पूर्वसभामुख ढुङ्गानाको निधन, प्रधानमन्त्री बन्ने सपना अधुरै

पूर्वसभामुख ढुङ्गानाको निधन, प्रधानमन्त्री बन्ने सपना अधुरै

काठमाडौं : पूर्वसभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन भएको छ। बिहानसम्म कुराकानी गरिरहेका उनलाई दिउँसो स्वास्थ्यमा असहजता देखिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भएको हो।

विगत तीन महिनादेखि कलेजो सम्बन्धी समस्या झेलिरहेका ढुङ्गानालाई दसैँको घटस्थापनाका दिन उपचारका लागि भारतको नयाँ दिल्लीमा लगिएको थियो। करिब २१ दिनको उपचारपछि नेपाल फकिएका उनको स्वास्थ्यमा खासै सुधार देखिएन।

आइतबार दिउँसो अचानक श्वासप्रश्वासमा समस्या भएपछि ढुङ्गानालाई काठमाडौँको मध्यबानेश्वरस्थित फ्रन्टलाइन अस्पताल पुर्‍याइएको थियो। नेपालमा प्रजातन्त्र आएपछि विसं २०४८ सालबाट २०५१ सालसम्म उनी सभामुख बनेका थिए।

तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन समेत उनले उल्लेख्य भूमिका खेलेका थिए। लामो समय देखि विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका ढुङ्गाना को प्रधानमन्त्री बन्ने सपना भने अधुरै रहेको उनलाई नजिकबाट चिन्ने अधिवक्ता एवम् जानकार डा.रुद्र शर्माले बताए। ‘उहाँ लामो समयसम्म वेटिङ प्राइममिनिस्टरको रूपमा रहनुभयो,लगभग भई पनि सक्नु भएको थियो,’शर्माले भने,‘तर शपथ ग्रहण हुन सकेन,त्यही उहाँको अपुरो भनेको,अरू त उहाँले धेरै कुरा गर्नुभयो।’

नमुना सभामुखको रूपमा रहेर संसद् चलाएका ढुङ्गानाले सरकार सत्तापक्षको र संसद् प्रतिपक्षको भन्ने सिद्धान्त स्थापित गरे। यही स्थापित सिद्धान्त अहिले पनि चलिरहेको अधिवक्ता रुद्र शर्माले बताए।

ढुङ्गानाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। सोमबार बिहान १० बजे पछि अस्पतालबाट शवयात्रा सुरु हुने छ। बिहान ११ बजे देखि १ बजे सम्म दुई घण्टा सानो गौचरणमा श्रद्धाञ्जली सभापछि सोमबार नै उनको अन्त्येष्टि गरिने पारिवारि स्रोतले जनाएको छ।

विक्रम सम्बत १९९८ साल माघ १७ गते ओमबहाल काठमाडौँमा जन्मिएका ढुङ्गाना बत्तीसपुतली स्थित आफ्नै निवास गौशालामा बस्दै आएका थिए। ढुङ्गानाका दुई छोरा र एक छोरी छन्। एक जना छोरा जर्मनीमा भएकाले सोमबार मात्रै काठमाडौँ आइपुग्ने छन्। उनकी श्रीमती भुवन कोइराला ढुङ्गाना प्रसिद्ध कवि समेत हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत लगायतले पूर्व सभामुख ढुङ्गानाको निधनप्रति शोक व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान सधैँ स्मरण भइरहने उल्लेख गरे।

प्रधानमन्त्री ओलीले ढुङ्गानाको निधनको खबरले आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उनको योगदान सम्झिरहने भनेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.