्टी तपाईँकै कब्जामा हुने भयो। त्यसैले यो प्रस्तावका लागि धन्यवाद। तर स्वीकार गर्न सहज छैन,’भन्ने जवाफ दिनुभयो।
हेर, बिके जति धेरैले यसमा सहयोग गर्छन् त्यति नै पार्टी सशक्त र आन्तरिक रूपमा सबल हुने सम्भावना रहन्छ। तर एकै जनाले सहयोग गर्दा पार्टी कब्जा हुने खतरा रहन्छ। त्यसैले तिम्रो मात्र सहयोग स्वीकार गर्न सक्दैनौँ,भन्दिनु भयो। आखिर किसुनजी कै जवाफ गिरिजा बाबुले समर्थन गर्न बाध्य हुनु भयो। नेतृत्वमा त्यो किसिमको दूरदर्शिता र निष्ठा थियो। तर अहिलेको काँग्रेसमा त्यो गुण विलिप्त भइसकेको छ। एमालेको त झन् कुरै नगरौँ। माओवादी त झन् धुरन्धर नै भइसक्यो।
प्रसङ्गले अर्को एउटा सन्दर्भ उद्धृत गरौँ, पछिल्लो दिनमा नेकपा एमालेको पार्टी कार्यालय बनाउनका लागि भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बनाइदिने जुन प्रतिबद्धताका साथ शिलान्यास गरियो त्यो सहयोग हो वा दान के हो? लिनु हुन्थ्यो वा हुँदैनथ्यो?
मैले माथि पनि उजागर गरिसके। कुनै निहित स्वार्थ बिना दान दिइन्छ र लिइन्छ भने त्यसमा कुनै आपत्ति रहँदैन त र कन्फ्लिक्ट अफ इन्ट्रेस्ट रहन्छ भने त्यस्तो सहयोग वा दान सेवा भावका लागि हो भनेर मान्न सकिँदैन।
नेकपा एमाले जस्तो पार्टीले त्यसरी विवादित व्यक्तिले दिएको सहयोग वा दानलाई स्वीकार गर्दा त्यसमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट पनि देखिएको छ। त्यो के भने गुरुङ बालुवाटार जग्गा प्रकरणमा आरोपित व्यक्ति हुन् र उनको मुद्दा अदालतमा विचाराधीन अवस्था मैँ रहेको छ, उक्त जग्गा प्रकरणमा आरोपित अर्का व्यक्ति वर्तमान अर्थमन्त्री विष्णु पौडेल पनि हुन्। तर पौडेलका छोरा नवीन पौडेलको नाममा पास भएको जग्गा फिर्ता गरिएको निर्णय जनताले सर्व स्वीकार्य रूपमा न्याय मान्न सकिरहेका छैनन्। यतिबेला कर निर्धारण गर्ने ठाउँमा उनै पौडेल छन् भने अरबौँको लगानी भएका व्यापारीले उनै मन्त्रीको दललाई करोडौँ रुपैयाँ खर्चिएर पार्टी कार्यालय बनाई दिने प्रतिबद्धता नैतिक मूल्य र मान्यताका हिसाबले उचित देखिँदैन। यहाँ त दिने र लिनेका बीच नैतिक चेतना र विवेकमा स्खलन देखिन्छ। चेतना वा नैतिकताको कुरा संविधान वा कानुन वा विधानमा कहीँ पनि लेखिएको हुँदैन। यदि विवेक र चेतनाले उक्त सवाल (नैतिकता) मा मनन नै गर्न सक्दैन भने त्यो जीवन आखिर के जीवन…?
सर्न्दृभले इतिहासको प्रसङ्ग स्मरण गरे, वर्तमानमा महासामन्तका नाइके भनिने तत्कालीन प्रम जङ्ग बहादुरले १८५७ मा भारतको सिपाही विद्रोह दबाउन सघाए बापत ब्रिटिस शासकले के चाहन्छौँ भन्दा गुमेका भूमि (नयाँ मुलुक) फिर्ता मागे कुनै रिश्वत लिएनन् वा कुनै दरबार बनाउन लगाएनन्। तर पनि वर्तमान नेपाली समाजमा उनी सम्मानित छैनन्,…।
मुलुक लोकतान्त्रिक गणतन्त्रमा गएका बेला सिटिङवाला प्रधानमन्त्रीले पार्टीको नाममा अदालतमा मुद्दा विचाराधीन रहेका कुनै व्यापारीले दिएको रिश्वतको नयाँ स्वरूप दान भनेर स्वीकार गर्नु कति उचित हुन्छ? मेरो विचारमा प्रमले पार्टीका नाममा स्वीकारेको उक्त सहयोग रिश्वत नैं हो, भ्रष्ट्राचारको खुलेआम नयाँ स्वरूप हो।
आखिर नेपाली काँग्रेसले पनि पार्टीको केन्द्रीय कार्यालय राजधानीमै बनाएको छ। त्यसको स्रोत के थियो? उक्त पार्टी कार्यालय निर्माणका समयमा यहाँको सक्रिय भूमिका पनि रहेको थियो। र पार्टीको आर्थिक समितिको संयोजक पनि रहेको हुनाले केही अनुभव जानकारी गराइदिनु हुन्छ की?
नेपाली काँग्रेस आफैँमा एउटा पुरानो इतिहास बोकेको पार्टी हो। त्यसमा योगदान गर्न पाउनु मेरा लागि अवसर वा सौभाग्य हो। पार्टीको राजनीतिमा सक्रिय रहेको हुनाले त्यसबेला म आर्थिक समितिको संयोजक पनि रहेको थिए। र उक्त जिम्मेवारी पारदर्शिता अपनाएर पुरा गरे। त्यसैले मलाई गर्व छ, कि मैले कुनै नाजायज सम्बन्ध वा स्रोतबाट आर्जन गरेको छैन।
पार्टी र तत्कालीन नेतृत्वले विश्वास गरेकैले उक्त जिम्मेवारी सम्हाल्न म सफल भए। नेपाली काङ्ग्रेसको पार्टी कार्यालय सानेपामा रहेको छ। र उक्त कार्यालयको जग्गा पार्टीले नै किनेर उक्त जग्गामा भवन निर्माण गरेको जानकारी गराउन चाहन्छु। उक्त पार्टी कार्यालयको निर्माणमा कुनै एकै व्यक्तिको सहयोग वा दान स्वीकार्य थिएन। त्यसैले हजारौँ लाखौँ कार्यकर्ताको सहयोग र दान दातव्यबाट उक्त कार्यालयको निर्माण सम्पन्न भएको हो। अहिले जसरी नेकपा एमालेको पार्टी कार्यालय विवादित व्यवसायी मीनबहादुर गुरुङले बनाइदिने प्रतिबद्धता गरेर शिलान्यास भएको छ, यदि हामीले पनि चाहेको भए कुनै व्यक्तिले त्यसरी नै हाम्रो पार्टी कार्यालय निर्माण गरिदिन चाहन्थे तर हामीले त्यस्ता प्रस्तावलाई स्वीकार गरेनौँ।
पार्टी कार्यालय निर्माणमा सहयोग गर्ने दाता वा सहयोगीको सहयोग लिपिबद्ध गरेर सुरक्षित बनाएका छौँ। उक्त पार्टी कार्यालय निर्माणमा पार्टीकै लाखौँ कार्यकर्ताको सहयोग छ। दिवङ्गत भइसक्नुभएका नेता रामकृष्ण ताम्रकारलाई यहाँ स्मरण गर्न चाहन्छु। साथै गोविन्दराज जोशीको पनि ठुलो सहयोग रहेको थियो।
साथै नमिठा अनुभव पनि सुनाउन चाहन्छु,कतिपय व्यक्तिले पार्टीका नाममा सहयोग उठाएर उक्त रकम पार्टी कार्यालयमा नबुझाईकन बीच बाटै आफैले दुरुपयोग गरेका दृष्टान्त पनि रहे। नाम त उल्लेख नगरौँ। त्यस्तो धन्दा चलाउनेहरू पार्टीका कार्यकर्ता वा नेता हुँदा रहेछन्।
सबै भन्दा ठुलो गर्वको विषय नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालय निर्माण भ्रष्टाचारको सञ्जाल वा जनजालमा कहीँ कतै पनि जोडिएको छैन। अहिलेसम्म पनि कहीँ कतैबाट सुन्नु परेको छैन र सुन्न पनि पर्ने छैन भन्ने कुरा यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। यदि जिम्मेवार पार्टीको कार्यालय नै विवादित व्यक्ति वा व्यवसायीको सहयोगबाट निर्माण हुन्छ भने त्यो पार्टी कार्यालयमा निर्माण हुने नीति, नियम र बहसले कस्तो परिणाम देला? भ्रष्टाचार यतिसम्म मौलाएको छ कि, राणा पञ्चायत वा बहुदल काललाई समेत यो लोकतान्त्रिक गणतन्त्रले पछाडि पारिसकेको छ। भ्रष्ट्राचार त्यसै मौलाएको हैन, भन्ने बुझ्नलाई इशारा नै काफी छ। त्यसको पृष्ठभूमिमा नेताहरूको जीवन शैली नै मुख्य जिम्मेवार छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.