पश्चिमा दृष्टिमा ‘पूर्वीय सभ्यता’

पश्चिमा दृष्टिमा ‘पूर्वीय सभ्यता’

पश्चिमी जगत्मा हरेक कुरा सङ्कीर्ण छ। ग्रीस सानो छ, म निसासिन्छु। मलाई त्यो महान् एसियातिर र त्यो गहन पूर्वी जगत्तिर एकछिन दृष्टि लाउन दिनुहोस्। त्यहाँ मेरो महान् काव्य छ–रामायण।

पूर्वीय सभ्यताको पृष्ठभूमि खोज्नु पर्दा वैदिक संस्कृतिको आदिम अवस्थामा पुग्नु पर्दछ। सम्पूर्ण चराचर जगत्मा मानवले कसरी आफ्नो चेतना–पुञ्जलाई विकसित गरायो, त्यसको यावत् पृष्ठभूमि खोज्दै जाने हो भने सनातन वैदिक हिन्दु संस्कृतिमा आइपुग्नुपर्दछ। यस संस्कृतिअनुरूप मानव चेतनाको प्रथम पुष्पबीज नै ब्रह्माजी हुन्–जसको सुनौला अण्डाबाट जन्म भएको हो र, उनैको माध्यमबाट जगत्मा यावत् सृष्टिको संयोजन गरिएको थियो। ब्रह्माजी सम्पूर्ण चेतन जगत्को सङ्कलक, सङ्ग्रहकर्ता वा सम्पूर्ण प्राणी जगत्का लागि गुरुवाणी नै थिए। यिनले आफ्नै सृष्टि जगत्का शिक्षार्थीहरू बटुल्दै गए, गुरुवाणी सुनाउँदै गए। यिनको अवतार सँगसँगै विष्णु र शिवको अवतार हुन गएको छ। ब्रह्माजी प्रथम शक्ति थिए भने यी दुई दोस्रो र तेस्रो शक्तिका रूपमा एउटै चराचर जगत्मा देखा परे। उनीहरूले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्दै गएका छन्। विष्णुले हरेक युगयुगका लागि पालनपोषणको जिम्मेवारी लिएका छन्–शिवले संहारकर्ता र पुनः सृष्टिकर्ताको थप जिम्मेवारी वहन गरेका छन्। चराचर जगत्को सृष्टि र सभ्यता कहिल्यै पनि शून्य नहुने दर्शन दिएका छन्।

प्रारम्भमा यी तीनवटै शक्तिहरूमा शक्ति–सन्तुलन कायम रहेको पाइन्छ। परन्तु केबल एकपटक शिव शक्तिबाट मात्र ब्रह्माजीसँग अन्तर्द्वन्द्व परेको महसुस गर्न सकिन्छ। किनकि उनका पाँचवटा शिरमध्ये एउटा शिरोच्छेदन हुन पुगेको छ। शिवले यति ठुलो क्षति पुर्‍याए तापनि उनले यसका लागि क्षतिपूर्ति दिन सक्ने हैसियत पनि राख्दछन्। शिवले दोहोरो जिम्मेवारी वहन गरेका पनि छन्, उनी संहारक र विनाशक दुवै बनेका छन्। यसरी प्राणी जगत्लाई पूर्णता दिलाएका छन्। शिवजीको अग्निमा ब्रह्मा, विष्णु लगायत सम्पूर्ण जगत् खरानी पर्न सक्दछ, तर यस खरानीबाट पनि नयाँ जीवनको उत्पत्ति हुन सक्दछ। यावत् प्राणीको जीवन र पुनर्जीवन भइरहन्छ। यही सिद्धान्तअन्तर्गत वैदिक संस्कृतिको विज्ञानसम्मत रूपमा जति पनि व्याख्या र विश्लेषण गर्न सकिन्छ। आजसम्म परिवर्तनशील संसारको गतिमा आइपुगेका वैज्ञानिक, विद्वान्, महर्षि, योगी सन्न्यासी सबै नै वैदिक संस्कृतिका उपज हुन्। यसैले त संसारभरिका विश्वविख्यात विद्वान् सनातन संस्कृति र पूर्वीय सभ्यताप्रति सदाकाल आभार व्यक्त गरिरहेका छन्। आजका वैज्ञानिकले परीक्षण गरिसकेका छन् कि कुनै पनि समाज र सभ्यता द्धन्द्धविहीन रूपमा रहन सक्दैन; बरु द्वन्द्वात्मक परिवेशबाट नै मानव सभ्यता अगाडि बढिरहन्छ।

