उपनिर्वाचनमा २ जना तेस्रोलिंगी सहित ४०७ जनाको उम्मेदवारी, १ जना निर्विरोध

उपनिर्वाचनमा २ जना तेस्रोलिंगी सहित ४०७ जनाको उम्मेदवारी, १ जना निर्विरोध

काठमाडौँ : स्थानीय तह उपनिर्वाचनमा ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना उम्मेदवारको मात्र मनोनयन पत्र दर्ता भएको छ। नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराईको मात्र मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले भट्टराई निर्विरोध निर्वाचित भएको घोषणा गर्न भने बाँकी छ। तर, काँग्रेसले विज्ञप्ति निकालेर भट्टराई निर्विरोध निर्वाचित भएको भन्दै बधाई दिएको छ।

काँग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गरेका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई नेपाली काँग्रेस केन्द्रीय कार्यालयले धन्यवाद दिएको छ।

आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य (तेस्रोलिङ्गी) गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र १ अन्य (तेस्रोलिङ्गी) गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन।

मेयरमा पहिलो पटक तेस्रो लिङ्गीको उम्मेदवारी दर्ता, भ्रष्टाचार अन्त्य गर्ने घोषणा

उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषा जिल्ला, धनुषाधाम नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम (पूर्वी भाग) जिल्ला, पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष पद र बझाङ जिल्ला, सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३र३ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भई सूची प्रकाशन भएपछि सोमबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने निर्वाचन तालिका रहेको प्रवक्ता अर्यालले बताइन।

मङ्गलवार मङ्सिर ४ गते अपराह्न ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

आयोगका अनुसार मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि मङ्सिर १६ गते आइतबारका दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ।
मतदान कार्यमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित सबै मतदाताहरूमा आयोगले आह्वान गरेको छ।

उम्मेदवारी दर्ता सम्बन्धी विस्तृत विवरण

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.