हर्मोन क्लिनिकको संरक्षण किन?

हर्मोन क्लिनिकको संरक्षण किन?

काठमाडौं : मानव भएर जन्मे पछि प्राप्त हुने अधिकारमा समेत सिन्डिकेट लादिएको पाइएको छ। एक मानव अर्को मानवको अधिकार हनन गर्न उद्यत भएको छ।

पद, प्रतिष्ठाका लागि मात्रै होइन, पैसाका लागि मार्न समेत पछि नपर्नेहरूका कारण बाच्न कठिन छ। मुगुको सामूहिक हत्यामा संलग्न नातेदारको धन मोहले एउटै परिवारका चार जनाको प्राण हरण भयो। मामाका छोरा र सानोबुबा नै हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परे।

त्यस्ता अपराधीलाई कारबाही गर्ने कानुन बनाएकाहरू भने तिनै अपराधी जोगाउन लागि पर्दा त्रासको वातावरण सिर्जना भएको छ। पदमा बस्ने चाहे सरकारी, चाहे गैरसरकारी दुवै अपराधीको पक्षपोषणमा लागेको पाइएको छ। पहिचानको अधिकार माग गरेर सानो समूहबाट सुरु भएको तेस्रोलिंगी समुदायमा अहिले ठुलो समस्या देखिएको छ।

पुरुषलाई महिला र महिलालाई पुरुष बनाउने हर्मोन क्लिनिक सञ्चालन गर्न समेत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मानव अधिकारमा क्रियाशील संस्थाहरूले समन्वय गरेका छन्। क्लिनिक सञ्चालन गरेको छ नेपाल परिवार नियोजन सङ्घले।

नील हिरा समाजमा कार्यरत अधिकारकर्मी भूमिका श्रेष्ठले हर्मोन क्लिनिक सञ्चालनले आफ्नो समुदायका सदस्यलाई राहत भएको बताइन। हर्मोन लिएका भुक्तभोगीहरूले शारीरिक रूपमा समस्या आएको बताइरहँदा अधिकारका लागि क्रियाशील नील हिरा समाज र मितिनी नेपालले क्लिनिक सञ्चालन गर्न सङ्घसँग समन्वय गरेका हुन्। जुन क्लिनिक गत वर्षको साउन देखि सञ्चालन भइरहेको छ।

हर्मोन लिनेहरूलाई थाइराइड, सुगर लगायतका विभिन्न शारीरिक समस्या देखिएका छन्। क्लिनिक सञ्चालन नहुँदासम्म हर्मोन लिनु हुँदैन भन्नेहरू नै अहिले हर्मोन लिन उक्साइरहेका छन्। परिवार नियोजन सङ्घले पत्रकारहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी भूमिका श्रेष्ठले सङ्घसँग सहकार्य गरेर हर्मोन लिन पाउँदा समुदायका सदस्यलाई राहत मिलेको सुनाइन। ‘विना जानकारी प्रयोग गर्थ्यौ,’उनले भनिन्,‘चिकित्सकको परामर्शमा लिन पाउँदा राहत भएको छ।’

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको परिभाषामा पनि एडभान्स भएको बताइन। उनले पौराणिक कालदेखि नै तेस्रोलिंगीको पहिचान रहेको बताइन। ‘पहिला तेस्रोलिंगी भनेर सबैलाई चिनिन्थ्यो, जस्तो म जस्तोलाई,’श्रेष्ठले भनिन्,‘अहिले तेस्रोलिंगी, पारलिंगी, समलिङ्गी, द्ववलिंगी, अन्तरलिंगीलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भनिन्छ,अम्ब्रेला टर्म क्वेयर हो।’

उनले शरीर नङ्ग्याएर पहिचान अनुसारको नागरिकता लिनु पर्ने अवस्था रहको गुनासो समेत गरिन। ‘जबरजस्ती विवाह गर्नु गलत हो,’उनले भनिन्,‘शरीर नङ्ग्याएर नागरिकता लिनु पर्ने अवस्था छ।’

वैवाहिक अधिकारको आवरणमा हार्मोन बाड्ने क्लिनिक

अधिकारका नाममा हर्मोन लिन उक्साउने काम गरेका नील हिरा समाज, मितिनी नेपाल सहितका केही संस्थाको गलत कामको खुलमखुला विरोध समेत भइरहेको छ। जबकि हर्मोन लिँदा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएको मात्रै होइन मृत्यु नै भएको सार्वजनिक मिडियामा समाचार आएको छ।

