होटेल साहुसँग सेटिङ, केटीको भेषमा लुटपाट

होटेल साहुसँग सेटिङ, केटीको भेषमा लुटपाट

काठमाडौं : होटेल सञ्चालकसँगको मिलेमतोमा चोरी भएको घटना अदालतसम्म पुगेको छ। काठमाडौं टोखा नगरपालिका मिलनटोल स्थित सिद्धि गणेश गेस्ट हाउसमा केटीको गेटअपमा भएको चोरीको घटना काठमाडौं जिल्ला अदालतमा पुगेको हो।

केटीको गेटअपमा पैसा भएको व्यक्ति खोजी गर्न बालिकाको समेत प्रयोग गरी चोरी गरेको घटनामा अदालतले सुस्मिता भन्ने एन्जेला तामाङ र गेस्ट हाउसका लेखापाल राम प्रसाद अधिकारीलाई दोषी ठहर गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले ३ वर्ष जेल र ३० हजार रुपैयाँ जरिवाना माग गरेर दायर गरेको मुद्दामा अदालतले बकपत्रको लागि पेस गर्ने गरी २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। कानुनको विवादमा परेका बालक, तामाङ र अधिकारीको मिलेमतोमा एक व्यक्तिको १ लाख ४५ हजार रुपैयाँ चोरी भएको थियो।

ललाई फकाई गेस्ट हाउसमा लगेर नगद चोरी गरेको स्वीकार गरेकी एन्जेलाले ३० हजार रुपैयाँ अधिकारीलाई बुझाएको बयान दिएकी छन्। एन्जेला र बालकले पीडित शौचालय जाँदा रकम चोरी गरेर भोगेको र चोरी भएको रकम मध्ये ३० हजार रुपैयाँ अधिकारीलाई दिएको बयान दिएका छन्। तर, अधिकारीले भने मिलेमतोको घटनामा इन्कारी बयान दिएका छन्।

एन्जेलाले आफू र कानुनको विवादमा परेका बालक समेत भएर होटेलको साहुसँग सेटिङ मिलाई धेरै पैसा भएको केटाहरूलाई गेस्ट हाउसमा लिई गई नगद धनमाल चारी गरी आएको बयान दिएकी छन्। चोरी गरी आएको केही रकम गेस्ट हाउसको साहुलाई दिई बाँकी पैसा आफूहरूले आधी आधी बाढी खाने गरेको एन्जेलाले बयान दिएकी छन्।

अदालतको आदेशमा लेखिएको छ,‘किटानी जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ब्यहोरा, मौकामा बुझिएका मानिसले लेखाइदिएको घटना विवरण कागज सहप्रतिवादी राम प्रसाद अधिकारीले अधिकार प्राप्त अधिकारी एवं यस अदालत समक्षको बयान समेतका तत्काल प्राप्त आधार प्रमाणबाट हाल यी प्रतिवादी कसुरदार हुन भनी विश्वास गर्न सकिने मनासिब आधार देखिएकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी सुस्मिता भन्ने एन्जेला तामाङबाट मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७२ समेतको आधारमा दफा ६८ बमोजिम नगद २५ हजार धरौटी वा सो बराबरको जेथा जमानत वा बैङ्क ग्यारेन्टी दाखिल गराइ तारिखमा राख्नु।’

केटीको भेषमा लुटपाट, पीडितलाई नै जेल हाल्ने धम्की

तारिखमा उपस्थित हुने गरी एन्जेला र अधिकारी २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले एन्जेला, अधिकारी र कानुनको विवादमा परेका बालक परिवर्तित नाम महाराजगन्ज २४ लाई जिल्ला सरकारी वकिल कार्यालय मार्फत उपस्थित गराई बकपत्रका लागि पेस गर्न आदेश दिएको छ।

‘प्रतिवादीहरूले बयानमा उल्लेख गरेको साक्षी निजै मार्फत एवं अभियोग पत्रको सबुद प्रमाण खण्डमा उल्लिखित जाहेरवाला एवं अनुसन्धानमा बुझिएका मानिसलाई बकपत्र प्रयोजनको लागि सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत उपस्थित गराई बकपत्रको लागि पेस गर्नु’अदालतको आदेशमा लेखिएको छ।

जिल्ला अदालतमा एन्जेलाले आफू तेस्रोलिंगी भएको बयान दिएकी छन्। ‘मेरो वास्तविक नाम सुस्मिता एन्जेला तामाङ हो, मलाई मेरो घर परिवार एवं साथीभाइहरूले दुवै नामले बोलाउने गरेको हुँदा मेरो दुवै नाम रहेको हो,’अदालतमा दिएको बयानमा लेखिएको छ,‘म तेस्रोलिंगी भएको कारण मेरो नागरिकता छैन र मेरो नागरिकताको नाम मैले खुलाउन सक्दिन।’

