"/>
स्थानीय तह उपनिर्वाचन

मेयरमा पहिलो पटक तेस्रो लिङ्गीको उम्मेदवारी दर्ता, भ्रष्टाचार अन्त्य गर्ने घोषणा

मेयरमा पहिलो पटक तेस्रो लिङ्गीको उम्मेदवारी दर्ता, भ्रष्टाचार अन्त्य गर्ने घोषणा

काठमाडौँ : मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पहिलो पटक कीर्तिपुर नगरपालिकाको मेयर र ४ नम्बर वडा अध्यक्षमा तेस्रो लिङ्गी समुदायबाट उम्मेदवार बनेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दीपक महर्जन (हनि) मेयर र राजीव महर्जन (मौनी)ले वडा नं ४ को वडा अध्यक्षमा उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले तेस्रो लिङ्गी महिलाको उम्मेदवारको मनोनयन दर्ता शुल्कमा ५० प्रतिशत छुट दिएको छ। अन्य उम्मेदवारले मेयरमा १५०० र वडा अध्यक्षमा १००० रुपैयाँ शुल्क बुझाउँदा हनि र मौनीले ५० प्रतिशत छुट पाएका हुन्। संविधान सभा सदस्य सुनिलबाबु पन्तको पहलमा निर्वाचन आयोगले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उम्मेदवारी दर्ता शुल्कमा ५० प्रतिशत छुट गर्ने व्यवस्था यसअघि नै गरेको थियो।

मेयरका उम्मेदवार तेस्रो लिङ्गी महिला हनिले कीर्तिपुरको विकास गरेर जनतालाई देखाएर छोड्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘उम्मेदवार दर्ता गर्दा एकदमै खुसी लागेको छ। जित हार अवश्य नै हुन्छ,’उम्मेदवारको मनोनयन पत्र दर्तापछि पत्रकारहरूसँग हनिले भनिन्,’भ्रष्टाचार अन्त्य गर्छु,काठमाडौँका मेयर बालेन शाहको जस्तो विकास गरेर देखाउँछौ।’ अन्य दलहरूले विश्वास नगरे पनि जसपा नेपालले विश्वास गरेर उम्मेदवार बनाएकोमा हनिले धन्यवाद दिइन। उनले कीर्तिपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने घोषणा पनि गरिन।

हनिले व्याप्त भ्रष्टाचार निवारणका लागि कठोर बन्ने योजना सुनाएकी छन्। उनले भनिन्,’भ्रष्टाचार अन्त्य गरे मात्रै नेपालको ५० प्रतिशत विकास हुन्छ।’ उनले कीर्तिपुरलाई वातावरण मैत्री ग्रिन सिटी बनाउने भनेकी छन्। रोजगारी सिर्जना गर्ने विकासका कार्यक्रम ल्याउने हनिले उल्लेख गरेकी छन्।

पर्यटन प्रवर्द्धन गर्ने, ज्येष्ठ नागरिकलाई घरघरमै उपचार सेवा पुर्‍याउने हनिको प्रतिबद्धता छ। साना व्यापारी र गरिब मजदुरहरूलाई कर मिनाहा गर्ने घोषणा गर्दै हनिले समग्रमा कर घटाउने बताएकी छन्।

उनले संविधान सभा सदस्य सुनिलबाबु पन्तको साथ, मायाको पहिचान नेपालको सहयोग पाएकोमा खुसी व्यक्त गर्दै बिरामी पर्दा बाटोमै शरीर त्याग्नु पर्ने अवस्था अन्त्यका लागि कीर्तिपुरमै सुविधा सम्पन्न अस्पताल बनाउने घोषणा गरिन्। ‘कीर्तिपुरमा अस्पताल नै छैन। बाटो राम्रो नहुँदा काठमाडौँसम्म पुर्‍याउँदा जाम परेमा शरीर नै त्याग्नु पर्ने अवस्था छ,’उनले भनिन्,’सस्तो,सुलभ उपचारका लागि अस्पताल बनाएर उपचार सेवा प्रदान गर्ने कीर्तिपुरवासीलाई विश्वस्त हुन आग्रह गर्छु।’

