गणेशमानको त्याग सालिकमा सीमित, राष्ट्रपतिको असन्तुष्टि

गणेशमानको त्याग सालिकमा सीमित, राष्ट्रपतिको असन्तुष्टि

काठमाडौं : देशको नाममा आफ्नै संवृद्धिमा लागेका नेताहरू विकृत बन्दै गएका छन्। नयाँ पुराना कोही पनि नेता बिटुला छैनन्। सत्ता र शक्तिको आडमा मानव तस्करीको धन्दामा लागेका नेताहरू पछिल्लो समय कानुनी फन्दामा पर्न थालेका छन्।

चौतर्फी विरोधपछि जापानमा मानव तस्करीको गम्भीर आरोप लागेका कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री पदबाट राजीनामा दिएका लीला वल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गर्न नेकपा एमाले बाध्य भएको छ।

पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रेस विज्ञप्ति जारी गर्दै अधिकारीलाई लागेको आरोप निरूपण नभएसम्मका लागि पार्टीका कुनै पनि तहमा रहन नपाउने गरी कारबाही गरिएको जानकारी दिए।

एमालेले अधिकारीको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग पनि गरेको छ। मन्त्रालयसँग सम्बन्धित नभएका व्यक्ति नक्कली परिचयपत्रसहित जापान लिएर गएपछि जापानको अध्यागमनले अधिकारीसहित चारै जनालाई ४८ घण्टा विमानस्थलमै रोकेर फर्काइदिएको थियो।

नेपाल आइसकेपछि अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। शनिवार बसेको एमाले सचिवालय बैठकले कोशी प्रदेशको निर्णय अनुमोदन गरेको छ। राज्यका निकायले गर्ने छानबिनमा सघाउने निर्णय पनि गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमाले नेता लीला वल्लभ अधिकारी जोडिएको घटनालाई पनि इङ्गित गर्दै काँग्रेस महामन्त्री गगनकुमार थापाले कानुन विपरीत कार्य गर्ने सबै कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले सहकारी वा मानव तस्करीमा जनप्रतिनिधि नै संलग्न रहेको जुनसुकै प्रकरणमा गल्ती गर्नेले सजाय भोग्नुपर्ने बताएका हुन्।

विभिन्न प्रकरणमा सत्ताको नजिक–टाढा, नयाँ–पुरानो, भिड–टाकुरा, एक्लो–शक्तिशाली जे जस्तो भए पनि कानुन बराबर हुनुपर्ने र गल्ती गर्नेले सजाय भोग्नुपर्ने उनको भनाइ छ। थापाले पार्टी सरकारमा हुँदा वा प्रतिपक्षमा हुँदा आफ्नो उक्त मान्यता र विश्वास नबदलिने जिकिर समेत गरे। सर्वमान्य नेता गणेशमान सिंहको जन्मजयन्ती समेत रहेको प्रसङ्ग उल्लेख गर्दै महामन्त्री थापाले आफूहरूले गणेशमानबाट सोही कुरा सिकेको जिकिर गरेका छन्।

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर सिंह नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा सबैको निष्ठाको केन्द्र बन्न सफल नेता हुन्। तत्कालीन राजा वीरेन्द्र शाहले सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि उनले समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेर नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए।

प्रजातन्त्र हुँदै देशमा गणतन्त्र आउँदा समेत सिंहले जनताको भरोसा जगाउन गरेको त्याग उदाहरणमा मात्र सीमित बन्न पुगेको छ। गणेशमानको जन्मजयन्तीमा विभिन्न कार्यक्रम गरेर योगदान उच्च रहेको सुनाउने बाहेक नेताहरूले जनतामा भरोसा दिलाउन सकेका छैनन्।

देशमा भ्रष्टाचार, विकृति र विसङ्गति मौलाएको छ। गरिब र पिछडिएका जनताको आवाज र असन्तुष्टि बढ्दो छ। गणेशमानलाई स्मरण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार, विकृति र विसङ्गति हटाउनु पर्ने बताए।

लोकतान्त्रिक सिद्धान्त, मूल्यमान्यता र निष्ठालाई आफ्नो जीवन शैली मानेका गणेशमानले कहिल्यै कुनै सौदाबाजी गरेनन्। तर, प्रजातन्त्र हुँदै गणतान्त्रिक शासन व्यवस्थामा आइपुग्दा समेत नेताहरू भने पदका लागि जे पनि गर्न तयार बनिरहेका छन्।

शासन व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न नसकेका नेताहरू आफैँ पनि असन्तुष्टि व्यक्त गरिरहेका छन्। काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भए पछिका वर्षहरूको गहन समीक्षा जरुरी रहेको बताए। जनताका आकाङ्क्षा पुरा गर्न नसकेको स्वीकार गर्दै सिटौलाले समीक्षा गर्नुपर्ने बताए।

काँग्रेस—एमालेलाई भेडाको संज्ञा

१० वर्ष जनयुद्ध गरेर तीन पटक सरकारको नेतृत्वमा पुगेको माओवादी भने बल्ल अनुभवी भएको बताउन थालेको छ। जनताको अवस्था बदल्न युद्ध गरेको भन्ने माओवादी पनि सरकारको रसास्वादनमा भुलेको स्वयं माओवादी नेताहरूको अभिव्यक्तिले पुष्टि गरेको छ।

तर्साउने, थर्काउने र आफ्नो स्वार्थ पूर्तिमा मात्रै सत्ताको प्रयोग गरेको आरोप खेपका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बल्ल अनुभवी भएको बताए।

प्रचण्डले जनतामा भरोसा दिलाउन नसक्नुको दोष भने काँग्रेस र एमालेलाई दिएका छन्। आफूहरू सोझो भएका कारण काँग्रेस र एमालेले प्रयोग मात्र नगरी पार्टी नै सिद्ध्याउन लागेको आरोप उनले लगाए। आफ्नो पार्टी सिद्ध्याउन कयौँ पटक धूप हाले पनि सफल नभएको प्रचण्डको भनाई छ।

कसैले चाहँदैमा प्रचण्ड र माओवादी अहिले नसकिने बताउँदै उनले नेपालमा नयाँ आन्दोलन थालेर मात्रै आफूले विश्राम लिने घोषणा गरे। मकवानपुरस्थित वाइसीएल थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशनमा अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको नारा सहित आन्दोलनमा होमिन लागेको सुनाए।

प्रचण्डले काँग्रेस र एमालेलाई कुजातको संज्ञा दिए। काँग्रेस र एमालेलाई भेडा भन्दै प्रचण्डले यस्ता भेडाहरूको सङ्गत गर्दा माओवादी पनि भेडाजस्तै भएको बताए। उनले ती कुजातसँग सङ्गत गर्दा माओवादीमा पनि रोग सरेको टिप्पणी गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.