बुद्धले कुनै एकल शासन व्यवस्थाको समर्थन नगरे पनि, उनले विभिन्न प्रकारका शासन व्यवस्थाहरूलाई वैध मान्न सकिने कुरालाई स्वीकारे। यदि शासक र शासितहरू धर्मको सिद्धान्तअनुसार आचरण गर्छन् भने,उनले राजतन्त्र र गणतन्त्र दुवैलाई साथ र सल्लाह दिए। बुद्धले देखे कि जीवनको मुख्य उद्देश्य सुख प्राप्ति हो। उनले यो पनि देखे कि अज्ञानताले मानिसलाई अनन्त दुःख र निराशामा बाँध्छ, जबकि ज्ञान र मार्गदर्शनले मानिसलाई मुक्त गराउँछ।
आधुनिक लोकतन्त्र समानताको सिद्धान्तमा आधारित छ भन्ने विश्वास गरिन्छ। सबै मानवहरू समान छन् र हरेक व्यक्तिलाई जीवन, स्वतन्त्रता र सुख खोज्ने समान अधिकार छ। बौद्ध धर्मले पनि मानव गरिमाको सम्मान गर्छ। र, भन्छ कि सबै मानिसलाई स्वतन्त्रताको अधिकार छ। जसमा राजनीतिक स्वतन्त्रतासँगै डर र अभावबाट मुक्ति पनि समावेश छ। धनी–गरिब, शिक्षित–अशिक्षित, कुनै पनि धर्म, जाति वा राष्ट्रियताका भए पनि, प्रत्येक मानिस अरू सरह समान छन्।
बौद्ध धर्मको नीति अनुसार, हरेक व्यक्तिले सुख खोज्छ र दुःखबाट बच्न चाहन्छ। यसकारण, सबैलाई यी उद्देश्यहरू पूरा गर्ने समान अधिकार हुनुपर्छ। बौद्ध धर्मले नैतिक सिद्धान्तमा आधारित भएर राजनीतिलाई मानवीय जीवनमा महत्त्वपूर्ण तर, एक सीमित भूमिका दिन्छ।
बौद्ध धर्म र राजनीति
बौद्ध राजनीतिक सिद्धान्तका विभिन्न स्रोतहरू छन्। तीमध्ये, “अगैञ्ञ सुत्त” ले पृथ्वी र सामाजिक व्यवस्थाको उत्पत्तिको व्याख्या गर्छ। यो सुत्तमा पहिलो राजा “महासम्मत” को बारेमा उल्लेख छ, जसको अर्थ “जनताले चुनेको” भनिएको छ। जनताले एउटा असल, सुन्दर, सक्षम र सन्तुलित व्यक्तिलाई नेतृत्व स्विकार्न आग्रह गरेका थिए। यसले देखाउँछ कि शासकमा भद्रता, नैतिकता, करुणा र जनताको भलाइको भावना हुनुपर्छ।
शासकलाई दिइएका निर्देशनहरूमा विशेष रूपमा केही गुणहरूको उल्लेख गरिएको छ:
दान : शासकले आफ्नो व्यक्तिगत सुख त्यागेर जनताको भलाइका लागि परोपकार गर्नुपर्छ।
शिला : पाँच प्रमुख सिद्धान्त (हत्या नगर्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, झुट नबोल्ने र मदिरा सेवन नगर्ने) पालना गर्नुपर्छ।
परिचाग (परित्याग) : स्वार्थीपनबाट टाढा रहँदै सामूहिक भलाइका लागि त्याग गर्नु ।
आजिभ (जीविका): न्यायपूर्ण तरिकाले जीविकोपार्जन गर्नु ।
तप : सरल र अनुशासित जीवन जिउनुपर्छ।
अकोध (अक्रोध) : कुनै पनि व्यक्तिप्रति घृणा नगरीकन शान्त र संयमित रहनुपर्छ।
अहिंसा : हिंसा नगर्नु, दयालु हुनु र शान्ति कायम राख्न प्रयास गर्नुपर्छ।
खन्ती (सहनशीलता) : सहनशील हुनुपर्छ र जनताको भलाइका लागि अपमान सहन सक्नुपर्छ।
अविरोध : जनताको इच्छाको विरोध नगरी उनीहरूलाई साथमा लिएर शासन गर्नुपर्छ।
यी गुणहरूले देश र समाजको प्रगतिमा ठुलो योगदान पुर्याउँछन्।
पाँच प्रकारका आशक्तिहरू जसले समाजमा असमानता र सङ्घर्ष ल्याउँछन्
देश वा भौगोलिक क्षेत्रको आशक्ति : यसले साँघुरो राष्ट्रियता र प्रभुत्व जमाउने मनोवृत्तिलाई जन्म दिन्छ।