उनले आफूहरू पनि काम गर्न सक्षम रहेको बताइन। वृद्ध वृद्धालाई औषधी उपचार गर्ने, कीर्तिपुरलाई हराभरा बनाउने, सबैको हक अधिकारलाई अगाडी बढाउने उनले योजना सुनाइन्। ‘काठमाडौँमा भन्दा धेरै कर लिएको छ कीर्तिपुरमा, कर न्यूनीकरण गर्नुपर्छ। भ्रष्टाचार अन्त्य गर्नुपर्छ,’उनले भनिन्,’सबैले साथ दिनुहोला, मुखले भनेर होइन,हामी काम गरेर देखाउँछौ।’

जसपा नेपालले स्थानीय तह उपनिर्वाचनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समेटेर उम्मेदवार बनाउनु ऐतिहासिक भएको समुदायका सदस्यहरूले बताएका छन्। दुवै जना स्थानीय बासिन्दा र असाध्यै सीमान्तकृत वर्गको प्रतिनिधित्व गर्ने उम्मेदवार हुन्। उम्मेदवारी दर्ता गराउँदै गर्दा पत्रकारहरूले चुनावमा उम्मेदवारी दिनुको कारण के थियो भनेर प्रश्न गरेका थिए। प्रश्नहरू स्वाभाविक नै हुन्। तर, अन्य उम्मेदवार भन्दा उनीहरूको भिन्नता हनि र मौनी आफैँ समाजको तल्लो तप्कासम्म जकडिएर बसेको समस्याहरूको भुक्तभोगी हुन्।

निर्वाचन उम्मेदवारको सबभन्दा पहिलो क्षमता भनेकै आफ्नो क्षेत्रको समस्याको जडसम्म पुग्नु हो। उहाँहरू यो समस्या समाधान कसरी गर्ने भन्ने विषयमा पनि ठोस योजना सहित आएको पाइएको स्थानीय मतदाताले बताए।

यो योजनाहरूलाई मौका पाएर कार्यान्वयन गरेमा कीर्तिपुरले महिला पुरुष भन्दा अलग तेस्रो लिङ्गी नेतृत्वको प्रभावकारी कार्यकालको अनुभव गर्ने पहिलो मौका पाउने संविधान सभा सदस्य सुनिलबाबु पन्त बताउँछन्। हनि र मौनी दुवै उम्मेदवारहरूका कारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा एउटा आशाको सञ्चार छाएको छ।


जसपा नेपाल पार्टी पनि सीमान्तकृत अत्यन्तै पछाडि पारिएका समुदायबाट उम्मेदवार बनाएर अन्य पार्टीको आसेपासेलाई मात्रै टिकट दिने प्रवृत्तिबाट अलग उभ्याउन सफल भएको छ। एउटा समावेशी पार्टीको एउटा राम्रो उदाहरण जसपा नेपाल बनेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले बताएका छन्।

निर्वाचन आयोगले धारा ४२ अनुसारको आरक्षण हुने गरी कानुन बनाउनु पर्नेमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आरक्षणबाट बहिष्करणमा पारेको संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले बताए। ‘तर, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उम्मेदवारी दर्ता गराउँदा ५० प्रतिशत छुट दिने व्यवस्था सकारात्मक छ,’पन्तले भने,’जसपा नेपाल जस्ता पार्टीहरूका कारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले चुनावमा सहभागिताको अवसर पाएका छन्,पन्तले भने,यो खुसीको कुरा हो। र हनि महर्जन र मौनी महर्जन यसरी आफ्नो पहिचान सहित उम्मेदवारी दिनु भएकोमा उहाँहरू सम्पूर्ण समुदायका लागि प्रेरणाको स्रोत बन्नु भएको छ।’

पन्तले २०८४ मा हुने आमनिर्वाचनमा अरू दलहरूले पनि यस्तै उदाहरणीय काम गर्ने विश्वास व्यक्त गरे। ‘नेपाल भरी थुप्रै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारहरू देख्न पाइयोस्,’पन्तले भने,’अहिलेलाई हनि र मौनीलाई उपनिर्वाचन सफलताको हार्दिक शुभकामना छ।’

उम्मेदवारी दर्तामा पन्तसँगै जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्य, सन्तोष सिलवाल, केन्द्रीय पहिचान विभागका प्रतिनिधि विकास कान्छा ब्लोन, नेवा प्रदेश सदस्य राकेश श्रेष्ठ लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.