लामो समय जनसेनाको फर्मेशनमा हिँडेर हामी अछाममा फर्किएको केही दिन मात्र भएको थियो। अछाम जिल्लाको पार्टीको मुख्यालय पनि रामारोशन आसपासमै रहेको थियो। त्यसैले पनि हामी जताको भूगोलमा गए पनि प्रायः रामारोशनतर्फ नै आइराखेका हुन्थ्यौँ। जिल्लाको नेतृत्वलाई नेटाकोट, मुजाबगर, रामारोशन र भाटाकाटिया आसपासमा आउँदा भेट्न सहज हुन्थ्यो। पार्टीका सीसीएम तथा अछाम, कालिकोट र बाजुरा जिल्लाका कमान्ड इन्चार्ज पारसमणि भएकाले तीन वटै जिल्लाका नेताहरूसँग सम्पर्क, समन्वय तथा भेटघाट गर्न यो इलाका निकै सुरक्षित थियो। एक दिन अछामका जिल्ला इन्चार्ज शरदसिंह भण्डारीको पत्र आयो। त्यो पत्र मैले पारसमणि सरलाई दिएँ। सेती–महाकाली र भेरी–कर्णालीका कलाकारहरूको क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको र प्रमुख अतिथि सीसीएम रहनु हुने जानकारी रहेछ। शरदसिंहको पत्र पाएपछि केही समयपछि हामी रामारोशन गाउँमा गयौँ।
जनसाँस्कृतिक महासङ्घका केन्द्रीय महासचिव डा.ऋषिराज बराल आउनु भयो। उहाँले कलाकारहरूको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नको लागि केही प्रतिनिधिमूलक कलाकारहरूको प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने तालिका सबै सुनाउनु भयो। भोलिपल्टदेखि अछामको पार्टीले त्यसको सबै व्यवस्थापन गर्ने गरेर कामको गति बढायो। हामी रामारोशन मै काममा थियौँ। बर्दियाका पुराना नेता तथा भर्खरै जेलबाट आउनुभएका नेता तिलक शर्मा हिमाल पनि हामी भएको घरमा आउनु भयो।
माया सर खै ? भन्नुभयो। म अकमक्क परेँ। पछि हिमाल सरले भन्नुभयो। पारसमणिजी खै भनेपछि मैले कोठामा भएको इशारा गरेँ। उहाँले हिमाल सर आउनुभएको खबर गर्न भन्नुभयो। म गएर खबर गरेँ। पारसमणि सरलाई दोहोर्याएर भनेको धेरै मन नपर्ने पनि मलाई राम्रोसँग याद थियो। हिमाल सर आउनुभएको कुरा भने। उहाँ केही बोल्नु भएन। फेरि भनेपछि रिसाउनु हुन्छ कि भन्ने लाग्यो। नभनौँ भने मैले भनेको सुन्नुभएको छ कि छैन ? म निकै अलमलमा परेँ। त्यत्तिकैमा सरले भित्र पठाइदिनू भन्नुभयो। म बाहिर गएर हिमाल सरलाई भित्र पठाएँ।
पारसमणि सरलाई धेरै पटक भनेको मन नपर्ने। एक पटक भने हुने उहाँको बानी थियो। कहिलेकाहीँ एक पटकले सही सूचना नहुँदा वा नसुन्दा अर्को समस्या पर्ने हुँदा सचिवालयमा हुनेले धेरै ध्यान दिनुपर्ने र परिपक्व खबर गर्नुपर्ने हुन्थ्यो। रातभर हिमाल सर र पारसमणि सर मजाले गफिनु भयो। प्रायः पारसमणि सरको कोठा हामी एकल बनाउँथ्यौ। आज भने हिमाल सर पनि थपिनु भयो। उहाँ राति अबेरसम्म पनि अध्ययन गरिरहने भएकोले डिस्टर्व नहोस् भनेर सकेसम्म उहाँको लागि एकल कोठा बनाउन मेहनत गर्थ्यौ। बिहानको खाजा खाएर हिमाल सर आफ्नो गन्तव्यमा जानुभयो। आज दिनभर कलाकारहरूको जमघट हुने दिन पनि थियो। सबैतिरबाट सहभागीहरू आइरहेका थिए। सेती–महाकालीका कलाकार टिमका नेता एनबी सर्वहारा पनि आउनुभयो।
सबै व्यवस्थापनको कामको बाँडफाँड गरेर मेश तथा आवासको जिम्मेवारी पनि विभाजन गरियो। भेरी कर्णालीबाट आउने कलाकारहरूको लागि हामी बसेको घरनजिकै व्यवस्थापन गरियो। मैले भेकबाट पनि कलाकार आउने भए पक्कै पनि मैले चिनेका कलाकारहरू आउँछन् होला भन्ने अनुमान गरेको थिएँ। बेलुकीको समय थियो। भेक क्षेत्रका कलाकारको एउटा टिम आयो। उक्त टिममा मैले चिनेका दाजु शङ्कर, मेरो गाउँ नजिकैका तथा स्कुल पढ्दाका साथी शिक्षा, जुम्लाकी जानकी र एक जना सुर्खेतका साथी आए। पश्चिममा गजबको संस्कार रहेछ। पाहुनालाई आउँदा स्वागत र जाँदा बिदाइ भने निकै सम्झनायोग्य नै हुने रहेछ। हामीले हार्दिकतापूर्वक स्वागत गर्यौँ। म अछामतिर गएको लामो समय भइसकेको थियो। त्यसैले मलाई भेरी–कर्णाली अझ भन्दा जाजरकोट भने त निकै खुसी लाग्ने गर्थ्यो। धेरै समय सँगै काम गरेका साथीहरूलाई भेट्दा मेरा लागि निकै खुसीको क्षण भयो।