जाति वा समुदायको आशक्ति : यसले भेदभाव र कहिलेकाहीँ नरसंहारसम्म पुर्याउन सक्छ।
धन–दौलतप्रतिको आशक्ति : पुँजीवादले अनियन्त्रित रूपमा धन सङ्कलन गर्न मद्दत गर्छ, जसले धनी र गरिबबीचको खाडल बढाउँछ।
जातीय वा वर्गीय आशक्ति : यसले वर्ग सङ्घर्षको आधार बनाउँछ र राजनीतिलाई पनि विभाजित गर्छ।
शिक्षाको (अरूलाई निषेध गर्दै)आशक्ति : असमानताहरू स्थापना गर्दै अरूलाई अवसरबाट वञ्चित गर्दछ।
बौद्ध धर्म र राम्रो शासनको आदर्श
बुद्धको समयको शासन व्यवस्थामा राजतन्त्र र गणतन्त्र दुवै थिए। बुद्धले कुनै एकल शासन प्रणालीलाई समर्थन नगरे पनि उनले भने कि शासकले धर्मको सिद्धान्तअनुसार शासन गर्नुपर्छ। बुद्धको दृष्टिकोणमा, एक असल शासकले जनताको हितका लागि काम गर्नुपर्छ।
उदाहरणका लागि, “चक्कवत्ति सिंहनाद सुत्त”मा बुद्धले भनेका छन् कि यदि गरिबी फैलियो भने मानिसहरू चोरी, झुट, हिंसा र घृणाका मार्गमा जान्छन्। यस्तो अवस्थामा, राजा वा शासकले जनतालाई आर्थिक अवसर र सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ।
बुद्धले “सत्ता अपरिहार्य धर्म” (अटल सिद्धान्तहरू) का माध्यमबाट “वज्जि”हरूलाई आफूलाई समृद्ध र बलियो बनाउन यस्ता सुझाव दिएका छन् :
बारम्बार सभा र बैठक गर्ने
पुराना र सम्मानित व्यक्तिहरूको सम्मान गर्ने
महिलाहरूको अधिकार र मर्यादाको रक्षा गर्ने
धार्मिक स्थलहरूको सम्मान र संरक्षण गर्ने
आर्यजन (सन्त पुरुषहरू) को सुरक्षा गर्ने
यी सिद्धान्तहरूले जनताको विश्वास जित्छन् र देशको प्रगतिमा सहयोग पुर्याउँछन्।
बौद्ध सङ्घ र लोकतान्त्रिक प्रणाली
बुद्धको सङ्घ (भिक्षुहरूको समुदाय) को प्रणालीले पनि लोकतान्त्रिक अभ्यासलाई प्रतिबिम्बित गर्छ। यहाँ प्रत्येक मुद्दामा छलफल हुन्थ्यो र बहुमतको मतका आधारमा निर्णय लिइन्थ्यो। सभामा ‘सभापति’ नियुक्त गरिन्थ्यो जसले छलफललाई संयमित रूपमा अघि बढाउँथ्यो। (बौद्ध सङ्घमा महिलाको भूमिका, फरक बहसको विषय हो)
युद्ध र अहिंसाको सन्देश
बुद्धले हिंसा र युद्धको कडा विरोध गरेका थिए। उनले भने, “विजेताले अहङ्कार बोक्छ; पराजितले हिनताभाव र प्रतिशोध बोक्छ। विजय र पराजय दुवै त्याग्नेहरू नै सुखी र शान्त हुन्छन्।” बुद्धले शाक्य र कोलिय जातिहरूबीचको युद्ध रोक्न प्रयास गरेका थिए। उनले राजा अजात शत्रुलाई वज्जिहरू विरुद्ध आक्रमण गर्नबाट रोकेका थिए।
बुद्धको शिक्षाले भन्छ कि शासकको भ्रष्टाचारले देशलाई दुःख र अधोगतिमा पुर्याउँछ। जसरी शासक न्यायी र असल हुन्छन्, त्यसरी नै मन्त्रीहरू, कर्मचारीहरू र जनतासमेत असल र न्यायी हुन्छन्। यसबाट के बुझ्न सकिन्छ भने यदि कर्मचारीहरू र मन्त्रीहरू भ्रष्टाचारी छन् भने यसले पुष्टि गर्छ कि शासक पनि भ्रष्टाचारी छ।
यसरी, बुद्धले कुनै एकल शासन प्रणालीको समर्थन नगरे पनि उनले शासकको नैतिकता र आचरणलाई अत्यन्त महत्त्व दिएका छन्। शासकले अहिंसा, करुणा र धर्मलाई अनुसरण गरेर जनताको भलाइका लागि शासन गर्नुपर्छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.