काठमाडौँ : गत असोज १० गतेदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४९७ पसलमध्ये २० वटा (४.०२%) राम्रा भेटिएका छन्। १३३ वटा (२६.७६%) मा म्याद सकिएका बस्तु भेटिएका महानगरपालिकाले जनाएको छ।
३११ वटा (६२.५७%) मा मूल्य सूची नराखिएको र २ सय वटा (४०.२४%) व्यवसाय नै दर्ता नगराई सञ्चालन भएका पाइएको छ। अनुगमन गरिएका पसलमध्ये ४३८ वटा किराना, १८ वटा मिठाइ, १९ वटा ड्राइ फुड, ७ वटा मसला र १५ वटा डेरी पसल थिए।
यस्तै कार्तिक २९ गतेदेखि नियमित चलिरहेको मःम पसल, होटल तथा रेस्टुरेन्टको अनुगमनका क्रममा ५२ वटा व्यवसायको जाँच गरिएको महानगरपालिकाले जनाएको छ। यस क्रममा ४५ वटा (८६.५८%) मा व्यक्तिगत सरसफाइमा कमी देखिएको छ। ४० वटा (७६.९२%) को भान्छा र कार्यस्थलको सरसफाइमा कमी देखिएको छ। १३ वटा (२५%) व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ।
बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य सचिव एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले अनुगमन प्रतिवेदन पेस गर्दै यस सम्बन्धी जानकारी दिएका हुन्।
प्रतिवेदनले उठाएका विषयमा समितिका संयोजक डङ्गोलले, अनुगमन कार्य कारबाही गर्ने उद्देश्यले नभई उपभोक्ताले स्वच्छ, सुपथ र सहज सामान प्राप्त गर्ने वातावरणका लागि गरिएको बताइन। ‘कसैलाई कारबाही गर्नु नपरोस्। जरिवाना तिराउनु नपरोस्। यस्तो आदर्श र स्वचालित बजार बनाउन सकियोस्,डङ्गोलले भनिन्,यसको निगरानीका लागि वडा स्तरीय अनुगमन समितिलाई सक्रिय बनाऔँ। क्षमता विकास गराऔँ। साझेदार कार्यालयहरूसँग सहकार्य बढाऔँ । वहुसाझेदार संयन्त्रबाट नतिजाका लागि काम गरौँ।’
बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी, उपभोक्ता अधिकारकर्मीसहित सहभागीहरूले अनुगमन कार्यलाई तीव्र बनाएपछि अवस्थामा सुधार आएको बताएका महानगरपालिकाले जनाएको छ।
‘उत्पादन (प्रडक्ट)’ र ‘प्रक्रिया (प्रोसेस)’ कन्ट्रोलमा अझै काम गर्नु पर्ने बैठकले औँल्याएको छ। बजारमा बिस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केचअप, जाम जस्ता खाद्य बस्तुमा म्याद सकिएको भेटिएको छ।
रसायन भएका बस्तुसँगै खाद्य बस्तु राखिएको, मूल्य सूची नराखिएको, व्यवसाय दर्ता नगरेको, पसल परिसरको सरसफाइमा ध्यान नदिएको, लेबल नभएका बस्तु बेच्न राखिएको, ढक तराजु प्रमाणीकरण नगरी प्रयोग गरिएको जस्ता समस्या भेटिए। मसीले छापिएका लेबलको खाद्यवस्तुसँग सिधा सम्पर्क भएको अनुगमनका क्रममा देखिएको छ।
मिठाइ पसलहरूमा स्वीकृत कोलटार रङ्गहरू प्रयोग गरिए पनि मात्रा नमिलाएको, तेललाई बारम्बार प्रयोग गरिएको, मिठाइमा उत्पादन मिति र म्याद सकिने मिति उल्लेख नगरिएको, मिठाइ बनाउने ठाउँ, पसल र भाँडाकुँडाको सरसफाइमा उचित ध्यान नदिएको पाइएको छ।
मःम पसल, होटल र रेष्टुरेन्टहरुमा व्यक्तिगत सरसफाइमा कमजोरी रहेको, दैनिक रूपमा प्रयोग हुने एप्रोन समेत फोहर भएको, भान्छामा लगाउने वा होटेलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेको, मसला राख्ने भाँडा फोहर भएको, भान्छाको भुईँमा पानी जमेर फोहर भएको, डस्टविनको उचित प्रयोग नभएको, पकाएका खानेकुरा खुला राखिएको, मांसाहारी र शाकाहारीका भोजन सँगै भण्डारण गरिएको, पकाएको र नपकाएका खानेकुरा सँगै राखिएको, किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ।
यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रूपमै निर्देशन र सुझाव दिएको थियो। यसरी दिएको सुझावका आधारमा ८ वटा होटल, रेस्टुरेन्टले सुधार गरेको भिडियोसहित विभागमा उपस्थित भएका छन्।
महानगरपालिकाले खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी, बुट क्याम्प) कार्यक्रम समेत सञ्चालन गरिरहेको जनाएको छ। यसमा खाद्य सेवामा अत्यधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रका व्यवसायीलाई खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिन्छ।
तालिमको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइएको महानगरले जनाएको छ। दोस्रो संस्करणमा दसैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइएको थियो। दसैँ लगत्तै तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यवस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा १६२ जनालाई तालिम दिइएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.