काठमाडौँ : भुटानलाई धेरै इतिहासकारले बसाईसरुवाको मुलुक भनेको पाइन्छ। तिब्बतबाट कोही राजनीतिक आस्थाले तथा कोही लुटपाट गरेर भुटान छिरे भने बर्मेलीमुलका सारछोक्पाहरु पनि पुगे।
भारत ब्रिटिस साम्राज्यवादको अधीनमा रहे अघि देखिनै नेपालबाट व्यापार, कृषि र सुरक्षित जीवन निर्वाहको खोजीमा भारत हुँदै बर्मा, सिक्किम, अरुणाञ्चल, नागाल्याण्ड, थाइल्यान्ड जाने गरेको पाइन्छ। त्यहाँबाट पुनआसाम बङ्गाल, कुशविहारको क्षेत्रमा बसोबास गर्दै उनीहरू भुटान प्रवेश गरे। तत्कालीन समयमा भुटान र भारतको सीमाङ्कन भएको थिएन। केवल डाँडाले कोटेको भागलाई सीमा भन्ने गरिएको थियो।
ब्रिटिस साम्राज्यवाद र भुटानको आपसमा लडाई झैँ झगडा हुने गरेको र त्यसलाई समाधान गर्ने हेतुले भुटानको डुअर्स क्षेत्र (तराई भाग) लाई ब्रिटिसले भाडामा लियो। आज भारतमा गाभिएको जलपाइगुढी, मिनागुढी तथा आसामको पहाड गाउँ हल्टुगाङ आदि भूभाग भुटानको मानिन्थ्यो। भारतमा राज गरेको ब्रिटिसले भुटानसँग सन्धि गरेको बेला अनुमानित रूपमा छुट्टाइएको सिमानालाई सिमाना डाँडा भन्ने गरिएको धेरै शरणार्थीका प्रौढहरूको मत छ।
दक्षिण भुटानका नेपाली भाषी बसेको भूभाग प्राय सबै नै यही ब्रिटिस साम्राज्यवादले भुटानसँग भाडामा लिएको भूभागभित्र पर्छ भन्ने शरणार्थी नेताहरूको कथन छ। यो जमिन जुन समयमा अङ्ग्रेजले भाडामा लियो, भुटानमा त्यतिबेला धर्मराजाको शासनकाल थियो। उनको शासनकालमा केवल अनुमानको हिसाबले मात्र सीमा थियो। दक्षिण भुटानको खाली भूभाग फुटहिल (चुरे) मा रहेका बहुमुल्यजंगल फडानी गरेर भारतमा पठाउने काम भयो।
यसका लागि ब्रिटिस साम्राज्यवादको निगरानीमा हाल पश्चिमबंगालको कालिङपोङमा घरजम गरी बसेका एक जना धनाढ्य व्यक्ति एसटी दोर्जीलाई एजेन्ट बनाएर दक्षिण भुटानको जङ्गल फडानी सहित त्यहाँ भएको उर्वर जमिनमा खेतीपाती गरेर छिमेकी मुलुकका मानिसलाई ल्याएर स्थायी रूपले बसोबास गराउने जिम्मेवारी दिइयो।
यिनै एजेन्ट एसटी दोर्जीलाई यो बस्ती बसाल्ने र छुट्टै प्रशासन खडा गर्ने अधिकार दिइएको हुँदा कालान्तरमा उनले बसाएका बस्तीहरूले एसटी दोर्जीलाई राजा भन्ने गरेको पाइन्छ। उनी अन्यत्र कहीँका राजा थिएनन् र उनलाई आधिकारिक रूपमा राजाको दर्जा दिएको पनि पाइँदैन। उनी सिक्किमी राज्य व्यवस्थाका निकट रहेको र सिक्किममा पनि ठुलो मात्रामा नेपाली भाषीको बसोबास भएको प्रतिफल स्वघोषित राजा बने। एसटी दोर्जीले त्यसो गर्नु भन्दा अघि अर्थात् १८९० अघि हाल भुटानको दागना क्षेत्र र साम्ची जिल्ला अन्तर्गत शिब्सु, बाँडा आदि क्षेत्रमा नेपाली जातिको बसोबास भैसकेको थियो।
अघिदेखि नै नेपाली भाषीले बसोबास गरेको हुँदा समान जातिका मानिसलाई नै दक्षिण भुटानमा बसाउन सके साम्प्रदायिक द्वन्द्व भन्दा पनि आपसी भाइचारा अधिक हुने ठहर गरी एसटी दोर्जीले भारतका विभिन्न जिल्ला लगायत नेपाल र सिक्किमबाट बसाई सर्दा निःशुल्क जमिन उपलब्ध गराइदिने प्रोत्साहन दिँदा ठुलो मात्रामा नेपाली भाषी जनजातिको उपस्थिति भुटानमा भयो।
