राजनीतिक बन्दी रिहाइका लागि भुटानी राजालाई चिठी पठाउने अभियान सुरु

राजनीतिक बन्दी रिहाइका लागि भुटानी राजालाई चिठी पठाउने अभियान सुरु

काठमाडौँ : भुटानका जेलमा राखिएका राजनीतिक बन्दीहरूको रिहाइका लागि चिठी लेखन अभियान सुरु भएको छ। सार्वजनिक ऐक्यबद्धतालाई प्रवर्द्धन गर्न अपिल पत्र लेखेर भुटानी राजालाई पठाउने अभियान सुरु भएको भुटानी राजनीतिक बन्दी रिहाइका लागि विश्वव्यापी अभियानले जनाएको छ।

भुटानी राजाको निरङ्कुश शासनको विरोध गर्दा पक्राउ परेकामध्ये अहिले पनि ३२ जनालाई राजनीतिक बन्दी बनाइएको छ। भुटानी राजाले संवैधानिक शाही विशेषाधिकारहरू (भुटानको संविधानको धारा २.१६.सी अनुसार)को प्रयोग गरी राजनीतिक बन्दीलाई आममाफी दिन सक्छन्।

तर, उनले त्यसको गरेका छैनन्। औषधी उपचार सेवाबाट समेत वञ्चित गराइएको छ। कतिपय बन्दीको जेलभित्र निधन भएको छ। धेरै वृद्ध आमाबाबुहरू अन्तिम पुनर्मिलन विना नै बितेका छन्। छोराछोरीहरू आफ्ना बुबाहरूलाई नचिनेर हुर्किरहेका छन्। उनीहरू जहाँ र जसरी बसे पनि सामान्य जीवन जिउनका लागि झन्झटिलो हुँदै गएको अभियानले जनाएको छ।

अभियानका अनुसार विकसित देशहरूमा बसोबास गर्ने र जीवनका सबै आवश्यक सुविधाहरूको आनन्द उठाउँदा पनि राजनीतिक बन्दीका परिवारहरूले अपूर्ण र भावनात्मक रूपमा उजाड महसुस गरिरहेका छन्। दशकौँदेखि उनीहरू आफ्ना प्रिय पति, छोराहरू, भाइहरू, काकाहरू र साथीहरूबाट अलग भएका छन्।

भुटानी जेलमा रहेका ३२ जना राजनीतिक बन्दीहरूको नामावली नै सार्वजनिक गरेर अभियानले आफ्ना प्रिय परिवारका सदस्यहरूलाई आममाफी प्रदान गर्न भुटानी राजासमक्ष पत्र पठाउन भनेको हो।

राजनीतिक बन्दीहरूका धेरै परिवारहरू दशकौँदेखि नेपालको शरणार्थी शिविरमा बिताएपछि धेरैजसो पश्चिमी देशहरूमा पुनर्वास भएका छन्। तथापि, केही परिवारहरू लामो समयसम्म नेपालको शरणार्थी शिविरहरूमै छन्।

उनीहरू भुटानको जेलमा रहेका आफ्ना प्रियजनहरूसँग पुनर्मिलन गर्न पाउने तीव्र इच्छामा छन्। भुटान संवैधानिक राजतन्त्र सहितको लोकतान्त्रिक राज्यमा परिणत भएको कुरा विश्वव्यापी रूपमा मान्यता छ।

अभियानका संयोजक राम कार्कीले राजनीतिक बन्दी रिहाइका लागि भुटानी राजालाई पत्र पठाउन अपिल गरे। ‘कृपया हाम्रो अधिकारका लागि लेख्नुहोस् अभियानमा सहभागी हुनुहोस् र भुटानमा रहेका हाम्रा प्रिय राजनीतिक बन्दीहरूको चाँडो रिहाइ सुरक्षित गर्न मद्दत गर्नुहोस्,’संयोजक कार्कीले भनेका छन्।

कार्कीले केही दिन अघि भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालसँग कुरा गरेको सामाजिक सञ्जालमा लेखेका छन्। नेदरल्याण्ड्समा रहेका कार्कीले टेलिफोनमा रिजालसँग कुरा गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गरेका छन्। कार्कीले लेखेका छन्,’पुरानो रोगबाट पीडित र अन्य अवरोधहरूको सामना गर्दा पनि उहाँलाई उच्च आत्मामा देख्न पाउँदा म खुसी छु।’

रिजालले जेलमा मानवअधिकारको टोली पठाएकोमा कार्कीलाई धन्यवाद दिएका छन्। रिजाललाई भुटानी शासकले १० वर्ष जेल राखेको थियो। नेपालबाट पक्राउ गरेर भुटानको जेलमा राखिएका रिजाल रिहा भएसँगै पुन नेपालको शरणमा आएका थिए।

रिजाल सन् २००४ मा नेदरल्याण्डमा गएका थिए। उनले युरोपियन संसदमा सम्बोधन गरेका थिए। रिजालले नेपालीमा गरेको सम्बोधनको अङ्ग्रेजी उल्था कार्कीले नै गरेका थिए। रिजाललाई त्यसताका युरोपियन कमिसनले बोलाएको कार्कीले स्मरण गरेका छन्।

त्यसबेला रिजालले भुटानको राष्ट्र प्रमुख सरहकै सम्मान पाएका थिए। रिजालको सम्बोधन पछि शरणार्थी शिविरका लागि ठुलो सहयोग जुटेको थियो। १२ कक्षा सम्म निःशुल्क पढाइदिने र स्कुलको व्यवस्था गरिदिने घोषणा युरोपियन देशले गरेका थिए।

रिजाल अहिले आफू भने बोल्न सक्ने अवस्थामा छैनन्। उनले दिएको सूचनाका आधारमा उनमाथि नै आरोप लगाइएको छ। जुन मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ।

रिजालको मात्रै नभएर श्रीमती कौशिलाको समेत बैङ्क खाता रोक्का गरिदिँदा औषधोपचार, बिहान बेलुकाका छाक टार्न अरू व्यक्तिको शरण पर्नु परेको गुनासो रिजाल परिवारले गर्दै आएको छ। उमेरले ७७ वर्ष पुगे पनि रिजालले भुटान फर्कने आशा भने जीवितै राखेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.