केही दिनसम्म सञ्चालन हुने शिविरमा आएका सहभागी र हाम्रो एउटै मेश भयो। धेरै समय हामीले मेशमा काम गर्यौँ। हाम्रो टिममा एक जना अलि मिलाएर अल्छी गर्थे। सरले केही काम गर्न लगाएपछि बाहिर आएर तपाईँले यो काम गर्नु रे, सरले भन्नुभएको छ भन्थे। हामीले काम गरिसकेपछि उक्त कामको जस उनले लिँदा रहेछन्। एक दिन हाम्रो सचिवालयको समीक्षा भयो। सरले धेरै साथीहरू काम गर्दा कता हराउनुहुन्छ ? काम गर्दा एक जना मात्र देखिनुहुन्छ भनेर रिसाउनुभयो। मैले त पहिला बुझिन। कसैलाई भन्नुभएको होला भन्ने ठानेँ। हुँदाहुँदा त म तिरै हेरेर “तपाईँ कता हराउनुहुन्छ ? काम भएको बेला नदेखिने ?” भन्नुभयो। त्यसपछि मैले बुझेँ, साथीले त हामीले गरेको कामको पनि जस लिएछन्। मैले सबै कुरा भनेपछि सरले पनि बुझ्नुभयो होला शायद। त्यसपछिका दिनमा हामीलाई बोलाएर कामको जिम्मा दिने र पहिलाको जस्तो रिसाउने काम भएन।
बिहानै कलाकारहरूको रोलकाल गर्ने, दिनभर प्रशिक्षण सञ्चालन गर्ने तथा त्यसपछि प्रयोगात्मक क्रियाकलाप गर्ने तालिका थियो। कलाकारको प्रयोगात्मक तालिम भएकोले होला मादल र बाँसुरीको धुन सुन्ने बित्तिकै वरपर रहेका कार्यकर्ता तथा जनता पनि हेर्नको लागि झुम्मिन थालिहाल्थे। कहिलेकाहीँ कलाकारहरूले अरूको गीतको क्यासेट बजाएर पनि प्रयोगात्मक कार्य सञ्चालन गर्थे। यो अवधिमा शङ्कर दाइसँग निकै रमाइलो भयो। उहाँ हेर्दा सोझै लाग्ने तर मान्छेलाई हँसाउनेमा अगाडि नै सर्नुहुन्थ्यो। बिस्तारै बोलेर आफूलाई लागेको कुरा सबै भन्ने शङ्कर दाइको बानी मज्जाको नै थियो। तालिम अवधिभर प्रायः भेरी–कर्णालीबाट गएका कलाकार साथीहरूसँग नै सङ्गत भयो। जब तालिम सुरु हुन्थ्यो, रामारोशनको चौरभरि कलाकारहरू मात्रै देखिन्थे। भेरी–कर्णाली क्षेत्रबाट गएको कलाकारको टिम सानो भए पनि नाच्ने गाउने सबैमा अगाडि नै थियो।
यो कार्यक्रम चलिरहेको थियो। नजिकैको गाउँ भाटाकाटियामा सेती–महाकाली क्षेत्रको पार्टीको स्कुलिङ आयोजना गरिएको थियो। उक्त स्कुलिङमा पश्चिम केन्द्रीय कमान्डको स्कुलिङ विभाग नै क्रियाशील भएर प्रशिक्षार्थीहरूलाई प्रशिक्षण सञ्चालन गरिएको थियो। यस क्षेत्रका नौ जिल्लाका सिनियर नेताहरूलाई केन्द्रित गरेर सञ्चालन गरिएको प्रशिक्षण महत्त्वपूर्ण नै थियो। यसको लागि पश्चिम कमान्डको स्कुलिङ विभागका सबै सदस्यहरू भाटाकाटिया आएपछि भोलिबाट सञ्चालन हुने कार्यक्रमको तालिका, विषयवस्तु र प्रशिक्षकको कार्य विभाजन गरियो। प्रशिक्षकका रूपमा राहुल, रामदीप, आदर्श, दुर्लभ पुनमगर लगायत तयारी अवस्थामा हुनुहुन्थ्यो। बिहानको खाजा खाएपछि स्कुलिङ सुरु भयो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा पार्टीका सीसीएम पारसमणि रहनुभयो। विभिन्न विषयमा महत्त्वपूर्ण शिक्षाको रूपमा रहन गयो यो स्कुल। धेरै नयाँ कुरा सिक्ने मौका मिल्यो। नेताहरूसँग खुलेर अन्तरक्रिया गर्ने पालो आयो। सबैले आफूलाई लागेको जिज्ञासा निर्धक्क भएर सोध्ने वातावरण बन्यो। त्यसको जवाफ पनि प्रशिक्षकहरूले सरल ढङ्गले दिनुभयो। भाटाकाटियाको स्कुल जनयुद्धको पश्चिमको बलियो स्कुल बन्न गयो। विद्यालय समयमा शिक्षक र विद्यार्थीबीच हुने दोहोरो छलफल र अन्तरक्रिया भन्दा कम थिएन। त्यसैले पनि यो स्कुल नयाँ कुरा सिक्न निकै सहज भयो। यो स्कुलले नेता कार्यकर्तामा नयाँ ऊर्जा समेत प्रवाह गर्यो।