पहिले साम्ची क्षेत्र अन्तर्गत बाडाजुम्सा क्षेत्रलाई जाङखार्पा नामले चिनिन्थ्यो। यता भुटानका धर्मराजा र कालिङपोङका स्वघोषित राजा एसटी दोर्जीको पनि आपसी सम्बन्धमा कुनै तनाव थिएन। समयले फड्को मार्दै जाँदा सन् १९०७ मा धर्मराजाको जीवन लीला समाप्त भयो। टोङसाका उगेन वाङचुक नाम गरेका एक शक्तिशाली स्थानीय पेन्लोपले राजसत्ता हत्याएको भन्ने समाचार बाहेक दक्षिण भुटानीहरूले थप कुनै जानकारी पाएनन् अथवा रुचि पनि लिएनन्।
ब्रिटिस साम्राज्यवादको समेत सहयोग पाएर दक्षिण भुटानमा बस्ती बसाउने अधिकार प्राप्त एसटी दोर्जी स्वघोषित राजा बने सरह नै टोङसाका उगेन वाङचुक पनि ब्रिटिसकै आर्सीवादमा राजा भए। यी दुवै राजाको सम्बन्धमा झनझन सुधार भयो। भुटानका प्रथम राजा उगेन वाङचुक र उनका छोरा दोर्जी वाङचुकको शासनकाल मिति १९०७ देखि १९५२ सम्म रह्यो। यी दुवै पुस्ताका राजाहरूले दक्षिण भुटानको भ्रमण गरेको कुनै दस्ताबेज पाइँदैन। यसको प्रमुख कारण भाषा र यातायात थियो।
दक्षिण भुटान र पुनखा, पारो, थिम्पु जिल्लामा सत्ता चलाउने वाङचुक वंशीय राजाहरूसँग कालिङपोङका राजा एसटी दोर्जीले नै सम्बन्ध मिलाउँथे। ब्रिटिस साम्राज्यवादको पूर्ण अधिकार क्षेत्रभित्र दक्षिण भुटान रहेको हुँदा आध्यकालदेखि सन् १९८४ सम्म दक्षिण भुटानको प्रशासनिक व्यवस्था भारतसँग मिल्दोजुल्दो थियो। त्यहाँका प्रमुख प्रशासकलाई कमिसनर भनिन्थ्यो भने केही जिल्लामा डेपुटी कमिसनर तथा सवडिभिजनल अफिसर नियुक्ति गरिएको हुन्थ्यो। यस विषयमा टेकनाथ रिजालले पनि आफ्नो निर्वासन किताबमा प्रस्ट रूपमा उल्लेख गरेका छन्।
यता भुटानको पश्चिमोत्तर र पूर्वी क्षेत्रका मानिसहरूको एकापसमा भाषा, रीतिरिवाज, धर्मसम्म मिल्दैनथ्यो। तथापि वाङचुक वंशीय राजाहरूले पहिलाको पेन्लोप प्रणालीलाई खारेज गरेर जिल्लाका प्रशासकहरूलाई डासो जोङदाका उपाधिले बहाल गरेका पाइन्छ भने स्थानीय गाउँमा तैनाथ हाकिमहरूलाई डासो डुङपा भनिन्थ्यो।
भुटानमा धेरै पछिसम्म न्यायपालिकाको नामो निशान थिएन। तसर्थ पश्चिम र पूर्वी भेगमा राजाद्वारा मनोनीत जोङदा नामी प्रशासकहरू र दक्षिण भुटानका कमिशनर, डेपुटी कमिशनर तथा सबडिभिजनल अफिसरहरूले नै न्यायिक निरूपण गर्थे। यसरी भुटान भित्रै छुट्टा छुट्टै समुदाय र व्यवस्थालाई एकीकरण गर्ने हेतु भुटानका दोस्रो राजा जिग्मे वाङचुकले छोरा जिग्मे दोर्जी वाङचुकसँग कालिङपोङका राजा एसटी दोर्जीकी राजकुमारी केजाङको विवाह गराइदिए।
