रविको आरोपमा तानिए आइजिपी, आयोगले कुरा बुझ्ने

रविको आरोपमा तानिए आइजिपी, आयोगले कुरा बुझ्ने

प्रचण्ड रविको बचाउमा, ओलीले दुर्गा प्रसाईँलाई नछोड्ने

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग कुरा बुझ्ने भएको छ। प्रहरी हिरासतमा मानव अधिकार हनन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उजुरीबारे आयोगले महानिरीक्षक कुँवरसँग कुरा बुझ्न लागेको हो।

प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार भए नभएकोबारे आयोगले महानिरीक्षक कुँवरसँग कुरा बुझेर मात्रै निष्कर्ष दिने बताएको छ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले क्रस भेरिफाई गर्न महानिरीक्षक कुँवरसँग बुझ्नै पर्ने भएको बताए। ‘दुर्व्यवहार गरेका छैनौ, ससम्मान अनुसन्धान गरिरहेका छौँ भन्ने नै उहाँहरूको भनाई छ,’प्रवक्ता डा. पोखरेलले भने,’हामी त्यसलाई क्रस भेरिफाई गर्दैर्छौ।’

प्रहरी महानिरीक्षकसँग नै बुझ्ने पर्ने भन्ने आयोगलाई लागेको उनले बताए। ‘हामीले प्रहरी महानिरीक्षकसँग कुरा बुझिसकेपछि मात्रै अनि यसको निष्कर्ष बाहिर निकाल्छौँ,’पोखरेलले भने।

सहकारी बचतकर्ताको रकम अपचलन गरेको आरोपमा कार्तिक २ गते पक्राउ हुन लामिछाने। चितवनमा बयान सकिएकै रात उनलाई पोखरा पुर्‍याइएपछि मानव अधिकार हननको कुरा उठेको हो। आयोगले सोमबार प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग करिब २ घण्टा सोधपुछ गरेको जनाएको छ।

प्रहरी महानिरीक्षक कुँवरलाई नै बोलाए पनि आफू नआएर अपराध अनुसन्धान विभागका एआईजी टेकप्रसाद तामाङ, सचिवालयका डिआइजी दानबहादुर कार्की र प्रहरीकै मानव अधिकार शाखाका एसपी मोहनकुमार थापालाई पठाएको प्रवक्ता डा. पोखरेलले बताए। आयोगको सोधपुछमा प्रहरी अधिकारीहरूले लामिछानेमाथि कुनै दुर्व्यवहार नगरेको बयान दिएका उनले बताए।

रविले भने, रातारात अपहरण शैलीमा पोखरा ल्याइयो

जिल्ला प्रहरी कार्यालयले लामिछानेमाथि दुर्व्यवहार गरेको आरोपको २३ मङ्सिरमा विज्ञप्ति निकालेर खण्डन गरेको छ। लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा बयान सकिए पश्चात् मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा पुर्‍याइएको थियो।

राती सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको आरोप सामाजिक सञ्जालमा व्यक्त भए पछि प्रहरीले यस्ता कुरा भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भएको बतायो।

मङ्सिर १९ गते जिल्ला सरकारी वकिल कार्यालयमा बयान चलिरहँदा रास्वपा कार्यकर्ताले उग्र प्रदर्शन गरेका थिए। अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भीडले प्रहरी माथि ढुङ्गा मुढा प्रहार गर्ने, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालयमा भीड प्रवेश गर्न खोज्ने लगायतको कार्य समेत भएको प्रहरीले विज्ञप्तिमा उल्लेख छ।

मौसम प्रतिकूल रहेकोले हवाई उडानबाट लैजान सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालले निकालेको विज्ञप्तिमा लेखिएको छ।

तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट निजको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको प्रहरीले उल्लेख गरेको छ। मुद्दा अनुसन्धानका लागि सीमित हद म्याद रहेको विषय समेतलाई मध्यनजर गरी लामिछानेले आफन्त तथा शुभचिन्तकहरुसंग भेटघाट वार्तालाप गरी सके पश्चात् भेटघाट कक्षबाटै राति १२ बजेर ५ मिनेटमा नेपालको प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई जिम्मेवार प्रहरी अधिकृत प्रहरी नायव उपरीक्षकको कमान्डमा चितवनबाट सुरक्षित रूपमा लगी जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराइएको प्रहरीको विज्ञप्तिमा लेखिएको छ।

‘नेपालको संविधान एवं प्रचलित ऐन कानुन बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण र मानव अधिकारको उच्च सम्मान गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, चितवन सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ,’विज्ञप्तिमा लेखिएको,’त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरूलाई सम्प्रेषण नगरी, सही सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय, चितवन हार्दिक अनुरोध गर्दछ।’