मानव विकास र मानव सभ्यताको इतिहासलाई गढेर हेर्ने हो भने थाहा पाइन्छ कि पृथ्वीका विभिन्न भूभागमा कुनै न कुनै सभ्यताको विकास भएको पाइन्छ। ती सभ्यताहरूको बीचमा कुनै न कुनै प्रकारको ज्ञान–परम्परामा आदानप्रदान भएको पाइन्छ। प्रत्यक्ष रूपमा होस् वा अप्रत्यक्ष रूपमा होस्, एउटा सभ्यताले अर्को सभ्यतालाई प्रभाव पारेको हुन्छ। पश्चिमा विद्वान्ले पनि स्वीकार गरिसकेका छन् कि मानव सभ्यताको उद्गम स्थल नै आर्यवर्त एवं भारतवर्ष नै हो। पूर्वीय सभ्यताअन्तर्गत भारतवर्ष वा आर्यवर्त वा गङ्गा नदीको तटवर्ती क्षेत्र जहाँबाट भए पनि सर्वप्राचीन ग्रन्थ वेद प्राप्त भएको छ। तत्कालीन अवस्थाका यावत् धर्म परम्पराको सार–सङ्ग्रहका रूपमा ४ वेदको रचना हुन गएको अनुभूत गर्न सकिन्छ। भनिन्छ—हजारौँ वर्षसम्म वेदको ज्ञान राशिलाई मौखिक रूपमा परस्परमा सुन्ने र सुनाउने गरियो र, अन्ततः व्यास ऋषिले ती ज्ञानात्मक अभिव्यक्तिलाई ४ खण्डमा व्यवस्थित गरे। ती ४ वेदहरू हुन्–ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद। तत्पश्चात् अनेकौँ पुराणहरू खगोल शास्त्र, ज्योतिष शास्त्र, रामायण, महाभारत श्रीमदभगवद्गीता, शाकुन्तलम् आदि अनेकन् शास्त्र र साहित्यको विकास भयो। विश्वका कुनै पनि सभ्यता यी विविध क्षेत्रका प्रारम्भिक चरणमा पूर्वीय सभ्यतासँग तुलना–योग्य देखिँदैनन्। निःसन्देह यसको प्रभावबाट मात्र अन्य सभ्यताहरू अग्रगतिमा निरन्तर बढिरहेको पाइन्छ।

यस्तो यथार्थ हुँदाहुँदै पनि हाल विकसित अवस्थामा पुगेको पश्चिमी सभ्यताको पनि कुनै बेला क्रमिक रूपमा अधोगत हुँदै जानेछ भन्ने सम्मको जर्मन वैज्ञानिकले अनुमान लगाएका छन्। नयाँ रूपमा पनि पूर्वीय सभ्यता अझै विकसित अवस्थामा जान सक्ने दार्शनिकले अनुमान गर्दै आएका छन्। यस सन्दर्भमा जर्मन दार्शनिक ओसवाल्ड स्पेजलरले (१८८०–१९३६) ‘द डिक्लाइन अफ द वेस्ट’ नामक ग्रन्थमा उल्लेख गरेका छन्– “पश्चिमी सभ्यताको अन्त्य हुँदैछ र यसको स्थानमा नयाँ एसियाली सभ्यता प्रतिस्थापित हुनेछ।”

अब विचार गरौँ, पूर्वीय सभ्यताले कसरी पश्चिमाको सभ्यतालाई आजसम्म निरन्तर प्रभाव पार्दै आइरहेको छ? पश्चिमा राष्ट्रहरूको सभ्यता भन्नु नै ग्रीसेली सभ्यतादेखि विकसित भएको सभ्यता हो। ग्रीसेली सभ्यतापछि रोमन साम्राज्यवादको विकास भयो, जसबाट रोमन सभ्यताको विकास भयो। ग्रीसेली सभ्यताअन्तर्गत ग्रीक भाषाको उन्नति भयो र, रोमन सभ्यताअन्तर्गत ल्याटिन भाषाको मनग्य उन्नति भएको थियो। यी दुवै भाषाले ती पुराना सभ्यताका अंशहरूलाई जोगाइराखेका छन्, जसरी वैदिक संस्कृतिलाई संस्कृत भाषाले आजपर्यन्त जोगाएको छ। यी दुवै भाषाका अवशेषहरू आजपर्यन्त अङ्ग्रेजी भाषामा पाइन्छन्। करिब ५० प्रतिशत ल्याटिन भाषाका शब्दहरू अङ्ग्रेजी भाषामा प्रवेश गरेका छन्। विज्ञानका क्षेत्रमा र कानुनी शब्दकोषमा अत्यधिक शब्दहरू ल्याटिन भाषाबाट मात्र लिइएका छन्। भाषिक र सांस्कृतिक पक्षमा ग्रीसेली र रोमन दुवै सभ्यताहरू धनी हुँदै गए, यी दुवै सभ्यताले यी दुई पक्षमा मनग्य विकास गरे। तापनि ग्रीसेली सभ्यतापछि मौलाएको रोमन साम्राज्यवाद यति धेरै विशाल हुँदै गयो कि अन्ततः यो प्रशासनिक आदि समस्याका कारण टुक्रा–टुक्रा राज्यमा विभाजित हुन पुग्यो। रोमन साम्राज्यवाद टुक्रिएपनि शासनसत्ता सञ्चालन गर्दै आएका सत्ताधारी भाइभारदार निकै बुद्धिमान् थिए। उनीहरूले महसुस गरे कि भौतिक संसारमा प्राप्त गरेको उन्नति–प्रगतिको संरक्षणार्थ आध्यात्मिक पक्षमा पनि उत्तिकै सबल हुन आवश्यक छ। आध्यात्मिक पक्षमा जब सबलता प्राप्त हुन्छ, त्यसले बृहत् साम्राज्यवादबाट टुक्रिएका राज्यलाई एउटै सिङ्गो आत्मामा परिणत गराउन सक्दछ।