यसैसेरोफेरोमा उता भारत सन् १९४७ मा ब्रिटिस साम्राज्यवादबाट मुक्त भयो। तथापि ब्रिटिस साम्राज्यवाद र भुटानबीच भएका सीमा सम्बन्धी सन्धिहरू कायम थिए। समय बित्दै जाँदा सन् १९६० को दशकमा भुटान र भारतको आधिकारिक सिमाना निर्धारण गर्ने सहमति बमोजिम ब्रिटिस साम्राज्यवादले स्थापना गरेको दक्षिण भुटानको ठुलो घना बस्ती वर्तमान भुटानको क्षेत्रभित्र पर्न गयो। जसले गर्दा भारत भुटानका सिमानामा बसोबास गरी आएका नेपाली भाषीका गाउँ बस्तीहरू विभाजन भए।
दक्षिण भुटानको सर्भाङ मुख्य प्रशासकीय केन्द्र मानिन्थ्यो। भुटानमा बस्ती बसाउन र प्रशासकीय व्यवस्थालाई अगाडि बढाउन नेपाली भाषीले प्रमुख भूमिका निभाएको पाइन्छ। भारतका कयौँ राजा रजौटाहरूलाई जस्तै भुटानका लागि गर्जमान गुरुङले रायबहादुरको पदवी पाएका थिए। गर्जमानलाई थिम्पु, हाँ, पुनखाका बासिन्दा जो लुटपाट गरेर जीवन निर्वाह गर्दथे, तिनलाई तह लगाउने जिम्मा दिएर साम्सीमा ब्रिटिसले बसाएको हो भन्ने जानकारहरू बताउँछन्।
यिनको पराक्रमले लडाकुहरूलाई भारत छिर्न गाह्रो भएको इख लिएका वाङचुक वंशका राजाहरूले पारो दरबारमा झुक्क्याएर बोलाई हत्या गरे भनिन्छ। उनका शेखपछि अर्का पात्र झुलेन्द्रबहादुर प्रधानलाई पनि ब्रिटिस साम्राज्यवाद र कालिङपोङका राजा एसटी दोर्जीको परामर्शमा सम्पूर्ण दक्षिण भुटानको हर्ताकर्ता बनाई कमिशनरको उपाधि दिएर तैनाथ गरिएको थियो। दक्षिण भुटानको बस्ती बसाल्ने र दक्षिण भुटान र वाङचुक वंशीय राजाहरूका माझ समन्वयन कार्य सफलतापूर्वक सम्पन्न गर्न सक्षम भएको प्रतिफल तेस्रा राजा जिग्मेदोर्जी वाङचुकले उनलाई दक्षिण भुटानको कमिशनरका अतिरिक्त आफ्नो एड्भाइजर (सल्लाहकार) पनि मनोनीत गरेका थिए।
भुटानका राजा जिग्मे दोर्जी वाङचुकलाई दक्षिण भुटानको भ्रमण गराएर नेपाली भाषी जनसमुदायको विचारहरू आदानप्रदान गर्ने वातावरण सिर्जना गरेका थिए। यो भ्रमण हुनुभन्दा ६ महिनाअघिदेखि दक्षिण भुटानका विभिन्न गाउँ जिल्लाहरूमा घुमेर दक्षिण भुटानका प्रशासक तथा कालिङपोङका राजा एसटी दोर्जीका ज्येष्ठ पुत्र डासो पाल्देन दोर्जी जसलाई कुमार शाव पनि भनिन्थ्यो। उनको समन्वयनमा धेरै सभा सम्मेलन भए।
ती सभाहरूमा नेपाली भाषीहरूले अव उप्रान्त कालिङपोङका राजाको साथमा उभिएर पारोका वाङचुक वंशीय राजाहरूसँग हातमा हात, काँधमा काँध मिलाएर देश विकास गर्नुपर्नेछ भनियो। अब भुटानमा संसद् सभा गठन हुने र त्यसका लागि भुटानका राजा जिग्मे दोर्जी वाङचुकको सवारी हुन अघि नै प्रत्येक जिल्ला र गाउँबाट जनप्रतिनिधि चुनी सक्नु पर्नेछ र राजाको सवारमा तिनीहरू अग्रभागमा रहेर आफ्नो धारणा राख्न पर्नेछ भन्ने खाले सभाहरू भए।
पाल्नेद दोर्जीको हत्या
जनप्रतिनिधिहरू चुनिए। त्यसपछि राजाको सवारीमा कतिपय मण्डल र जनप्रतिनिधिहरूको स्वीकृतिका रूपमा राजाबाट दोसल्ला प्रदान गरियो। यो घटना लगत्तै दक्षिण भुटानको सर्भाङमा राजा जिग्मे दोर्जीले आफ्नो प्रतिनिधिस्वरुप रिन्जिन दोर्जी नाम गरेका व्यक्तिलाई कमिशनर बनाए। उनको कार्यभार सुचारु हुन बाँकी रहँदै भुटानमा एउटा नराम्रो घटना भयो, यो १९६४ को समय थियो।
