विगतमा विभिन्न सार्वजनिक पदमा रही महत्त्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै शिखर चुम्न सफल डा. मोहनमान सैंजूको असामयिक निधनबाट राष्ट्रले एक कुशल अर्थशास्त्री, कूटनीतिज्ञ तथा राष्ट्रको समग्र विकासको चिन्तकलाई गुमाएको छ।
सन् १९४१ मा पाल्पा जिल्लाको तानसेन नगरपालिका अन्तर्गत भगवती टोलमा प्रतिष्ठित व्यापारीको रूपमा परिचित पिता ललितमान सैंजू तथा माता रुक्मणीदेवी सैंजूको कान्छा छोराको रूपमा जन्मिएका उनले विद्यालय स्तरको शिक्षा स्थानीय जनता विद्यालयबाट हासिल गरेका थिए। बाल्यकाल देखी नै पढाइमा तेज ऊनी सामाजिक कार्यक्रममा पनि अग्रपङ्क्तिमा रहन्थे र, उनमा त्यसबेला देखी नै नेतृत्व गर्ने क्षमता थियो। फलतः १३ वर्षको उमेरमै समकालीन साथीसँग मिलेर ‘बाल सखा मण्डल’ गठन गर्ने कार्यको अगुवाइ गर्थे र विविध सामाजिक सूत्र जोड्ने कार्य गर्न सबैलाई प्रेरित गरेका थिए।
एसएलसी स्तरको परीक्षा र त्यसपछि स्नातक तहसम्म भारतबाट उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा उनले एमए गरेका थिए। पढाइमा जेहेन्ददार उनले आफ्नो ब्याचमा सर्वाधिक अङ्क प्राप्त गरेका थिए। एमए पढ्दै गर्दा बिएल प्रथम वर्षको परीक्षा पनि पास गरेका थिए। एकै वर्ष दुइटा डिग्रीको परीक्षा दिन नमिल्ने हुनाले अर्को वर्ष बिएल उपाधि पनि हासिल गरेका थिए।
विश्वविद्यालयको अध्ययन पूरा भएपछि बेलायतमा दुई प्रतिष्ठित शिक्षण संस्था तथा अमेरिकाको फ़ुलब्राइट छात्रवृत्तिमा छानिने अवसर प्राप्त भएको थियो। तर, ठिक त्यसै समय देशमा भूमिसुधार कार्यक्रम लागू गर्ने तयारी गरेको हुँदा त्यसमा सघाउ पुर्याउन गरिएको सरकारी आग्रह अनुसार आर्थिक योजना मन्त्रालयमा ‘अफिसर अन स्पेसल ड्युटी’को रूपमा राजपत्राङ्कित द्वितीय श्रेणीका सेवा आरम्भ गरे।
यसरी २२ वर्षकै उमेरमा एउटा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर उनलाई मिल्यो। २०२० सालमा नेपाल सरकारको भूमिसुधार कार्यक्रमको संयोजक भै झापाको बुधबारे गाउँबाट सेवा आरम्भ गरे।
झापामा भूमिसुधारदेखि हदबन्दीसम्म!
यो समय भूमि सुधार कार्यक्रम राष्ट्रकै प्राथमिकता थियो र पहिलो पल्ट भूमिसुधार विभागको स्थापना, सञ्चालन, तथा क्रमशः तीन वर्षमा सबै जिल्लाको कार्यक्रम लागू गर्ने दायित्व उनले सफलतापूर्वक सम्पन्न गरे। छोटो समयमै विभागको निर्देशक पछि खाद्य कृषि तथा भूमिसुधार मन्त्रालयमा कायममुकायम सचिवमा बढ़ूवा गरी पठाइयो। केही समय पछि कर्मचारीको विकासबाट साधारण (?) लैजाने कुरामा मन्त्रालयबाट षड्यन्त्र रची सेवाबाटै अवकाश दिएको उनको भनाई रहेको थियो।
सेवाबाट अवकाश पाएपछि फ़ुलब्राइट छात्रवृत्तिमा अमेरिकामा सन् १९७२ मा विद्यावारिधि हासिल गरे। त्यसपछि नेपाल फर्केर केही समय आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा)सँग आबद्ध रहे। त्यहाँ वर्ष दिन नपुग्दै विश्वविद्यालयको शिक्षाध्यक्ष पदमा नियुक्ति पाए। नयाँ शिक्षा योजना कार्यान्वयनको प्रारम्भिक चरणमा उनले यो महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए।
विश्वविद्यालयको शिक्षाध्यक्षको पदबाट उनी राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भए। झन्डै ६ वर्ष सदस्य पछि आयोगको उपाध्यक्ष भए। उपाध्यक्ष पदमै रहेको बेलामा उनी संयुक्त राज्य अमेरिकाको लागि राजदूत नियुक्त भए। राजदूत भई कार्यरत रहेकै समय नेपालमा राजनीतिक परिवर्तन भई बहुदलीय व्यवस्था लागू भएपछि नैतिकताका आधारमा राजीनामा दिएर फर्के।
नेपाल फर्केपछि राष्ट्रिय चिन्तन केन्द्रको रूपमा भूमिका खेल्ने उद्देश्यले खडा गरिएको सर्वाङ्गीण विकास अध्ययन केन्द्रको सञ्चालक सदस्य र पछि अध्यक्षको जिम्मेवारी सम्हालेर संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पुर्याए।
गरिबी निवारणको छेत्रमा एउटा नयाँ अवधारणा अन्तर्गत सरकारबाट गरिबी निवारण कोषको स्थापना भएको थियो। डा सैंजू उक्त कोषको संस्थापक उपाध्यक्ष भई कार्य सम्पन्न गरेका थिए। यस अतिरिक्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष हुनुका साथै सक्रियतापूर्वक योगदान पुर्याएका थिए।
आफ्नो जन्मथलो पाल्पासँग उनको विशेष लगाव थियो। त्यस क्षेत्रको कुनै पनि कार्यक्रममा उनी सक्रिय रूपमा सहभागी हुने गरेका थिए। तानसेन गुथी, पाल्पाली सङ्गम जस्ता संस्थामा स्थापनाकालदेखि नै सल्लाहकार भूमिकामा रहेका उनी सधैँ त्यस्ता संस्थासँग सम्बन्ध कार्यक्रमका आकर्षणका केन्द्रमा रहे। विगत केही वर्ष देखि पार्किंसंसले ग्रसित बनाउँदै लैजाँदा पनि उनी त्यस्तो कार्यक्रम भरसक छुटाउन चाहँदैनथे।
संवत् २०२१ मा माधुरी सैंजूसंग वैवाहिक सम्बन्धमा गाँसिएका सैंजूका एक छोरी र एक छोरा छन्। मृदुभाषी, मिलनसार र सहयोगी भावका सैंजू पाल्पावासीका लागि ‘अभिभावक’ झैँ रहेका थिए। यस्ता अग्रज र अनुकरणीय सैंजूको नाम पाल्पाले मात्रै होइन, आज देश(विदेशले पनि उच्चारणमा ल्याइरहेको छ। यो विशाल प्रेरणापुरुषप्रति हार्दिक श्रद्धासुमन।
(लेखक नेपाल सरकारका पूर्वसचिव हुन्।)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.