गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परंब्रम्हा तस्मेश्री गुरुवे नम् :
आठराई मूलमानी, त्यम्वेरुङ निवासी पिता जर्नाधन सिटौला एवं माता नैनकला सिटौलाका ज्येष्ठ पुत्रका रूपमा वि.सं. १९९१ साल कार्तिक १२ गतेका दिन जन्म लिनु भएको न्वारानकै नाम कर्णाखर राखिए तापनि शिक्षा प्रारम्भको सिलसिलामा विद्यालयमा भर्ना गराउँदा छविलाल शर्मा सिटौला लेखिएकाले यही नाम नै प्रचलित भयो।
शिक्षा प्रारम्भ भाषा पाठशालाबाट हुँदै त्रिमोहन विद्यालयमा छ देखि दश कक्षासम्म अध्ययन गर्दै गर्दा नन्दीरात्रि विद्यालय, काठमाडौँमा स्थानान्तरण भई सोही विद्यालयबाट वि.सं. २०११ सालमा एसएलसी परीक्षा उत्तीर्ण, त्यसपछि भारतको वाराणसीस्थित श्री हरिश्चन्द्र कलेजबाट सन् १९५८ (२०१५) मा आई. ए. क्रमशः त्रिचन्द्र कलेज काठमाडौँबाट वि.सं. २०१६ मा वी.ए.(त्रिविको प्रथम ब्याच) गर्नुभयो र, शिक्षणकै सिलसिलामा नयाँ शिक्षा पद्धति योजना लागू भए पछि सेवाकालीन एक वर्षे डीप.इन्.एड्.त्रि.वि.बाट वि.सं. २०३१ मा पुरा गर्नु भयो।
सं ज्योतिषा ज्योति: (ज्योतिसँग ज्योति मिलाएर अगाडि बढ) यजुर्वेदले उल्लेख गरेअनुसार वी.ए. (स्नातक) योग्यता हासिल गर्नुभई आफूले अध्ययन गरेकै त्रिमोहन विद्यालय, सक्रान्तिमा शिक्षण सुरु गरी (वि.सं.२०१६ देखि २०२३) सात वर्ष व्यतीत गर्नु भयो। वि.सं. २०२३ सालमा मधेस झरी दमकलाई नै कर्मथलो ठानेर होला मिति २०२३/०९/२८ गते श्री हिमालय विद्या भवन हाइस्कूल, दमकको सञ्चालक समितिबाट प्रधानाध्यापकको नियुक्ति लिनु भई वि.सं. २०५५/०९/२७ सम्म अनवरत सेवारत भई निवृत्त हुनु भएका उहाँ साँच्चै शैक्षिक उन्नायक हुनुको अर्थ सुकर्मको आलोकले दिएको छ। दमकको हाइ स्कुलमा लगातार बत्तीस वर्ष सेवा दिने क्रममै वि.सं. २०३८ देखि २०४९ सालसम्म यो पनि लामै समय हो, उहाँले दमक बहुमुखी क्याम्पसमा समेत सेवा दिनु भयो।
शिक्षण पेसामा छँदै सुरु, सुरुमै नेपाली ऐन स्रेस्ता कक्षा नौ दशका लागि पाठ्यपुस्तक लेखी प्रकाशन गर्नु भएको र अलिक पछि ‘अ कम्लिकेशन एसएलसी इङ्लिस ग्रामर’ (पूर्णान्द शर्मा सँगको सहलेखन)का कृतिहरू पढेका थियौँ। र, कृतिकै सन्दर्भमा वि.सं. २०३५/०३६ सालमा उहाँकै संरक्षकत्वमा अनि तत्कालीन हिमाविका अङ्ग्रेजी विषय शिक्षक गोविन्दराज भट्टराईको सम्पादकत्वमा बनारसबाट मुद्रित ‘हिमज्योति‘का दुई अङ्क प्रकाशित थिए।