तेस्रो दिनको स्कुलको काम सकिएपछि श्रम शिविर सञ्चालन गर्ने निर्णय भयो। सबै नेता कार्यकर्ताहरू ढुङ्गा बोक्न तथा सरसफाइमा लागे। नजिकैको विद्यालय भवनको लागि ढुङ्गा सङ्कलन तथा फिल्ड निर्माणमा सहभागी सबैले सहयोग गरे। साउनको महिना भएकोले पानी परिरहेको थियो तर पनि नेता कार्यकर्ताको श्रम शिविर रोकिएन, निरन्तर सञ्चालन भयो। श्रम गर्ने काम सकिएपछि सबैलाई सरसफाइको लागि समय दिइयो। एकै ठाउँमा समस्या हुने भएकोले कोही तल खोलातिर तथा कोही गाउँका अन्य ठाउँमा भएका पानीका धारातिर विभाजन भएर नुहाउन लागियो। सबै जना सरसफाइ गरेर आफ्नो बास बस्ने स्थानमा आइरहेका थिए। त्यसै दिन जनमुक्ति सेनाको आठौँ ब्रिगेड नेतृत्वको टिम पनि भाटाकाटियामा आयो। भाटाकाटियामा सेना, कलाकार, नेता कार्यकर्ता र जनताको मेला नै लाग्यो। स्कुल पनि सञ्चालन भइरहेको थियो। नजिकै कलाकारको प्रशिक्षण पनि सञ्चालन भइरहेको थियो। यसैमा ठुलो सङ्ख्यामा जनसेनाको लाम आएपछि गाउँमा नयाँ वातावरण सिर्जना भयो।
सबै जम्मा भएपछि भाटाकाटियाको स्कुलमा सेनाको कमान्डर सदस्यहरू भलिबल खेल्न थाले। रामदीपसँग गएको दम्दालाको साथी केशव थापा र म पनि भलिबल हेर्न विद्यालयमा गयौँ। आज पार्टीको स्कुल सञ्चालन भएन किनकि दिनभर श्रम गरेको तथा सरसफाइ गर्नुपर्ने भएकोले आज बिदा थियो। त्यसले हाम्रो पनि फुर्सद नै थियो। जिल्ला इन्चार्ज शरदसिंह र सीसीएम पारसमणिको सल्लाहअनुसार सेम क्षेत्रका धेरै नेता कार्यकर्ता उपस्थित भएको, दिनभर श्रम शिविर भएको, गाउँमा जनसेना पनि आएको हुनाले नजिकैको गाउँमा रहेका कलाकारहरूलाई बोलाएर साँझ सांस्कृतिक कार्यक्रम गर्ने योजना बन्यो। रामारोशनमा रहेका कलाकारहरूको टिमलाई मनोरञ्जनका लागि जोसिला प्रस्तुति दिनका लागि खबर गरियो। बेलुकीको समयमा भाटाकाटियामा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। दिनमा स्कुलमा भएको भलिबल खेल हेर्न गएको समयमा आकाशमा दोहोरो रूपमा हेलिकोप्टरले गस्ती गरिरहेको थियो। हवाई फायर भने गरेको थिएन तर रामारोशन इलाकाभरि हवाई गस्ती गरेर आतङ्कित पार्ने कोसिस गरिरहेको थियो। हामी विद्यालयमा भलिबल हेर्न जाँदा हाम्रो गाउँका कमान्डर मण्डल लगायतका धेरै जनसेनामा कार्यरतलाई भेटाएँ। म धेरै खुसी भएँ। मलाई निकै रमाइलो लाग्न थाल्यो। मैले चिनेजानेका तथा सँगै काम गरेका प्रायः सबै मान्छे यतै भेटिँदा एक्लोपनको महसुस नै भएन।
भलिबल खेल भएको विद्यालयको वरिपरि ठूलाठूला रूख भएकोले हेलिकोप्टरले माथिबाट धेरै राम्रोसँग हामीलाई देख्न सक्दैनथ्यो। आकाशमा उडिरहेको हेलिकोप्टर हामी भएको स्थानको नजिकै आउन थाल्यो। त्यसै बीचमा बटालियन भिसी विनोदले आफ्नो नजिकै रहेको हतियारबाट हेलिकोप्टरलाई फायर खोल्नुभयो। हेलिकोप्टर बस्न सकेन तर हवाई फायरको ओइरो लगायो। त्यसपछि हामी सबैको भागाभाग भयो। हेलिकोप्टरबाट फायर गरिएको गोली छल्नको लागि बलियो आर्कमा कभर लिँदै सुरक्षित हुने प्रयास गर्यौ। हामी भएको स्थानतिर आकाशबाट अत्याधुनिक बमहरू खसाल्यो तर सबै जनाले सुरक्षित कभर लिएकोले मानवीय क्षति भने भएन। साथी केशव र म ठुलो रूखको कभर लिँदै मकै बारीतिर गयौँ। नजिकै सानो खोल्सा थियो । रूखका पातले पुरिएर खोल्सामा बाटो जस्तै बनेको थियो। त्यही बाटो भएर अलिभित्र लाग्दा केशवले पहिलो पाइला टेक्न के पाएका थिए, कुमभन्दा तल सबै डुबिहाले। म गएर केशवलाई हातको सहयोगले माथि ताने अनि रूखको कभर लिँदै झोला भएको कोठामा गएर कपडा बदल्यौँ। लुक्न जाँदा पूरै शरीर पानीमा डुब्दा हाँसो लागे पनि साथीलाई पीडा नै भयो।
