जातीय सफाया गरेको गेलेफुमा भुटानी राजाको परियोजना, शरणार्थीले गराए विश्वसमुदायको ध्यानाकर्षण

जातीय सफाया गरेको गेलेफुमा भुटानी राजाको परियोजना, शरणार्थीले गराए विश्वसमुदायको ध्यानाकर्षण

112
SHARES
तस्बिर : गार्जियन

काठमाडौँ : सन् १९७९ मा क्युबाको राजधानी हवानामा भएको असंलग्न राष्ट्रहरूको सातौँ शिखर सम्मेलनमा भुटानका तत्कालीन राजा जिग्मी सिङ्गे वाङचुकले कुल राष्ट्रिय उत्पादनमा विश्वास नगर्ने भनेका थिए।

भुटानी पत्रकार टासी दोर्जेको लेख अनुसार राजा जिग्मीले भुटानका लागि कुल राष्ट्रिय खुसीयाली महत्त्वपूर्ण रहेको जवाफ दिएपछि भुटानमा कुल राष्ट्रिय खुसीयाली नामक दर्शनको प्रादुर्भाव भएको हो। भुटानले कुल राष्ट्रिय खुसीयालीलाई विकासको वैकल्पिक धारणाका रूपमा प्रस्तुत गर्दै आएको छ।

भुटानको सन् २००८ मा जारी भएको संविधानमा राष्ट्रको उद्देश्य कुल राष्ट्रिय खुसीयाली रहेको लेखिएको छ। सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले खुसीयालीलाई विकासको समग्र दृष्टिकोणका रूपमा परिभाषित गर्‍यो।

खुसीयाली मानिसको आधारभूत लक्ष्य रहेको प्रस्ताव पारित गर्‍यो। राष्ट्रसङ्घले सन् २०१२ मा हरेक वर्ष २० मार्चलाई विश्व खुसीयाली दिवसका रूपमा मनाउने निर्णय समेत गर्‍यो। भुटानले ल्याएको कुल राष्ट्रिय खुसीयालीको अवधारणाले चर्चा मात्रै पाएन,विश्वका विभिन्न देशले अनुसरण समेत गरे। तर, भुटान भने विश्वको सबैभन्दा खुसी मुलुक होइन।

संयुक्त राष्ट्रसङ्घको दिगो विकास समाधान सञ्जालको सन् २०१९ को प्रतिवेदन अनुसार भुटान विश्व खुसीयाली सूचकाङ्कमा १५६ देश मध्ये ९५ औँ स्थानमा छ। सन् २०१८ मा ९७ औँ र २०१४ मा ८४ औँ स्थानमा थियो। त्यसपछि यो मापन गरिएको छैन।

८ लाख भन्दा कम मानिसहरूको घर छ भुटानमा। भुटानको ८५ प्रतिशत जमिन जङ्गलले ओगटेको छ। भुटानको पाँचौँ राजा जिग्मे खेसर नामग्याल वाङचुक छन्। आम्दानीको मुख्य स्रोत पर्यटन भए पनि कोभिड महामारी पछि ठप्प जस्तै छ। रोजगारीका अवसर घटेको छ। आठ जना मध्ये एक जना भुटानी गरिबीमा बाँचिरहेका छन्।

सन् २०२२ मा २८.६ प्रतिशत युवा बेरोजगारी रह्यो। भुटान प्रेस स्वतन्त्रताको हिसाबले विश्वमा ९० औँ स्थानमा छ। सरकार आलोचना सुन्न सक्दैन।

अस्ट्रेलियामा बसोबास गर्ने भुटानी शरणार्थी ओम ढुङ्गेलको ‘भुटान टु ब्ल्याकटाउनः लुजिङ एभरिथिङ एन्ड फाइन्डिङ अस्ट्रेलिया’ नामक पुस्तकमा ‘जीएनएचको अवधारणाले खुसी र मानवअधिकारप्रति सरकारको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दैन। मानिसहरूले राष्ट्रिय सुखको भूमि किन छोड्छन्?’ भनेर लेखेका छन्।

विदेश जान रोक्न, पर्यटन र लगानीलाई आकर्षित गर्न खोजेको रूपमा भुटानले आफ्नो प्रतिष्ठामा ठुलो दाग लगाइरहेको छ। गत वर्षको डिसेम्बरमा राजाले दक्षिण भुटानको गेलेफुमा माइन्डफुलनेस सिटी निर्माण गर्ने योजना घोषणा गरे। विस्थापनको इतिहास भएको क्षेत्र हो गेलेफु। जसलाई ह्युमन राइट्स वाचले जातीय सफाया भनेको छ।

नेदरल्याण्डमा बस्ने भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्की भुटानमा अहिले पनि कुन बेला विस्थापित वा आफ्नो भूमिबाट जबरजस्ती निकालिने डर रहेको बताउँछन्।