अव लागौँ—झापा, दमकको शैक्षिक पृष्ठभूमिको स्मरण गर्नतिर राम्रो गुणले युक्त असलकर्मका खातिर जुटेका शिक्षानुरागी ती अग्रजहरू जसले वि.सं. २०१२ कै हाराहारीमा दमकको तारावारी, ढुकुरपानी र दमक बजारमै शिक्षाको उज्यालो छरी सभ्य समाजको निर्माणका लागि एक एकवटा विद्यालय स्थापना गरेका थिए। ती अग्रजहरूले बसालेका शिक्षाको जगले नै आजको दमक उन्नतशील छ।
⁎⁎
वि.सं. २०१२ सालमा स्थापित विद्यालय भर्खरभर्खर थिरी गर्न लागेको हुर्कँदैको विद्यालय वि.सं. २०१८ सालको आगलागीमा पर्नु, विद्यालय सारिनु, विकासका पूर्वाधार बेगरको तत्कालीन दमक बजार अन्धकारमय नै थियो। त्यही अन्धकारलाई छिचोली मास्न र शिक्षाको आलोक फैलाउन खातिर वि.सं.२०१८ को आगलागी पछि दमकका अगुवा एवं समाजसेवी, शिक्षानुरागीहरुको सक्रियताले हाल विद्यालय (हिमावि) भएकै ठाउँ रोजेर विद्यालय स्थापना गरेकाले सोही स्कुल कालान्तरमा (मातृ विद्यालय) को भूमिकामा सतिसालझैँ खडा छ र यो विद्यालय दमककै गौरव पनि हो।
दमक बुधबारेका नामले चिनिने तत्कालीन दमक बजार अत्यास लाग्ने नै थियो। छन् त बजार थियो। बुधवार हाटखोलामा ढिलोगरि बजार (हाट) लाग्थ्यो। हाटमा दुईचार चिया पसल र पानका घुम्ती हुन्थे र हाटबजार बाहेक मानिसको चहलपहल खासै हुन्नथ्यो। गाउँ पञ्चायत र थाना सँगै थिए। गाडी चल्दैनथे भन्दा क.सन्तवीरका काठ बोक्ने ट्रकहरू चल्थे। दमकमा चिया बगान भएकाले हाटका दिन अलिक बढी चहलपहल हुने गर्थ्यो।
यस्तो पिछडिएको ठाउँका अग्रजहरूले कस्तरी ठुलो आँट र उत्साहले विद्यालय खोलेका। तर आगोले देखि सहेन र खरानीमै परिणत गर्दियो। विद्यालय सारे, बनाए। स्कुल छ विद्यार्थी छन्। तर मास्टर भने नहुने। वरपर धरान, विराटनगर आदि ठाउँबाट खोजेर ल्याई तिनलाई, डेरावस्न र खान अनि ट्युसन समेतको व्यवस्था गरी राख्यो, केही दिनमै हिँड्ने नअडिने हुँदा शिक्षकको अभाव खट्किरहने गर्थ्यो। ती शिक्षकहरू राम्रो अवसरका खातिर दमकमा भविष्य नदेख्नाले हिँड्ने कुराले दमकको अवस्थालाई गिज्याउँथ्यो। अग्रजका कुराकानीमा र म आफैले पनि सम्झना सँगालेको छु— त्यो के भने वि.सं. २०२२ सालको मङ्सिर महीनामा धरान पब्लिक हाइ स्कुलबाट सात कक्षा उत्तीर्ण गरेर तत्कालीन दमकको हिमालय विद्या भवन हाई स्कुलमा कक्षा आँठमा नाउँ लेखी पढ्ने क्रममा आठ कक्षाको विद्यार्थी कक्षामा म एक्लै तीन दिन बसेको छु। कारण के रहेछ भने क. सन्तवीरले आफ्नी श्रीमतीका नाउँमा पदमा हाइस्कूल चलाइ दिने भएकोले पदमा हाइस्कूल नाउँ राखी स्कुल चलाउने सर्त राखेकोले तत्कालीन समितिले सर्तलाई अस्वीकार गरेकोले, सञ्चालक समितिले हाइ स्कुलको स्वीकृत ल्याउन नसक्नाले नै होला र टुङ्गो नभएकाले त्यही स्कुलबाट कक्षा सात उत्तीर्ण गर्ने विद्यार्थी अन्यत्रै भएकोले गर्दा म एक्लै परेको रहेछु। पछि मात्र बुझे। विद्यालयले स्वीकृति लिने पक्का पक्की जसो भएपछि ती सबै फर्की आए भने अन्य अरू पनि तोपगाछी, गौरादह, मधुमल्ला, रविजस्ता ठाउँबाट विद्यार्थीहरूको चाप बढ्दै वि.