अमेरिकामा पहिलो महिला राष्ट्रपति चुन्ने प्रयास असफल, ३४ कसुरमा दोषी ठहर ट्रम्पमाथि चुनौती नै चुनौती

अमेरिकामा पहिलो महिला राष्ट्रपति चुन्ने प्रयास असफल, ३४ कसुरमा दोषी ठहर ट्रम्पमाथि चुनौती नै चुनौती

काठमाडौं : अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। सन् २०१६ मा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई अनपेक्षित रूपमा हराएर पहिलो पटक ह्वाइट हाउस प्रवेश गरेका ट्रम्पले यो पटक कमला ह्यारिसलाई पराजित गरे।

सन् २०२१ को जनवरी ६ मा संसद् भवनमा भएको दङ्गाको घटनापश्चात् राष्ट्रपतिको पदबाट ट्रम्पले हात धुनुपरेको थियो। अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले विश्वको ध्यान तानेको छ।

चुनाव अघि उनले घोषणा गरेको मुद्दामा अडिग भएमा अमेरिकामा राजनीतिक रूपमा केही कडा नीति आउने सम्भावना छ। ट्रम्पले आप्रवासनमा थप नियन्त्रण, व्यापारमा स्वदेशी उद्योगलाई प्राथमिकता दिने, र चीनसँग प्रतिस्पर्धा गर्ने महत्वकाक्षी घोषणा गरिसकेका छन्।

पछिल्लो कार्यकालमा वाचा गरे अनुसार अमेरिका र मेक्सिकोबीचको सीमामा पर्खाल लगाउनेछन् भने अमेरिकामा कागजपत्रविना बसेका आप्रवासीलाई पनि फिर्ता पठाउनेछन्। गर्भपतनको मुद्दामा कानुनी पक्षमा निर्णय गर्ने सङ्केत समेत मिलेको छ।

ट्रम्पले हरेक दिन आफू युद्ध अन्त्य गर्न चाहेको बताउँदै आएका छन्। तर अहिले विश्वमा दुई वटा यस्ता द्वन्द्व भइरहेका छन् जुन पछिल्लो पटक ट्रम्प राष्ट्रपति हुँदा सुरु भएको थिएन।

अहिले रुस–युक्रेन द्वन्द्व, मध्यपूर्वमा इजरायल र प्लालेस्टाईन तथा उत्तर कोरियाको आणविक र ब्यालेस्टिक मिसाइल कार्यक्रम ट्रम्पका लागि चिन्ताको विषय बनेको छ। ट्रम्पले यी मामिलाहरूलाई कसरी सम्बोधन गर्नेछन् आगामी दिनमा पक्कै देखिनेछ। ताइवानको बारेमा चीनलाई पनि सम्बोधन गर्नुपर्ने अर्को मुख्य चुनौती पनि ट्रम्पमाथि देखिएको छ।

ट्रम्प अमेरिकी राष्ट्रपति बनेसँगै विश्वका नेताहरूले बधाई दिन थालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बधाई दिएका छन्। ट्रम्पको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुने राष्ट्रपति पौडेलको विश्वास छ।

ट्रम्पका दुवै प्रतिस्पर्धी महिला

ट्रम्पले पराजित गरेका दुवै उम्मेदवार महिला परेका छन्। अमेरिकाको राष्ट्रपतिमा अहिलेसम्म कुनै महिला निर्वाचित हुन सकेका छैनन्। हिलारी क्लिंटन र ह्यारिस दुवै पहिलो महिला राष्ट्रपति बन्ने इतिहास रच्न असफल बने। दुबैलाई ट्रम्पले नै पराजित गरे।

ट्रम्प आफैँ भने २०२० मा जो बाइडेनसँग पराजित भएका थिए। जो बाइडनको बाँकी कार्यकालसम्म ह्यारिस अमेरिकी उपराष्ट्रपति रहनेछिन्। राष्ट्रपतिमा निर्वाचित ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई २० जनवरीमा सत्ता हस्तान्तरण गरिनेछ।

राष्ट्रपति निर्वाचित ट्रम्प र भान्सले पदभार ग्रहण गरे लगत्तै बाइडन र ह्यारिस दुवैको अमेरिकी सरकारमा कुनै राजनीतिक जिम्मेवारी हुनेछैन। नेपालको जस्तो अमेरिकामा विपक्षी दलको नेताको पद छैन।

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वप्रथम महिला मिशेल ओबामाले ह्यारिसलाई सान्त्वना दिँदै ‘लोकतन्त्रमा बाँच्नु भनेको हाम्रो बिचारले मात्र जित्दैन भनेर आत्मसात् गर्नु र शान्तिपूर्ण सत्ता हस्तान्तरणलाई स्वीकार गर्न तत्पर हुनु हो,’भनेका छन्।

हाउअर्ड विश्वविद्यालयमा भावपूर्ण सम्बोधन गर्दै राष्ट्रपतिमा पराजित ह्यारिसले अमेरिकाको उज्ज्वल भविष्यका लागि लड्न नछाड्न अनुरोध गरेकी छन्। चुनावमा पराजित भएपछि ह्यारिसले भनिन्,‘जबसम्म हामीले हार मान्दैनौ र लडाइ जारी राख्नेछौँ, अमेरिकाप्रतिको आशाको ज्योति सधैँ उज्यालो बल्नेछ। म यो चुनावमा हार स्वीकार गर्छु। तर यो अभियानलाई बल दिएको लडाइँमा हार मान्दिन।’

हिलारी क्लिनटन अमेरिकाको प्रमुख राजनीतिक दलको तर्फबाट राष्ट्रपति चुनावको उम्मेदवार बन्ने पहिलो महिला बनेकी थिइन। मत सर्वेक्षणहरूले भने ह्यारिसलाई जस्तै हिलारीलाई ट्रम्प भन्दा अगाडी देखाएका थिए त्यसबेला पनि।

ट्रम्पले विदेशी सामानमा १० देखि २० र चीनबाट आयात हुने सामानमा ६० प्रतिशत कर लगाउने प्रस्ताव गरेका छन्। डोनाल्ड ट्रम्प न्यूयोर्क राज्यमा व्यावसायिक अभिलेखहरू किर्ते गरेका ३४ वटा कसुरमा दोषी ठहर भइसकेका छन्।

पूर्व पोर्नस्टारलाई चुप बस्नका लागि पैसा दिएको अभियोगमा पनि ट्रम्प दोषी पाइएको अदालतले फैसला सुनाएको छ। सजाय तोक्ने मितिलाई चुनावपछि अर्थात् नोभेम्बर २६ का लागि सारेका छन् न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.