धरान : ‘गत वर्ष विद्यार्थीको गुनासो थियो,र्यागिङ हद भयो। अहिले उनीहरू त्यही फलो गरिरहेका छन्। भन्ने मात्रै हुन् हामी गर्दैनौँ। तर, अहिले उनीहरू नै नयाँ विद्यार्थीलाई त्राहिमाम् बनाइरहेका छन्। भोलि के गर्छन्, केही भन्न सकिन्न।’
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सन् २०२५ मा भर्ना हुने विद्यार्थीको गुनासो सुनेपछि छात्रावास कार्यालयकी एक कर्मचारीले भनिन्,’यस्तो रिग्रेड फिल हुने गरी कसैले पनि र्यागिङ गर्दैनौ भन्छन्, तर, उनीहरूले नै त्यही फलो गरेको देखिन्छ।’
चिकित्सा शिक्षाका लागि नयाँ भर्ना भएका विद्यार्थीले जुनसुकै मेडिकल कलेजमा पनि र्यागिङ भोगिरहेको बताउँछन् भुक्तभोगीहरू। मेडिकल कलेजका कर्मचारी भने र्यागिङलाई सामान्य मान्छन्। छोरालाई छात्रावासमा राख्दा कुखुरा बनाएको घटना समेत सुनाउँछन् कर्मचारी।
सिनियरहरूबाट सिकेर जुनियरहरूले समेत आफूभन्दा जुनियरमाथि र्यागिङ गर्ने परम्परा जस्तै बनेको छ। अनावश्यक तनाव तथा यातना दिने कार्यलाई रोक्न मेडिकल कलेज अक्षम बनेका छन्।
मानसिक रूपमा सबै विद्यार्थी र्यागिङ सहन गर्ने क्षमताका नहुन सक्छन्। भारत र बङ्गलादेशमा अचाक्ली र्यागिङ हुने गरेको घटना छ। नेपालका मेडिकल कलेजहरू मध्ये पनि बढी नै र्यागिङ हुने नाम भने धरानले कमाएको छ।
गत वर्ष काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले एक सूचना निकालेर र्यागिङ गरेको भेटिएमा नियमअनुसार कारबाही गर्ने चेतावनी दिएको थियो।
‘उत्कृष्ट पढाई हुने र घर पायक पनि पर्ने भएकाले काठमाडौँको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन पाउने थिए,यही भर्ना गरेँ, यस्तो हुन्छ भनेको भए किन यहाँ आउँथे र,’सरकारी कोटामा धरानको छात्रावास पुगेका एक विद्यार्थीले भने,’सारै नै रिग्रेड फिल भयो।’
ओरियन्टेशन कक्षा सुरु हुने अघिल्लो दिनसम्म छात्रावासमा सम्पर्क गर्न कलेज प्रशासनले सूचना जारी गरेको थियो। नयाँ भर्ना भएका विद्यार्थी छात्रावासमा बसेर अध्ययन गर्न पाउने मेरिट लिस्ट अनुसार नै पुगेका थिए।
गल्र्स होष्टलमा कुनै गुनासो थिएन। तर, पुरुषको होष्टलमा भने गुनासै गुनासा थिए। बस्नै नसकिने पो हो कि भन्ने भयो,ती विद्यार्थीले भने,यो सन्देश बाहिर गयो भने यो कलेजमा राम्रो नम्बर ल्याउनेहरू पढ्न कसरी आउँछन्।
आरक्षण कोटामा परेकाहरूलाई मात्र अध्ययन गराउने कलेज बन्न सक्ने सम्भावना समेत ती विद्यार्थीले सुनाए। ‘हामीलाई हल्ला मन पर्दैन,हामी पढ्न आएका हौँ,’छात्रावास प्रशासनमा गुनासो गर्दै विद्यार्थीले भने,’हल्ला गरेर पढ्न नदिने काम गर्नु भएन।’
