एजेन्सी : होन्डुरसका ४७ वर्षीय समलिङ्गी पुरुष जर्ज लोपेस गिरोन सन् २००० देखि कानुनी हैसियतविना अमेरिकामा बस्दै आएका छन्। उनी अस्टिनमा राइडशेयर र खाना डेलिभरी गर्छन्।
धेरै वर्ष पहिले उनको तत्कालीन प्रेमीसँग झगडा भएको थियो। सन् २००९ मा दोषी ठहरिएपछि उनले तीन महिना हिरासतमा बिताएका थिए। अहिले पनि उनको कुनै कानुनी हैसियत छैन।
अमेरिकामा घरेलु हिंसाको सजायका कारण उनलाई देश निकाला गर्ने अझ बढी जोखिम हुन सक्छ। ‘यदि कुनै पुलिस अफिसरले मेरो छालाको रङ्गको कारण वा म राम्रो अङ्ग्रेजी नबोल्ने कारणले मलाई पक्राउ गर्यो भने मेरो के हालत होला?’‚ गिरोनले भने।
संयुक्त राज्य अमेरिकाले अवैध आप्रवासीविरुद्ध ठुलो कारबाही गर्ने देखिएपछि अमेरिकामा रहेका आप्रवासीहरूको भोक र निद्रा हराएको छ।
नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले जनवरी २० तारिख (माघ ७ गते) मा पदको शपथ लिँदै छन्। उनले यसअघि नै अवैध आप्रवासीहरूलाई देशनिकाला गर्ने बताइसकेका छन्।
अवैध आप्रवासीसँग सम्बन्धित विषय हेर्न उनले टम होमनलाई बोर्डर जार (अमेरिकी सीमाहरूको इन्चार्ज) तोकिसकेका छन्। होमन अवैध आप्रवासीहरूप्रति कठोर व्यक्तिका रूपमा परिचित छन्।
उनले यसअघि नै एक विज्ञप्तिमार्फत अवैध आप्रवासीहरूले ‘आफ्नो झोला प्याक गर्दै गरे हुन्छ’भन्ने चेतावनी दिइसकेका छन्।
ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्ने बित्तिकै लाखौँलाई निकाला गर्ने योजनालाई छिटो कार्यान्वयन गर्न कार्यकारी आदेश जारी गर्नेछन्। यस्तो अवस्थामा गैरकानूनी रूपमा अमेरिका आएर लामो समयदेखि त्यहाँ बसोबास गरिरहेका मानिस भयभीत छन्। तिनीहरूमध्ये धेरैलाई सबै थोक गुमाउने डर छ।
आद्रियाना सन् २०२१ मा क्युबाबाट अमेरिका–मेक्सिको सीमा पार गरी संयुक्त राज्य अमेरिका पुगिन्। उनलाई देश निकालाको आदेश दिइए पनि उनका पतिलाई अध्यागमन अदालतमा राजनीतिक शरणको मुद्दा चलाउने मौका दिइयो। उनको अर्को सुनुवाइ सन् २०२७ मा हुनेछ। उनलाई तुरुन्तै क्युबा पठाउन नसकिएकाले उनी दक्षिण फ्लोरिडामा अध्यागमन अधिकारीहरूसामु नियमित हाजिर हुनुपर्छ, जहाँ उनी अहिले बस्छिन्।
सन् २०२१ मा अवैध रूपमा अमेरिका–मेक्सिको सीमा पार गरेका क्युबाका ३२ वर्षीय एलेनलाई श्रीमती एरिकाले निर्वासनमा परेमा आफ्ना छोराछोरीलाई कसरी सहयोग गर्ने भन्ने चिन्ता छ। एलेनले भने, ‘मैले अर्को वर्ष घर किन्ने योजना बनाएको थिएँ‚ अब मलाई डर छ, घर किन्नु जोखिम हुन्छ। मलाई देशनिकाला गरियो भने मेरो त सर्वस्वहरण हुन्छ।’
ब्लाङ्को फिगुरो र सेभरियानो मार्तिनेसको विवाह भएको आठ वर्ष भइसकेको छ। फिगुएरोआलाई विवाहका वेलादेखि आफू गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गरेकाले निर्वासनको खतरामा छु नै डर थियो।
हाल फ्लोरिडामा बसोबास गर्दै आएका फिगुएरोआ ग्वाटेमालाका हुन् भने मार्तिनेस अमेरिकी नागरिक हुन्। उनीहरू छोराहरूसँग बस्छन्। कान्छो छोरा सात वर्षका छन् भने जेठा छोरा युवा भइसकेका छन्। जेठाले ग्रिन कार्ड बनाइसकेका छन्। उनीहरूका दुवै छोरा अमेरिकामा जन्मिएका हुन्।
परिवारमा मुख्य कमाउने व्यक्ति आफू भएको र अशक्त मार्तिनेसको हेरचाह गरिरहेको फिगुएरोआले बताए। ‘मलाई देश निकाला गरियो भने उसले घर र बच्चाहरू व्यवस्थापन गर्न सक्दिन’‚ उनले भने।
१४ लाखलाई निकाला गरिँदै
अमेरिकी अध्यागमन र भन्सारका अनुसार फिगुएरोआजस्ता १४ लाख मानिसहरूलाई अमेरिकाबाट निकाला गर्ने तयारी गरिएको छ। तीमध्ये एक तिहाइ त फ्लोरिडा र टेक्सस क्षेत्रमा मात्रै बस्छन्।
यी दुवै राज्यले गैरकानूनी रूपमा देशमा बसोबास गर्ने आप्रवासीलाई कारबाही गर्न आफ्नै कानुन बनाएका छन्। अध्यागमनसम्बन्धी अन्तिम आदेश पर्खेका आप्रवासीहरू कम्तीमा एक तिहाइ क्यालिफोर्नियामा छन् र बाँकी अन्य राज्यमा छन्।
निर्वासनको आदेश दिएका फ्लोरिडा र टेक्ससमा बसोबास गर्ने आधा दर्जन आप्रवासीसँग रोयटर्सले कुरा गरेको थियो। उनीहरूले वकिलहरूसँग भेट्न तथा बच्चाहरू र अन्य आश्रितहरूका लागि आपत्कालीन योजना बनाउन दौडधुप गरेको पीडा सुनाए। उनीहरूले प्रहरीद्वारा अन्धाधुन्ध रूपमा पक्राउ पर्ने डर रहेको वर्णन गरे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.