सं. २०२३ सालमा छविलाल सर, प्रधानाध्यापक हुनु भएपछि धरानबाट ध्रुव पराजुली, तोया पराजुली, विराटनगरबाट भीम प्रसाद घिमिरे आदि ग्र्याजुएट विषय शिक्षकहरू क्रमशः थपिने र विद्यार्थी सङ्ख्या बढ्दै विद्यालय सुचारु हुन पुग्यो।
२०२२ साल पौष महिनामा म त्यस विद्यालयमा भर्ना भई अध्ययन गर्ने क्रममा प्रधानाध्यापक रुद्र कुमार दास साथै शिक्षकहरूमा दक्षराज शर्मा, नन्दबहादुर सुवेदी, मेघराज तिम्सिना, बालाकाजी थापा, विष्णुलता प्रधान, कुवेर काफ्ले, डम्बरुबल्लभ प्याकुरेल, रमाकान्त जेन्टिल, पियन गोविन्द बहादुर सोडारी हुनुहुन्थ्यो। प्र.अ. रुद्रकुमार दास प्रहरी सेवामा लाग्नु भई विद्यालयबाट अवकाश लिएपछि केही महिनाका लागि वी.वी.लिम्बूलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको थियो।
विद्यालयले हाइस्कूलको स्वीकृति प्राप्त गरेपछि हेडसरकै भगीरथ प्रयासमा सर्वप्रथम विद्यालयले २०२४ सालमा एसएलसी बोर्ड परीक्षामा सम्मिलित हुनका लागि शान्त प्रसाद भट्टराई, हरिबहादुर राई, कोमल प्रसाद प्रसाईँ, बद्री कुमार शर्मा र रमेश भट्टराईसमेत पाँच जना विद्यार्थीलाई परीक्षार्थीका रूपमा सामेल गराएको हो। र, विद्यालयले निरन्तर सँगले बर्सेनि सैयौ सक्षम विद्यार्थी उत्पादन गर्दै अगाडि बढिरहेछ।
⁎⁎
२०२३ को पौष शेसन सुरुमै मैले दमक छाडे र धरान पब्लिक हाइस्कुलमै भर्ना भई ८ कक्षा दोहोर्याउन पुगे। अर्को वर्ष २०२४ को झन्डै आधी सेसन पछि पुनः दमकमै फर्किएर नौ र दश कक्षा अध्ययन गर्दा विद्यालयमा कार्यरत शिक्षकहरू प्रधानाध्यापक छविलाल शर्मा सिटौला तथा शिक्षकहरूमा पूर्णानन्द शर्मा, नन्द बहादुर सुवेदी, दक्षराज शर्मा, विष्णु दाहाल, शरदचन्द्र शर्मा, वासुदेव गौतम, बालाकाजी थापा, लक्ष्मी (एलपी) जोशी आदिको सम्झना रहेकै छ।
२०२८ सालमा हेडसरकै विशेष सक्रियतामा हिमालय विद्या भवन हाइ स्कुलले एसएलसी परीक्षाको केन्द्र प्राप्त ग¥यो। र, यस वरपरका धैलाडुवा, शिवगञ्ज, तोपगाछी, गौरादह, गौरीगञ्ज मधुमल्ला, रवि आदि ठाउँका विद्यार्थीहरूको परीक्षा केन्द्र हिमावि नै हुने गर्थ्यो।