यही दृष्टिकोण अनुरूप पश्चिमा राष्ट्रका विद्वान् र दार्शनिकले आध्यात्मिक र वैज्ञानिक दुवै क्षेत्रको सफलतामा विश्वास राख्दै आएका छन्। यी दुवै क्षेत्रको सफलताको आधारभूमि भने उनीहरूले पूर्वीय सभ्यतालाई मान्दै आएका छन्। उनीहरूले हालसम्म जे जति सफलता प्राप्त गरेका छन्, त्यसको भरपुर श्रेय पूर्वीय सभ्यतालाई नै दिइनु पर्दछ भनी ठहर गरेका छन्।

⁎⁎⁎

भारतवर्षको विविध क्षेत्रको महिमाबारे पश्चिमा विद्वान्हरूले यस प्रकारका अभिव्यक्ति दिएका छन्। हेनरिक हेइन्(१७९७–१८५६) जर्मन कवि एवं निबन्धकार हुन्। आध्यात्मिक ज्ञानमा भारत कति सम्पन्न रहेछ भन्ने कुरा उनको अभिव्यक्तिले नै प्रस्ट पार्दछ। उनी भन्दछन्–“पोर्चुगल, डच र अङ्ग्रेजहरूले धेरै वर्ष अघिदेखि ठुला–ठुला जहाजमा हालेर भारतवर्षका सम्पदालाई ओसारिरहेका छन्। जर्मनीले पनि त्यसै गरी ओसार्न चाहन्छ, तर, उसले सङ्ग्रह गरेको सम्पदा चाहिँ आध्यात्मिक ज्ञानको अमूल्य भण्डारका रूपमा रहने छ।”

(स्रोत— कृति : ‘ग्रेट माइन्ड्ज अन इन्डिया’, सङ्कलन तथा सम्पादन : सलिल ज्ञवाली, अनुवाद : डा.गोविन्दराज भट्टराई/‘पूर्वीय सभ्यता’)

भारतवर्षको आध्यात्मिक ज्ञानको मूल्यलाई यहाँ भारतवर्षको सम्पदा भनिएको छ। यस्तो ज्ञानको महत्त्व यी देशहरूले बुझे र, अनुवादका माध्यमबाट आ–आफ्ना देशमा सङ्ग्रह गर्दै गएका छन्। कवि हेइनको सुझाव छ, यदि जर्मनीले ती सम्पत्ति आफ्नो देशमा भित्र्याउँछ भने आध्यात्मिक ज्ञानका स्रोतहरू अमूल्य भण्डारका रूपमा जर्मनीमा पनि रहिरहने छन्।

जाँ सिल्भाइन बेली (१७७६–१७९३) फ्रान्सेली खगोलविद् हुन्, यिनको भनाइ यस्तो छ : “हिन्दुहरूको खगोल शास्त्र संसारमा प्राचीनतम विद्या हो। हिन्दुहरूबाट नै इजिप्सियन, ग्रीसेली, रोमन र यहाँसम्म कि यहुदीहरूले समेत त्यसको ज्ञान प्राप्त गरेका थिए।” यसको थप पुष्टिमा भनिएको छ–“४५०० वर्षपूर्व हिन्दुहरूले गणना गरेर निकालेको तारागणहरूको गति वा त्यो खगोल शास्त्र क्यासिनी र मेयरले निकालेका आधुनिक तालिकाभन्दा एक पल पनि फरक परेको छैन।” खगोलशास्त्रमै आधारित छ ज्योतिष शास्त्र पनि। के यो पनि उत्तिकै विज्ञानसम्मत नहोला त?

