काठमाडौँ : जन्म पछि मृत्यु अवश्य हुन्छ। यसको पीडा पनि असह्य नै हुन्छ। समाजमा आफ्नो पहिचान जोगाई राख्न र आफू जस्ता कैयौँको आवाजलाई बुलन्द बनाई राख्न खटिने पनि कमै हुन्छन्।
आफ्नो पहिचानलाई कहिले नबिर्सने र कसैले भुल्न नसक्ने गरी छाप बनाएकी तेस्रो लिंगी महिला यम बहादुर रानामगर (आनिक) यो संसारबाट अस्ताएकी छिन्। उनको पार्थिव शरीरमा इन्द्रेणी झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका आँखा रसाएका छन्।
ब्लु डायमन्ड सोसाइटीबाट सुनिलबाबु पन्तको बर्हिगमनसँगै उनी स्वार्थ समूहको चङ्गुलमा परेकी थिइन। विगत लामो समयदेखि क्यान्सर रोगसँगै आफ्नै समुदायका स्वार्थ समूहसँग लडिरहेकी आनिकले उपचारकै क्रममा प्राण त्याग गरिन्। लाभमा आशक्तहरूले उनलाई एक्लाएका थिए। उनीहरूसँग लड्दै आएकी आनिकलाई रोगले भने लगी छाड्यो।
समुदायको अधिकारका लागि लड्ने अभियन्ता, अधिकारकर्मी आनिकको पार्थिव शरीरमा इन्द्रेणी झन्डा ओढाएर संविधानसभाका सदस्य एवं एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले अन्तिम श्रद्धाञ्जली दिए।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्त आनिकको अन्तिम संस्कारका लागि रुपन्देहीको बुटवल पुगे। नेपालका सबैभन्दा प्रतिष्ठित, साहसी र मेहनती एलजीबीटीआई अधिकारकर्मी गुमाउनु परेकोमा उनले पीडा व्यक्त गरे।
नेपालमा पन्तको पुनरागमन पश्चात् आनिकले साहसी कदम नेपाल मार्फत अधिकार प्राप्तिको अभियान सशक्त बनाउँदै लगेकी थिइन।
आनिकले आफ्नो सम्पूर्ण जीवन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको लागि वकालत गर्न, पहिचान, लैङ्गिक समानता र सामाजिक परिवर्तनको लागि अथक सङ्घर्ष गर्न समर्पित गरिन। उनको अथक प्रयासले एलजीबीटीआई समुदायमा अमिट छाप छोडेको छ। अनगिन्ती व्यक्तिहरूलाई उनीहरूको अधिकारको लागि खडा हुन प्रेरित गरेको छ।
उनको लडाई कहिल्यै सजिलो थिएन। तर, उनले कहिल्यै हार मानिनन्। पहिचान अनुसारको नागरिकताका लागि सुनिलबाबु पन्तसमेत भएर सर्वोच्च अदालतमा रिट दर्ता गरिन्। २०७४ को स्थानीय तह निर्वाचनमा तिलोत्तमा उपमहानगरपालिका वडा नं ८ को वडा अध्यक्षमा उम्मेदवार बनिन्।
तेस्रो लिङ्गीहरूको ‘आमा’ भनेर परिचित आनिकको निधन, समुदाय स्तब्ध
समाजमा लैङ्गिक समानता र न्यायको पक्षमा मात्र नभएर समुदायका मुद्दाहरूलाई नीति र कार्यान्वयनमा समेट्न नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन आनिकले। उनकै पहलमा लुम्बिनी प्रदेश लोक सेवा आयोगले सरकारी जागिर (निजामती सेवा) मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ।
उनले पहिलो पटक यौनकर्मीको विकल्पका रूपमा उद्यमशीलता विकास कार्यक्रमहरू सञ्चालन गर्दै आम्दानीको बाटो खोलिन। जसको सुरुवात लुम्बिनी प्रदेशबाट संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीसँगको साझेदारीमा भएको थियो।
अदम्य साहस, निःस्वार्थ सेवा भावना र समानताको लागि उनले गरेको सङ्घर्षले सबैलाई प्रेरणा दिनेछ। उनी साहसी कदम नेपालकी अध्यक्ष थिइन। उनले लैङ्गिक अधिकारको निम्ति आफ्नो सम्पूर्ण ऊर्जावान् समय सुम्पिइन।
उनले कुनै सन्तानलाई जन्म दिइनन्, तर हरेकलाई आफ्नो सन्तानको जस्तै व्यवहार गरिन। लुकेका आवाज उठाएर आफ्नो लैङ्गिक पहिचानमा गौरवको अनुभूति गराउन उनी सफल भइन। रोल मोडल बनेर देह त्याग गरिन आनिकले।
उनको पार्थिव शरीर खरानी भएर हावामा उडेपनि उनले सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकी आमा बनेर निभाएको भूमिका र परिचय सधैँ अजरअमर रहिरहनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.