दक्षिण भुटानका हर्ताकर्ता तथा भुटानका प्रधानमन्त्री भइसकेका लिम्पो गोम पाल्नेद दोर्जीको हत्या भयो। हत्याको योजनाकार स्वयं राजाका भाइ नाम्गेल वाङचुक जसलाई पारो पेन्लोप पनि मानियो। पाल्देन दोर्जी बडामहारानी केजाङका साख्य दाजु थिए। आफ्ना दाजुको हत्या हुँदा राजाले हत्यारालाई कानुनी कठघरामा नउभ्याई उनले अराएका गिनाचुना मानिसलाई फाँसीको सजाय दिएको घटनाबाट राजा एसटी दोर्जीका सम्पूर्ण परिवार भयभीत हुन पुगे। जसको प्रतिफल प्रधानमन्त्रीका भाइ लेन्डुप दोर्जी, दिदी आजिटासी लगायत राजाका प्रतिनिधि भएर दक्षिण भुटानमा विराजमान कमिशनर रिन्जिन दोर्जी समेत रातोरात भागेर नेपालमा शरण लिन आएको इतिहास छ।
पाल्देन दोर्जीको हत्या हुनु दक्षिण भुटानी जनसमुदायको निम्ति पनि ठुलो क्षति थियो। यता भारतका प्रथम प्रधानमन्त्री जहवारलाल नेहरुले आफ्नी छोरी इन्दिरा गान्धीलाई साथमा लिएर पारोको भ्रमण गरे। उक्त भ्रमणमा भुटानको सर्वाङ्गीण विकासका लागि जनधनको सहयोग दिने बचन दिए। यसै बमोजिम सन् १९६० देखि द्रुतगतिमा भुटान विकासमा अघि बढ्दै थियो। यो सबको श्रेय उनै पाल्देन दोर्जी माथि जाने हुनाले र वाङचुक वंशका राजाहरूसँग भारतको सम्बन्ध दरो बनाउन उनले ठुलो भूमिका निभाएको हुनाले भुटानलाई दिई आएको सम्पूर्ण सहयोग भारतले बन्द गरिदियो। यस कार्यले भुटानमा खाद्य सामग्रीदेखि लिएर विभिन्न विकासिय कार्यहरू समेत ठप्प भएका थिए।
यता भारतको आर्थिक राजनीतिक तथा सामाजिक सहयोगमा दक्षिण भुटानमाथि प्राथमिकता दिएको प्रतिफल दक्षिण भुटानका हरेक गाउँ जिल्लामा स्कुल, अस्पताल, कृषि संस्थाहरू स्थापना हुने गतिले निरन्तरता पाइरहेको थियो। भुटानको राज्यव्यवस्थामा चाहिने सहयोग र नीतिहरू के कस्ता हुनुपर्छ र दक्षिण भुटानीहरू जो परापूर्व कालदेखि भुटान भित्र बसी आएका छन् तिनको राजनीतिक हक अधिकारका निम्ति सङ्घर्षरत भुटान काँग्रेसका नेताहरूसँग समन्वयन गरी यथाशीघ्र समस्या समाधान गर्न पण्डित नेहरुले भुटानका राजालाई सल्लाह दिएका थिए।
नेहरुको सल्लाह बमोजिम राजा जिग्मे दोर्जीले भूमिगतमा रहेका डिबी गुरुङलाई भेट्न आफ्ना भाइ नाम्गेल वाङचुकलाई व्यक्तिगत रूपले अराएको हुँदा नाम्गेल डिबीको भूमिगत बासस्थलो सिलिगुढीमा आएर राजाको पत्र हस्तान्तरण गर्दै डिबीलाई भुटान फर्काएको एउटा छुट्टै पाटो छ।
तेस्रो राजाको राजकाल भुटानलाई स्वर्णिम युगको रूपमा वर्णन गरेको पाइन्छ। दुर्भाग्यवश सन् १९७२ मा तेस्रो राजा जिग्मे दोर्जीको देहबसान भयो। त्यसपछि उनका एक मात्र छोरा जिग्मे सिग्मे वाङचुक राजा घोषित भए। जिग्मे सिग्मेको हकमा पूर्वराजा जिग्मे दोर्जी वाङचुकले भुटानको राजकीय सल्लाहकार परिषद्मा एउटा मन्तव्य दिएका थिए।
