काठमाडौं : नेकपा माओवादी केन्द्र सञ्चारमाध्यमसँग तर्सिएको छ। आइतबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पदाधिकारीलाई समेत नबाँडी आफैँले पढेर सुनाए।
अध्यक्ष प्रचण्डले प्रतिवेदन पढ्दै गर्दा बैठकमा सहभागी नेताहरूले भने कक्षाकोठामा पढ्न बसेझैँ गरी भटाभट प्रचण्डको कुरा नोट गरे।
नेतृत्व नै सर्वेसर्वा देखिँदै आएको माओवादी केन्द्रमा नीति र नेतृत्वको विरोध गर्नेले ठाउँ पाएका छैनन्। ‘फरक मत’ राख्ने व्यक्ति कि त आफैँ बाहिरिनु पर्ने, होइन भने पाखा लगाइने गरिएको छ। यसैले पनि बैठकमा सहभागी नेताहरू शान्त र अनुशासित रूपमा प्रचण्डको कुरा एक टकमा सुनिरहेका छन्।
तर पार्टी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन गोप्य नराखिएको माओवादी नेता लीलामणि पोखरेलको दाबी छ। कार्यकर्ताले भन्दा छिटो मिडियामा समाचार आएको गुनासोपछि प्रचण्डले प्रतिवेदन बाहिर सार्वजनिक नगरेको उनले बताए।
माओवादी बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ। तर अध्यक्ष प्रचण्डको उक्त प्रतिवेदन पढ्नसमेत नपाई केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमा बोल्न १८० जनाले नाम टिपाएका छन्। सोमबार ८० जनाले आफ्नो धारणा राखेका छन्।
प्रचण्डको प्रतिवेदनमा नेताहरू एकमत देखिए पनि महाधिवेशनको मिति तोक्नेबारे माओवादीमा मतभेद देखिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
एकै दिन सुरु भएको नेकपा एमालेको पनि केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। एमालेको बैठकमा पनि माओवादी केन्द्रको जस्तै नीति र नेतृत्वको विरोध गर्नेमाथि कारबाही हुँदै आएको छ।
कुनै समय एउटै पार्टी बनाएका ओली र प्रचण्डले अहिले एउटा सत्ताको नेतृत्वकर्ता र अर्को प्रमुख प्रतिपक्षी दलको नेता रहँदा एक-अर्कालाई प्रतिवेदनमार्फत सत्तोसराप गरेका छन्।
दुवै नेताले आफू र आफ्नो दललाई शतप्रतिशत सही दाबी गर्दै अर्कोलाई भने हरेक कोणबाट गलत रूपमा अर्थ्याएका छन्।
एमालेमा कारबाही गरिएका नेताहरूले केही गरिहाल्ने पो की हो भन्ने भय देखिएको छ। उनीहरू पार्टीको उच्च निगरानीमा रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। तर एमालेमा बोल्न पाइँदैन भनेर नेतृत्व विरुद्ध निरकुंश छ भन्ने भाष्य गलत भएको उनले बताए।
एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासन गर्दा स्थायी समिति सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषा किरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो।
माओवादीको बैठकमा भने पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन्। पूर्वउपराष्ट्रपति पुन पार्टी बैठकमा सहभागी हुनुलाई राजनीतिक विश्लेषक डम्बर खतिवडाले गतिछाडाको संज्ञा दिए।
समितिमै भनाभन
सत्तारुढ नेपाली काँग्रेसका दुई सांसदले भने संसदीय समितिको बैठकमा झगडा गरेका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको सभापति रहेका काँग्रेस सांसद रामहरि खतिवडा र हृदयराम थानीबीच झगडा परेको हो।
बैठक सञ्चालनमै असहज अवस्था आउने गरी खतिवडा र थानीबीच भनाभन भएपछि एमाले सांसदहरूले मिलाउने प्रयास गर्नु परेको छ।
समितिमा सभापति खतिवडाले बोल्नका लागि दिएको समयमा थानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक आइसियुमा पुगेको भनेपछि रोक्न खोज्दा बैठक सञ्चालनमा नै असहज भएको हो।
थानीले अख्तियार विधेयकबारे बोल्न थालेसँगै सभापति खतिवडाले उजुरीबारे बोल्न भनेका थिए। उनले ‘अख्तियार विधेयक आइसियुमा गएको छैन’ भने।
बोल्नका लागि समय दिए पनि आफूलाई यसअघि पनि सभापतिले बारम्बार अवरोध गर्दै आएको भनेर थानीले जवाफ फर्काए।
थानीले आफू बोलिरहेको बेला बारम्बार अवरोध हुँदै आएको भन्दै थप विषय राख्न अस्वीकार गरे। उनले आफू पनि राज्य व्यवस्था समितिको सभापति भएको स्मरण गराउँदै ‘यो समिति तपाईँकै रहेछ। तपाईँ नै बोल्नुहोस्’ भनेर झर्किए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.