कास्की : पोखरामा बेलुन महोत्सव सुरु भएको छ। नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना भएको हो। महोत्सव ९ दिनसम्म झन्डै दुई दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिन्छ।
पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेर सुरु भएको महोत्सवले पर्यटकलाई आकर्षित गरी पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने दाबी आयोजकको छ।
अन्तर्राष्ट्रिय बेलुन फेस्टिबलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनाम लगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुनेछ। ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिम शृङ्खलासहित माछापुच्छ्रे र धौलागिरिका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने छ।
यसका साथै सूर्योदय र सूर्यास्तका दृश्य पर्यटकका लागि प्रमुख आकर्षण हुन सक्छ। यसलाई भव्य बनाउँदै, हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ।
महोत्सव अवधिभर पोखराका स्थानीय साङ्गीतिक ब्यान्डका साथै दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मङ्गोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्ड जस्ता शीर्ष नेपाली कलाकारको साङ्गीतिक प्रस्तुति पनि दैनिक रूपमा हुने छन्।
नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), पोखरा महानगर र पोखरा पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले महोत्सवको व्यवस्थापन गरेको छ। यो फेस्टिबलको संयुक्त आयोजकको रूपमा पोखरा पर्यटन काउन्सिल पनि रहेको छ। कार्यक्रमको ब्रान्ड एम्बेसडरका रूपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियङ्का कार्की छन्।
सन् १९७२ मा अमेरिकाबाट सुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन्। न्यु मेक्सिकोमा वार्षिक रूपमा आयोजना हुने यो बेलुन फेस्टिबलमा ५०० वटा बेलुन उडाउने गरिन्छ। हरेक वर्ष करिब १० लाखभन्दा बढी पर्यटक यो फेस्टिबलमा सहभागी हुने गर्छन्।
सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको जनाएको छ। यस वर्षको फेब्रुअरीमा बेलुन नेपाल प्रा.लि. थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय बेलुन पर्वमा पनि सहभागी भएको थियो।
तस्बिर : प्रदीप राज वन्त रासस
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.