जसमा ‘म उमेर नपुगी बितेको खण्डमा मेरो छोरो जिग्मे सिग्मे वाङचुक २१ वर्षको हुन बाँकी नै रहेको खण्डमा राजपरिवारको अध्यक्षतामा मन्त्रिमण्डल गठन गर्नु र जिग्मे सिग्मे वाङचुक २१ वर्ष नाघेपछि संसदबाट विश्वासको मत लिएर उनलाई राजगद्दी सुम्पनु,’भन्ने उक्त राजपत्रमा उल्लेख थियो।
तर, यता राजाको इच्छालाई बेवास्था गर्दै जिग्मे सिग्मेलाई राजा बनाएको घटनाबाट भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले विमति जनाएकी थिइन। उमेर नपुगेको र संसद्ले अनुमोदन नगरेको अनि पूर्वराजाको इच्छा विपरीत कार्य भएकोमा उनी खुसी थिइनन्।
यस्तै यस्तैमा जिग्मे सिग्मेको राज्यारोहणका दिन एउटा अनौठो घटनाले उग्ररुप लियो। पहिले तिब्बतबाट भुटानमा शरण लिई बसेका केही लडाकुले भुटानको त्यो राज्यारोहणको समारोह बिथोल्न खोजेको पाइयो। यसको पूर्ण छानबिन नभई त्यसको दोष पूर्वराजा जिग्मे दोर्जी वाङचुककी अघोषित कान्छी रानी आजी याङकी माथि तेर्स्याउने भय गाइँगुइँ चल्यो। त्यसको तुरुन्त उनी भागेर इन्दिरा गान्धीको शरणमा पुगिन। उनको सम्पूर्ण श्रीसम्पत्ति भुटानले हड्प्यो। त्यति मात्र नभई उनका आसेपासे लगायत विद्रोहमा उत्रिएकाहरूको समेत श्रीसम्पत्ति हड्प गरेर भुटानले लामो दिनपछि थिम्पुको स्विमिङ पुलमा जम्मा गरेर लिलामीको सूचना जाहेर गर्यो। ती बहुमूल्य सामग्रीको चासो राख्ने भारत लगायत बङ्गलादेशका धनाढ्य व्यक्तिहरूको थिम्पुमा लर्को नै लागेको थियो।
जिग्मे सिग्मे वाङचुकको शासनकालको सुरुवातमा दक्षिण भुटानमा कुनै पनि अप्रिय घटना भएन। उनी अति नै सकारात्मक देखिन्थे। उनले आफ्नो पहिलो राष्ट्रिय दिवस नै गेलेफु जिल्लामा आयोजना गरेका थिए। त्यहाँ दक्षिण भुटानका सम्पूर्ण जनप्रतिनिधि तथा बुद्धिजीवीहरूलाई निमन्त्रणा दिइएको थियो। यो अवसरमा यति विघ्न जनमानसको उपस्थिति भएको थियो कि त्यहाँ मानिसलाई रातमा बास बस्ने होटलहरु र धर्मशालाहरूको अभावमा दुई रातसम्म मानिसले बाट बाटै रुखको फेदमा बसेर दिन रात बिताएका थिए।
वाङचुक वंशीय राजाहरूबाट पहिलो पटक भारतका राजदूत सलमान हैदरका सामीप्यमा राजाले दिने आश्वासन र नीतिहरू बुझ्न, सुन्न र जान्न उत्सुक त्यो जनसमूहमाझ उभिएर जिग्मे सिग्मेले ‘दक्षिण भुटानको सबै दाजुभाइ दिदीबहिनीहरू तपाईँहरूले कुनै दिन पनि आफूलाई गैरभुटानी तथा नेपाली नठानी दिनु, तपाईँहरू हामी एउटै परिवारका हौँ, हामीले सँगै मिलेर देश बनाउनु छ, तपाईँहरूको हकहितको लागि म कसैलाई विश्वास गरेर नछाडी म स्वयंले तपाईँहरूको हरेक इच्छा पुरा गर्ने बाचा गर्दछु,’भनेका थिए।
उनको त्यो भाषण लिपिबद्ध गरी ठाउँठाउँमा बाँडिएको थियो। त्यस्ता लिपिहरू आज पनि शरणार्थी अगुवाहरूका हातहातमा पाइन्छ। तर, कालान्तरमा राजाले दिएका आश्वासनहरू दिनानुदिन तुहिन थाले र उनका काका नाम्गेल वाङचुक जसलाई प्रधानमन्त्रीको हत्याको आरोप थियो, उनको सल्लाहमा हिँड्ने मात्र नभई उनकै परामर्शमा एकै दिन चार जना रानीसँग विवाह गर्न तत्मतयार भएको अवस्थाले खिन्न रहेकी राजमाता केजाङको स्वास्थ्य अवस्था नै खस्कियो। सन् १९८० मा जिग्मे सिग्मे वाङचुकले दक्षिण भुटानमा वर्षौँदेखि स्थापना भएको प्रशासनिक व्यवस्था माथि हमला गरे। त्यहाँ सेनाका पूर्व हाकिमहरूलाई प्रशासन प्रमुख बनाएर पठाए।