आरक्षण कोटा सिस्टमले उत्कृष्ट नम्बर ल्याउनेले छात्रवृत्ति नपाउने र जष्ट पास भएकाले पाउने व्यवस्था छ। आरक्षणको सुविधा ३ असोज २०७२ देखि लागू भएको संविधानले नै दिएको छ। अघिल्लो सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले बढी नम्बर ल्याएकोले पढ्न नपाउने र कम नम्बर ल्याएकोले सरकारी सुविधामा पढ्न पाउने प्रणालीमा पुनरावलोकन गर्न संविधान नै संशोधन हुनु पर्ने बताएका थिए।
हल्ला गर्ने र पढ्न नदिनेहरूको अपजस पनि उनै आरक्षण कोटामा परेका विद्यार्थीले भोग्नु परेको छ। मेरिट प्रणालीमा बढी नम्बर ल्याउनेहरुबीच नै प्रतिस्पर्धा हुने गरेको छ। तर, त्यही प्रतिस्पर्धाबाट छात्रावासमा बसेका अघिल्लो ब्याचका विद्यार्थीहरूले नयाँ ब्याचका विद्यार्थीलाई र्यागिङ गर्दाको आरोप भने आरक्षण कोटाले पाउन थालेको छ।
चिकित्सा पेसामा समेत आरक्षण भन्ने प्रश्न उठेको छ। स्वास्थ्य परीक्षण गर्ने चिकित्सक दक्ष नभए बिरामीको ज्यानमै तलमाथि हुन सक्ने भएकाले कम नम्बर ल्याउनेलाई आरक्षण सुविधामा अध्ययन गराउन उपयुक्त नहुने टिप्पणी समेत सार्वजनिक भएका छन्।
र्यागिङ गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छड्के अनुगमन गरेको छ। र्यागिङ गर्ने विद्यार्थी किटान भएमा १०० दिन गयल गराइदिने, परीक्षा दिनबाटै वञ्चित गराउनेसम्मका कारबाही गरिएको प्रतिष्ठानका रेक्टर डा. सञ्जीव कुमार शर्माले बताए।
२४ पुसमा र्यागिङ गर्ने ६ जनालाई कारबाही गरिएको उनले बताए। ‘जानकारी पाउने बित्तिकै आएर ससपेण्ड गर्छौ,राति हाफ पाइन्ट लगाएरै भए पनि छात्रावासको निरीक्षण गर्छौ,त्यस्तो केही हुँदैन,’विद्यार्थीसँगै २४ पुसको साँझमा पुगेका अभिभावकलाई छड्के अनुगमन गरेर निस्किएका रेक्टर शर्माले भने,’र्यागिङ भएमा तत्काल कलेज प्रशासनमा सम्पर्क गर्नु।’
छात्रावासका लागि आवश्यक सामग्री सार्वजनिक खरिद ऐन अनुसार प्राप्त गर्दा भने केही समय लाग्ने गरेको उनले सुनाए। ‘कुनै गुनासो आउन नदिने गरी लागेका छौँ,टेन्डर प्रक्रियाले केही ढिलो हुन सक्छ,’उनले भने,’प्राप्त नहुँदासम्म विद्यार्थीले एडजष्ट गर्नुपर्छ।’
मेडिकल कलेजहरूलाई र्यागिङ हुन नदिने अवस्थामा पुर्याउन चिकित्सा शिक्षा आयोग समेत सफल हुन सकेको छैन। र्यागिङले परिवारसँग मात्रै बसेका विद्यार्थीलाई गाह्रो भएको गुनासो आयोगका उपाध्यक्ष डा. अञ्जनी झासम्म पनि पुगेको छ। उनले र्यागिङ बन्द गराउन पनि भनेका छन्। तर, र्यागिङ कायमै छ।
‘चिकित्सा शिक्षामा पुरानाले नयाँलाई र्यागिङ गर्छन्,त्यसलाई सामान्य नै लिनु पर्छ,केही दिन र्यागिङ हुने गरेको पाइन्छ,’उनले भने,’दिनहुँ र्यागिङ हुने गरेको गुनासो छैन,केही दिनको र्यागिङलाई अभिभावकले अप्ठ्यारो मानिदिनु भएन।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.