तेस्रोलिंगीबारे बुझ्न ट्रम्पलाई नेपाल भ्रमणको निम्तो

तेस्रोलिंगीबारे बुझ्न ट्रम्पलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। नेपालको लैङ्गिक विविधता र तेस्रोलिंगी पहिचानको अस्तित्व बुझ्न ट्रम्पलाई समुदायले निम्तो दिएको हो।

अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पको महिला वा पुरुष दुई लिङ्ग मात्रै हुने कार्यकारी आदेश दुराशयपूर्ण रहेको उनीहरूले बताए। मायाको पहिचान नेपालको कार्यालय काठमाडौँमा समुदायको अधिकारमा क्रियाशील संस्थाहरूले सामूहिक छलफल गर्दै भने,’हामी हाम्रो समावेशी सम्पदाबाट सिक्न नेपाल भ्रमण गर्न निमन्त्रणा दिन्छौँ। सँगै, हामी हाम्रो पहिचान मेटाउने प्रतिरोध गर्छौँ, हाम्रो अस्तित्व मनाउँछौँ, र चुनौतीहरूको बाबजुद अगाडी बढाउन प्रतिबद्ध छौँ।’

नेपालको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरू, तेस्रोलिङ्गी, ट्रान्सजेन्डर, र नन-बाइनरी लिङ्गहरूलाई लक्षित गर्ने ट्रम्पको कार्यकारी आदेशको उनीहरूले कडा निन्दा गरे। ट्रम्पको भेदभावपूर्ण नीतिको सम्भावित विश्वव्यापी परिणामहरूमा उनीहरूले गम्भीर चिन्ता व्यक्त गरे।

ट्रम्पको घोषणासँगै एचआइभीसँग बाँचिरहेका समलिङ्गी, तेस्रोलिंगी व्यक्तिहरूको लागि जीवन बचाउने एआरटी औषधिहरू सहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारका लागि सञ्चालित कार्यक्रमहरूको कोष फिर्ता हुने चिन्ता उनीहरूको छ।

यो कोष फिर्ता लिएर विश्वव्यापी रूपमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक विरोधी समूहहरूलाई प्रोत्साहित गर्न सक्ने चिन्ता उनीहरूले गरे।

शक्तिशाली राष्ट्रका नेताका यस्ता दुराशय नीतिहरूले अन्य देशहरूमा विध्वंस निम्त्याउन सक्ने संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए।

ट्रम्पको यो नीतिले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले कडा सङ्घर्ष गरेर प्राप्त गरेका अधिकार र सुरक्षालाई खतरामा पार्ने पन्तले उल्लेख गरे। ‘नेपालको लैङ्गिक विविधतालाई मान्यता दिने इतिहास छ, ६ लिङ्गको ऐतिहासिक सन्दर्भ र तेस्रोलिङ्गीको वर्तमान कानुनी मान्यता छ,’पन्तले भने,’हामी हाम्रो पहिचान र अधिकार मेटाउने अनुमति दिन अस्वीकार गर्छौँ।’

उनले अमेरिकी कूटनीतिक नियोगहरूलाई ट्रम्पको भेदभावपूर्ण नीतिहरू प्रवर्द्धन गर्नबाट टाढा रहन भनेका छन्। अन्तर्राष्ट्रिय सहयोगी सरकारहरू (जस्तै युरोपियन युनियन, बेलायत, क्यानडा, अस्ट्रेलिया)लाई विश्वव्यापी रूपमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारका कार्यक्रमहरूमा आफ्नो समर्थन र कोष बढाउन आग्रह गरेका छन्।

ट्रम्पको महिला वा पुरुष दुई लिङ्गलाई मात्र मान्यता दिने कार्यकारी आदेशको असर इन्टरनेटबाट देखिन सकिने अभियन्ता विवेक सुसलिङ मगरले बताए। फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक असुरक्षित हुने खतरा देखिएको उनले बताए।

नेपालमा रहेको अमेरिकी दूतावासमा राखिएको इन्द्रेणी झन्डा हेरेर गर्व गर्दै आएको समुदायलाई ट्रम्पको घोषणाले चिन्तित बनाएको उनले उल्लेख गरे। सपोर्ट गर्ने व्यक्तिहरूलाई भ्रममा पार्ने ट्रम्पको अभिव्यक्तिको उनले आलोचना गरे।

अभियन्ता एवं मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले ट्रम्पको घोषणा विध्वंस मच्चाउने खालको भएको बताए। उनले समुदाय चिन्तित भएको सुनाए। समुदायको अधिकारका लागि चलिरहेका अभियानलाई विरोधी अभियान चलाएर विध्वंस मच्चाउन सक्ने तर्फ सचेत र होसियार हुनुपर्ने अवस्था आएको उनले बताए।

समानताका लागी आवाज नेपालकी रोजी पुनले ट्रम्पको घोषणाको सामूहिक प्रतिवाद गर्नुपर्ने बताइन। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सामूहिक दबाब दिनका लागि आफूहरू तयार रहेको सुनाइन।

ट्रम्पले गरेका घोषणा

ट्रम्पले कार्यकारी आदेशमार्फत अमेरिकामा पुरुष र महिला दुई लिङ्गलाई मात्र मान्यता दिने घोषणा गरेका छन्। यस आदेशले राहदानी र भिसाजस्ता सरकारी कागजातहरूलाई असर गर्नेछ। छुट्टै कार्यकारी आदेशमा ट्रम्पले सङ्घीय सरकारभित्र ‘विविधता, समानता र समावेशीकरण’ जस्ता कार्यक्रमहरूमा प्रतिबन्ध लगाएका छन्।

ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका फिर्ता हुने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन्। ट्रम्पले डब्ल्यूएचओबाट बाहिरिने आदेश दिएको यो दोस्रो पटक हो। ट्रम्पले कोरोना महामारीसँग लड्न डब्लूएचओले चालेको कदमको आलोचना गर्दै आएका छन्।

ट्रम्पले बढ्दो विश्वव्यापी तापक्रमसँग जुध्न अन्तर्राष्ट्रिय रूपमा महत्त्वपूर्ण पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकाल्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्। ट्रम्पले सन् २०१७ मा पहिलो पटक पेरिस सम्झौताबाट पछि हटेका थिए तर २०२१ मा जो बाइडेनले यो निर्णय उल्टाए र अमेरिका फेरि सम्झौतामा सामेल भयो।

पेरिस सम्झौताबाट बाहिरिएसँगै ट्रम्पले संयुक्त राष्ट्रसंघलाई पठाइने पत्रमा पनि हस्ताक्षर गरेका छन्। यसमा अमेरिकाले सम्झौताबाट पछि हट्नुको कारणहरू विस्तृत रूपमा व्याख्या गरिएको छ।

ट्रम्प नीतिको निन्दा, अस्तित्व मेटाउने प्रयासको विरोध

ट्रम्पको घोषणा अघि नै नेपालमा सर्वोच्चको परमादेश : स्वअनुभूतिका आधारमा महिला र पुरुष मात्रै

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.