प्रतिशोधको दोसाँधमा आशिका : जिम्मेवार को?

प्रतिशोधको दोसाँधमा आशिका : जिम्मेवार को?

एउटा भनाई छ,’की थुतुनोले बिगार्छ की मुतुनोले बिगार्छ’ ठ्याकै अहिले सामाजिक सञ्जाल एउटा विषयमा यो चिसो मौसम तातिएको छ। त्यो थाहा होला नै आफूलाई सामाजिक अभियन्ता वा राष्ट्रिय सचेत नागरिक अभियानकी मुख्य व्यक्ति या लेडी सिंघमकी उपनाम पाएकी साथै जमानामा ‘खसिनी दिदी’ भनेर कुनै समय ट्रोल भएकी उर्फ आशिका तामाङको!

अभिनेत्री तथा अभियन्ता वा आशिका फाउन्डेसनकी आशिका तामाङ विरुद्ध सर्वप्रथम असोज ताका भक्तपुरको सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी परेको घटना ताजा नहुँदै अघिल्लो बुधवार माघ २ गते दिउँसो स्वयम्भूबाट नेपाल प्रहरीले पक्राउ गरेको हो। केही दिन हिरासतमा बसेकी उनलाई पुनः म्याद थप गरिएको छ।

आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो। म्याद सकिएसँगै प्रहरीले सोमबारै उनलाई दोस्रोपटक पाँच दिनका लागी म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको छ। तर यो बुझ्नु जरुरी छ की थुनेर, म्याद थपेर समाधान हुने होइन।

आशिका विरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ त्यो जग जाहेर नै छ। पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उनीविरुद्ध आरोप छ। उनी सरसफाइ, उपभोक्तालाई पानीको मूल्य, विमानस्थलमा पार्किङ शुल्क लगायतका विषयमा सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आएकी थिइन्। उनको यो व्यवहार पहिलो पक्कै होइन। हरेक ठाउँमा उनको उपस्थितिले कतिबाट वाही वाही पाइन भने अहिले कानुनको कठघरासम्म आउन परेको अवस्था छ।

के उनले गरेको तरीका शैली सही छ त? भन्ने मुख्य विषय हो। पक्कै पनि सही छैन। तर उनको नियतमा खोट भने कहीँ देखिँदैन। हो उनको तरीका, शैलीमा प्रश्न उठाउन सकिएला तर उठान विषय जायज देखिन्छ कहीँ कतै! उनी पहिले नेपाली हुन र विवाह जर्मन नागरिक सँग गरिन् र अहिले उनी पूर्ण रूपमा जर्मनकै नागरिक भएका कारण त्यस बारे जर्मन दूतावास सम्म उनको घटना बारे छलफल भएको छ या छैन त्यो थाहा हुनु पर्ने थियो।

उनलाई देशको माया छ आफ्नै देशको भलो चाहन्छिन् त्यो सत्य हो तर यस्तो भनी रहँदा उनले गरेका क्रियाकलापलाई नजर अन्दाज गर्न मिल्दैन। गल्ती हरेक ठाउँमा छ उनले जर्मन देखिन, भोगिन। त्यहाँको जस्तो नियम कानुन खोजिन। त्यो आफ्नो देशमा खोज्नु स्वभाबिक पनि हो। तर यसलाई कसरी कुन तरिकाले गर्दा ठिक हुन्छ त्यो जान्न र बुझ्न जरुरी छ।

आशिकासँग बिदेसी पासपोर्ट छ घुम्न आइन। यहाँको बस्तु स्थिति देखिन। केही गर्न मन लाग्यो होला तर त्यस्तो भन्दैमा कानुनलाई हात लिनु उनको गल्ती मानिन्छ। बोल्न पाइने भन्दैमा जे पनि जहाँ पनि त्यस्तो अभद्र गर्नु उनले गल्ती स्विकार्न सक्नु पर्दछ। उनका धेरै त्रुटिहरू होलान्। अहिले उनले देशमा केही गर्छु भन्नेले उनलाई प्रहरी प्रशासनबाट नमिठो पुरस्कार स्वरूप ठुलै अपराध गरे जसो गरी अनुसन्धानको घेरामा उभिन परेको छ।

उनले क्यामेरा जडित चस्मा लगाएर भिडियो बनाउने गरेको कुरा सार्वजनिक भएसँगै प्रहरीले यसबारे अनुसन्धान गरेको जनाएको छ। उनलाई राम्रोसँग थाहा छ के बिक्छ र चर्चित हुन्छ। त्यस्तो ‘कन्टेन्ट’लाई सूचना ज्ञानवर्द्धक सामग्रीभन्दा अरूलाई गाली गरेको, पिटेको, बाझाबाझ गरेको, तुच्छ बोलेको भिडियो बढी चासोका साथ सामाजिक सञ्जालमा हेरिएको पाइन्छ।

