काठमाडौँ : झापाकी एक समलिङ्गी महिलाले अमेरिकी समलिङ्गी महिलासँग माया प्रेम गाँसिन। उनीहरूको माया प्रेम झाँगिँदै गयो। अन्ततः विवाह गर्ने निधो गरे। भुटानबाट नेपालको शरणार्थी शिविर हुँदै अमेरिका पुगेर उतैको नागरिक बनेकी समलिङ्गी महिलाले विवाह दर्ताका लागि सहयोग गरिदिन नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)को नेतृत्वलाई अनुरोध गरिन्।
सर्वोच्च अदालतले समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी जोडीहरूको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न १२ असार २०८० मा अन्तरिम आदेश दिएको थियो। त्यही आदेश अनुसार विवाह दर्ता गर्न झापाकी समलिङ्गी महिलाले अमेरिकाको नागरिकता लिएकी समलिङ्गी महिलालाई बोलाएकी थिइन। नेपालमा आफूहरूजस्ता व्यक्तिलाई सहयोग गर्ने संस्था भनेर ब्लु डायमन्डलाई चिनेकी थिइन उनले।
माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको १३ मङ्सिर २०८० मा स्थानीय तहमै विवाह दर्ता भएको जानकारी पाएर उनीहरू ब्लु डायमन्ड पुगे। कागजपत्र सबै बुझाए। दर्ता गरिदिने सहयोग मागे। ‘हुँदैनन् भनेनन्, तर दर्ता गर्न कुनै पहल पनि गरेनन्,’समलिङ्गी जोडीले भने,’दुख मात्रै दिए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले ब्लु डायमन्ड पुगेर हैरानी पाएको यो पहिलो घटना भने होइन।’
मुखमा रामराम, बगलीमा छुराको व्यवहार गर्ने आलोचित नेतृत्वमाथि अपारदर्शी र भ्रष्टाचारको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पछि सरोकारवाला निकायले छानबिन थालेका छन्। छानबिनको तारोमा परेको नेतृत्वले पद हस्तान्तरणको नाटक मञ्चन गरेको पाइएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरे प्रश्न : व्यवस्था बदलिए पनि अवस्था उस्तै किन?
नेतृत्व परिवर्तनको चटक गरिएको छ। सञ्जीव गुरुङ्ग (पिंकी)ले उपाध्यक्ष उमेश पाण्डेलाई अध्यक्ष पद हस्तान्तरण गरे पनि हरेक बैठकमा उनी उपस्थित हुने गरेकी छन्। पिंकी ब्लु डायमन्डमा उच्च तह सिर्जना गरेर कर्मचारी बनेकी छन्।
कार्यकारी निर्देशक सुवेन ढकाल (मनीषा)को हाराहारीकै पारिश्रमिक बुझ्ने गरी पिंकी कर्मचारी बनेको ब्लु डायमन्ड सोसाइटीको कार्य समितिका एक सदस्यले बताए। झन्डै २ दशक अध्यक्ष बनेकी पिंकीले आफू मुनिका उपाध्यक्षलाई पद हस्तान्तरण गरेको नाटक मात्र गरेको ती सदस्यले बताए। ‘समुदायको हक अधिकारमा वकालत शून्य छ,अरूले पहल गरेर प्राप्त भएका उपलब्धि हामीले नै हो भन्ने घमन्ड छ,रिपोर्टमा त्यही राख्ने गरिएको छ,’नाम उल्लेख नगर्ने सर्तमा ती सदस्यले भने,’स्वार्थ समूहको गठबन्धनले दादागिरी कायम राखेको छ।’
नेपाली समलिङ्गी महिलासँग विवाह दर्ता गर्न अमेरिकादेखि आएकी समलिङ्गी भुटानी शरणार्थीलाई अल्झाउने काम ब्लु डायमन्डको नेतृत्वले गरेको छ। ‘हामी त हुन्छ होला, माया र सुरेन्द्रको दर्ता भइसकेकाले हाम्रो पनि सहज हुन्छ भनेर गएका थियौँ,’समलिङ्गी जोडीले भन्यो,’उहाँहरूको काम त अल्झाउने मात्रै रैछ।’
(नोट : समलिङ्गी जोडीको आग्रहमा नाम गोप्य राखिएको छ।)
सम्बन्धित समाचार :
स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट
नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २७ करोड
लहलहैमा हर्मोन र यौन अङ्ग प्रत्यारोपण नगर्न भुक्तभोगीले दिए सुझाव
ब्लु डायमन्ड सोसाइटीको सार्वजनिक सुनुवाइ जिरो, अनियमितताको उजुरीमा छानबिन जारी
ब्लु डायमन्ड सोसाइटीको अपारदर्शी यात्रा, अख्तियारले थाल्यो छानबिन
हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा
लिङ्ग परिवर्तन गराउने धन्धाको संसदमा खैलाबैला , महिला बनेका पुरुष देखि तर्सिए सांसद
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.