काठमाडौँ : अमेरिकी चुनावमा पहिलो पटक नेपाली भाषी भुटानी शरणार्थी राज्य संसद् पदमा निर्वाचित भएका छन्। २० वर्ष नेपालको शरणार्थी शिविरमा कष्टकर जीवन बिताएर अमेरिका पुर्नवास भएका सुरज बुढाथोकीले न्यु ह्याम्सशायर हाउस अफ रिप्रिजेन्टेटिभ हिल्सबरो ४० डिस्ट्रिक्ट जितेका हुन्।
चार सिटका लागि भएको चुनावमा बुढाथोकीसँगै चारै जना डेमोक्र्याटिक उम्मेदवार निर्वाचित भएका छन्। भुटानको साम्राङमा जन्मिएका बुढाथोकी नेपालको शरणार्थी शिविरमा दुई दशकको बसाइ पछि अमेरिका पुर्नवास भएका हुन्।
बुढाथोकी नेपाली भाषी भुटानीहरूको परिवारको पुनर्मिलन हुनुपर्ने अभियानका अभियन्ता पछि हुन्। आफ्ना परिवार भेट्न भुटान जान पाउनु पर्ने माग बुढाथोकीले राख्दै आएका छन्। नेपाली भाषी भुटानी समुदायका दोस्रो जनप्रतिनिधि उनी पहिलो अमेरिकी संसद् बनेका छन्।
नेपाली भाषी भुटानी समुदायबाट पहिलो अमेरिकी जनप्रतिनिधि भने भुवन प्याकुरेल हुन्। उनी ओहायोको रेनल्ड्बर्ग सिटी काउन्सिल मेम्बरमा दोस्रो कार्यकालमा कार्यरत छन्।
चुनावमा विजयी भएको घोषणा गर्न पाउँदा हर्षित भएको बुढाथोकीले उल्लेख गरेका छन्। उनले आफूलाई समर्थन गर्ने र साझा दृष्टिकोणमा विश्वास गर्ने सबै मतदाताहरूलाई धन्यवाद दिएका छन्।
उनले प्रत्येक परिवारको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच, बालबालिकाका लागि सुरक्षित र मायालु वातावरण, सबैलाई आफ्नो जीवन सुधार्ने समान अवसरहरू भएको समाज निर्माण गर्नु लक्ष्य रहेको उल्लेख गरेका छन्।
उनी भुटानको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय छन्। उनले मतदाताको विश्वासको सम्मान गर्न, महत्त्वपूर्ण मुद्दाहरूलाई अगाडी बढाउन र आफ्नो समुदायको लागि सकारात्मक परिवर्तन ल्याउन अब वास्तविक काम सुरु हुने उल्लेख गरे।
सुरज अस्थिरता र सङ्घर्षको बीचमा हुर्के। ९ वर्षको उमेरमा सुरजको परिवारलाई भुटान देशबाट निष्कासित गरियो। त्यसपछिका २० वर्ष शरणार्थी शिविरहरूमा अमानवीय अवस्थामा बिताएको सुरजले आफ्नो वेबसाइटमा लेखेका छन्।
२९ वर्षको उमेरमा उनी नेपालबाट पुर्नवास भएर अमेरिका पुगे। भुटानी शरणार्थीबाट उनको परिचय बदलियो। उनको “अमेरिकी“ राष्ट्रियता भयो। अमेरिकाले मलाई बस्ने ठाउँ मात्र होइन–यसले मलाई आशा, स्थिरता र नयाँ सुरुवात प्रदान ग¥यो,सुरजले आफ्नो वेबसाइटमा लेखेका छन्।
उनले म्यानचेस्टर सामुदायिक कलेजमा उच्च शिक्षाका साथ, दक्षिणी न्यु ह्याम्पशायर विश्वविद्यालयबाट स्नातक डिग्री पूरा गरेका छन्। नर्विच विश्वविद्यालयबाट स्नातक गरेका सुरजको व्यवसायले ७० जना भन्दा बढी मानिसहरूलाई रोजगारी दिएको छ। उनी श्रीमती गीता, दुई छोराछोरी, ब्रायना र बास्टियनसँग म्यानचेस्टरमा बस्छन्।
सुरजको जीतमा देश निकालिएका भुटानी समुदायले खुसी व्यक्त गरेका छन्। भुटानी राजनीतिक बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले सुरजको जीत तेस्रो देश पुर्नवास भएका भुटानी शरणार्थीहरूका लागि अहिलेसम्मकै ठुलो उपलब्धि भएको बताए। बधाई दिँदै कार्कीले सुरजको जितले भुटानी समुदाय गौरवान्वित भएको उल्लेख गरेका छन्।
अमेरिकामा नेपाली मूलका पहिलो सांसद ह्यारी भण्डारी हुन्। उनी मेरिल्यान्ड राज्यमा डिस्ट्रिक ८ बाट दोस्रो कार्यकालमा कार्यरत छन्। नेपाली मूलकी पहिलो महिला सांसद सराहना श्रेष्ठ न्यूयोर्कको राज्य विधान सभा जिल्ला १०३ बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्।
यस्तै क्यालिफोर्निया राज्यको हर्कुलेस सिटी काउन्सिलमा त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक डिल्ली भट्टराई विजयी भएका छन्।
चुनावमा पहिलो र दोस्रो हुनेले आलोपालो मेयर र उपमेयर हुने अमेरिकी नियम अनुसार दोस्रो स्थानमा रहेका डेमोक्र्याटिक उम्मेदवार भट्टराईलाई नेपाली मूलको पहिलो सिटी मेयर हुने बाटो खुलेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.