आकाशमा उडिरहेको हेलिकोप्टर पनि केही समयपछि फिर्ता भयो। कभर लिँदै तितरबितर भएका हामी सबै जम्मा हुन थाल्यौँ। आज बेलुकी कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने पूर्वनिर्धारित योजना नै थियो। सबै जना त्यसैको तयारीमा लागियो। आठौँ ब्रिगेडका सहकमिसार रमेश कोइराला र सहकमाण्डर विकल्प पनि आउनु भयो। बीच गाउँमा भएको चौरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। सबै नेता तथा कार्यकर्ता, जनसेना र भाटाकाटियाका जनताको उल्लेख्य सहभागिता रह्यो। लडाइँमा सहभागी हुने जनसेनामा नयाँ ऊर्जा प्रदान हुने गरी कलाकारहरूको प्रस्तुति देखाइयो। त्यसले गर्दा दिनभरको थकानको कुनै परवाह रहेन। हिजो आएको जनसेनाको केही टिम पश्चिमतिर गयो भने केही यतै रह्यो। पश्चिमतिर गएको केही दिनमै दैलेखका कमान्डर महान् बाजुरामा पक्राउ परेको खबर प्राप्त भयो। यो खबर तल्लो तहमा आएको थिएन। हामी पार्टीका सीसीएमको सचिवालयमा भएकाले अलिअलि चाल पायौँ। यो खबरपछि नेताहरूको बैठक बस्यो तर निर्णय के भयो ? थाहा भएन। भाटाकाटियामा आयोजना गरिएको स्कुलिङ सम्पन्न भएर सबै सहभागीहरू आफ्नो कार्यक्षेत्रतिर प्रस्थान गरिसकेका थिए। हाम्रो यात्रा भने रामारोशन तालको मनोरम दृश्यको अवलोकनसँगै कालिकोटको रूप्सातिर भयो। यो बाटो लामो भएको र लेक भएकोले हामीले समयमै लेक पार गर्नुपर्ने थियो।
हामी कालिकोटको रूप्सामा आउँदा राति भइसकेको थियो। पार्टीको सम्पर्कमा जानुपर्ने भएकोले केही समय लाग्यो। रूप्सामा बास बसेर हामी बिहानै मेहलमुडीतर्फ लाग्यौँ। मेहलमुडीमा बास बसेर हामी रास्कोटतिर गयौँ। सिपखाना गएपछि जनसेनाको ठुलो टिमसँग भेट भयो। हामी कता जाँदैछौ भनेर हाम्रो टिमका कसैलाई पनि जानकारी थिएन तर हामी पूर्वतिर हिँडिरहेका थियौँ। केही दिनदेखि छुट्टिएका जनसेनासँग फेरि कालिकोटबाट सँगै यात्रा भयो। पश्चिम डिभिजनका सहकमाण्डर विविधसँगै हामी पनि पूर्वी कालिकोटको यात्रामा लाग्यौँ। सिपखानामा तेस्रो ब्रिगेडका सहकमिसार प्रज्वल र कमान्डर जीवन आएपछि नेताहरूको बैठक बस्यो। त्यसपछि त्यहाँको टिम लेनिन बजार हुँदै कर्णाली नदीतिर गयो। हामी अलि पर गएपछि ओरालो लाग्यौँ। हामीसँगै कालिकोटका नेता कार्यकर्ता पनि हिँडेपछि हामीलाई लाग्यो, कतै लडाइँ हुने ठाउँतिर त जाँदै छैनौ ? राम्नाकोटको तल जारकोट गाउँ छ। त्यसको नजिकै कर्णाली नदीको पुलका फलामे डोरीमा केही काठका भाटा अड्याएर आवतजावतको व्यवस्था गरिएको रहेछ। डराई डराई हामीले जोखिमपूर्ण कर्णालीको पुललाई पार गर्यौँ। पुल तरेपछि तेस्रो ब्रिगेडको टिम जारकोट आसपासमा बस्यो। केही टिम राम्नाकोटमा गयो। हामी पनि राम्नाकोटमा गयौँ। राति अबेर भएकोले धेरै कुराकानी नभएर खाना खाएपछि सबै निदायौँ।
बिहान कालिकोटका नेता कार्यकर्तालाई जिल्ला इन्चार्ज हितमानले विद्यालयको भवनमा बोलाउनु भयो। केही टिम मेशमा काम गरिरहेको थियो भने केही टिम विद्यालय भएको स्थानमा जम्मा भयो। हलमा प्रवेश गरेपछि जिल्ला इन्चार्ज हितमानले कार्यक्रम सञ्चालन गर्नुभयो। अन्य बेलाको जस्तो सभापति, प्रमुख अतिथि, अतिथि र स्वागत भाषण केही गरिएन । बुझ्न नसकेर हामी सबै अलमलमा पर्यौं। हितमानले कार्यक्रम सञ्चालन गर्दै प्रशिक्षणका लागि पार्टीका सीसीएम कमरेड पारसमणिलाई आमन्त्रण गर्नुभयो। सीसीएमको प्रशिक्षण सुनेपछि नजिकै कतै लडाई लड्न जाँदै गरेकोले इमानदारितापूर्वक सहभागी हुन, आफूलाई परेको जिम्मेवारी पूरा गर्न निर्देशनमूलक प्रशिक्षण भयो। लडाइँमा जान लागेको सबैले सहजरूपमा अनुमान गरे तर कता हो भन्ने ठम्याउन अझै सकेनन्। सीसीएम पारसमणि सरले यो टिमको कमान्डर जिल्ला इन्चार्ज हितमान रहेकोले सबै जना उहाँसँग केन्द्रित भएर अगाडि बढ्न निर्देशन दिनुभयो।