बेलायती लेखका एनी उड बेसन्ट(१८४७–१९३३)को भनाइ पनि उत्तिकै महत्त्वपूर्ण छ। उनी भन्छिन्–“भारतवर्ष सबै धर्मकी जननी हुन्। उनमा धर्म र विज्ञान दुवै तत्त्व पूर्ण एकत्वमा सँगै छन्–उनी अब फेरी पनि विश्वकी आध्यात्मिक जननी बन्नेछिन्।”

यसैगरी भारतवर्ष भनेको त विश्व मानव जगत्की नै माता हुन् भन्ने चिनारी प्रस्तुत गरेका छन् अमेरिकी इतिहासकार विल डुरन्टले। उनले आदि माताका रूपमा भारतवर्षको यस प्रकार चिनारी दिएका छन्, “भारतवर्ष हाम्री (मानव जातिकी) मातृभूमि हुन् अनि संस्कृत भाषा युरोपेली भाषाकी आमा, तिनी हाम्रो दर्शनकी आमा थिइन्। वास्तवमा भारत माता विभिन्न दृष्टिकोणले हामी सबैकी माता हुन्।”

⁎⁎

आखिर यो कुन चाहिँ तत्त्व थियो जसले प्राचीन भारतलाई सदाकाल विशिष्ट उचाइमा उठाइरह्यो? यस बारेमा फ्रेड्रिक हिगेलले अत्यन्त गहन तथ्य औँल्याएका छन्। भारतवर्षको ऐतिहासिक तथ्यहरू केलाएर उनले भनेका छन्—“भारतवर्ष (आर्यवर्त) एउटा स्वप्न भूमि हो। यसले सबै मानिसको स्वप्नसुख अथवा परमानन्दभन्दा परको सपना देख्यो, त्यो नै मानवको अन्तिम लक्ष्य हो। यही लक्ष्य निर्धारणले भारतवर्षलाई इतिहासमा पनि अरू राष्ट्रहरू भन्दा बढी सिर्जनशील बन्न सघायो।” हो, त्यही सिर्जनशीलताकै कारणले त हो नि रामायण र महाभारत जस्ता अद्वितीय ग्रन्थहरूको रचना सम्भव भएको।

प्रसिद्ध फ्रान्सेली लेखक पिअरे लोतीले (१८५० –१९२३) भारत र पश्चिमा मुलुकहरू दुवैलाई सम्बोधन गर्दै यिनीहरूका बारेमा निम्न भनाइबाट तथ्यबोध गराएका छन् : “पश्चिम क्षयोन्मुख छ, तुच्छ र प्रत्येक दिन अपक्रम अवस्थामा छ, यसले अन्य राष्ट्रहरूलाई घात गर्दछ, ईश्वरको हत्या गर्दछ, एवम् रूपले आत्माको हत्या भएको छ।”

यस्ता गहन भनाइ आधारमा हामी प्रश्न गर्न सक्दछौ; आधुनिक वैज्ञानिक र प्राचीन ऋषिमुनिहरू अगाडि? यसको सटिक उत्तर पाइन्छ प्रोफेसर आर्थर होल्मसको अभिव्यक्तिमा। उनी भन्छन्–“पृथ्वीको आयुको अनुमान गर्ने विषयमा वैज्ञानिक अभिलाषा हुनुभन्दा धेरै पहिले प्राचीन कालका ऋषिमुनिले संसारको इतिहास (क्रोनोलोजी, कालक्रम)का धेरै विस्तृत प्रणालीको प्रतिपादन गरिसकेका थिए।”

ज्ञवालीको ग्रन्थ ‘ग्रेट माइन्ड्ज अन इन्डिया’मा कतिपय विद्वान् र वैज्ञानिकको ज्ञान–विज्ञान तुलनात्मक अध्ययन सारलाई पनि प्रस्तुत गरेको पाइन्छ। को रोगी छ? के रोग लागेको छ? कसले निको पार्न सक्छ? ज्ञानी र वैज्ञानिक/डाक्टर आदिसँग हामी पनि पुग्नै पर्दछ। पश्चिमाहरूले विकसित रूपमा ल्याएको विज्ञान स्वयम् अस्वस्थ, रोगी, कमजोर र हानिकारक हुन पुगेको यथार्थ पश्चिमा विद्वान्ले नै ठहर गरेका छन्। अस्ट्रियाका एक भौतिक शास्त्री आर्विन श्रोडिङ्गर ले भनेका छन्–“पाश्चात्य विज्ञानलाई आध्यात्मिक रक्ताल्पताबाट बचाउन पूर्वबाट पश्चिमतिर केही रक्ताधान आवश्यक भएको छ।”