२०२६ सालमा हिमाविबाट एसएलसी उत्तीर्ण गरियो। कलेज पढ्न जाने अवसर भने पाइएन। तापनि प्राइभेट पढियो। र, स्थानीय गाउँ पञ्चायत दमकले सञ्चालन गरेको अनिवार्य तथा निःशुल्क प्राथमिक पाठशाला केन्द्र नं. १ दमक बजारको स्कुलमा वि.सं.२०२७ साल असोज १ गतेबाट शिक्षण सेवामा प्रवेश गरे।
शिक्षणकै सिलसिलामा स्थानान्तरण हुँदै भाङ्गवारी, ढुकुरपानी, पुनः भाङ्गवारी र दमक बजारको अ.नि.प्रा.पाठशाला हुँदै वि.सं.२०३४ साल पौष २४ गते बाट हाजिर हुने गरी जिल्ला शिक्षा कार्यालय, झापाले सरुवा बढुवा गरेर हिमाविमा खटाएकोले हाजिर हुन पुगे। प्र.अ. छविलाल शर्मा सिटौलाले नि.मा. शिक्षकको दरबन्दीमा हाजिर गराउनु भयो। यसरी उहाँसँगको सामीप्यमा २१ वर्ष सम्म रहँदा उहाँकै प्रेरणाले ज्ञान, सीप, सिक्ने र जान्ने अवसर पाउँदा खुसीको अनुभूति जाग्दछ। \
जसबेलामा विद्यालयमा स.प्रधानाध्यापक भीम प्रसाद घिमिरे हुनुहुन्थ्यो। शिक्षकहरूमा दक्षराज शर्मा, किरण प्रसाद शर्मा, ऋतुराज भण्डारी, विदुर प्रसाद खतिवडा, गोविन्दराज भट्टराई, बद्री बास्कोटा, मधुसूदन भट्टराई, तुलसी प्रसाद खरेल, सोम प्रसाद गौतम, कोमल प्रसाद प्रसाईँ, बालाकाजी थापा, शकुन्तला सुब्बा, कमला खतिवडा, होमराज कटुवाल कार्यरत हुनु हुन्थ्यो।
म हिमाविमा हाजिर भए पश्चात् ४० को दशक सम्मका सहकर्मी शिक्षकहरू कुपेन्द्र झा, कृष्ण कुमार राई, उमानाथ पाण्डे, देवकृष्ण प्रसाईँ, शान्ता प्रसाईँ, कृष्णप्रसाद सुवेदी, गोपाल प्रसाद उपाध्याय, देवी प्रसाद ओझा, नेत्र मिश्र, रामावतार मण्डल, नारायणप्रसाद भट्टराई, लोलाकान्त मिश्र, धनपति न्यौपाने, सुरेन्द्र कुमार श्रेष्ठ, सूर्य प्रसाद गौतम, भूमिनन्दन दवाडी, हरिनारायण खनाल, नन्दलाल यादव, पदम प्रसाद ओलीजस्ता सहकर्मी मित्रहरू हुनुहुन्थ्यो। उहाँहरूमध्ये कोही सरुवा भई अन्यत्र गएका, कोही सेवा परिवर्तन गरेर, कोही भर्खरै सेवा प्रवेश गरेकाले आउने जाने क्रम चलिरह्यो। ४० दशक पछिका अन्य धेरै सहकर्मीको नाउँ आकाश–गङ्गाको मुन्तिर (हाम्रा जुनियरको यात्रा) पुस्तकमा उल्लेख गरेको छु। हिमाविका पूर्व शिक्षक, उ बेलामा आफ्ना ज्ञानमय ऊर्जा शिक्षाको उन्नयनमा खर्चिनु भएको र सेवा परिवर्तन गरी अन्यत्र को को कहाँ ? भन्ने सन्दर्भमा सम्झना भएसम्मकाहरुको नाम उल्लेख गर्न चाहेँ :
रुद्रकुमार दास प्रहरी सेवा, निरीक्षक
पूर्णानन्द शर्मा खाद्य संस्थान, जि.एम
नन्द बहादुर सुवेदी न्याय सेवा, न्यायाधीश
हरि बाबु भट्टराई न्याय सेवा, न्यायाधीश
ऋतुराज भण्डारी निजामती, उप–सचिव
गोविन्दराज भट्टराई टियु सेवा, प्राध्यापक
मोती बहादुर इङ्गनाम निजामती, अधिकृत
भगिराज इङ्गनाम निजामती, प्र.जि.अ.
