काठमाडौं : सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान सुरु गर्दैछ। क्यान्सर दिवसकै अवसर पारेर सरकारले देशभरका ७३ जिल्लामा एक साथ एचपीभी (ह्युमन प्यापलोमा भाइरस) खोप अभियान सञ्चालन गर्न लागेको छ।
यो खोप महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि आगामी फागुन ६ गतेसम्म दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। कार्यक्रमको उद्घाटन केन्द्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीले र प्रदेशमा मुख्यमन्त्रीले बिहान ११ बजे संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।
अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ बालिकाहरूलाई खोप दिने लक्ष्य छ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो।
खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर हुनसक्ने प्रवक्ता डा. बुढाथोकीले बताए। तर, ती असर केही दिनमा आफैँ निको भएर जाने उनले सुनाए।
खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने छन्। जसमा २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुनेछन्। ५४ हजार १६० जना स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन्।
नेपालमा क्यान्सर रोगका कारण वर्षेनि १५ हजारको मृत्यु भइरहेको छ भने वार्षिक २० हजार नयाँ बिरामी थपिने गरेका छन्। नेपालमा फोक्सोको क्यान्सर, नाक, कान, घाँटी, आमाशयको क्यान्सर मुख्य समस्या बनेको छ।
महिलामा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी हुन्छ भने त्यसपछि स्तन क्यान्सर हुने गरेको छ। नेपालमा खानपानका कारण नै क्यान्सरको जोखिम धेरै रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए।
नेपालमा क्यान्सरको समयमै उपचार नगराउँदा मृत्यु हुने क्रम बढेको चिकित्सकहरूले बताएका छन्। क्यान्सरलाई ४ तहमा विभाजन गरेर हेरिने भएकाले सुरुवाती अवस्थामै उपचार गरे क्यान्सर निको हुने सम्भावना धेरै रहेको क्यान्सर रोग विशेषज्ञ विवेक आचार्यको भनाइ छ।
आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। नेपालमा ‘पृथकतामा एकता: क्यान्सर भोगाइका कथाहरू’ भन्ने नाराका साथ मनाइँदै छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि क्यान्सरले गराउने कूल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहार र नियमित व्यायामको कमीले हुने गरेको छ। बाँकी क्यान्सरका कारणमा विकिरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य सङ्क्रमणहरू रहेका छन्।
क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.