हाम्रो टिम त्यहाँबाट आएर बाँजकोटमा बास बस्यो। गाउँमा खसी पनि काटियो। मासु पकाउनको लागि तेल नहुँदा सेनाका साथीहरूले घ्यु ल्याएर मासु पकाउनु भयो। बिहानै उकालो लाग्दा हिजो घ्युमा पकाएको मासुले धेरैलाई पखाला लगायो। हामी धेरैलाई लेक काट्न हैरान भयो। अरूभन्दा मलाई केही सहज भयो किनकि आठौँ ब्रिगेडका बटालियन कमिसार आभास सिंहले मलाई चिनेको हुनाले उहाँको सहयोगमा मलाई उकालो हिँड्न राहत भयो। हामी ठाडो उकालो पार गरेर फेरि उस्तै ओरालो झर्नुपर्ने भयो। लेक लागेर आफ्नो टिमसँगै हिँड्न नसक्दा पारसमणिको स्टाप हरायो भनेर हल्ला नै भएछ। आभास सिंहले तपाई कता छुट्नुभयो भनेर पारसमणि सरले बुझ्नु भएको छ। अलि छिटो हिँड्नू भनेर मलाई भन्नुभयो।
म आठौँ ब्रिगेडको टिमसँग भएको सरलाई पनि जानकारी भयो। माथि डाँडामा पुगेपछि मैले आफ्नो टिम भेटाएँ। लेक भएकोले सिमसिम पानी परिरहेको थियो। कपडा हल्का भिजेकाले चिसो पनि महसुस हुँदै गयो। पानी परिरहेकोले बाटो अलि चिप्लो थियो तर पनि हामी तलको गाउँमा झर्नुको विकल्प थिएन। लेकबाट ओरालो झरेपछि हामी छाप्रेगाउँमा पुग्यौँ। यो गाउँमा उज्वल र नवराज शाहीको घर पनि रहेछ। म अखिल क्रान्तिकारी जाजरकोटको जिल्ला समितिमा रहँदा मैले नवराज शाही (हाल शहीद)लाई चिनेको थिएँ। पछि उहाँले जाजरकोटमा पनि काम गर्नुभएको थियो। हामी छाप्रेगाउँमा पुगेपछि बीच गाउँमा हाम्रो सेल्टरको व्यवस्थापन गरियो। डिभिजन कार्यालयसँगै हाम्रो पनि बसाई हुने भयो। यो गाउँमा हाम्रो बसाई एक दिन भयो।
बिहान डिभिजन कमान्डर प्रभाकर, पार्टीका पीवीएम सुदर्शन, दोस्रो ब्रिगेडका सहकमिसार दीपक र सहकमाण्डर सन्तोष लगायतको टिम छाप्रेमा आइपुग्यो। हामीसँगै पश्चिमबाट आएका डिभिजन सहकमाण्डर विविधको सक्रियता अरू दिनभन्दा निकै बढेको थियो। डिभिजन कमान्डर आएपछि लामो बैठक बस्यो। त्यसपछि मात्रै हामीले अनुमान गर्न थाल्यौँ कि लडाइँ कालिकोटमै हुने भयो। २०६२ साउन २३ गते आइतबार कालिकोटको पिलीमा बसेको शाही सेनाको क्याम्पमा लडाइँ हुने कुरा समूहका सबैलाई थाहा भयो। आज दिनभर दोस्रो ब्रिगेड, तेस्रो ब्रिगेड, आठौँ ब्रिगेड कमिसार तथा कमान्डरहरूको बाक्लो उपस्थिति हुँदै गयो। बैठक सकिएपछि सबै कमान्डरहरू आफ्नो टिम भएतर्फ जानुभयो। दिउँसोको समयमा छाप्रेमा भएको जनसेनाको सबै टिम पिलीतर्फ लाग्यो। जनसेनाको लाम पिलीतर्फ गएको केही समयपछि पिलीमा हेलिकोप्टर आयो र बस्यो। त्यसले केहीबेर अलमल बनायो। हेलिकोप्टरले त्यहाँ कार्यरत शाही सेनाको लागि आवश्यक सामग्री र नगद लिएर आएको रहेछ। बेलुकी ५ बजेर ४० मिनेटमा लडाइँ सुरु भयो। पिलीको वरपर लडाइँको भीषण आवाज सुनिन थाल्यो। प्रायः लडाइँ अँध्यारो अर्थात् रातमा हुन्थ्यो। यो लडाइँ त उज्यालोमै सुरु भयो। दोहोरो फायरिङ सुरु भएपछि पिलीको आकाशमा गोली र बारुदकै कब्जा भयो।
