सत्ता गठबन्धनको फाटो हटाउन ओलीले राखे बैठक

सत्ता गठबन्धनको फाटो हटाउन ओलीले राखे बैठक

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्ने सूचना दिन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक राखे। पार्टी कार्यालय पेरिसडाडा कोटेश्वरमा संसद्मा प्रतिनिधित्व गर्ने विपक्षीसँगै सत्ता पक्षका नेतालाई पनि बोलाए प्रचण्डले।

बाढी, पहिरो र डुबानले निम्त्याएको प्राकृतिक विपत्तिबारे छलफल गर्न भनेर बोलाइएको बैठकमा लामिछाने पक्राउ पर्ने जानकारी गराए प्रचण्डले। राजनीतिक पूर्वाग्रह राखे सरकारका लागि प्रत्युत्पादक हुने चेतावनी दिएको सुनाए प्रचण्डले।

विपक्षी दलहरूको बैठक भनिए पनि सत्ता पक्षकै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भए। प्रचण्डको निम्तो स्विकार्दै पेरिसडाडा पुगेका ठाकुरले लामिछानेलाई पक्राउ गर्ने जानकारी पाए।

अघिल्लो दिन मात्रै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोग गठनबारे छलफल गर्न बोलाएको बैठकमा पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने पक्राउ पर्ने जानकारी दिइएको थियो।

सहकारीको रकम अपचलनको आरोपमा लामिछानेलाई पक्राउ गर्नै पर्ने बाध्यता सरकारले सुनायो। प्रचण्डले व्यक्ति केन्द्रित र राजनीतिक आग्रह पूर्वाग्रह राखे प्रत्युत्पादक बन्ने जवाफ दिएको भोलिपल्टै लामिछानेलाई पक्राउ गरेर पोखरा पुर्‍याइएको छ।

लामिछाने एमालेको समर्थनमा दुई-दुई पटक गृहमन्त्री बने। सङ्घीय संसद्को तेस्रो ठुलो दल माओवादी केन्द्रको नेतृत्वमा चौथो दल रास्वपा सरकारमा सहभागी भएको थियो। त्यसको नेतृत्व गरेका थिए लामिछानेले। उनी गृहमन्त्रीमै बहाल रहँदा संसद्को पहिलो दल नेपाली काँग्रेसले सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग गर्‍यो।

जेठ १५ गते एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भयो। समितिले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष पूर्वडिआइजी छविलाल जोशी पक्राउ परे। उनी पक्राउ परेसँगै आत्तिएका रविलाई अन्ततः प्रमुख प्रतिपक्षी दल माओवादीको समेत समर्थन लिएर पक्राउ गर्‍यो।

लामिछानेको बचाउमा रास्वपाले पोखरामा दिनहुँ शक्ति प्रदर्शन गर्दै आएको छ। न्यायालयमा पुगेको मुद्दालाई प्रभावित पार्न रास्वपा भिड जम्मा गर्नतिर लागेको छ। प्रदर्शनमा सहभागी हुन रास्वपाले पोखरेलीहरूको घरदैलो समेत गरेको छ। लामिछाने तत्काल छुट्ने देखिँदैन। सहकारीको रकम गोर्खा मिडियामा गएको पुष्टि भइसकेको छ।

सहकारीको रकम अपचलन भए पनि तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक लामिछानेले आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका छन्। गृहमन्त्रीमा बहाल रहँदा जीवी राईलाई पक्राउ गरेर ब्रेकिङ न्युज दिने, सहकारी सञ्चालकहरूको सम्पत्ति बिक्री गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने आश्वासन दिए। तर, राईलाई पक्राउ नगरी उनी आफैँ गृहमन्त्रीबाट बाहिरिए।

सुन तस्करी छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरी उनले सहकारी ठगीको मुद्दा साट्न खोजेको आरोप समेत खेपे। बचतकर्ताको रकम फिर्ता गराउन लामिछानेले पदमा हुँदा र नहुँदा केही गर्न सकेनन्। बचतकर्ताले चाहेको बचत फिर्ता हो। लामिछानेलाई थुनामा राखेर बचत फिर्ता हुने पनि होइन। तर, लामिछाने भने अझै सहकारीको रकम अपचलन नगरेको हुंंकार दिइरहेका छन्।

ठगेको कसले हो? उनले गृहमन्त्री हुँदा पत्तो पाएका थिएनन्? जीवी फरार हुँदासम्म ढुक्क रहेका रवि छविलाल पक्राउ परे लगत्तै किन आत्तिए? घाम जतिकै छर्लङ्ग सहकारीको बचत रकम अपचलनले पक्राउ परेका रविले राजनीतिक तरङ्ग भने ल्याइदिएका छन्।

रास्वपा रवि बचाउमा केन्द्रित भए पनि प्रमुख प्रतिपक्षी दल माओवादीले सत्ता गठबन्धनमै हलचल ल्याउने गरी धक्का दिने सङ्केत देखाएको छ। लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर सत्ता गठबन्धन छाडेर प्रतिपक्षमा गएपछि सत्तारुढ भित्रै हलचल मच्चिएको छ। सत्तारुढ दलहरूले पनि दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेर प्रतिपक्षी दलहरूमा हलचल ल्याइदिएको छ।

सरकार गठन भएको सय दिनसम्म एकले अर्कोलाई गलाउने प्रयास जारी छ। सत्ता गठबन्धनमा फाटो ल्याउने विपक्षीहरूको प्रयास असफल पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बैठक राखेका छन्।

बैठकमा पेरिसडाडाको छलफलमा सहभागी लोसपा अध्यक्ष महन्थ ठाकुर पनि छन्। नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता चौधरी र जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालुवाटार बैठकमा सहभागी भएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.