काठमाडौँ : मङ्सिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ जना निर्वाचित गर्न मतदान हुँदैछ।
निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली २६ असोजमा प्रकाशन गरिसकेको जनाएको छ। १ कार्तिकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगले २ मङ्सिरदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
३९ पदमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा २५ राजनीतिक दलले आयोगमा दल दर्ता गरेका छन्। पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहमा प्रतिस्पर्धा गर्न दल दर्ता गराएको छ।
२०७९ मा भएको प्रतिनिधिसभाको चुनावमा हुरी झैँ आएको रास्वपा यतिवेला राप्रपाबाट राजनीति सिक्नुपर्ने अवस्थामा पुगेको छ। सहकारी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परे लगत्तै रास्वपा आफ्नालाई बचाउन लागेको छ।
सुशासनको मुद्दामा राप्रपाबाट सिक्न रास्वपालाई नेता रवीन्द्र मिश्रले सुझाव नै दिएका छन्। ‘राप्रपाका एक जना सांसदलाई सहकारीसँग जोडिएको आरोप लाग्यो। राप्रपाको बैठक बसेर कानुन अनुसार जे हुनुपर्छ, कानुनले बाटो लियोस् भन्यौ,’राप्रपा सल्यानले गरेको सभामा उनले भने,’अहिले नयाँ हुरीको रूपमा आएको पार्टीको अध्यक्षलाई सहकारीको आरोप लाग्यो र थुनामा हुनुहुन्छ,त्यो पार्टीका पढेलेखेका, बुझ्ने भनेका साथीहरूले छोएर देखाऊ भनिरहेका छन्। अरू बेला कानुनले बाटो लियोस् भन्ने, आफ्नो पार्टीको मान्छे परे पछि चाहिँ छोएर देखाऊ भन्ने? राप्रपाबाट सिके हुन्छ उहाँहरूले। सिक्नु पर्यो।’
उनले राजाको वरिपरि मात्र रहेको भ्रष्टाचार अहिले अनाथ बालबालिकालाई शरण दिने ठाउँ बालमन्दिरसम्म फैलिएको बताए। तिनै नेतालाई निर्वाचित गर्दा देश भ्रष्टाचारबाट आक्रान्त भएको उनले बताए। मतदाता नसुध्रिएसम्म देश नसुध्रने उनले सुनाए।
सहकारी प्रकरण र प्रधानमन्त्रीको पार्टीलाई कार्यालय बनाउन व्यापारी मीनबहादुर गुरुङले अरब पर्ने जग्गा दान गरेको विषयलाई राप्रपाले चुनावी नारा बनाएको छ।
अध्यक्ष राजेन्द्र लिङदेनले कुनै एउटा व्यापारीले कुनै एउटा पार्टीलाई एक अर्ब चन्दा खुसीले दिन नसक्ने बताए। ‘अरबको चन्दा खुसीले दिन्छ?मेरो बाउको पार्टी, मेरो बाजेको पार्टी, म यति वर्ष जेल गएको पार्टी, लेवि तिरेको पार्टी भनेर त्यसैलाई बोकेर देश बरबाद गर्ने काममा सहभागी हुनुहुन्छ कि? उनीहरूलाई छोडेर देश बनाउन लाग्नु हुन्छ?,’उनले भने,’हामी चिमोट्न आएका छौ। जगाउन आएका छौ।’
राप्रपाले जनतालाई मत परिवर्तन गर्न हारगुहार गरिरहेको छ। नेतृत्व गलत भएका कारण देश नबनेको अध्यक्ष लिङदेनले बताए। ‘उपचार गर्दा घरजग्गा जाने डरले रोग पालेर बसेका नागरिक छन्,सीमित नेतालाई भोट दिँदा अकालमा मृत्यु पर्खेर बस्नु परेको छ,उनले भने,भोट किन दिनु पर्यो? विकल्प खोज्नु पर्यो। प्रणाली गलत भयो।’
उनले नेतालाई मात्र दोष दिएर नहुने बताए। बेइज्जत गरे, बरबाद गरे भनेर फेरी तिनै नेतालाई भोट दिने जनता खराब भएको उनले सुनाए। ‘नेता त परिबन्धमा परे होलान्,’उनले भने,देश बरबाद गर्ने काममा तिनलाई भोट दिने हात पनि दोषी हुन्।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.