"/>

सरकार ढल्ने कोकोहोलो किन?

सरकार ढल्ने कोकोहोलो किन?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु अघि देखि सरकार ढल्ने हल्ला चलिरहेको छ। भारतीय पूर्व ‘रअ एजेन्ट’ लक्की विष्टले अबको १०/१५ दिनमा नेपालको नयाँ सरकार ढल्ने दाबी गरे पछि हल्ला व्यापक भएको छ।

प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किए लगत्तै सरकार ढल्ने चर्चाकैबीच विष्टको यस्तो अभिव्यक्ति आएपछि कोकोहोलो नै मच्चिएको छ। सरकार ढल्ने हल्लालाई मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले खारेज गर्दै आएका छन्।

बुधवार नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘झिँगाको सरापले डिँगा नमर्ने’ जवाफ दिए।

प्रधानमन्त्री ओलीले चीन जानु अगाडी काम नगर्ने मन्त्रीहरू बदल्ने सङ्केत दिएका थिए। केही मन्त्री पद मुक्त हुने हल्ला नै चलेको थियो। मन्त्री फेर्ने हल्ला अहिले सरकार नै ढल्नेसम्म पुगेको छ। सत्ता साझेदार काँग्रेसको असहमतिले मन्त्री बदल्ने ओलीको चाहनामा धक्का लागेको छ। हुँदा हुँदा प्रधानमन्त्री ओलीकै कुर्सी हल्लिएको चर्चा चलेको छ।

हल्ला मच्चाउनेमा राजनीतिक दलका नेता कार्यकर्ता, नेताका आडमा सरकारलाई ‘मौरीको चाका’ जसरी निचोरेर स्वार्थ सिद्धि गर्न पल्किएका र राजनीतिक बिचौलियाहरू नै देखिएका छन्। देशमा आफ्नो भविष्य सुनिश्चित नदेखेर विदेश पलायन हुन दलाललाई पैसा बुझाउन दौडिरहेका नेपाली नागरिकमा भने सरकार ढल्दा या नयाँ बन्दा कुनै उत्साह देखिँदैन।

सरकार ढल्ने हल्ला आम सर्वसाधारण नेपालीका निम्ति ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भने जस्तै छ। नेपालीको चाहाना ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै बनाइदिए पछि वर्तमान सरकार बनेको दाबी प्रधानमन्त्री ओलीले गरेका छन्।

राज्यसत्ता र नेतृत्वप्रति वितृष्णा छ। अन्याय, अत्याचार, भ्रष्टाचारको जालो मौलाउँदै छ। समाज, देश, सत्ता र सरकारको नेतृत्व गर्नेहरू विधि, पद्धति, नियम, कानुन र मर्यादाको उल्लङ्घन गर्दै हिँडिरहेका छन्। जसका कारण ‘सानालाई ऐन, ठुलालाई चैन’ भन्ने भाष्य स्थापित हुँदैछ। सर्वसाधारणले समान अधिकारको प्रत्याभूति गर्न पाएका छैनन्। जताततै नातावाद, कृपावाद र चाकडी प्रथाले जरा गाडेको छ।

जनताको जनजीवन फेर्ने सपना देखाएर चप्पल पट्काउँदै सत्तामा पुगेकाहरूको जीवनशैली भने लोभलाग्दो बनेको छ। कानुन छ, कार्यान्वयन छैन। थुप्रै निर्मला पन्तहरूले न्याय पाउन सकेका छैनन्। तुइन तरिरहँदा नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीहरू अझै भेटिएका छैनन्।

देशको अर्थतन्त्र रेमिट्यान्सले धानिरहँदा विपिन जोशीहरूका अवस्था बेखबर छन्। अर्काको देशमा आफ्नो रगत, पसिना अनि स्वाभिमान बेचेर धन अनि खुसी किन्न परदेश गएकाहरू ‘कफनमा’ फर्किन बाध्य छन्।

देशमा आफ्नो भविष्य नदेखेर जतिसक्दो छिटो स्वदेश छाड्न पाउँ भन्दै बालकुमारीमा प्रदर्शन गर्दागर्दै सरकारी गोली खाएर मृत्युवरण गरेका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतहरूको मनोकाङ्क्षा सुन्न सकेको छैन। देशमा थुप्रै राजनीतिक परिवर्तन भए। नेता फेरिए। सरकार ढल्यो। नयाँ सरकार बन्यो। प्रधानमन्त्री, मन्त्री फेरिए। तर, जनताको अवस्था फेरिएन। अव जनताको अवस्था फेर्नका लागि दुई पार्टीले सङ्कल्प गरेर नयाँ सरकार बनाएको दाबी प्रधानमन्त्री ओलीले गरे।

पुरै भिडियो सुन्नुहोस्

स्वदेशमा रोजगारीका अवसर दिन नसकेर विदेश जान बाध्य बनाएको सरकारले मलेसियासँग एकै पटक पाँच वर्षका लागि श्रम सम्झौता गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले यसअघि तीन वर्षका लागि हुने गरेको श्रम सम्झौता यसपटक पाँच वर्षका पुर्‍याउन लागिपरेको उल्लेख गरे।

त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा बुधवार आयोजना गरेको कार्यक्रममा श्रममन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्न एउटा छुट्टै संस्था स्थापना गरेर श्रम मन्त्रालय मातहत राख्न आवश्यकता रहेको बताए।

हरेक पटक बन्ने सरकारले स्वदेशमै रोजगारीको नारा घन्काइरहँदा दश वर्षको अवधिमा रोजगारीका लागि विदेश गएका दश हजार भन्दा बढी नेपालीले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८१ को अवसरमा आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म दश हजार दुई सय ७४ जनाले विदेशमा ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरेको हो।

यो आर्थिक वर्षमा मात्र एक हजार ४९२ जना नेपाली श्रमिकले ज्यान गुमाएको र ५७८ जना अङ्गभङ्ग भई स्वदेश फर्किएका छन्। गत वर्ष १ हजार २ सय ८ जनाको निधन भएको थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.