नेपाल-चीन बिजनेस समिट, लगानी विस्तारका लागि आग्रह

नेपाल-चीन बिजनेस समिट, लगानी विस्तारका लागि आग्रह

काठमाडौं : नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो।

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए। उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे। नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए।

प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताए। उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताए। उनले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा नेपाल उद्योग वाणिज्य महासङ्घको प्रशंसा पनि गरे।

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठुलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको उनले बताए। नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनले बताए।

सिसिपिआइटीको मुख्यालय बेइजिङमा बुधवार आयोजित समिटलाई सम्बोधन गर्दै चिनिया वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए। नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने उनले उल्लेख गरे।

चीन नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताए। चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताए।

चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठुलो मुलुक हो। उनले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताए। उनले नेपालबाट बढिभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने उल्लेख गरे।

यो समिटको दोस्रो संस्करण हो। महासङ्घ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेका थिए। समिटमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्षको अवधिमा व्यावसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराए। ‘महासङ्घको आग्रहमा सरकारले लगानी सम्बन्धी आठ वटा कानुन संशोधन गरेको छ,’सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने,‘यसैगरी द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको छ।’

यसैगरी, पहिलो पटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि अध्यक्ष ढकालले गराए। यसले लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनले बताए।

सीमा क्षेत्रको पूर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए।

कार्यक्रममा महासङ्घ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए। पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केबलकार, थिम पार्क, रिसोर्ट लगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले उल्लेख गरे। नेपाल चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे।

लगानीको वातावरण थप सुधार गर्न महासङ्घको आग्रहमा सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक जना सदस्यका नाताले मूलकभित्र व्यावसायिक वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि अध्यक्ष ढकालले जनाए। उनले महासङ्घमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिबद्धता पनि जनाए।

चीनले यही डिसेम्बर एकदेखि आफ्नो कूटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरूलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गरे।

सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासङ्घ पुरानो साझेदार संस्था रहेको बताउँदै समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्त्वपूर्ण हुने बताए। उनले सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताए। महासङ्घ र सिसिपिआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने जानकारी पनि उनले गराए।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउँदै नेपालमा चिनिया लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए।

महासङ्घको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे जानकारी गराए। नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए।

समिटमा १२० जना चिनिया व्यवसायीहरूको सहभागिता रहेको थियो। नेपालका तर्फबाट महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो। समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको समेत सहभागिता थियो। उक्त समिटभन्दा पहिले बिजनेस टु बिजनेस बैठक पनि राखिएको थियो।

महासङ्घले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो। यस अघि बेइजिङ, नयाँ दिल्ली र दुबईमा महासङ्घका साझेदार संस्था सिसिपिआइटी, कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्री र दुबई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.