हर्मोन लिँदा शारीरिक रूपमा अस्वस्थ हुने जान्दा जान्दै तिनै संस्थाले नेपाल परिवार नियोजन सङ्घलाई हर्मोन क्लिनिक तथा लेजर थेरापी सेवाका लागि समर्थन जनाएका छन्। ‘हर्मोन लिनु आउनुहोस् भन्दैनौ, लिनु भएको छ भने चिकित्सकसँग परामर्शमा लिनु भन्छौ’ सङ्घको क्लिनिकमा कार्यरत स्वस्तिका लामाले भनिन्।

सङ्घमा कार्यरत चिकित्सक बिना श्रेष्ठले ‘हर्माेनल क्लिनिक’ सेवा लिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आग्रह गरेकी छन्। उनले विवाहको अधिकारका लागि समेत पहल गरिरहेको सुनाइन। ‘विवाह व्यक्ति व्यक्तिबीच हुन्छ भनेर वकालत गरिरहेका छौँ, पाठ्यक्रममा बृहत् यौनिकता शिक्षा राख्न सफल भएका छौँ,’उनले भनिन,‘शिक्षकहरू कसरी पढाउने भनेर बुझाउनुपर्ने छ।’

पुरुषलाई महिला र महिलालाई पुरुष बन्ने हर्मोन दिइरहेको सङ्घको यो काम विवादमा परेको छ। गत वर्षको साउनदेखि अन्तर्राष्ट्रिय परिवार नियोजन सङ्घको आर्थिक सहयोगमा सुरु भएको क्लिनिक एक वर्ष नपुग्दै विवादमा परेको हो। विवाद हटाउन सङ्घले पत्रकारहरूसँग अन्तरक्रिया नै गरेको छ।

समलिङ्गी महिला, समलिङ्गी पुरुष, तेस्रोलिंगी महिला, तेस्रोलिंगी पुरुष, द्विलिंगी, अन्तरलिंगी, क्वेयर समुदायका लागि ‘हर्माेनल क्लिनिक’ सञ्चालन गरेको परिवार नियोजन सङ्घ दक्षिण एसियामा गैरसरकारी संस्थाबाट यस्तो सेवा दिने पहिलो भएको दाबी पनि गरेको छ।

सङ्घका व्यवस्थापक डा. नरेशप्रताप केसीले अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको आर्थिक एवं प्राविधिक सहयोगमा क्लिनिक सञ्चालन भएको बताए। यसबाट विशेष गरी ‘हर्मोन चेन्ज’ गर्नेका लागि सहयोग पुग्छ। केसीका अनुसार पुरुषलाई महिला र महिलालाई पुरुष बन्ने चाहना भएमा सोहीअनुसारको हर्माेन परिवर्तनको सेवा क्लिनिकमा उपलब्ध हुने गरेको छ।

सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानता र हक अधिकार सुनिश्चित गर्न ‘हर्माेनल क्लिनिक’ सञ्चालन गरेको जिकिर गरेको छ। सङ्घले ‘हर्माेनल क्लिनिक’ सञ्चालनमा सहयोग एवं समन्वय गर्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई रोजगारीसमेत दिएको जनाएको छ।

मानवअधिकारका नाममा भइरहेका यस्ता चलखेलले समाजमा नकारात्मक सन्देश जाने भन्दै हर्मोन क्लिनिकको समुदायभित्रबाटै विरोध भएको छ। विश्व स्वास्थ्य सङ्गठनले समेत स्वस्थ व्यक्तिलाई पहिचान बदल्ने नाममा हर्मोन थेरापी र शल्यक्रिया गराउन नहुने बताउँदै आएको छ। जापानको सर्वोच्च अदालतले केही समय अघि तेस्रोलिंगीको प्रजनन क्षमतामा बाधा पुग्ने गरी शल्यक्रिया नगराउन आदेश नै दिएको छ।

संवैधानिक अधिकार उपभोगमा सङ्कट

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय पहिला थोरै सङ्ख्या रहे पनि अहिले लाखौँ रहेको दाबी यो समुदायमा क्रियाशील संस्थाहरूले गर्दै आएका छन्। लुकेर बसेकाहरू खुलेर आउन थालेसँगै गैरसरकारी संस्थाहरूले सङ्ख्या धेरै रहेको दाबी गर्न थालेका हुन्।