सैनिक शासनमा रहेका यी प्रशासकहरूले दक्षिण भुटानमा अन्याय अत्याचार थोपर्न थाले। यिनको अन्याय अत्याचारबाट केवल राजमाता खुस प्रसन्न थिइनन् र आजका मितिसम्म पनि उनी खिन्नको खिन्नै रहेकी छन् भनिन्छ। तर, नाम्गेल वाङचुकका आसेपासेहरू सबै व्यापारी र भुटानको विश्वप्रतिवन्धित बहुमूल्य सामानहरूको दुई नम्बरी धन्दा गर्ने अनि भ्रष्टाचारमा लिप्त समूह तथा व्यापारमा रुचि राख्ने समूह बढी भएको हुँदा नाग्मेलको आँखा दक्षिण भुटानको सुन्तला अलैँची बगान तथा टारी खेतहरूमा गाडिएको थियो।
यस्तैमा भुटानले बाटोघाटा तथा पुलपुलेसा हस्पिटलहरू निर्माण गरी एउटा सिङ्गो विकसित देशमा परिणत गरिसकेको अवस्थामा नाम्गेल वाङचुक जसलाई पूर्वराजाले सेना प्रमुख बनाए तर, त्यसको दुरुपयोग गर्दै प्रधानमन्त्रीको हत्यामा संलग्न भएको बाबजुद पनि व्यापार, वाणिज्य मन्त्रालयको जिम्मा सुम्पेका थिए। तिनै व्यक्ति जिग्मे सिग्मेका कतिपय कमजोरीलाई उछिन्दै देशको गृह मन्त्रालय सम्हाल्न सफल भए।
उनी गृहमन्त्री भए लगत्तै उनका मुनी उपगृहमन्त्रीको दर्जा दिएर दागो छिरिङ नाम गरेका व्यक्तिलाई भित्र्याए। दागो छिरिङ अघि संयुक्त राष्ट्र सङ्घ युएनमा भुटानको प्रतिनिधिका रूपमा कार्यरत थिए। तर, उनले कूटनीतिको दुरुपयोग गर्दै लागू औषध ओसारपसार गर्ने गरेको र उनकै सहकर्मी किन्ले दोर्जी नाम गरेको व्यक्ति जसलाई अमेरिका (युएस)को जेलमा थुनिएका थिए। यस कार्यमा दागो छिरिङको संलग्नता रहेको पाइयो भन्दै भुटानबाट राजकीय सल्लाहकार परिषद्को एउटा टोली छानबिनको लागि अमेरिका जाने योजनालाई समेत नाग्मेलले रोकेका थिए।
भुटानको संसद् छलेको घटना
नाम्गेल वाङचुक गृहमन्त्री भए लगत्तै दक्षिण भुटानका जनजीवनको बसोबास माथि प्रश्न खडा गरियो। लाखौँको सङ्ख्यामा दक्षिण भुटानीहरू देश छोड्न के कसरी बाध्य भए भन्ने कुरा विश्व जानकार नै छ। तर, एउटा विडम्बना के छ भने दक्षिण भुटानीहरूले भुटानको राजसत्ता माथि आक्रमण गरे, आन्दोलन गरे भन्ने दुष्प्रचार भएको प्रति धेरै भुटानी जानकारहरू खेद प्रकट गर्दछन्।
उनीहरूका अनुसार दक्षिण भुटानीहरूको आफ्नो हकहितको लागि अथवा राजाको प्रशासन माथि खिन्न भएको बारे कुनै दिन उनीहरूले प्रश्न उठाएका थिएनन्। अनि दक्षिण भुटानमा विदेशी मानिसको घुसपैठ भइरहेको छ अथवा त्यहाँ छानबिन गर्नुपर्छ भन्ने विषयलाई लिएर भुटानका कुनै निकाय, कुनै व्यक्ति मात्र नभई भुटानको संसद्लाई सम्म छलेको घटना जगजाहेर नै छ।
