काठमाडौँ : काठमाडौँको जितपुर गाउँमा मन नाम गरेकी कन्या निरन्तर रूपमा विष्णुमती र केशुमती (साङ्गला) खोलाको दोभानमा बसी इन्द्रको तपस्या गर्थिन। कन्याको आराधनाबाट प्रसन्न इन्द्र आफैँ उपस्थित भएर आर्सीवाद माग्न भनेछन्।
कन्याले इन्द्रलाई नै पतिका रूपमा पाउनुपर्ने वर मागिछन्। इन्द्रले पनि स्वीकार गरी विवाह गरेछन्। कन्याको अनुहारमा कालो पोतो र दागहरू रहेकाले त्यहीँ छाडेर इन्द्र स्वर्गतिर फर्किएछन्।
इन्द्रले नै मनमैजु नामले बस्नू अनि अनुहारमा दाग र पोतो हुने मानिसलाई सुन्दर बनाउनू भन्ने वरदान दिएछन्। इन्द्रको वरदानबाट मनमैजु अजिमा स्थापना भएको किंवदन्ती पाइन्छ। मनमैजुलाई अनुहार सुन्दर बनाउने देवीका रूपमा पूजाआजा गर्ने गरिएको स्थानीय बताउँछन्।
अर्को किंवदन्ती अनुसार लिच्छविकालमा राजा गुणकामदेव एक दिन नागार्जुन डाँडामा सिकारका क्रममा त्यहीँ बास बसेछन्। राती मनमैजु देवी प्रकट भई चैत्र शुक्ल पूर्णिमाका दिन पूजा अर्चना गरी जात्रा चलाएमा मनोकाङ्क्षा पूरा हुने सपना देखेछन्।
दाग, पोतो र अन्य प्रकारका चर्मरोग लागेमा मनमैजु अजिमाको पूजा–उपासना गर्नाले ठिक हुन्छ भन्ने जनविश्वास छ। मनमैजु अजिमालाई सुन्दरताकी देवी पनि भनिन्छ।
नाग, स्कन्द, अग्नि, ब्रह्म, विष्णु तथा शिव पुराणहरूमा चर्चित शिवपुत्रि नागमाता मनसा नै मनमैजु अजिमा रहेको भन्ने समेत मान्यता रहेको छ। मनमैंजु अजिमाको बज्राचार्य पुजारीबाट तान्त्रिक पूजा हुने गर्छ। मनमैजुमा ऐतिहासिक इन्द्रायणी अजिमाको जात्रा हरेक वर्ष लाग्ने गरेको छ।
हाल अजिमा धामी बसेका छन् रविन महर्जन। महर्जनले कपाल पालेका छन् भने दारी फालेका छन्। धामी बस्नेले कपाल काट्न नहुने र दारी पाल्न नहुने सुनाउँछन् उनी। काठमाडौँ उपत्यका बाहिर जान नहुने र गए पनि रात बस्न चार भन्ज्याङभित्रै आउनु पर्ने नियम रहेको उनले बताए।
अजिमा र ६ लैङ्गिक पहिचान सम्बन्धी वृत्तचित्र बनाएका संविधान सभाका सदस्य सुनिलबाबु पन्तसँग महर्जनले बाजेको पालादेखि नै धामी बस्ने चलन रहेको बताएका छन्। ‘बाजेलाई हेर्दा अहिलेको अनुभव फरक छ,’उनले वृत्तचित्रमा भनेका छन्,कतै गएर बास बस्न मिल्दैन, केश काट्नु हुँदैन। दारी पाल्नु हुँदैन।’
अजिमाको इतिहास खोज्ने क्रममा पन्तले मनमैजु अजिमा धामी बसेका महर्जनसँगै अरू स्थानीय बुढापाकाको भनाई पनि समेटेका छन्। गुठियारहरूको जेठो गणेश बस्ने चलन छ। बाँकी अरूलाई देउवा चढेपछि बल्ल अरूलाई थाहा हुन्छ। महिला, पुरुष र तेस्रो लिङ्गीलाई पनि स्विकार्नु पर्ने महर्जनले बताएका छन् वृत्तचित्रमा।
एसियाकै पहिलो समलिङ्गी सभासद् पन्तले निर्माण गरेको वृत्तचित्र शनिवार यलमाया केन्द्र पाटनढोकामा प्रदर्शन भएको छ। वृत्तचित्रले काठमाडौँ उपत्यकाका अजिमाका मन्दिरहरू, इन्द्रजात्राको इतिहास बोलेको छ। वृत्तचित्रले समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी व्यक्तिको पहिचानबारे प्रस्ट पारिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.