जनार्दनलाई साइजमा ल्याउन प्रचण्डको एक्सन, जिम्मेवारी हेरफेरदेखि डिफेन्समा उत्रन उर्दी

जनार्दनलाई साइजमा ल्याउन प्रचण्डको एक्सन, जिम्मेवारी हेरफेरदेखि डिफेन्समा उत्रन उर्दी

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीलाई सशक्त बनाउन लागिपरेका बेला आफैँ भने अप्ठेरामा परेका छन्।

पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्षमा चुनौती दिने तयारी गरे पछि प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई आफूअनुकुल राख्न जिम्मेवारी हेरफेर गर्नेदेखि डिफेन्समा उतारेका छन्।

प्रचण्डले जनार्दनलाई साइजमा राख्न पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा सक्रिय बनाउन थालेको र नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई भित्राउन चाहेको चर्चा छ। जनार्दनले पकड बढाउँदै लैजाँदा ‘हेडक्वार्टर’ नजिकका नेताहरू प्रचण्डको बचाउमा उत्रिएका छन्।

अखिल क्रान्तिकारीको निर्वाचनमा जनार्दनको प्यानलले अध्यक्षबाहेक अन्य पदमा बहुमत जितेपछि अध्यक्ष प्रचण्ड पक्षधरले पार्टी कमजोर र गुट बलियो बनाउन खोजेको आरोप लगाइरहेका छन्।

जनार्दनले आफू निटकहरुको गोप्य भेलासमेत आयोजना गरेको चर्चा चले पछि माओवादी केन्द्रीय सदस्य ओमकुमारी पौडेलले शर्माको नामै नलिई प्रस्ट बुझिने भाषामा नेतृत्वविरुद्ध मिडिया ट्रायल र भोजभतेर गरेको आरोप लगाएकी छन्।

प्रचण्ड प्रधानमन्त्री रहेका बेला प्रधानमन्त्रीको जनसम्पर्क विज्ञको भूमिकामा रहेकी पौडेलले फेसबुकबाटै शर्माप्रति कटाक्ष गर्दै अर्थमन्त्री भएका बेला सिसिटिभीको तार मुसाले काटेको जस्तै अहिले पार्टीको मेरुदण्ड भाँच्न खोजेको कटाक्ष गरिन।

वाईसीएलका अध्यक्ष सुबोध शेर्पालीले पनि सामाजिक सञ्जालबाटै पार्टीमा अध्यक्ष ‘प्रचण्ड’ को विकल्प नभएको लेखेका छन्।

सोमबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले अखिल क्रान्तिकारीको निर्वाचनबाट पार्टीमा उपमहासचिव शर्माको जबरजस्त पकड बढेको भनेर भइरहेको चर्चामा कुनै सत्यता नभएको जिकिर गरे।

अखिल क्रान्तिकारीको चुनावबाटै नयाँ गुट बनाएका अर्का उपमहासचिव शक्ति बस्नेत नेतृत्वको कार्यदलले सोमबार अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।

पार्टीभित्र घेराबन्दीमा परे पछि पछिल्लो समय पार्टी बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी हुँदै आएका पूर्वउपराष्ट्रपति पुनलाई प्रचण्डले जिम्मेवारी दिने गरी छलफल थालेका छन्।

दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका पुनलाई पार्टीमा जिम्मेवारी दिनेबारे पदाधिकारी बैठकमा सामान्य छलफल भएको तर, निर्णय नभएको प्रवक्ता सापकोटाले बताए। प्रचण्ड निकट स्रोतका अनुसार पुनलाई माओवादी उपाध्यक्ष बनाउने तयारी भएको छ।

अध्यक्ष प्रचण्डको सचिवालयमा पनि हेरफेर गरिएको छ। लामो समयदेखि अध्यक्ष प्रचण्डको स्वकीय सचिव रहेका रमेश मल्ललाई भूगोलको राजनीतिमा पठाइने भएको छ।

मल्ललाई स्वकीय सचिवबाट बिदा गरेर गोविन्द आचार्यलाई सचिवालयको जिम्मेवारी दिन लागिएको हो। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष समेत रहेका आचार्य प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार थिए।

प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकबाट प्रचण्डले विशेष प्रदेशसहित ११ इन्चार्जलाई जिम्मेवारी दिएका छन्। माओवादी केन्द्रले मधेस र बागमतीको इन्चार्जमा फेरबदल गरेको छ भने अन्य प्रदेशमा यथावत् राखेको छ।

मधेसमा मातृका यादव र बागमतीमा हितमान शाक्यले जिम्मेवारी पाएका छन्। पार्टीमा आफ्नो पकड बलियो बनाउँदै सरकारविरुद्ध सडक र सदन दुवै तताउने योजनामा प्रचण्ड देखिएका छन्।

प्रचण्डले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाबाट जनतासँग माओवादी अभियान चलाउन लागेका छन्। केन्द्रीय समितिको निर्णयअनुसार हुलाकी राजमार्ग केन्द्रित अभियान झापाको कचनकवलबाट सुरु गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

माओवादीले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ।

६ महिनाअघि काँग्रेस एमाले मिलेर माओवादीलाई पाखा लगाए पछि प्रचण्ड पार्टीलाई सशक्त प्रतिपक्षी मात्र होइन बलियो बनाएर आगामी चुनावमा चुनौती दिने दौडमा छन्।

त्यसै सिलसिलामा देश दौडाहा गरेर विभिन्न पार्टीका नेता कार्यकर्तालाई माओवादीमा स्वागत गरिरहेका प्रचण्ड पार्टी भित्रकै नेताहरूबाट दबाबमा छन्।

प्रचण्डले सोमबार मात्रै प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सचिव बाबुराम कौशिकलाई पार्टीमा भित्र्याए। माओवादी प्रवेश गर्नेहरूमा आजपा स्थायी समिति सदस्य कदम रसुल, व्यापार महासङ्घका पूर्वकेन्द्रीय सदस्य वीरबहादुर विदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजिव गुप्ता, दिलीप गुप्तालगायत छन्।

केही दिन अघि चितवनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्तालाई स्वागत गरेका प्रचण्डले अहिले देशव्यापीरूपमा माओवादी प्रवेशको लहर चलेको दाबी गर्दै आएका छन्।

दश वर्षे जनयुद्धपछि विस्तृत शान्ति सम्झौतामार्फत संसदीय राजनीति अङ्गालेको माओवादी विभाजन र एकता हुँदै अहिले अध्यक्ष प्रचण्ड नेतृत्वको पार्टी प्रमुख प्रतिपक्ष दलको भूमिकामा छ।

२०६४ मा सबैभन्दा ठुलो दल बनेको माओवादी त्यसयता अधिकांश सरकारमा सामेल भएको भन्दै आलोचना भए पछि प्रचण्डले अहिले गल्ती भएको भन्दै जनतामा गएर माफी मागिरहेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.