मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्री लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारका लागि काम गर्छन्। उनले आफूलाई समुदाय र समाजमा समलिङ्गी पुरुष मधु केसी भनेर चिनाउने गरेको बताए।
मायाको पहिचान नेपालको स्थापना २०८० कार्तिकमा भएको भए पनि झन्डै एक दशकदेखि उनले आफ्नो समुदायको पहिचान र अधिकारका लागि काम गरे। काम गर्दै गर्दा उनले विभिन्न खालका समस्या र तिनका तहहरूलाई बुझ्दै गए।
देवेन्द्र अर्थात् मधुले संस्थामार्फत एकीकृत गरिएका सबै खालका समस्याको समाधानका लागि अवलम्बन गर्न सकिने अल्पकालीन र दीर्घकालीन उपायका बारेमा जानकारी राखे। संस्थामार्फत समुदायका मानिसको अवस्था सुधार्न पहलकदमी पनि लिए।
पहलकदमी लिँदै गर्दा राज्यका विभिन्न निकायलाई झकझकाउने र कतिपय सङ्घसंस्थासँग सहकार्य गर्नुपर्ने हुन्छ। त्यस सम्बन्धमा उनले ती र त्यस्ता काम गर्दै आएको र अझै जारी रहेको बताए।
समुदायका मानिसले मानिस भएर बाँच्न नपाइरहेका बेला उनले आफूलाई पनि सोही अवस्थाबाट गुज्रिन बाध्य पाए। यसैले समुदायका सबैको सरोकारका मुद्दा उठाउँदै गर्दा बेला बेलामा आफ्नै जीवन भोगाइलाई पनि सन्दर्भका रूपमा सम्झिन र समभावमा डुब्न पुगे।
विवाहको सवालमा सिङ्गो समुदायले नै समस्या भोगिरहेको र यो विकराल रहेको उनको ठम्याइ थियो। उनले समुदायका व्यक्तिले सम्बन्ध विच्छेदका मुद्दा दिइरहेका र खेपिरहेका अनि कतिपयका मुद्दा अदालतमा विचाराधीन नै रहेका पनि बताए।
समुदायका व्यक्तिलाई संस्थाले कानुनी सहयोग त गर्छ तर परिवारको दबाबमा परेर विवाह गर्दा पुरुषले भन्दा बढी महिलाले समस्या भोग्नुपर्ने हुन्छ भन्दै उनले ‘त्यस्तो’ समस्याग्रस्त हुने विवाह गर्न आफूले नचाहेको सङ्केत पनि गरे।
‘सन्धान’ का तर्फबाट प्रणेताले उनलाई २०८१ मङ्सिर दोस्रो साता मायाको पहिचान नेपालको कार्यालयमा (अनामनगर) मा भेटेर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारका लागि भइरहेको संस्थागत प्रयास र जल्दाबल्दा मुद्दामा केन्द्रित रही गरेको कुराकानीबाट प्राप्त जानकारी, विचार र अनुभवका आधारमा तयार गरिएको देवेन्द्रबहादुर खत्री अर्थात् मधु केसीको स्वकथन ः
म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको पहिचान र अधिकारका क्षेत्रमा काम गर्दै आएको छु। यो समुदायका व्यक्तिहरूले भोग्ने हिंसा र हिंसाका प्रकृतिहरू धेरै छन्। उहाँहरूले भोग्ने हिंसामा शारीरिक हिंसा, यौन हिंसा, विविध विभेद र लाञ्छना लगाएर गरिने मानसिक हिंसा आदि छन्।
मेरो अनुभव, बुझाइ र अवलोकनमा लैङ्गिकता र लिङ्ग फरक भएकाले महिला र पुरुषभन्दा फरक देख्ने बित्तिकै हाम्रो समुदायका व्यक्तिलाई परिवार र समाजले हेयको दृष्टिले हेर्छ। उहाँहरूसँग बोल्न हिचकिचाउने र पुरुषहरूले उहाँहरूलाई ‘यौनको साधन’ को रूपमा मात्र प्रयोग गर्न खोज्ने गर्छन्
हामीलाई परिवारभित्र पनि ‘ए तँ त यस्तो जन्मिइस्’ भन्ने गरिन्छ। इष्टमित्रले पनि ‘तेरो घरमा छक्का जन्मिएछ’ भन्ने गर्छन्। परिवारमा आमा, बुबा, दाइ, दिदीले बेला बेलामा ‘तँ हिजडा रछस्’ भन्ने गर्छन्। मेरो आफ्नै अनुभव भन्ने हो भने म किशोरावस्थाको हुँदा मलाई मेरो आमाले ‘हिजडा’ भनेर सम्बोधन गर्नुभयो।
पहिलो चोटि मैले त्यो शब्द आमाकै मुखबाट सुनेँ। हिजडा शब्दको अर्थ के हो भन्ने मलाई थाहै थिएन। म अझ सानो हुँदा बुबाले आफन्तहरूसँग कुरा गरेको सुन्थेँ। त्यसरी मसँग आफ्नो बाल्यकालको नमिठो अनुभव छ।
हाम्रो समुदायका मानिसलाई परिवारले ‘हाम्रो कुलघरानमा यस्ता मान्छे कहिल्यै जन्मिएको थिएन, तैँले हाम्रो नाक काटिस्, इज्जत फालिस्’ भनेर घरबाटै निकालेको पनि पाइन्छ। त्यसपछि घरमा जान वञ्चित गरिएका घटनाहरू पनि थुप्रै छन्।
हामीहरूलाई मानवको रूपमा हेरिएको छैन। काम गर्ने ठाउँमा पनि छक्का, हिजडा, नपुंसक भनेर शाब्दिक हिंसा गर्दै कामबाट निकाल्ने र तलब नदिने गरेको पाइन्छ।
बाइस वर्षअघि म इन्डियामा काम गर्न गएको थिएँ। इन्डियाको हरियाणामा २०५९ सालदेखि लगभग १० वर्ष होटेल लाइनमा काम गरेर बसेँ। त्यहाँ आफ्नो पहिचान खुलाउने अवस्था थिएन तर पनि मैले लैङ्गिक हिंसा भोगेँ।
काम गर्ने ठाउँमा पनि छक्का, हिजडा जस्ता शब्दले सम्बोधन गर्दा मलाई नमज्जा लाग्थ्यो। आजसम्म आइपुग्दा मैले थुप्रै हिंसाहरू भोगेँ। मलाई लाग्छ, अभिभावकलाई मेरो लिङ्ग, लैङ्गिकताबारे थाहा नहुँदा, म यो समुदायको व्यक्ति हो भन्नेबारे थाहा नहुँदा मैले धेरै हिंसा र दुर्व्यवहार भोग्नुपर्यो
इन्डियाबाट फर्केको केही वर्षपछि २०७२ सालमा मात्र म आफ्नो लैङ्गिक पहिचानअनुसार सार्वजनिक भएँ। त्यति बेला म २८/२९ वर्षको थिएँ। अहिले अधिकारको क्षेत्रमै क्रियाशील छु।
म आफूलाई जस्तो अरूलाई नहोस् भन्ने चाहना राख्छु। यही भनेर संस्थाबाट हामीले पाठ्यक्रममा यस्तो विषय राख्नुपर्छ भनेर आवाज उठाइरहेका छौँ। विद्यालयमा नै यो विषय पठाइनुपर्छ भन्ने हाम्रो माग हो। यसकारण हाम्रै पहलमा अहिले विद्यालयको पाठ्यपुस्तकमा कक्षा ७ देखि ‘कम्प्रिहेन्सिव सेक्सुयालिटी एडुकेसन’ भन्ने पाठ राखिएको छ।
लैङ्गिक दृष्टिले विभेदमुक्त घर, समाज र देश बनाउने हो भने आधारभूत तहदेखि नै यस्ता विषय पढाइनुपर्छ। परिवार र समाजलाई यस विषयमा सचेत बनाउनुपर्छ। ‘एलजिबिटिक्युआइए प्लस’ का बारेमा र यो समुदायको पहिचान र अधिकारका सवालमा परिवार, समाज र राज्य सचेत हुनुपर्छ।
हामीले कोही मान्छे महिला, कोही पुरुष हुन्छन् भने कोही महिला र पुरुषका गुण मिसिएका मिश्रित प्रकृतिका व्यक्ति पनि हुन्छन् भन्ने पनि बुझ्नुपर्छ। यो सामान्य हो भन्ने कुरा बेलैमा बुझेर बुझाउन पनि सक्नुपर्छ। यस्तो गर्न सकेमा पछि अभिभावकहरूले आफ्ना सन्तानलाई पनि बुझाउन सक्नुहुन्छ।
जसरी प्रकृतिले अनेक सुगन्धका अनेक फूलहरू फुलाउँछ, त्यसरी नै प्रकृतिमा अपाङ्गता भएका, दृष्टिविहीन, श्रवण शक्ति कम भएकादेखि हुँदै नभएकाहरू, उचाइ कम वा पुड्कोपना भएका मानिसहरू जन्मिनुहुन्छ। कोही सामान्यभन्दा अग्ला पनि जन्मिनुहुन्छ। कोही एउटै हातमा छ वटा औँला भएकाहरू जन्मिनुहुन्छ।
प्रकृतिको विविधतामा धेरै खालका सम्भावना हुन्छन्। कोही एउटा शरीर दुइटा टाउको लिएर र कोही दुइटा शरीर एउटा टाउको लिएर जन्मन सक्छन्। सामान्य रूपमा चार खुट्टा हुनुपर्ने जनावर छ वटा खुट्टामा जन्मिएको पनि देख्न सकिन्छ। यो प्रकृतिको सिर्जनामा हुने विविधताको कुरा हो।
प्रकृतिमा जन्मिएका प्राणीमध्ये हामी मानव हौँ। जन्मिएका हरेकलाई हामीले स्विकार्नुपर्छ भन्ने बोध आजको मानिसमा हुनुपर्छ। राज्यले पनि हरेक व्यक्तिको मानव अधिकार सुनिश्चित हुने खालको, अल्पसङ्ख्यकको पनि कदर हुने खालको नीति नियम बनाउनुपर्छ।
हामी धेरैलाई एउटा उमेरमा पुगेर बिहे गर्न परिवार र समाजको दबाब हुन्छ। छोरा भए केटी खोज्ने र छोरी भए केटा खोज्ने भन्ने कुरा चल्न थालिहाल्छ। यस क्रममा बुझ्नुपर्ने कुरा के छ भने हामी शारीरिक रूपमा एउटा लिङ्ग लिएर जन्मिन्छौँ। प्राकृतिक रूपमा भने हाम्रो ‘फिलिङ्स’ र भावनाहरू जन्मिँदाको लिङ्गभन्दा फरक हुन सक्छन्।
म जन्मिँदा पुरुष हुँ। मैले विपरीत लिङ्गी महिलासँग बिहे गर्नुपर्ने परिवार र समाजको कुरा हुन्छ। तर, मलाई महिलासँग बिहे गर्न मन लाग्दैन। म पुरुष नै ‘पार्टनर’ चाहन्छु तर परिवारले मेरो चाहना बुझ्दैन।
हाम्रो समुदायका व्यक्तिलाई परिवारले आफ्नो इज्जत, मान, प्रतिष्ठा बचाउनका लागि नचाहेर पनि व्यक्ति जन्मिँदाको लिङ्गको आधारमा बिहे गर्न बाध्य पार्छ। त्यस्तो बिहे गर्न नमान्नेले अविवाहित नै बस्नुपर्ने पनि हुन्छ। म अविवाहित हुँ।
हाम्रो समुदायको लागि बिहे एउटा चुनौती बनिरहेको छ। समाजले सामान्यतया महिला र पुरुषबिचको बिहेलाई मात्रै स्विकार्छ, अन्यको वैवाहिक सम्बन्धलाई अस्वीकार गर्छ। मेरै कुरा गर्ने हो भने मेरो परिवारले भनेअनुसार मैले महिलासँग बिहे गर्नुपर्छ, जुन मेरो लागि हुँदैन।
मैले परिवारको दबाबमा परेर बिहे गरेँ भने पनि हाम्रो सम्बन्ध राम्रो हुँदैन। यस प्रकारको बिहे भयो भने मभन्दा पनि बढी पीडित हुने त महिला हो। म जस्ता कतिपय व्यक्तिले परिवारको दबाबमा परेर महिलासँग बिहे गरे भने तिनको पनि सम्बन्ध राम्रो हुँदैन।
बिहेपछि महिलामाथि नै बढी मानसिक तनाव, यौन दुर्व्यवहार र सामाजिक अपमान हुन्छन्। यस्ता घटना हाम्रै अगाडि पनि थुप्रै छन्। कति ‘केस’ त ‘डिभोर्स’ को लागि अदालत पुगेर विचाराधीन अवस्थामा पनि छन्।
हाम्रो संस्थाले त्यही भएर हाम्रो समुदायका व्यक्तिले इच्छाएका व्यक्तिलाई नै जीवनसाथी बनाउन पाउनुपर्छ भनेर ‘समलिङ्गी विवाह’ को लागि आवाज उठाउँदै आएको छ। कानुनी रूपमा अहिलेसम्म हामीले थुप्रै समलिङ्गी जोडीलाई आवश्यक सहयोग पनि गरेका छौँ।
हामीले अलि बढी बिहेको सवालमा काम गरिरहँदा जबरजस्ती बिहे र विभिन्न खालका हिंसासम्बन्धी मुद्दाहरूमा पनि ध्यान दिएका छौँ। यसबारेमा सम्बन्धित व्यक्ति र संस्थाहरूसँग सहकार्य गरेर पनि काम गरिरहेका छौँ।
कामका सिलसिलामा पीडित महिलाहरूको न्यायका लागि कानुनी सहयोग दिने मात्र होइन, उनीहरूको वास्तविक कथालाई बुझेर बाहिर ल्याउने प्रयास पनि भइरहेको छ।
मलाई लाग्छ, समलिङ्गी जोडीलाई बिहे गर्न नदिने र वाधाअवरोध सिर्जना हुने अवस्था हटाउन जरुरी छ। यसका लागि कानुनी सुधार, शैक्षिक पाठ्यक्रम समावेश र पठनपाठनको व्यवस्था जस्ता काम गरी परिवार र समाजमा चेतना फैलाउनुपर्छ।
चेतना फैलाउनकै लागि हामीले व्यक्तिगत स्वतन्त्रता र आत्मसम्मान ठुलो कुरा हो भनेर बुझाउने गर्छौँ। यो कुरा अभिभावकदेखि परिवार, समाज, सङ्घसंस्था र राज्यका विभिन्न निकायमा रहेका र रहने सबै मानिसले बुझ्नुपर्छ।
(यो सामग्री सन्धान अनलाइन संस्करणबाट साभार गरिएको हो)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.