हुन त उनलाई हिरासतमा राखिएको छ। उनको गल्ती हो तर अपराध गरे जस्तो गरी साना (साना बच्चालाई आफ्नो आमाबाट अलग्याएर प्रहरीले आफ्नो दम्भ अगाडि सारेको प्रस्ट देखिन्छ। अब उनका ती बच्चाहरूको जिम्मेवारी कसले गर्छ? यदि उनी बिदेसी नागरिक भए पनि अभिभावकत्वको हिसाबले बच्चाहरूको रेखदेख गर्ने जिम्मा सरकारको हुनु आवश्यक हो।

यदि नभएको खण्डमा जर्मन दूतावासलाई यो बारेमा जानकारी छ या छैन? आमाको गल्तीको सजाय किन अबोध बच्चाहरूले भोग्ने त? यस विषयमा किन राज्य र अधिकारवादी निकाय मौन छ? किन प्रहरी र सरकारले बच्चाका लागी केही गर्न आवश्यक ठानेन?

उनले आफै पनि भनेकी छिन मेरा बच्चाहरूले नेपाली बुझ्दैनन् र अत्यन्त साना पनि छन् यसको हेरविचार उनलाई मानवीय रूपले पनि दिनु आवश्यक होला। अझ उनको यो गल्ती ठुलो थिएन। उनको गतिविधि अराजक थियो थाहा सबैलाई छ। यसमा प्रहरीले दैनिक प्रहरी कार्यालयमा हाजिरी गर्ने गरी आइन्दा दिनमा पुनः गल्ती नदोहोरिने हिसाबले छाडन पनि सकिने थियो, गर्न चाहेन, मात्र दुःख दिने र भए भरको रिस उनलाई नै पोख्ने प्रहरीको व्यवहारले देखाएको छ। तर यो सत्य हो की गल्ती नै हो भने सरकारले उसलाई आफ्नै देशमा डिपोट गर्न सक्ने प्रावधान नै छ।

एक हप्ता नाघी सके पनि प्रहरी आफै अन्योल देखिन्छ की आशिकालाई कुन विषयमा मुद्दा चलाउने भनेर। अपराध भनौँ भने त्यस्तो ठुलो केही देखिन्न। यो अपराध नभई उनले गरेका क्रियाकलाप एउटा गलत तरीका मात्र हो। हो १उनले एउटा अभियान मार्फत देशमा भएका विकृति विसङ्गतिलाई चिर्न गरेको चोखो काम थियो तर भई दियो ‘गलत शैली!’ उनले पनि यस्ता काम गर्ने बेला अलि नियम कानुन बुझेका या कानुनी परामर्श व्यक्तिको सर सल्लाहमा यो कदम चाल्नु पर्थ्यो। हुन त ऊनी सायद कुनै पार्टीको झोले भएको भए यहाँ सम्म पुग्ने पनि थिइनन् की भन्ने पनि लाग्छ र अहिलेसम्म उनले कुनै कानुन सम्बन्ध निकाय झकझकाएको पाइएको छैन।

तामाङ यो कुरामा अडिग छिन की उनले यसलाई गल्ती मात्र ठानेकी छिन न की कुनै जघन्य अपराध नै! त्यसैले हुनु पर्छ अहिलेसम्म कुनै वकिल लगाउनेको चिन्ता छ न त आफ्नै कलिला बच्चाहरूको रेखदेख नै! उनलाई थाहा छ एउटा सामान्य कागज बनाएर माफ मागेर पनि छाड्न सक्ने प्रावधान छ भनेर। यो पनि बुझ्न पर्छ की उनले अभियन्ताको नाममा आफ्नो अराजक शैली र भाइरल हुने प्रविधि हटाउन पर्छ।

अब रह्यो उनको गल्ती नै भए पनि उनको सजाय बच्चाहरूले भोग्न नपरोस्। एउटा आमासँग बच्चालाई अलग्याएर त्यो न्याय होइन एउटा वैमनस्य, रिस पैदा गर्ने माध्यम हो। भविष्यमा ती बच्चाहरूलाई केही भए त्यसको नतिजा यी दुई देशको सम्बन्धमा चिसोपन ल्याउने तुक नहोस् र आगामी दिनमा उनले योग्य सल्लाहकार राखेर सही मुद्दा उठाई नियम कानुन सम्बत् लाग्नु आवश्यक छ।

तर कसैसँग झगडा गर्ने, नीउ खोज्ने, झम्टने ,चिच्याउने ,तोडफोड शैलीमा प्रस्तुत हुने,अरूको आत्म सम्मानलाई ठेस पुग्ने कार्य कसैलाई पनि मन पर्दैन। तसर्थ भाइरल हुने रोगले हाम्रा सामाजिक मर्यादा, कानुनी मापदण्ड ,नीति नियम र नैतिक आचरणलाई सम्मान गर्ने गरी यस्तो चटके चर्तिकलालाई मानिसहरूले उही पहिले आफ्नै चलचित्रको जस्तो मनोरञ्जनको रूपमा हेर्न बेर लाग्दैन यो बुझ्नु जरुरी छ पहिले!

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.