रातभरको लडाइँले शाही सेना कमजोर भयो । बिहान उज्यालो हुँदै गयो। पिली जनसेनाको कब्जामा आयो। लडाइँ जितेपछि जनसेना फर्कियो। धेरै हातहतियार र शाही सेनाका जवानहरूलाई कब्जा गरेर जनसेनाले आफ्नो नियन्त्रणमा लिएर आयो। हामी पनि छाप्रेगाउँनजिकै बास बस्यौँ। गाउँभरि जनसेनाको लाम थियो। यो लडाइँमा बटालियन कमिसार लोकेश लगायतका २६ जनाको शहादत भएको कुरा डिभिजन कमान्डर प्रभाकरले बीबीसीलाई जानकारी दिनुभयो। पिलीको लडाइँमा शाही सेनाका ६० जना कब्जामा परे भने धेरैको मृत्यु भयो। अबदेखि हाम्रो यात्रा डिभिजन कमान्डर प्रभाकरको नेतृत्वमा सुरु भयो। बिहानै उठेर हामी तिला नदी पार गरेर चिलखायामा पुग्यौँ। यहाँ हामी भेरी–कर्णाली क्षेत्रका इन्चार्ज प्रकाण्ड, नरेश भण्डारी, जनादेशका सम्पादक ओम शर्मा, मनऋषि धिताल, शुभ शर्मा, ज्वाला लगायतका धेरै नेता कार्यकर्ताहरूसँग भेट भयो। हाम्रो बिहानीको खाना चिलखायामा नै भयो। खाना खाएपछि हाम्रो यात्रा रुरु गाउँतिर सुरु भयो। जनमुक्ति सेनाको लामसँगै सबै कमिसार तथा कमान्डर र नेता कार्यकर्ताहरूको कमिलाको जस्तो ताँती लागिरहेको थियो। त्यसै बेला आकाशमा केही समय ३ वटा हेलिकोप्टरले एकै पटक गस्ती गर्यो तर नजिकै आएर पनि हवाई फायर गरेन।
हामी रुरु गाउँमा पुगेपछि जनादेश साप्ताहिकका पश्चिम संस्करणका सम्पादक ओम शर्मा र मनऋषि धितालले कब्जामा रहेका शाही सेनाका कमान्डर तथा सदस्यहरूसँग अन्तर्वार्ता लिनुभयो। रेडियो जनगणतन्त्र भेक प्रसारण सेवाको स्टुडियोमा रहेका युद्धपत्रकार देवीराम देवकोटासँग पत्रकार चङ्ख रोकायाले पिलीको लाइभ रिपोर्टिङ गरे। पिलीको यथार्थ खबर चङ्खको सहयोगमा देवीराम देवकोटाले आम स्रोताहरूबीचमा प्रवाह गरेको सबैले थाहा पाए र प्रत्यक्षरूपमा सुने। विभिन्न देशमा भएका आन्दोलन, परिवर्तन र विद्रोहमा विद्रोही पक्षले सञ्चालन गरेका मिडियाहरूले युद्धका खबरहरूलाई प्रवाह गरेर युद्धमा सहयोग गरेको यसबाट पनि प्रस्टसँग जान्न सकिन्छ।
सरकारी मिडियाले सरकारको पक्षमा मिसन पत्रकारिता गरे भने विद्रोही पक्षका मिडियाले पनि युद्धका खबर प्रकाशन तथा प्रसारण गर्दा युद्धलाई सहयोग पुग्ने गरी मिसन पत्रकारिता गरेका हुन्। कालिकोटको पिलीमा लडेर आएका माओवादी जनसेनासँग लडाइँको यथार्थ जानकारी लिन जोखिम मोलेर मिडियाले आफ्नो सञ्चारमाध्यममार्फत खबर प्रवाह गरे। युद्धमा मिडियाको भूमिका कस्तो हुन्छ भन्ने कुरा जनादेशका पत्रकार र रेडियो जनगणतन्त्र भेरी–कर्णाली प्रसारण केन्द्रका पत्रकारहरूको रिपोर्टिङबाट सहजरूपमा अनुमान गर्न सकिन्छ। जनयुद्धको समयमा जनादेश साप्ताहिक प्रमुख सञ्चारमाध्यमको रूपमा रहन गयो। यो पत्रिका देशका विभिन्न ४ स्थानबाट प्रकाशन हुन्थ्यो। हामीले भने जनादेशको पश्चिम संस्करणलाई सहजै पढ्न पाउँथ्यौँ। पूर्व, मध्य, पश्चिम र प्रवासबाट प्रकाशन हुने जनादेश जनयुद्धको प्रमुख सञ्चार नेतृत्व थियो। जनयुद्धको समयमा ग्रामीण क्षेत्रमा एकोहोरो बजिरहने युद्धका खबर प्रसारण गर्ने रेडियो जनगणतन्त्र पनि नागरिक बीचमा लोकप्रिय नै थियो। जनयुद्धको समयमा प्रायः मिडियाले मिसन पत्रकारिता गर्ने भएकाले धेरैले बीबीसीलाई ध्यान दिएर सुन्थे। बीबीसीले निष्पक्षतासाथ समाचार प्रसारण गर्छ भन्ने अनुभूति सबैमा थियो।
बिहानको खाना खाएर डिभिजन कार्यालयसँगै हाम्रो यात्रा दैलेखतर्फ सुरु भयो। डिभिजन कार्यालयसँगै दोस्रो ब्रिगेडका जनसेनासँग धेरै समय हाम्रो यात्रा भयो। सहकमिसार दीपक, जाजरकोटकै नेता तथा डिभिजन कार्यालयका व्यवस्थापक शान्त पनि हामीसँगै यात्रामा रहनुभयो। हामीले दैलेखमा आउनको लागि ठुलो लेक पार गर्नुपर्यो। लेकमा हामी विभिन्न फूलको सुगन्धले लडाइँ जितेर आएको अवसरमा स्वागत गरिरहेको थियो। पार्टीको क्षेत्रीय कार्यालयमा रहेका दैलेख निवासी कमरेड सुशीलले हामीलाई लामो लागेको बाटोको बारेमा बताउँदै रहनुभयो। उहाँले बास बस्ने गाउँ अब नजिकै छ भनेर थकान मेट्न हौसला दिइरहनु भएको थियो। समयले नेटो काटिसकेको थियो। हाम्रो यात्रा लेक काटेर ओरालो लाग्यो। हामी तल भएको गाउँमा पुग्दा अँध्यारो भइसकेको थियो। हाम्रो टिम दैलेखको चौलायामा बास बस्ने निश्चित भएकोले केही साथीहरू व्यवस्थापनमा अगाडि नै झर्नु भएको थियो।