भुटानले १० वर्ष अघिदेखि सुनियोजित ढङ्गले दक्षिण भुटानमा सेनाका पूर्व हाकिमहरूलाई तैनाथ गरी तिनीहरूले सम्पूर्ण आक्रमणको रूपरेखा बनाइसके पछि राजा जिग्मे सिग्मे वाङचुकले गृहमन्त्री नाम्गेल वाङचुकको सिफारिसमा दक्षिण भुटानमा सैनिक शासन घोषणा गरेर गाउँगाउँमा एकाएक सेनाद्वारा हत्या हिंसा, बलात्कार सबै हुन थालेपछि मानिसहरू ज्यान जोगाउन कतिले सर्वस्व छोडेर भागे भने कतिले एक ठाउँमा जम्मा भएर राजा जिन्दाबाद, गृहमन्त्री मुर्दावाद भनेकै भरमा सयौँ मानिसहरू पक्राउ परे। जो आजका दिनसम्म कति बन्दी छन्, कति मारिए, कति लापत्ता भए त्यसको लेखाजोखा छैन।
जनगणनाको बहानामा जनता देशबाट लखेटेर के कसरी जमिन भुटानले हडप्न खोज्यो? कस्तो नीति बनायो? यो बारेमा पनि टेकनाथ रिजालले आजभन्दा दुई दशकअघि लेखेको निर्वासनमा वर्णन गरेका छन्। यसरी एकपक्षीय ढङ्गले जातिया सफाया अभियानमा राजाले नै सेना परिचालन गरी देशबाट भगाएपछि यी मेरा नागरिक होइनन् भनेको बेला सम्पूर्ण दक्षिण भुटानका मानिसहरूको गतिविधि र उनीहरूको बसोबासको इतिहास बुझेको भारतले बोलेन भन्ने धेरैको गुनासो छ।
तर, यसमा भुटानले भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीले नेपालका राजा वीरेन्द्र वीर विक्रम तथा सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारी, दार्जिलिङका सुवास घिसिङसँग कूटनीतिक हिसाबले विवाद सुल्झाउन असफल भएको रिस दक्षिण भुटानीहरूमाथि भुटानलाई जाइलाग्न सल्लाह दिएको बताइन्छ।
दक्षिण भुटानमा जनगणना दोहोर्याएर गर्नेबारे भुटानले भारतीय राजदूतावासलाई दिएको जानकारीमा एक लाख गोर्खाल्याण्डका मानिसहरू पसेको पाइयो र यिनलाई लखेट्नका निम्ति भारतसँग सहयोग समेत मागेको पाइन्छ। तर, त्यसमा भारतले हुन्छ या हुन्न भन्ने जवाफ नदिएको तर, भारतले आफ्ना सीमा कटाएर नेपालमा ल्याएर फ्याँक्न भने दिएको लीला भने बुझेर बुझी नसक्नुको छ।
भारतले भुटानको जनगणना देखि लिएर शिक्षा, स्वास्थ्य कृषि हरेक क्षेत्रमा लगानी गरेको यो दक्षिण बेल्टका मानिसहरूलाई भुटान र भारतको संयुक्त पहलमा सेनाका रूपमा बसोबास गराएको तितो यथार्थता आजसम्म बाहिर आएको छैन। भुटानको पहिलो संसद्को बडापत्रमा उल्लेख भएबमोजिम दक्षिण भुटानको सीमावर्ती इलाकामा गोर्खा जातिका मानिसहरूको बसोबास छ।
ह्यापी मेगा सिटी बनाउने योजना
आज भुटान भारतको सिमानामा सैनिक अखडा राख्ने हैसियतमा नरहेको र आवश्यक पनि नदेखिएको अवस्थाले अब उसो दक्षिण भुटान र भारतको सीमा सुरक्षा दक्षिण भुटानी जनमानसले स्वयं बहन गर्नुपर्नेछ भन्दै आज शरणार्थी बनाइएका मानिसहरू वर्षौँ वर्ष भुटान र भारतको सीमा सुरक्षामा तैनाथ सेना समानका नागरिक ठहरिनु पर्ने हो। तर, यसबारे विश्व मौन छ।
