प्रधानमन्त्रीको चीन भ्रमण, चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री जाने

प्रधानमन्त्रीको चीन भ्रमण, चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीन जाने भएकी छन्। प्रधानमन्त्री ओलीको मङ्सिर १७ गतेदेखि २० गतेसम्म हुने चार दिने चीन भ्रमणको तयारीको जिम्मा परराष्ट्रमन्त्री देउवाले पाएकी हुन्।

प्रधानमन्त्री ओलीको भ्रमणलाई सफल बनाउन दुवै देशले तयारी तीव्र पारेका छन्। दुवै देशका सम्बद्ध अधिकारीहरू प्रधानमन्त्री ओलीको भ्रमणका एजेन्डालाई अन्तिम रूप दिने गृहकार्यमा व्यस्त छन्।

सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले परराष्ट्रमन्त्री देउवाको चीन भ्रमणलाई स्वीकृति दिएको छ। प्रधानमन्त्रीको भ्रमणकै चाँजोपाँजो मिलाउन मङ्सिर १३ देखि १५ गतेसम्म मन्त्री राणाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल चीन जाने सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुलाई सिंहदरबारमा बोलाएर सुझाव लिएका छन्। प्रधानमन्त्रीले बोलाएको संयुक्त बैठकमा दलहरू चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाअन्तर्गत ऋण लिने की नलिने भन्नेमा विभाजित देखिएका छन्।

७ वर्षअघि नेपालले सहमति जनाएको बीआरआई परियोजना कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख दलहरू अहिलेसम्म पनि एक ठाउँमा उभिन सकेका छैनन्।

सत्तारुढ काँग्रेसले बीआरआई कार्यान्वयनमा सम्झौता गर्न नहुने धारणा राखिरहेको छ। बिहान जनकपुर पुगेका काँग्रेस सभापति शेरबहादुर देउवाले विमानस्थलमै बीआरआईको रकम ऋणमा होइन अनुदानमा लिनुपर्ने बताए।

सिंहदरबारमा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी भएर फर्कने क्रममा काँग्रेस नेतासमेत रहेका पूर्वपरराष्टमन्त्री एनपी साउँदले प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा ऋण लिने जस्तो मनसाय नदेखिएको उल्लेख गरे।

यद्यपि बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ऋण लिने सम्झौता गर्ने नगर्ने बारेमा ठ्याक्कै केही बताएनन्। एमाले नेता समेत रहेका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने नयाँ सम्झौता भन्दा पनि विगतमा गरिएका सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले बीआरआई परियोजना अघि बढाउने सम्झौता गर्नुपर्ने सुझाव दिएका छन्। पूर्वप्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र झलनाथ खनालले बीआरआई परियोजना नेपालको हितमा रहेको भन्दै ऋण स्वीकार गरेर लाभ लिन सुझाव दिए।

प्रधानमन्त्रीलाई सुझाव दिएर निस्केपछि एकीकृत समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले बीआरआई नेपालको हितमै रहेकाले ऋण लिन डराउन नहुने बताए।

सम्मानित नेता खनालले पनि स्वतन्त्र मुलुकले कुनै पनि परियोजनाबाट अनुदान र ऋण लिने बारेमा वार्ता गरेर आफू अनुकूल फाइदा हुने गरी अघि बढ्नुपर्नेमा जोड दिए।

अर्का पूर्वप्रधानमन्त्री, बाबुराम भट्टराईले सामाजिक सञ्जालबाटै ऋण लिन सुझाव दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले देश र जनताको आवश्यकतामा छिमेकी मुलुकसँग ऋण लिनुपर्ने बताए।

लोहनीले अनुदानमा आएका परियोजनामा झन् भ्रष्टाचार हुन्छ भन्ने उदाहरण पोखरा विमानस्थल रहेको भन्दै अनुदान मात्रै माग्ने परिपाटी पनि राम्रो नभएको बताए।

चीन भ्रमण तयारीको छलफलमा व्यस्त भएपछि प्रधानमन्त्री ओलीले दिउँसो मन्त्रालयका सचिवहरूसँग गर्ने भनिएको त्रैमासिक समीक्षा बैठक स्थगित गरेका थिए। साँझ मन्त्रिपरिषद् बैठक बसेर चीन भ्रमणको तालिका स्वीकृत गरेको हो। मन्त्रिपरिषद् बैठकले नेपाल धितो पत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ।

बोर्ड अध्यक्ष सिफारिस समितिले श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको थियो। धितो पत्र बजारको नियामक निकायका बोर्डको अध्यक्ष पद एक वर्षदेखि रिक्त थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.