महानगरमा निःशुल्क भिडियो एक्स-रे सेवा

महानगरमा निःशुल्क भिडियो एक्स-रे सेवा

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने जनाएको छ। स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा सुरु हुने भनिएको छ।

वडा नं. १२, २६ र ३० बाट सेवा दिन सुरु हुने महानगरपालिकाले जनाएको छ। आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मङ्गलवार र बुधवार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं. २७ मा र बिहीबार र शुक्रवार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रवर्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ।

स्वास्थ्य बिमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ। सेवाग्राहीको चाप बढ्दै गए सेवा विस्तार गर्दै लैजाने योजना रहेको महानगर स्वास्थ्य विभागले बताएको छ।

महानगरपालिकाले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नंं २६ लैनचौर, वडा नं. ३० ज्ञानेश्वर, वडा नं. १६ बालाजु, वडा नं. २७ महाबौद्ध, वडा नं. १२ टेकु र वडा नं. ७ चाबहिलको स्वास्थ्य प्रवर्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रूपमा तोकेको छ। यीमध्ये ५ बिमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा छन्।

नसर्ने रोग पहिचान गर्न जाँच

स्वास्थ्य विभागले नसर्ने खालका रोगको पहिचानका लागि मधुमेह, उच्च रक्तचाप र दीर्घ मिर्गौला रोगको जाँच सुरु गरेको छ। मङ्गलवार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले एकल सेवा केन्द्रमा रक्तचाप जाँच गरेर कार्यक्रम थालनी गरेका हुन्।

स्वास्थ्य विभागका प्रमुख दीपक के. सी. का अनुसार निदानात्मक स्वास्थ्य सेवाको प्रवर्धनका ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आकलन गर्ने तथ्याङ्क तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने योजना रहेको महानगरपालिकाले बताएको छ।

विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने विशेष महिनाका रूपमा कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमअन्तर्गत गएको वैशाख महिनामा दृष्टि (आँखा तथा वातावरण), ज्येष्ठ महिनामा मुख तथा नाक, कान, घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कार्तिकमा स्वस्थकर खानपान तथा आरोग्य जीवन सचेतना महिनाका रूपमा निदानात्मक कार्यक्रम सञ्चालन भएका छन्।

मङ्सिरमा मिर्गौला तथा अन्य जटिल दीर्घ रोग, पुसमा श्वासप्रश्वास तथा अन्य जटिल दीर्घ रोग, माघमा मादक पदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैत महिनामा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिने महानगर स्वास्थ्य विभागले जनाएको छ।

जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९÷०८० को सङ्घीय स्वास्थ्य विभागको प्रतिवेदनले, ७१ प्रतिशत मृत्यु दरको कारण नसर्ने रोग हो भनेर देखाएको छ। यसमा क्यान्सर, मिर्गौला सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप मुख्य समस्या हुन्।

व्यक्तिले नसर्ने रोगको उपचारका लागि ३७ प्रतिशत (आउट अफ पकेट एक्पेन्डिचर–ओओपि) खर्च गरिरहेको छ। समयमा रोगका विषयमा जानकारी प्राप्त गर्न सकियो भने यो खर्च घटाउन सकिन्छ। रोगले समस्या सिर्जना गरे उपचारमा जानु पर्‍यो भने सुरुमै धेरै खर्च लाग्छ। त्यसपछि पनि औषधिमा नियमित खर्च गर्नुपर्छ। व्यक्ति र परिवारको उत्पादनशीलता घट्छ। यसकारण नसर्ने रोगले सिर्जना गर्ने खर्च घटाउन निदानात्मक र प्रवर्धनात्मक कार्यक्रम आवश्यक छ।

जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य बिमा

स्वास्थ्य विभागले मङ्सिर मसान्तभित्र महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको बिमा दर्ता गरिसक्ने योजना बनाएको छ। त्यसका लागि दर्ता सहयोगीलाई अभिमुखीकरण प्रदान गरेको छ।

मङ्सिरमा दर्ता सकिएपछि फागुनबाट कार्यक्रम कार्यान्वयनमा आउनेछ। महानगरपालिकाभित्र अहिले १ लाख परिवार दर्ता भएका छन्। यसमा करिब ४ लाख व्यक्ति समेटिने विभागले बताएको छ। बिमा कार्यक्रम सुरु भएका वडामा बिरामीको चाप बढ्दै गएको छ।

महानगरपालिकाले २०८० पुसमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य बिमा बोर्डसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.