चितवनमा बयान चलिरहँदा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी दुवै घाइते भएका थिए। रविलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सकेर चितवन लगिएको थियो। अनुसन्धानलाई नै प्रभावित गर्ने गरी रास्वपा कार्यकर्ताले चितवनमा प्रदर्शन गरेका थिए। जुन प्रदर्शन रोक्न प्रहरीलाई हम्मेहम्मे परेको थियो। प्रदर्शन रोक्न प्रहरीले पानीको फोहरासँगै अश्रुग्याँस समेत प्रहार गरेको थियो।

रविलाई पोखरा पुर्‍याएदेखि नै रास्वपाले प्रदर्शन गर्दै आएको छ। पोखरा केन्द्रित रास्वपाको प्रदर्शन रोकिएको छ। बयानका लागि जहाँजहाँ लगिन्छ,त्यहाँत्यहाँ रास्वपा कार्यकर्ताले प्रदर्शन गर्दै आएका छन्।

सोमबार पोखराबाट काठमाडौँ र काठमाडौँबाट पर्सा पुर्‍याउँदा सिमरा विमानस्थलमा रास्वपा कार्यकर्ताले प्रदर्शन गरे। रविलाई लगिएको बुद्ध एयरको जहाज बाराको सिमरा विमानस्थलमा अवतरण हुनुअघि नै समर्थकहरूको भीड लागेको थियो। विमानस्थलको गेटबाहिर रास्वपाका नेता कार्यकर्ता र समर्थकले रविको पक्षमा प्रदर्शन गरेका थिए।

प्रदर्शनका कारण रविलाई मूल सडकसम्म निकाल्न प्रहरीलाई निकै सकस परेको थियो। त्यसपछि पनि वीरगन्ज नपुर्‍याउँदै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रास्वपा कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि रविलाई पर्सा लगिएको हो। पर्साको बयान सकेपछि लामिछानेलाई पुनः पोखरा फर्काइने प्रहरी स्रोतले बताएको छ।

गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पनि बयानका लागि पोखराबाट पर्सा लगिएको छ। रविको यसअघि रुपन्देही, काठमाडौँ र चितवनमा बयान भइसकेको छ। मुख्य आरोपी रविका बिजनेस पार्टनर जीवी राई भने अझै फरार छन्।

सहकारी प्रकरणमा छानबिन समिति बनाउन बाध्य पारेको काँग्रेसकै इतर पक्षका नेताले अहिले अनुसन्धानका क्रममा रविमाथि भएको व्यवहारको विरोध गरेका छन्। गत शनिवार नेता शेखर कोइरालाले रास्वपा सभापति लामिछानेलाई राति १२ बजे उठाएर लग्नु मानवअधिकार विपरीतको घटना भएको बताएका थिए।

सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकमा नेताहरू कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले रास्वपा सभापति लामिछानेको स्थानान्तरणको विषयलाई ‘नोटिस’ मा राख्नुपर्ने बताएका छन्।

नेताहरूले उक्त विषयमा जानकारी खोजे पनि गृहमन्त्री रमेश लेखक सुर्खेत गएकाले सरकारको धारणा सुन्न नपाएको काँग्रेसका एक नेताले बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापतिमाथि सरकारले निरङ्कुश र अलोकतान्त्रिक व्यवहार गरेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले लामिछानेमाथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै त्यस प्रकारको व्यवहार रोक्न आग्रह गरे।

प्रचण्डले रविको बचाउमा बोले पछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कम्बोडियामा पैसा राखेको भनेर भ्रम फैल्याउने दुर्गा प्रसाईँलाई नियन्त्रण लिएर सोध्दा बदनाम गर्न मात्रै बोलेको बयान दिएको दाबी गरेका छन्।

झापाको बिर्तामोडमा एमालेको जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रसाईँले ४÷५ वर्ष अगाडिदेखि नै आफ्नो बदनाम गर्दै आएकाले नियन्त्रणमा लिन भनेको बताए।

त्यसक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डकै सिको गरेर सरकारमा हुँदा हुँदै पार्टीका नेता कार्यकर्तालाई सडकमा जुनसुकै बेलामा उत्रिन तयार रहन निर्देशनसमेत दिए।

एमाले एउटा क्रान्तिकारी पार्टी भएको भन्दै ओलीले ‘राजनीति त बिथोलिँदो रहेछ, राजनीति त प्रतिगमनमा सजिलैसित जान सक्दो रहेछ। हामी सजग सङ्गठित र आन्दोलनकारी हुनुपर्छ। कोठामा बसेर ठुला कुरा गर्ने जुलुसमा निस्कन नसक्ने भएपछि कसरी हुन्छ ? हामीले आन्दोलनकारी प्रवृत्ति छाड्न हुँदैन । सडकमा उत्रिन सधैँ तयार हुनुपर्छ,’ भने।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.