भुटानले यी मानिसहरूलाई अन्याय अत्याचार गरेका, भुटानमा रहेका थप नेपाली भाषी मानिसहरूमाथि दोहोर्याइ तेहर्याइ अन्याय अत्याचार गर्दै शरणार्थीहरूलाई मुलुक फर्काउने पट्टी विडम्बना पूर्वक तवरले झुटा आरोप मात्र अघि तेर्स्याएको यो परिप्रेक्ष्यमा दक्षिण भुटानीहरूको जमिन थातथलो भुटानका राज परिवारलाई वितरण गर्न लागेको घटनाबाट अचम्मित विश्व समुदायले भुटानलाई शरणार्थी समस्या समाधान नभएसम्म यो जमिन उनीहरूको जमिन कसैलाई दिने कार्य नगर्नु भन्ने आग्रह गरे बाबजुद भुटानले भित्र एक पक्षीय रूपले ती सबै उर्वर जमिनहरू वितरण गर्दागर्दै आज गेलेफु जिल्ला भने अरूलाई नदिएर स्वयं पाँचौँ राजा जिग्मे खेसर नाग्गेल आफै तल्लीन भएको अवस्था छ। भुटानका राजा जिग्मे खेसर नाग्गेलले आफ्ना बुबा तथा काका हजुरबुबा नाग्मेल वाङचुकको इशारामा अर्थात् दबाबमा आज सम्पूर्ण गेलेफु जिल्ला ओगटेर त्यहाँ ह्यापी मेगा सिटी बनाउने योजनामा तल्लीन हुँदैछन्।
नेपाली भाषी जसको जमिन हडपेर खेदेपछि नेपालमा शरण लिएर आफ्नो मुलुकमा जान भनी बसेका मानिसहरूको दर्द पीडालाई दरकिनार गर्दै भुटानले नेपालका पूर्वराजालाई भुटान बोलाएर त्यो विवादित जमिनमा निर्माण गर्न लागिएको मेगा सिटीबारे जानकारी गराउनु मात्र पनि विश्वले दिएको सुझावलाई लत्त्याएको प्रस्ट हुन्छ। यस्तो अवस्थामा भुटानभित्र र बाहिर रहेका भुटानीहरू के कसरी यस कार्यमा संलग्न हुने लगानी कर्ताहरूलाई यस विवादित जमिनमा लगानी नगरिदिन र भुटान राजालाई शरणार्थीको जमिन ससम्मान फर्काएर कालान्तरमा शरणार्थी र ती लगानीकर्ताका बीच मनमुटाबको अवस्था आउन नदिने वातावरण बनोस् भन्ने विश्व समुदायलाई नै अपिल गर्न चाहन्छन्।
भुटानको जातिवादी तानाशाही राजाको अदूरदर्शी अन्यायपूर्ण योजनामा सहभागी हुनुले देश निकालिएका शरणार्थी र त्यहाँ लगानी गर्ने विश्व बुझेका व्यक्तिहरूसँग मन दुखाउने काम जानीजानी सिर्जना गर्नु दुर्भाग्यपूर्ण घटना हुने देखिन्छ।
विश्व समुदायले भुटानलाई पटकपटक सचेत गरेको अर्को विषय के पर्छ भने,’जबसम्म भुटान र नेपालको दुईपक्षिय वार्ता सम्पन्न भएर यी मानिसहरूले निसाफ पाउने गौँडोमा पुग्दैनन्, तबसम्म दक्षिण भुटानीहरूबाट कब्जा गरिएका जमिन कसैलाई दिन पाउनु हुन्न भनेको छ।’ तर, त्यसलाई लत्त्याएर आज फेरी जिग्मे सिङ्गमेका छोरा जिग्मे खेसारले त्यो दक्षिण भुटानीहरूको पुरानो राजधानी सरहको गेलेफुलाई नै निशाना बनाएका छन्। भुटान अहिले त्यहाँ एउटा मेगा सिटी स्थापना गर्ने योजनामा लागि परेको अवस्था छ।
भुटान र भारतदेखि बाहिरका विभिन्न बुद्धिजीवी तथा धनाढ्यहरूको पनि यसमा सहभागिता हुने कुराले अति मर्माहत र लज्जित भएको भुटानी नागरिकहरू बताउँछन्। ‘जबसम्म नेपाल भुटानको वार्ता सम्पन्न हुँदैन, तबसम्म कुनै पनि विश्व निकायका धनीमानी व्यक्तिहरूले यो अदूरदर्शी र लुटको जमिनमा यस्तो खाले लगानी गरिदिँदा कालान्तरमा भुटानी शरणार्थीहरूमाथि भुटानले गरेको ज्यादतीलाई जानी जानी दुखी गरिब माथि हेलाहोचो भएको दर्सिन सक्ला भन्ने विचार सबैले राखिदिनुपर्छ,’भुटानी शरणार्थीहरूले अनुरोध गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.