बाढीले बस्ती नै सखाप : सरकारको राहत घोषणा मात्रै, पत्रसम्म पुगेन

बाढीले बस्ती नै सखाप : सरकारको राहत घोषणा मात्रै, पत्रसम्म पुगेन

बालबालिका बिरामी पर्न थाले, एम्बुलेन्स पुग्ने अवस्था छैन

काभ्रे : १२ असोजको बिहान ८ बजे बागमती नदीमा लेदो सहित बाढी आउँदा काभ्रे खानीखोला गाउँपालिकाको चनौटे र सिक्रेदोभानको बस्ती नै बगायो। १८ घर परिवार सुकुम्वासी बने। ह्वात्तै बाढी आयो। केही निकाल्न पाएनन्।

फुल बहादुर रुम्बा, भट्ट बहादुर स्याङतान, बुद्ध स्याङतान, विक्रम स्याङतान, देवराज स्याङतान सहित १८ परिवार असोज १२ गते बेलुका देखि बस्तीदेखि माथि लुते भन्ने ठाउँमा त्रिपाल टाँगेर ओत लागिरहेका छन्। जनहित मावि र महेन्द्र प्राविमा पढ्ने विद्यार्थीको पढाइमा बाधा पुगेको छ।

जमिन नै नभए पछि के कमाएर खाने? उनीहरू अन्धाधुन्धमै छन्। बिरामी परेमा उपचारका लागि डोकोमा बोकेर अस्पताल ल्याउन समेत कठिनाइ छ। गाडी चल्ने बाटो बनिसकेको छैन। घर भएको जमिनमाथि बागमती नदी बगेको हेरेर दिनरात कटाइरहेका उनीहरूले केन्द्र सरकारको अनुहार देख्न पाएका छैनन्। केन्द्र सरकारले सहयोग गर्ला भन्ने आशामा बसेको फुल बहादुर बताउँछन्।

खानीखोला गाउँपालिकाको बागमती किनारका बासिन्दाको उठीबास भएको छ। सरकारले दिएको पाल टाँगेर बस्ने जमिन नै छैन। ४० जनाको घर पूर्ण रूपमा क्षति भएको छ। बागमती नदीको किनारमा रहेको ३ सय जनाको खेत बगाएको छ। ७ वटा लघु जलविद्युत आयोजनाको नामनिसान मेटिएको छ।

सिँचाइ, खानेपानी, विद्यालयका संरचना भत्काएको छ। चनौटे र सिक्रेदोभान भन्ने दुई वटा बस्तीको अस्तित्व गायब भएको छ। बस्ती भएको ठाउँमा खोलो बगिरहेको छ। सरकारले दिएको पाल टाँग्ने ठाउँ पनि नरहेको गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङले जानकारी दिए।

जाडो आयो, चिसो छ। बालबालिका बिरामी हुन थालिसके।। सरकारले सङ्कटग्रस्त पालिका घोषणा गर्दा खानीखोला मध्यममा परेको छ। सरकारले ७५ लाख रुपैयाँ दिने निर्णय गरेको बताए पनि आजका दिनसम्म पत्रसम्म पुगेको छैन। स्थानीय सरकारले पनि बल्ल लगत सङ्कलनको काम सक्दैछ।

३ सय किलोमिटर जति सडकमा क्षति पुगेको छ। ६/७ वटा विद्यालय भवन भत्किएका अध्यक्ष थिङले बताए। पालिकाले पहिलो प्राथमिकता सडक सञ्चालनलाई दिएको छ। अहिले धमाधम बाटो खुलाउने काम चलिरहेको उनले सुनाए।

सरकारले दिने भनेको ७५ लाख रुपैयाँले बाटो सफा गर्न पुग्दैन। स्थानीयको आवश्यकता उच्च छ। सुकुम्वासीलाई जमिन उपलब्ध गराउनु पर्नेछ। सानो स्रोतको स्थानीय सरकारले सडक, खानेपानी, विद्यालयका संरचना बनाउन सक्ने अवस्था छैन। केन्द्र सरकारको सहयोग आवश्यक छ। अझ स्थानीयको निजी आवास निर्माण गर्न सक्ने अवस्था नै नरहेको गाउँपालिका अध्यक्ष थिङले बताए।

घरसँगै अन्नपात, लत्ताकपडा र जमिन बाढीले बगाएपछि बेसहारा बनेका नागरिकसम्म सरकारी राहत पुग्न सकेको छैन। सिंहदरबार र बालुवाटारमा फन्को लगाइरहेको सरकारले विपत्तिमा परेका नागरिकलाई पाल टाँग्ने जमिन उपलब्ध गराउने कुनै टुङ्गो छैन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.