बद्री प्रसाद बास्कोटा निजामती, डि.एफ.ओ
सूर्य प्रसाद गौतम निजामती, डि.एफ.ओ.
देवी प्रसाद ओझा सांसद शिक्षा, मन्त्री
समग्रमा उहाँहरूले विद्यालयमा पुर्याउनु भएको अतुलनीय योगदानबाट विद्यालयको निश्चित रूपमै गरिमा बढेको र विद्यालय अग्रपङ्क्तिमा सतिसालझैँ खडा छ। २०३५ देखि क्रमशः दमकमा हाइस्कूल (मा.वि) हरू थपिए। सरस्वती मा.वि. ढुकुरपानी मा.वि. पाणिनी मा.वि. पशुपति मा.वि, सिंह देवी मा.वि, सिद्धार्थ बोडिङ्ग, चुलाचुली बोडिङ्ग, सूर्योदय पाठशाला (फादर बोडिङ्ग) जस्ता स्कूलरु खुल्दै गए र दमकको शैक्षिक धरातललाई अझ फराकिलो पार्नका लागि दमक क्याम्पस खुल्यो।
⁎⁎
शैक्षिक उन्नयनमा हिमाविका उत्पादन, तीसको दशकबाट नै दमक र वरपरका ठाउँमा भर्खरै खुल्दै गरेका प्रा.वि/नि.मा.र मा.वि.हरूमा प्रायजसो शिक्षक हिमाविकै उत्पादन हुन्थे। र, खासगरी दमकका मा.वि.हरूका प्रधानाध्यापक पनि हिमाविकै उत्पादन हुनाले सम्झेजतिका प्र.अ. सरस्वती मा.वि. (कृष्णप्रसाद दंगाल र दिलीपकुमार श्रेष्ठ), पृथ्वी मा.वि.(मोहन प्रसाद मिश्र), ढुकुरपानी मा.वि.(सूर्यप्रसाद गौतम, लीलानाथ खनाल, कृष्ण प्रसाद भण्डारी), पाणिनी मा.वि.(टीका प्रसाद भण्डारी), कृष्ण मन्दिर मा.वि.(कृष्ण धिमाल), चुलाचुली बोडिङ्ग (चन्द्र प्रकाश राई), ईष्ट्रन स्टार (लक्षुदास राई), एभरेस्ट बोडिङ्ग (कोषराज प्याकुरेल), ग्लोबल एकेडेमी(गुणराज अधिकारी), प्रजिता एकेडेमी(जीवन सिवाकोटी), विद्याशिल्प एकेडेमी (खगेन्द्रप्रसाद भट्टराई) आदिले दमकभित्रै रहेर शैक्षिक उन्नयनमा सक्रिय भई लागि रहनुभएको उदाहरणले हिमाविको शानमान उच्च रहेको अनुभूति हुन्छ। र, यस मानेमा हिमालय मा.वि. दमककै “मातृ विद्यालय” हो भन्ने गरिएको हो।
अव लागौँ हेडसरसँगका केही स्मरणका सन्दर्भ गफगाफको सिलसिलामा केही प्रसङ्गवश सरसँग सोधेको थिएँ। “सर ! उस बेलामा वी.ए. (स्नातक) पास गर्नु भएको रहेछ? र, किन ! मास्टरीमा अल्झिनु भयो?”