एक÷दुई संस्थाले मात्र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिको अभियान सफल नहुने देखेर देशका विभिन्न जिल्लामा नयाँ संस्था समेत खुलेका छन्। पछिल्लो समय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको क्षमता वृद्धि भनेको संस्था खोल्ने अध्यक्ष बनिहाल्ने जस्तो देखिएको छ।

नहोस् पनि कसरी ६/६ वर्षसम्म विवाह दर्ताका लागि पहल गरिदिएनन्। विवाहको कानुन बनाउनका लागि प्राप्त सहयोग ‘राइट हियर राइट नाउ’ भन्ने संस्थालाई बुझाए। राज्यका निकायमा नील हिरा समाज र मितिनी नेपाल पुग्नै सकेनन्। र, त माया गुरुङ र सुरेन्द्र पाण्डेले अन्ततः समुदायका साथीहरूसँगै नयाँ संस्था स्थापना गरे मायाको पहिचान नेपाल।

होटेल साहुसँग सेटिङ, केटीको भेषमा लुटपाट

यौनकर्मीका नाममा हुने लुटपाटमा संलग्नलाई कानुनी कठघरामा उभ्याउने काममा उपाध्यक्ष मधु केसी लागिरहेका छन्। तेस्रोलिंगीको भेसमा लुटपाट गर्नेलाई कानुनी कारबाही गराउन मधु पीडितको साक्षी बसे। दिनदहाडै लुटपाट भएको घटना काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ।

माया र सुरेन्द्र विवाह दर्ताका लागि अदालत धाइरहेका छन्। सर्वोच्च अदालतले १२ असारमा दिएको अन्तरिम आदेश काठमाडौं जिल्ला अदालतले कार्यान्वयन नगरिदिए पछि माया र सुरेन्द्र पुन सर्वोच्च अदालत जाने तयारीमा छन्।

विकृति विसङ्गति अन्त्य गर्दै सभ्य समाजको परिकल्पना गरेको बताउने पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले वैवाहिक कानुन निर्माणका लागि दबाब पुग्ने लघु कथानक चलचित्र ‘नीलो फूल’ देश विदेशमा प्रदर्शन गरिरहेका छन्।

अमेरिका पछि नीलो फूल बेलायतमा प्रदर्शन भएको छ। पन्त सभ्य समाज निर्माणको अभियानमा लागेका छन्। कीर्तिपुरमा समर्पण सभ्य समाज नेपाल संस्था नै स्थापना भएको छ। तेस्रोलिंगी अभिभावकका सन्तानको शिक्षामा हुँदै आएको विभेद अन्त्य गर्न सभ्य समाज नेपाल क्रियाशील छ।

तर, यही बेला रुपन्देहीमा तेस्रोलिंगीको आक्रमणमा एक जना प्रहरी सख्त घाइते भएका छन्। मादक पदार्थले लट्ठिएर प्रहरीलाई आक्रमण गर्ने तीन जना तेस्रोलिंगी यति बेला जेलमा छन्।

पद, प्रतिष्ठा र पैसामा मैमत्त भएकाहरूले आपराधिक क्रियाकलापलाई संरक्षण गरेको आरोप समेत विकृति विसङ्गति अन्त्य गर्ने अभियन्ताहरूले लगाएका छन्। मान्छेबाट नै हुने हो गल्ती। कतिले जानीजानी गर्छन् कतिले अनजानमा। तर, नेतृत्वबाट पटकपटक गल्ती भए पछि बाध्य भएर छुट्टै संस्था खोलेरै अभियानमा लाग्नु परेको सुनाउँछन् नयाँ संस्थाका सदस्यहरू।

समुदाय बाहिरबाट पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको नाममा सन् २००१ मा स्थापना भएको नील हिरा समाजको प्रभाव कम हुँदै गएको टिप्पणी भएको छ। समुदाय एकजुट नहुँदा संविधान प्रदत्त हक उपभोगमा समेत समस्या देखिएको छ।

नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन शाखा प्रमुख नरेश अर्यालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अभियानमा सुनिलबाबु पन्तको अभाव देखिएको बताए। ‘सुनिलबाबु हुँदा नील हिरा समाज प्रभावकारी देखिन्थ्यो, अहिले कम भएको छ’उनले भने।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading