ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकता र पहल गर्ने आश्वासन दिँदै आएका छन्। गत असार ३० मा प्रधानमन्त्री नियुक्त ओलीले आफ्नो ६ महिने कार्यकाल प्राथमिकतामा राख्ने, पहल गर्ने आश्वासनसँगै छलफल र निर्देशन दिनेमा सीमित बनेको छ। सुशासनको नारा घन्काएको सरकारले गठन भएको ६ महिनासम्म सम्पत्ति विवरण नै गोप्य राखेको छ। सार्वजनिक गर्न सकेको छैन।
प्रधानमन्त्रीमा नियुक्त भएको ६ महिना पुग्नै लाग्दा ओलीले शुक्रवार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार भएको भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
यसअघि शुक्रवार नै प्रधानमन्त्री ओलीले नेपाल हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने सुनाए।
मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरूले सक्दो पहल गर्ने उनले उल्लेख गरे।
हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताएका प्रधानमन्त्री ओलीले बजारका सामान भन्दा आफैले मेहनत गरेर फलाएका खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गरे। “हाम्रो देश कलाका लागि प्रसिद्ध देश हो। यहाँका विशेषता र कला अमूल्य छ। यिनमा हाम्रा दृष्टिकोण र कला सजिएका हुन्छन्,”प्रधानमन्त्री ओलीले भने,“हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्दत गरेको छ। यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौँ, म यसका विभिन्न विधाको विकासका लागि के के गर्नुपर्छ भन्नेबारे महासङ्घलाई बोलाएर छलफल गर्छु। त्यसका आधारमा हामी थप काम गर्नेछौँ।”
विपिनको रिहाइका लागि आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पनि अपिल गर्ने र आग्रह गर्नेमै समय बितिरहेको छ। संयुक्त राष्ट्रसङ्घ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरूका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्रमन्त्री डा. राणाले विपिनको रिहाइका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आएको मन्त्री देउवाको सचिवालयले जनाएको छ।
शुक्रवार पनि मन्त्री देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेकी छन्।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी हुन्।
नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग शुक्रवार मन्त्रालयमा भएको शिष्टाचार भेट र नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग फोन सम्पर्क गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार हाल कतारमा रहेका राजदूत अन्सारीले यस विषयमा आफूले कतारका विदेशमन्त्रीसँग कुराकानी गरेर थप जानकारी गराउने जवाफ दिए।
मन्त्री देउवाले हमासले पहिलो चरणमा आफ्नो नियन्त्रणमा रहेका बृद्धबृद्धा, महिला, बालबालिका एवं नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको भन्ने सूचना आएकाले यही चरणमै विपिनको पनि रिहाइका लागि पहल गरेको उल्लेख गरेकी छन्।
यसअघि पनि गत बुधवार मन्त्री डा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग सो आग्रह गरेकी थिइन। सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए। त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन्।
गृहमन्त्री लेखकले देखेका चुनौती
गृहमन्त्री रमेश लेखकले समाजमा लागुऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन्। शुक्रवार महेन्द्रनगरमा एन प्याबसन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रूपमा लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना रहेको बताए।
पछिल्लो समय लागु औषधले भयावह स्थिति रहेको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन गर्नुपर्ने उनले बताए। “समाजमा लागुऔषध,आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएको छ,” गृहमन्त्री लेखकले भने,“लागु औषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ यसका लागि एन प्याबसनले विद्यालय स्तरबाटै सुरुवात गरोस्।”
उनले लागु औषधले घर घरका बालबालिकाहरू प्रभावित भइरहेकाले स्थानीय सरकार र निजी सङ्घसंस्था सबैले गम्भीर रूपमा लिएर लागु औषधको विरुद्धमा अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरे।