“नारानजी। त्यसो त उसवेला नै हुलाक विभागको हाकिमको नियुक्ति लिनका लागि मलाई काठमाडौँबाट खबर आएको हो। तर, बुबा कडा स्वभावको अनि उहाँकै निर्देशनमा बुबा अध्यक्ष रहनु भएकै स्कुलमा अल्झिएँ।”
अर्को, कुरैकुराको सन्दर्भमा अन्य कुनै मित्रको प्रसङ्ग आउँदा “ख्वै, आफूले त सम्पत्ति जोड्नेतिर ध्यान दिनै भ्याइन र मेरा अनन्य मित्र न त शत्रु दुवै कमाइन भन्ने लाग्दछ” भन्नु भएको थियो।
२०५८ सालताका काठमाडौँमा २०४० का एसएलसी समूहका दुईचार विद्यार्थीसँग भेटघाट हुँदा हेडसरको प्रसङ्ग उठाए। र भने—सर तपाइको त प्रायः हेडसरसँग भेट हुन्छ नै भने। मैले सरसँग भेट हुन्छ नै भने! सर! हाम्रा हेडसरलाई के को दौडधुप हँ? आराम गर्न छाडेर। सोधी दिनु न भनेकाले दमकमा भेट हुँदा सुनाइ दिएँ।
मेरा कुरा सुनेर सरको जवाफ थियो— “नारानजी तिनले त के? तपाईँले नबुझेको कुरा हो यो। खासमा म बूढो भएर, असक्त भएँ, कमजोर छु भन्ने मानसिकता पालेर घरमै थच्चिनु भनेको रोगी बन्नु हो। त्यसो हुने हुँदा म सक्रिय छु। कुरा बुझ्नु भो। उमेर त अवस्था हो।”
यसलाई जति सक्दो सक्रिय राखौँ भन्नु भएकोले सरकै सिको गर्दै जीवन चलाई रहेछु। सरलाई पुनः नमन!
सरकै प्रेरणा प्राप्त हुनाले उच्च शिक्षा हासिल गर्न सकेकोमा हर्षले विभोर छु। यदि उहाँले दमक क्याम्पस पढ्नमा प्रेरित नगर्नु भएको भए म आइएमै थन्किने थिएँ। गुरुको आशीर्वाद नै ठुलो।
२०४५ सालको ज्येष्ठ महिनामा हेडसरसँग तीर्थयात्राको जोग पर्न गएकोले भारतको पूर्वोत्तर गुवाहाटीको कामख्या देवीको दशनार्थ रेल चढेर गइयो। साथमा सरकी छोरी मञ्जना र मेरो छोरा पर्शुराम थिए। त्यो रेलको यात्रा, कामख्याको दर्शन र दिउँसोको सिनेमा हेराई त्यही माथि सहरको प्रचण्डधुप अनि रानिका लामखुट्टे र गर्मीले सताएको झल्को हाम्रै तराईको गर्मीले पनि दिन्छ।
पुनः विद्यालयकै सन्दर्भमा जोडिँदै हिमाविका शिक्षक, विद्यार्थी र अभिभावक वर्गको इच्छा शक्ति, जाँगर र उत्साहका साथै सरको सबल नेतृत्वले नै यस विद्यालयको गरिमा बढ्दै गर्दा शिक्षक, प्राध्यापक, डाक्टर, नर्स, अभियन्ता, उद्यमी, व्यवसायी साहित्यकार, कलाकार, विशेषज्ञ पत्रकार, प्रशासक, प्रहरी सेना, राजनीतिज्ञ जस्ता सयौँ प्रतिभा देश तथा विदेशमा छरिएर असल कर्मले धानिएका छन्। यो हाम्रा लागि उच्च गौरवको कुरा हो।