अर्का अमेरिकी भौतिकशास्त्री, अणुबमका आविष्कारक जुलिअस रोबर्ट ओपेनहाइमर (१९०४–१९६७)ले यस तथ्यलाई स्पष्ट रूपमा स्वीकार गर्दै भनेका छन्–“आधुनिक भौतिक शास्त्रमा हामीले जुन उपलब्धि हासिल गरेका छौँ, त्यो कुरा सबै प्राचीन हिन्दु विद्वत्ताको प्रतिपादन, समर्थन र परिष्करण मात्रै हो।”

प्राचीन भारतमा देखिएको बौद्धिक र आध्यात्मिक उन्नयनका निम्ति अवश्य पनि एउटा विशेष खालको वातावरण वा परिवेशले पनि साथ दिएको हुनुपर्दछ। यस सन्दर्भमा बेलायती प्रसिद्ध लेखक एचजी वेल्सले उल्लेख गरेका छन्—“कैयौँ शताब्दीदेखि भारतवर्षको इतिहास सुखपूर्ण, कम अभित्रासक रह्यो। यस्तो अनुकूल परिस्थिति भएको बेला उनीहरूले एउटा चरित्र निर्माण गरे, जसले उनीहरूलाई चिन्तनमय एवम् शान्तिकामी बनायो। उनीहरूले भारत भूमिलाई यस्ता दार्शनिकको देश बनाए जुन कोटीका दार्शनिक भारतवर्ष बाहेक अन्यत्र कहीँ पनि उदाएका छैनन्।”

⁎⁎⁎

पश्चिमाहरूले मात्र नभएर चिनियाँ दार्शनिक हु शि (१८९१–१९६२) जस्ता बौद्धिक व्यक्तिले पनि भारतवर्ष र यसको सांस्कृतिक उच्चताका बारेमा मुक्तकण्ठले प्रशंसा गरेका छन्। शी भन्छन्–“आफ्नो देशको सिमाना बाहिर एउटा सिपाही पनि नपठाईकन भारतवर्षले दुई हजार वर्षसम्म सांस्कृतिक रूपले चीनमाथि प्रभुत्व जमायो–विजय प्राप्त गर्‍यो।”

भारतवर्षले बौद्ध धर्म र यसको आदर्शको माध्यमबाट चीनमाथि प्रभुत्व जमाएको हो। अनुवाद साहित्यको इतिहासमा प्राप्त जानकारीअनुसार, बुद्धका सारा उपदेश र आदर्श संस्कृत भाषामा सङ्ग्रह गरिएका थिए, अनि बौद्ध धर्म संहिता, आचार संहिता, आदर्श संहिता आदि संस्कृत भाषामै तयार भएका थिए। संस्कृत भाषाकी विदुषी एक राजकन्या बौद्ध भिक्षु बनेकी थिइन्। चिनियाँ धार्मिक पर्यटकले ती बौद्ध भिक्षुणी र उनको पाँच वर्षीय छोरा दुवैलाई अत्यन्त कूटनीतिक तवरबाट दक्षिण भारतबाट चिनियाँ मुलुकमा पुर्‍याएका छन्। उक्त बालकलाई चिनियाँ भाषा सिकाउँदै गएछन्। यसरी आमाले छोरालाई र छोराले चिनियाँलाई बुद्ध धर्मका मर्म, आदर्श र विचार प्रचार–प्रसार गराउँदै गए। पुरै चिनियाँ समाज बौद्धमार्गी बन्न गयो। यसरी संस्कृत भाषा र बुद्ध धर्मका माध्यमबाट चीनमा भारतको सांस्कृतिक प्रभाव बेजोड रूपमा पर्न गएको थियो। यस तथ्यलाई विश्वको इतिहासमा अभिलेखीकरण गरिएको छ।

अनेकौँ भाषा समुदायबाट ऋषिकुलमा वा नदीतटमा आई ध्यान तपस्या गर्दै आएका ऋषिमुनिले पनि आ–आफ्ना अनुभव र अनुभूतिलाई आत्मसंयममा राख्दै आफ्ना संस्कार र कृत्य–कर्मलाई सुरक्षित राख्ने मनोरम र सुरम्य भाषाका बारेमा पनि चिन्तन गर्न थाले। उनीहरूले यस्तो भाषाको नाम ‘संस्कृत’ ठहर गरे। सबैको साझा र सभ्य भाषाका रूपमा संस्कृत नै स्थापित भयो। तमाम ऋषिमुनिहरूले संस्कृत भाषालाई ज्ञान र भाव सुरक्षा माध्यमका रूपमा अङ्गीकार गर्दै गए। अन्ततः यही भाषामा मानव सृष्टिका पिता मानिएका ब्रह्माजीको स्वरदेखि सबै चराचर र शिष्य जगत्मा व्यापक हुँदै गएको भाषा नै संस्कृत भाषा हुन गयो। विश्वको प्रथम प्राचीन ग्रन्थ मानिएको वेदमा संरक्षित ज्ञान र विज्ञानको रससमेत संस्कृत भाषामै समाहित गरियो।