निजी तथा आवासीय विद्यालयहरूले शिक्षाको गुणस्तरीय वृद्धि गर्न महत्त्वपूर्ण भूमिका उनले बताए। “सरकारले संविधानमा नै निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था गरेका छौ,”उनले भने,“त्यसकारण सामुदायिक विद्यालय राम्रो गुणस्तरका साथ अघि बढुन् तीनै तहका सरकारले यसमा ध्यान दिनुपर्छ।”
उनले शिक्षाको क्षेत्रमा निजी र आवासीय विद्यालयको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सार्वजनिक र सामुदायिक विद्यालयको गुणस्तर बढेको बताए। “सरकारले निजी विद्यालयलाई पनि राम्रोसँग सञ्चालन गर्ने कुरामा सरकार लाग्ने छ,” उनले भने,“शिक्षाको गुणस्तरसँग सम्झौता गर्ने कुरा,चर्को शुल्क लिने कुरामा सरकारले नियमन गर्नुपर्छ।”
उनले अहिले सङ्घीय संसदमा विद्यालय सम्बन्धी विधेयक छलफलमा रहेको बताए। “हामी शिक्षा विधेयक पारित गरेर शिक्षाको क्षेत्रमा राम्रो कानुन निमार्ण गरेर शिक्षालाई अत्यन्त शुलभ,सरल र सबै नेपाली नागरिकको पहुँच हुन सक्ने तर्फ सरकार लाग्ने छ,”उनले भने। उनले खेल महोत्सवले विद्यार्थीहरूको चौतर्फी विकासमा टेवा पुग्ने बताए।
सरकारले लागू गर्ने नीति, नियम, निर्देशिका कार्यान्वयन भने सुस्त देखिएको व्यवसायीहरूले बताएका छन्। नेपाल हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभामा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सरकारले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सम्बन्धी निर्देशिका जारी गरेकामा स्वागत गरे। तर, यसको प्रभावकारी कार्यान्वयनमा उनले खबरदारी गरे।
हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्षरुपमा ११ लाख रोजगारी सृजना गरेको छ भने यसले करिब ११ अर्ब रुपैयाँ मूल्यको निकासी र सोही रकम बराबरको आन्तरिक कारोबार गरेको महासङ्घले जनाएको छ।
माघी महोत्सव मनाउने
थारु समुदायले पुस २९ र माघ १ गतेसम्म काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाउने थारु राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एव थारु कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमीलाल चौधरीले जानकारी दिए।
उनका अनुसार पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम र दोस्रो दिन माघी महोत्सव आयोजना हुनेछ। माघी महोत्सवको उद्घाटन पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको चौधरीले जानकारी दिए। रक्तदान कार्यक्रमको संयोजन पुष्पा चौधरीले गर्नेछिन् भने जिता मार्ने कार्यक्रमको संयोजन बर्दियाली थारु विकास मञ्चले गरेको छ।
यो वर्षको माघी महोत्सवको नारा ‘थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने राखिएको छ। माघी महोत्सवमा थारु खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने उनले बताए।
प्रचार प्रसार गर्ने उद्देश्यका साथ शनिवार बिहान ७ बजे तीनकुनेबाट मोटरसाइकल र्याली सुरु भई भृकुटीमण्डपमा समापन हुनेछ। माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेष भूषा, बाजा गाजा, सङ्घ संस्थाको तूल ब्यानरसहित न्यूरोड, वसन्तपुरमा जम्मा भई झाँकी र्याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडिखेलमा सरिक उनको भनाइ छ।
महोत्सवमा थारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन्।
बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटीलगायत विभिन्न परिकारहरू राखिने छ। हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री वितरणमा थारु हस्तकला तथा थारु जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्र पत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार हस्तकलाका सामग्रीहरू भेषभूषाः गोन्या (गुन्यु) चोल्या (चोलो), लेहङा, भेग्वा, अंगुछा, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालर सहित अन्यमा ढकीया, ढक्ली, डेल्वा, भौँका, भौँकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीहरू प्रदर्शनीमा समेत राखिने छ।
महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मूल आयोजकले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.