छविलाल (हेडसर) को दमक हिमाविमा आगमन भएसँग सँगै उहाँको विद्यालयप्रति कति ठुलो लगाव रह्यो भन्ने सम्झना गर्दैमा पनि छक्कै लाग्छ। मैले हिमावि पढ्दा अनुभव गरेको प्रत्येक दिन बिहान ८ बजे विद्यालय पुग्नै पर्ने र बेलुका ५ः३० तिर मात्र घर फिर्ने गर्नु हुन्थ्यो। अनि विद्यार्थीहरूका लागि एकदमै कडा, विद्यार्थीले एकदमै अनुशासित हुनु पर्ने। आफू पनि स्वाभिमानी निर्भीक, मोलाहिजा गर्न नजान्ने हुँदा प्रायः सबै सजग रहन्थे भन्दा फरक नपर्ने। त्यसैले त उहाँका सहकर्मीका साथ सहयोग र आँटले नै दमकको हाइस्कुलले प्रगति गर्न सकेको हो। उहाँले २०२३ साल देखि २०५५ सालसम्म लगभग ३२ वर्षसम्म निरन्तर विद्यालय चलाउनु भयो। उहाँ पछि उहाँकै उत्तराधिकारी रहनु भएका स.प्र.अ विदुरप्रसाद खतिवडाले प्र.अ. १५ वर्ष चलाउनु भयो। शैक्षिक जग बलियो हुँनाले र सबैको साथ सहयोग अनि उत्साहले विद्यालयले स्वर्ण जयन्ती मनायो र, प्र.अ. विदुर प्रसाद खतिवडाको सक्रिय भूमिकासँगै सहकर्मी शिक्षक, कर्मचारी, विद्यार्थी पूर्व विद्यार्थी, बृद्धिजीवि समाजसेवी, शिक्षानुरागी सबैसँग सहयोग लिई २०६२ देखि कक्षा ११, १२ चार सङ्कायमा चलाइएकोले क्रमशः हिमावि नमुना मा.वि. बन्यो। र, यो नै विद्यालयको सबै भन्दा ठुलो सफलता हो।
२०७० सालमा विदुरप्रसाद खतिवडा निवृत्त भएपछि उहाँकै उत्तराधिकारी स.प्र.अ डिल्लीराम पौडेल प्र.अ.मा नियुक्ति हुनुभयो भने उहाँको अवधि ८ महिना जति रह्यो। उहाँ स्वेच्छाले शिक्षक पदमै बस्नु भयो। र, उहाँपछि उहाँकै उत्तराधिकारी स.प्र.अ छाड्नु भएकोले अर्का उत्तराधिकारी स.प्र.अ. ओमप्रसाद उपाध्यायलाई प्र.अ.अ. विष्णु कान्त झा प्र.अ. भई चार वर्ष पछि उहाँले पनि आफ्नै उत्तराधिकारी स.प्र.अ. ओमप्रसाद उपाध्याय लाई प्र.अ.को पद सुम्पिनु भएको हो। र, उहाँको प्र.अ.को अवधि झन्डै चारै वर्ष जति रह्यो। उहाँ पनि शिक्षक पदमै फर्किनु भएको र हाल द्रोण बहादुर श्रेष्ठका हातमा प्र.अ.को स्टेरिङ्ग छ। शुभ र सफलताको कामना। समय बलवान छ, साथै गतिशील पनि छ है।
अन्त्यमा विट मार्दा मार्दैमा, हाम्रा सम्पूर्ण गुरुवर्गहरु साथै हिमावीका आदर्श र गौरवले सम्मानित हेडसर र हाइस्कूल पर्याय मै चिनिनु पनि ठुलै पहिचान बोक्नु हो। मनमा हर्ष उम्लिन्छ पोखिने गरी भएर। त्याग र सुकर्मका प्रभावले निस्पृयसँग रहनु भएका गुरुको ऊर्जामय जीवन स्वस्थ एवं सुखी बनोस् भनी असीम श्रद्धाभावले दीर्घायुको कामना। नमन।।
(शर्मा हिमालय मा.वि., दमकका पूर्व शिक्षक हुन्।)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.