सरकारको परियोजना घोषण हुनुभन्दा केही महिना अघि जुलाई २०२३ मा गेलेफुको जग्गा बिक्रीमा रोक लगाएको थियो। यो अन्तर्राष्ट्रिय समुदायको लागि ठुलो चासोको विषय हुनुपर्छ कार्कीले द गार्जियनका पत्रकार हेलेन सुलिभानसँग भनेका छन्। ‘भुटानमा जनताले राजा वा सरकारको इच्छाविपरित कुनै पनि कुराको विरुद्धमा बोल्न सक्दैनन्,’कार्की भन्छन्,’र त्यो (गेलेफु) राजाको परियोजना हो।’

कार्की सन् १९८० र ९० को दशकमा देश छोडेर भागेका भुटानीहरू मध्ये एक हुन्। जातीय रूपमा नेपाली ठानेका अधिकांश दक्षिणी भुटानमा बसोबास गर्ने भुटानीहरूलाई देश छोड्न दबाब दिइयो।

१ लाख १३ हजार भुटानी शरणार्थी तेस्रोदेश पुर्नवास भइसकेका छन्। ६ हजार ५ सय नेपालको शरणार्थी शिविरमा बसिरहेका छन्। भुटानका जेलमा अहिले पनि ३४ राजबन्दी छन्। ह्युमन राइट्स वाचले वर्षौँदेखि उनीहरूको रिहाइको लागि अपिल गर्दै आएको छ। राजाले मेगासिटी बनाउने घोषणा गरेको गेलेफुका नागरिक कोही देश निकालिए, कोहीलाई जेलमा कोचियो।

भुटानबाट देश निकालिएकालाई फर्किन निषेध गरिएको छ। आफ्ना सन्तानलाई जन्मभूमि देखाउन समेत नपाउने अवस्था छ। तर, भुटानी राजा भने आफ्नो नागरिकको जमिन हडपेर विदेशी लगानी भित्र्याउन लागेका छन्। उनले बडा दसैँको छेको पारेर नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानको भ्रमण गराए। भुटानी राजाले ज्ञानेन्द्र फर्के लगत्तै अस्ट्रेलियाको भ्रमण गरे।

तर, भुटानी राजा देश निकाला गरिएका नागरिकलाई भने प्रवेशमा निषेध गरिरहेका छन्। जन्मस्थान भुटान भएको राहदानी बाहकले भुटानको भ्रमण गर्न समेत पाउँदैनन्। आफैँले बनाएका नीति नियम र बोलेका विषयहरूलाई पालना गर्न असफल भएका भुटानी राजा राष्ट्रिय खुसीयालीको नारा भने लगाइरहेका छन्।

विश्वसमुदायले आफ्ना नागरिकलाई आफ्नो देशमा फर्काएर लैजाऊँ भनेर कयौँ पटक आग्रह गर्दा समेत उनले वास्ता गरेका छैनन्। विश्व समुदाय आफै लज्जित भएर धेरै जसो भुटानी शरणार्थीहरूलाई तेस्रो देशमा पुर्नवास गराएका छन्।

विश्वसमुदायले ‘जबसम्म भुटान र नेपालको दुईपक्षिय वार्ता सम्पन्न भएर भुटानी शरणार्थीहरूले निसाफ पाउने गौँडोमा पुग्दैनन्, तबसम्म दक्षिण भुटानीहरूबाट कब्जा गरिएका जमिन कसैलाई दिन पाइँदैन,’भनेको छ। तर, त्यसलाई लत्त्याएर जिग्मी सिङ्गेका छोरा जिग्मे खेसारले त्यो दक्षिण भुटानीहरूको पुरानो राजधानी सरहको गेलेफुलाई नै निशाना बनाएका छन्। भुटान अहिले त्यहाँ एउटा मेगा सिटी स्थापना गर्ने योजनामा लागि परेको अवस्था छ।

भुटान र भारतदेखि बाहिरका विभिन्न बुद्धिजीवी तथा धनाढ्यहरू पनि यसमा सहभागी हुने कुराले अति मर्माहत र लज्जित भएको भुटानी शरणार्थीहरू बताउँछन्। ‘जबसम्म नेपाल र भुटानको वार्ता सम्पन्न हुँदैन, तबसम्म कुनै पनि विश्व निकायका धनीमानी व्यक्तिहरूले यो अदूरदर्शी र लुटको जमिनमा यस्तो खाले लगानी गरिदिँदा कालान्तरमा भुटानी शरणार्थीहरूमाथि भुटानले गरेको ज्यादतीलाई जानीजानी दुखी गरिबमाथि हेलाहोचो भएको दर्सिन सक्ला भन्ने विचार सबैले राखिदिनुपर्छ,’उनीहरूले अनुरोध गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.