वेदको विशालताका बारेमा अमेरिकी दार्शनिक हेनरी ड्याभिड थोरो भन्छन्–“वेदको एउटा ऋचा पनि म्यास्याचुसेटस् राज्य भन्दा अनेकौँ गुणा ठुलो हुन्छ।”

अर्को एकजना अमेरिकी विदुषी एला विलर विल्कक्स (१८५०–१९१९)ले वेद र विज्ञान दुवैको जन्म एउटै स्थानमा भएको यथार्थलाई विश्वसामु उजागर गरिदिएकी छन्। उनी भन्छिन्–“भारतवर्ष वेदहरूको भूमि हो। ती उल्लेख्य कर्महरूमा पूर्ण जीवनको निम्ति धार्मिक कर्म मात्र छैनन्। अपितु त्यहाँ यस्ता सत्य पनि छन्, जसलाई विज्ञानले पनि सत्य प्रमाणित गरेको छ। विद्युत् रेडियम् इलेकट्रोनिक्स हवाईजहाजजस्ता सारा कुरा ती द्रष्टालाई ज्ञात थियो जसले वेदको रचना गरे।”

वेदान्त र उपनिषद्हरू पनि वेदकै अन्तिम भागहरू हुन्। उपनिषद्हरू सङ्ख्यामा प्रशस्त छन् तापनि तीमध्ये १०८ उपनिषद्लाई बढी महत्त्वपूर्ण ठानिन्छ। यिनै उपनिषद्लाई वेदान्त पनि भनिन्छ। किनकि ती वेदकै अन्तिम भागमा पर्दछन्। ब्रह्माण्डको उत्पत्ति कसरी भयो, आत्माको स्वरूप, देव देवत्वहरूको स्वरूप आदि बारे रहस्यात्मक जानकारी दिलाउने यी पनि प्राचीन ग्रन्थ नै हुन्। बेलायतका प्रोफेसर एफ् म्याक्सम्युलरलाई (१८२३–१९००) बेलायत सरकारअन्तर्गतको इष्ट इन्डिया कम्पनीले संस्कृत ऋग्वेदको अङ्ग्रेजी अनुवादको जिम्मेवारी दिएको थियो। सन् १८४८ देखि मृत्युपर्यन्त उनी बेलायतको अक्सफोर्डमै बसेर अनुवादका कार्यहरू गरी नै रहे। उनी भन्छन्–“वेदान्त, अझ विशेष गरी उपनिषद्बाट निष्पादन गरिएको विश्वको चित्र (ब्रह्माण्डको अवधारणा), वास्तवमै आश्चर्यचकित गराउने प्रकृतिको छ।”

पश्चिमी मुलुकका विद्वान्ले उपनिषद्का बारेमा अझै गहन रूपमा मूल्याङ्कन गरेका छन्। पौल डुसन (१८४५–१९१९)उपनिषदबारेमा भन्छन्–“वैज्ञानिक मस्तिष्कको आविष्कार जेसुकै होस् तर उपनिषद्ले प्रतिपादन गरेको अनन्त सत्यमाथि कसैले विवाद गर्न सक्दैन। ज्ञानरूपी वृक्षमा उपनिषद्भन्दा सुन्दर पुष्प कहीँ फुलेको छैन, अनि वेदान्त दर्शनभन्दा सुन्दर फल कहीँ फलेको छैन।”

पश्चिमा विद्वान्हरूका साथसाथै भारतका महान् व्यक्तित्वले पनि वेद र हिन्दु संस्कृति महिमा बारेमा मूल्यवान् अभिव्यक्ति दिएका छन्। भारतका एघारौँ राष्ट्रपति डा. अब्दुल कलाम भन्दछन्–“वेदहरू प्राचीनतम शास्त्र हुन् र ती भारतवर्षका अनमोल सम्पदा पनि। भारतीय संस्कृतिको आत्मा नै वेदमा अडिएको छ। सम्पूर्ण विश्वले वेदको महत्वलाई स्वीकारेको छ।”