हामी चौलाया आउँदा रातको समय भएकोले बाटो नै बिराउनु हाम्रो बाध्यता भयो। डिभिजन कार्यालयका साथीको सहयोगमा हामी रातको १० बजे गाउँमा पुग्यौँ। दिनभर उकालो यात्रा र लेक काटेर आएको हुनाले खायो, नखायो गरेर निदायौँ। हामी डिभिजन कार्यालयको टिमसँग भएकोले हामीले पनि केही समय सेन्ट्री गर्नु पर्दथ्यो। आजको लागि मेरो सेन्ट्री गर्ने पालो रातको दुई बजेदेखि भयो। अघिल्लो साथीले मलाई सेन्ट्रीको पालो दिएर जानुभयो। मैले पनि आफ्नो सेन्ट्रीको पालो अर्को साथीलाई बुझाए। बिहान उज्यालो भएपछि हामी दैलेखको चर्चित ठाउँ जहाँ युद्धको बेला प्रहरी चौकी कब्जा भएको नौमुले आयौँ। हामी सँगसँगै पिलीमा युद्धबन्दीका रूपमा रहेका शाही सेनाका कमान्डर तथा जवानहरू पनि थिए।
पार्टीका सीसीएम पारसमणि सर युद्धको समयमा अधिकांश समय दैलेखमै बिताएको र यहाँको पार्टीको आधारभूत जग बसाउने संस्थापक भएकोले हिजो अस्तिभन्दा आज अलि धेरै व्यस्त हुनुभयो। पारसमणि सर २०५८ सालमा गठन भएको दैलेख जिल्लाको जनसरकारको पहिलो प्रमुख पनि भएकोले दैलेखसँग उहाँको भावनात्मक सम्बन्ध पनि बढी छ। नौमुलेमा दैलेखका जिल्ला इन्चार्ज आर्ट र सीसीएम पथिक पनि भेटिनु भयो। डिभिजन कमान्डर प्रभाकरले युद्धबन्दी सबैलाई एक जोडा नयाँ कपडा व्यवस्थापनको लागि ब्युरो इन्चार्ज प्रकाण्डलाई भन्नुभयो। पछि शायद व्यवस्थापन भयो होला। हामी पहिल्यै हिँडेको हुनाले थाहा भएन। नौमुले बजारमा खाना खाएर हाम्रो यात्रा सल्लेरीतिर सुरु भयो।
हाम्रो टिम सल्लेरीको उकालोमा लाग्दै गर्दा नजिकैको तोली गाउँमा शाही सेनाको हेलिकोप्टरले शाही सेनाको समूह तल झार्यो। हामीसँगै जनमुक्ति सेनाको ठुलो टिम भएकोले हामी भएकोतिर आउन तत्काल शाही सेनाको आँट आएन। जनसेनाको बीचमा हामी सल्लेरीमा बास बस्यौँ। बिहानको खाजा खाएपछि चौराठा हुँदै जाजरकोटको यात्रामा अगाडि बढ्यौँ। यात्रामा कमान्डर, नेताहरूसँगै युद्धपत्रकारहरू पनि सहभागी भएकोले प्रायः नयाँ विषयमा बहस तथा छलफल भइरहन्थ्यो। पिलीबाट आएको जनसेनालाई दैलेखमै छोडेर केही जनसेनासँगै हामीले जाजरकोट नजिकैको गाउँ मेहलतोलीमा खाना खायौँ। दैलेख जिल्लालाई बिदाइ गरेर हामी जाजरकोटको मरपिङमा आएर बास बस्यौँ। आजको हाम्रो गन्तव्य दशेरा भएकोले आज अलि बिस्तारै यात्रा सुरु गर्यौ। दशेरामा पुगेपछि पिलीको समीक्षा तथा स्कुल सञ्चालन गर्ने योजना भएको रहेछ। म अछाम गएको लामो समय भएकोले सीसीएम कमरेड पारसमणि सरले मलाई घरमा भेटघाटमा जान अनुमति दिनुभयो। दशेरामा स्कुल तथा अन्य महत्त्वपूर्ण कार्यक्रमहरू सञ्चालन भए। घर भेटघाटको अनुमति पाएपछि म मेरो गाउँ गएँ। युद्धको समयमा पहिलो पटक यति ठुलो लडाइँलाई हेर्न/भोग्न पाएको मैले अन्य धेरैलाई खुसी सुनाउन निकै समय खर्च गरेँ।
