काठमाडौं : राणा परिवारमा जन्मेर प्रजातान्त्रिक आन्दोलनमा लागेका इतिहासकार पुरुषोत्तम शमशेर जबराको ९९ वर्षको उमेरमा निधन भएको छ। जिउँदो इतिहासका रूपमा रहेका राणाको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो।
राणा लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित थिए। उनलाई भेट्न पत्रकार, इतिहासकारहरू पुगिरहन्थे। उनी फोटो सङ्कलनमा सबभन्दा धेरै रुचि राख्ने गर्थे।
उनी जीवित राणाहरूमा जेठो थिए। उनको प्राय अन्तरवार्ता आइरहेका हुन्थे। अस्वस्थ भन्ने पनि होइन, खासै बिरामी पनि होइन,तिहारदेखि खुट्टा अलि लुलोलुलो भएको बताउँछिन् पुरुषोत्तमकी बुहारी भगवती राणा।
तर, उनको प्रेसर भने डाउन हुँदै गएको र अक्सिजनको पनि लेबल कम भएको उनले बताइन। मङ्गलवारसम्म उनले औषधी नियमित सेवन गरिरहेका थिए।’सबै ठिकै थियो,अस्ति बेलुका उहाँले औषधी खान सक्नु भएन,’बुहारी भगवतीले भनिन्। पुरुषोत्तमलाई पुराना कुरा गर्न रमाइलो लाग्थ्यो। उनी पत्रकारहरूसँग कुरा गर्न धेरै नै रुचाउने बुहारी भगवतीले बताइन।
१९८२ साल चैत १५ गते चारबुर्जा दरबार हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा जन्मिएका उनका एक छोरा र बुहारी छन्। इतिहासकार भएकाले उनलाई भेट्न आउनेहरुसँगको कुराकानी मै दिनचर्या बित्ने गरेको थियो।
उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन्। उनका ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ (तीन भाग), ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’, ‘सम्झेका र सुनेका कुराहरू’, ‘भएका र गुज्रेका घटनाहरू’, ‘लुकेछिपेका प्रतिभाहरू’, ‘मेरा जीवनका स्मृतिहरू’, ‘जङ्गबहादुर र राणाकालीन दर्पण’लगायतका पुस्तक प्रकाशित छन्।
पुरुषोत्तम शमशेरका बुवा ईश्वरशमशेरले लखनउमा दुई वटा घर लिएर काँग्रेसका जनमुक्ति सेनालाई राख्ने व्यवस्था गरेका थिए। त्यतैबाट पुरुषोत्तम शमशेर दिल्ली पुग्दा राजा त्रिभुवनसँग भेट भएको थियो। राजा त्रिभुवनसँगै एउटै जहाजमा उनी काठमाडौँ फर्किएका थिए।
काठमाडौँ आएपछि उनीहरू सेतो दरबारमा बसे। दुईपटक सर्वस्वहरण भएका उनीहरूसँग गाडी थिएन। पुरुषोत्तम शमशेर साइकल चढ्थे। उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.