⁎⁎⁎

वाल्मीकि ऋषिद्वारा रचित रामायण सबैभन्दा पुरानो संस्कृत महाकाव्य हो। यो महाकाव्य अङ्ग्रेजी, हिन्दी, नेपालीलगायत संसारका अनेकौँ भाषामा अनूदित भइसकेको छ। यस महाकाव्य बारेमा फ्रान्सेली इतिहासकार जुलेस मिसेलेटले अत्यन्त सुन्दर शब्दमा प्रशंसा गरेका छन्। उनी भन्छन्–“पश्चिमी जगत्मा हरेक कुरा सङ्कीर्ण छ। ग्रीस सानो छ, म निसासिन्छु। मलाई त्यो महान् एसियातिर र त्यो गहन पूर्वी जगत्तिर एकछिन दृष्टि लाउन दिनुहोस्। त्यहाँ मेरो महान् काव्य छ–रामायण। त्यो भारतीय समुद्रझैँ महान्, अभियन्त्रित, सूर्य किरणले प्रदीप्त औ स्वर्णिम छ। त्यो दैवी सुसङ्गतिको पुस्तक हो जहाँ कुनै असङ्गति छैन। यो यस्तो एक सागर हो, जसको पिँध छैन, सीमा छैन–यो सागर हो प्रेमको, करुणा अनि मृदुताको।”

महाभारत महाकाव्यका रचयिता व्यास ऋषि हुन्। यो काव्य १८ भागमा विभाजित छ। भगवद्गीता यही विशाल काव्यको एउटा भाग हो, जसमा श्रीकृष्ण र अर्जुन बीचको वार्तालाप पाइन्छ। यसमा संस्कृत भाषामा लेखिएका ७०० श्लोक रहेका छन्। चरम द्वन्द्वको चपेटामा परेका अर्जुनलाई श्रीकृष्णले लडाइमा सरिक हुन उपदेश दिइरहन्छन्। अधिकार, सङ्घर्ष र युद्धमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे आध्यात्मिक तवरबाट अर्जुनलाई उपदेश दिइएको छ।

एल्डौस हक्स्ले (१९९४–१९६३) एक अङ्ग्रेज कवि एवं दार्शनिक हुन् जसले विज्ञानको प्रयोजनका कारण मानवीय मूल्य र राजनीतिक मूल्यको ह्रास भइरहेको छ भन्ने विश्वास राख्दछन्। भगवद्गीताका सन्दर्भमा यिनले भनेका छन्–“भगवद्गीता आध्यात्मिक विकासको अत्यन्तै व्यवस्थित विवरण हो। मानव जातिका लागि यो चिरस्थायी महत्वको रत्न हो, अर्थात् यो आजसम्ममा निर्मित आध्यात्मिक सारतत्व बोकेको सर्वाधिक स्पष्ट र व्यापक आध्यात्मिक सारांश हो।”

⁎⁎⁎

पूर्वीय सभ्यता र संस्कृतिका सम्पदाका रूपमा रहेका वेद, वेदान्त, उपनिषद्, रामायण र महाभारतबाहेक विशुद्ध साहित्यिक सम्पदाका रूपमा प्राप्त ग्रन्थको नाम हो—‘शाकुन्तल नाटक’।
संस्कृत नाटक ‘शाकुन्तलम्’ लाई अङ्ग्रेजीमा अनुवाद गर्ने पहिलो व्यक्ति हुन्, बेलायती विद्वान् सर विलियम जोन्स (१७४६–१७९४)। यिनको अनुवादबाट जर्मन दार्शनिकहरू गेटे, हर्डर र शिलरजस्ता महान् विद्वान् ‘शाकुन्तलम्’ प्रति प्रभावित भएका थिए।

काव्यकि नायिका ‘शकुन्तला’ तपस्यारत विश्वामित्र ऋषि र मेनका अप्सराकी पुत्री हुन्। ‘शाकुन्तल’ काव्य होस् वा नाटक होस्, यसमा ४ वटा विषयवस्तु छन्–प्रेम, विवाह, विच्छेद र पुनर्मिलन। एउटा विवरण व्यास ऋषिको महाभारतमा र अर्को विवरण कालिदासको नाटक ‘शाकुन्तल’ मा पाइन्छ। व्यास ऋषिको जस्तै कालिदासले पनि अझै आकर्षक ढङ्गले शाकुन्तल नाटकको विषयवस्तु र विवरण प्रस्तुत गर्दछन्। कालिदासको नाटक शाकुन्तलको प्रस्तुति फरक रहेता पनि कथावस्तु भने उस्तै–उस्तै प्रकारको छ।

प्रेमको यथार्थले भरिएको यो कृतिबारेमा जर्मन नाटककार फ्रेड्रिक शिलर (१७५९–१८०५) ले भनेका छन्–“सम्पूर्ण ग्रीसेली पुराकालदेखि आजसम्म अत्यन्तै सुन्दर प्रेमको काव्यात्मक प्रस्तुति गर्नमा ‘शाकुन्तलम्’ को नजिक पुग्ने कुनै कृति रचिएको छैन।”