लामो समयपछि घरमा आएकोले आमाबुवा निकै खुसी हुनुभयो। मलाई पाँच दिनको बिदाको अनुमति थियो। दशेरामा भएको पार्टी तथा सेनाको टिम त्यहाँको कार्यक्रम सकेर मेरो गाउँनजिक टालेगाउँमा आउने निधो भएछ। पारसमणि सरले जनसेनाका साथीहरूमार्फत मलाई पनि त्यतै बस्न भन्नुभएको रहेछ। खबर पाएपछि म केही दिन थप घरमा बस्न पाएँ। मलाई दिइएको सम्पर्कअनुसार म टालेगाउँ गएँ। पिलीमा लडेर हामीसँगै आएको जनसेनासँग भेट्न पाएँ। सीसीएम कमरेडसँग भोलि बिहान मेरो सम्पर्क हुने खबर पाएँ। म टालेगाउँ पुगेको भोलिपल्ट पश्चिम डिभिजनका कमान्डर प्रभाकर, भिसी विविध, पार्टीका पीवीएम सुदर्शन, सीसीएम पारसमणि, तिलक परियार लगायतका नेताहरू आउनु भयो। पिलीमा लडेको जनसेनाको मुख्य टिम पनि टालेगाउँमा आयो। गाउँभरि नै जनसेनाले भरिभराउ भयो।
पिलीमा युद्धबन्दीको रूपमा कब्जा गरिएका शाही सेनाका जवानहरूलाई मानवअधिकारकर्मी तथा पत्रकारहरूको रोहवरमा सार्वजनिक गरेर छोड्नको लागि ब्युरो इन्चार्ज प्रकाण्डसहितका केही नेताहरू पूर्वी जाजरकोटको बारेकोटतिर जानु भएको रहेछ। जुन कुराको समाचार युद्धपत्रकार गणेशकञ्चन भारतीले रेडियो जनगणतन्त्र भेरी–कर्णाली प्रसारण सेवालाई दिएको रिपोर्ट प्रसारण भएपछि थाहा भयो। जनसेनाको कब्जामा रहेका शाही सेनाहरू आजबाट रिहाइ भएर जाजरकोट सदरमुकाम गए। युद्धबन्दी रिहाइमा पुगेका युद्धपत्रकार गणेशकञ्चन भारती, सुर्खेतका पत्रकार प्रकाश पन्त लगायतका पत्रकार साथीहरू पनि टालेगाउँमा पुग्नुभयो। पिलीमा कब्जा गरिएका विभिन्न हतियारहरूको प्रदर्शन तथा पत्रकार सम्मेलन टालेगाउँमा आयोजना गरिएको हुनाले यहाँ पत्रकारहरू आउने क्रम जारी नै थियो।
जनादेश साप्ताहिकका सम्पादक ओम शर्मा, जनादेशका पश्चिम संस्करणको सम्पादकीय टिमका मनऋषि धिताल, ओपेन्द्र शर्मा (शुभ शर्मा) टालेगाउँ पुगिसक्नु भएको थियो। भोलिपल्ट बीबीसीका जीतेन्द्र राउत, नेत्र केसी र बाँकेका पत्रकार दामोदर भण्डारी पनि टालेगाउँमा आउनुभयो। सबै पत्रकार टालेगाउँमा पुगेपछि फूलबारी चौरमा पिलीमा कब्जा गरिएका हतियारहरूको प्रदर्शन गरियो। जनसेनाका कमरेडहरूको प्रतिनिधिमूलक अनुभूति सुनाइयो भने चर्चित ब्रिगेड कमान्डर शहीद जीतको जीवनसाथी सम्झनाको अनुभूति मन्तव्य पनि सुनाइयो। यहाँ आएका पत्रकारहरू केही समय पोसाकमा रहेका जनसेना र हातहतियारहरूको तस्बिर लिन निकै व्यस्त भए।
यहाँको कार्यक्रम सकिएपछि जनमुक्ति सेनाको पश्चिम डिभिजनले आयोजना गरेको पत्रकार सम्मेलन मान्नेढुंगा माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भयो। डिभिजन कमान्डरले प्रेस विज्ञप्ति सुनाएपछि पत्रकारहरूको जिज्ञासा लिइयो। सबै प्रश्नको जवाफपछि पत्रकार सम्मेलन सकियो। माओवादीले ग्रामीण भेगमा गरेको पत्रकार सम्मेलन शायद यो प्रमुख सम्मेलन होला। पत्रकार सम्मेलन सकिएपछि सबै पत्रकारहरूलाई बिदाइ गरियो। बीबीसीका पत्रकार जीतेन्द्र राउत, नेत्र केसी र दामोदर भण्डारीलाई पहिला आएको बाटो हुँदै आफ्नो गन्तव्यमा पुर्याउनका लागि बाटो देखाउने सहयोगीको व्यवस्थापन गरियो र उहाँहरूलाई टालेगाउँबाट बिदाइ गरियो। टालेगाउँमा जम्मा भएका जनसेनाको फर्मेशन बिस्तारै आफ्नो कार्यक्षेत्रतर्फ फर्कन थाल्यो। हाम्रो पनि काम गर्ने क्षेत्र सेती–महाकाली भएकोले छिटो नै अछाम पुग्नुपर्ने छ। जाजरकोटका सबै कमरेडहरूको आत्मीयतालाई मनन गर्दै हामी आफ्नो जिम्मेवारी भएको क्षेत्रमा लाग्यौँ। यो पटकको लामो यात्रा युद्धको ऐतिहासिक यात्रा भयो। जनमुक्ति सेनासँगै पिली लडाइँ हुँदै धेरै जोखिमपूर्ण यात्रा सहजरूपमा पार गरियो। यो यात्राले युद्धकलाको राम्रो ज्ञान दियो।
(यो पत्रकार दिपेन्द्र शर्माको पुस्तक जुनीदेखि पिलीसम्मको एक अंश हो। पुस्तक बजारमा आइसकेको छ। )
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.