२४ वर्षकी उनले ५ कक्षासम्म पढेको र ज्यामी काम गर्ने गरेको जिल्ला अदालतमा बयान दिएकी छन्। जिल्ला सरकारी वकिलको कार्यालयमा दिएको बयानमा भने एन्जेलाले घर परिवारमा आफू बाहेक कोही छैन भनेकी छन्।

‘गाउँ घरमा मलाई सबैले हेला गर्ने र हेप्ने गरेको हुँदा आमा बुबाको मृत्यु पश्चात् म आफ्नो गृह जिल्ला गएको छैन भने म काठमाडौं स्थित रहेको विभिन्न होटेल तथा गेस्ट हाउसहरूमा केटाहरू लिएर जाने र निज केटाहरूसँग १/२ घण्टा जति बस्ने गर्थे,’ एन्जेलाले बयानमा भनेकी छन्,‘यसरी निज केटाहरूसँग बसे बापत मलाई म सँगै बसेका केटाहरूले पैसा दिने गर्थे, सोही पैसाबाट मैले आफ्नो जिविको पार्जन गर्ने गर्थे।’

कानुनको विवादमा परेका बालक र एन्जेलाबीच चिनजान भएको २/३ महिना भएको बयानमा उल्लेख छ। होटेल तथा गेस्ट हाउसमा लिएर गएका कतिपय केटाहरूले पैसा नदिने र दिए पनि भनेको जति पैसा नदिई कम पैसा मात्र दिने गरेको कारणले आफूहरूको जिविको पार्जन गर्न समस्या भएको बयानमा उल्लेख छ।

महिला गेट-अपमा बलात्कार गर्ने गोरेसँगै जेलमा

एन्जेलाले होटेल साहु तथा गेस्ट हाउसको साहुसँग सेटिङ मिलाई धेरै पैसा भएका केटाहरूलाई होटेल तथा गेस्ट हाउसमा लिई गई निजहरूको साथमा रहेको धनमाल तथा नगद चोरी गरी आएको पैसा केही रकम होटेल तथा गेस्ट हाउसको साहुलाई दिई बाँकी रहेको पैसा दुवै जनाले आधी आधी बाढी चुडि खाने गरेको स्विकारी बयान दिएकी छन्।

एन्जेलाले अदालतमा भने चोरी नगरेको इन्कारी बयान दिएकी छन्। भदौ २८ गते खाना खान सिद्धि गणेश गेस्ट हाउसमा गएको र खाना खाई पैसा तिरी फर्केको बयान दिएकी छन्। कानुनको विवादमा परेका बालक समेत सोही बखत गेस्ट हाउसबाट निस्किएकाले सी.सी.टिभी फुटेजमा देखिन पुगेको एन्जेलाले भनेकी छन्।

उनले जाहेरवालालाई सो ठाउँमा देखेको समेत छैन भनेकी छन्। जबकि गेस्ट हाउसका लेखापाल रामप्रसाद अधिकारीले जाहेरवालाको कोठामा गएर दुवै जना भोगे पछि पीडित काउन्टरमा आएर रकम चोरी भएको बताएको बयान दिएका छन्।

सरकारी वकिलको कार्यालयले मधु केसीसँग लिएको घटना विवरण पनि अदालतमा पेस गरेको छ। केसीले प्रतिवादी सुस्मिता भन्ने एन्जेला तामाङ हाम्रै समुदायको भएको हुँदा निजसँग चिनजान रहे पनि कुनै लेनदेन तथा रिसिईबी नभएको उल्लेख गरेका छन्।

‘यसमा मेरो सही सत्य साँचो ब्यहोरा यो छ कि म विगत १ महिना अगाडि देखि काठमाडौं जिल्ला लाजिम्पाट स्थित मायाको पहिचान नेपाल नामक संस्था सञ्चालन गरी तेस्रोलिंगीको हक हितको लागि लडी रहनुको साथै कानुन विपरीत कार्य गर्नेलाई कानुनको दायरमा ल्याउने कार्यमा सहयोग पुर्‍याउने कार्य गर्दै आइरहेको छु,’केसीले गरेको बयानमा लेखिएको छ,‘यसरी अर्काको धनमाल चोरी तथा डाँका गर्ने निज प्रतिवादीहरू सुस्मिता भन्ने एन्जेला तामाङ, रामप्रसाद अधिकारी भन्ने राम अधिकारी र बाल बिज्याईकर्ता हाल परिवर्तित नाम महाराजगन्ज २४ समेतले हदैसम्मको कानुन बमोजिम कारबाही गरी जाहेरवालाको चोरी भएको पैसा समेत निजै प्रतिवादीहरूबाटै फिर्ता दिलाइ दिनु पर्छ भनी सही छाप गरिदिए।’

यो पनि

सर्वोच्चको जुन आदेश जसले पारलिंगी पुरुषलाई पुरुष र पारलिंगी महिलालाई महिला बनाउँदै

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.