सन् १८०५ मा शिलरको मृत्युपश्चात् जर्मन दार्शनिक गेटे (१७४९–१८३२) ले बौद्धिक मित्र मण्डलको अभाव खट्किएको यथार्थलाई गम्भीर रूपमा महसुस गरेका थिए। परन्तु कालिदासको शाकुन्तलम् नाटक अध्ययन गर्न पाएकामा अपार हर्ष प्रकट गर्दै भनेका छन्–“सर्वप्रथम ‘शाकुन्तल’ फेला पारेपछि यसले मभित्र यस्तो प्रकारको उत्साह भरिदियो र मलाई यसरी उचाल्यो कि म यसको अध्ययन नगरी रहन सकिनँ।”

⁎⁎⁎

सनातन धर्म संस्कृति भन्नु नै आर्यन प्राचीन धर्मसंस्कृति हो। यसैलाई वैदिक धर्म संस्कृति पनि भनिन्छ। वेद नै विश्वको सबभन्दा पुरानो ग्रन्थ भएको र यसैका आधारमा वैदिक धर्म संस्कृतिको सुरुवात भएको मानिन्छ। यही वैदिक युगका आर्यन भारतीय सिन्धु र गङ्गा नदीको तटमा बसोबास गर्दै जाँदा रामायण, महाभारतलगायत अनेकौँ शास्त्र र उपनिषद् ग्रन्थ रचना गर्दै गए र, उनीहरूको सम्पूर्ण धर्म संस्कृतिलाई हिन्दु धर्ममा समाहित गराए। विश्व जगत्ले उनीहरूलाई हिन्दु धर्मका अनुयायीका रूपमा मान्यता दिँदै गयो। त्यसैकारण पनि हिन्दु धर्म र भारतवर्षलाई विश्वका मुख्य–मुख्य सम्पूर्ण धर्महरूको स्रोतका रूपमा पहिचान दिँदै आएका छन्। वास्तवमा हिन्दु धर्मलाई एक विश्व धर्मको रूपमा मान्यता दिँदै आएका छन्। यो सन्दर्भमा अमेरिकी विदुषी लिन्डा जोनसेन भन्छिन्–“हिन्दूधर्म एक विश्वधर्म हो, जसले अन्य मत÷धर्मलाई आदरसाथ स्वागत गर्दछ, किनकि यसले दैवी अनुकम्पाबाट कोही पनि वर्जित हुनु हुँदैन भन्ने धारणामा विश्वास गर्दछ।”

⁎⁎⁎

आजको युगमा गम्भीर रूपमा अन्वेषण भइरहेछ : ईश्वरीय तत्त्व बराबर शक्तिशाली कुन तत्त्व रहेछ यस मानवजगत्मा, जसले ब्रह्माका मुखारविन्ददेखि झर्दै/ओर्लँदै अविश्राम पाइला सार्दै चेतना र ज्ञानको भण्डारलाई आजपर्यन्त सुरक्षित राखिरह्यो र राखिरहने छ पनि। संरक्षणका लागि कुनै एउटा माध्यम त चाहिने रहेछ नै। वाणी संरक्षण र वाणी सङ्ग्रहका रूपमा संस्कारित र विकसित भाषाको नाम नै रहेछ—संस्कृत। प्राचीनकालदेखि ऋषिमुनि, महात्मा, लक्ष्मी, सरस्वतीलगायत सर्वगुणसम्पन्न व्यक्तित्वका आत्मा–वचन लगायतका व्यवहार/शैली आदि अनेकौँ कर्मलाई विभिन्न विधाका रूपमा संस्कृत भाषाले संरक्षण गरिराखेको छ। पूर्वीय सभ्यताका महत्त्वपूर्ण कृतिहरू संस्कृत भाषामा रचना भए र यही भाषामा हालसम्म संरक्षित पनि छन्। यस भाषाले पूर्वीय सभ्यताको गौरवमय परम्परालाई थामिरहेको छ। यसर्थ, आर्यमूलबाट विकसित भएता पनि यो विश्व मानव समुदायको एक मात्र वैज्ञानिक भाषा हो, जसको प्रयोग र उपादेयता मानव जातिको अनन्त कालसम्म रहिरहने छ।

(लेखक क्षेत्री पीएन क्याम्पस, पोखराका अवकाशप्राप्त प्राध्यापक हुन्। लेखक क्षेत्रीले मूल कृति :‘ग्रेट माइन्ड्ज अन इन्डिया’, सङ्कलन तथा सम्पादन : सलिल ज्ञवाली, अनुवाद : डा.गोविन्दराज भट्टराई/‘पूर्वीय सभ्यता’का आधारमा यो विवेचना तयार गरेका हुन्।)

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.