काठमाडौँ : नो केबलकार भन्ने साथीहरू पनि वार्तामा बसेका छन् सरकारसँग। स्थानीय जनता, स्थानीय जनप्रतिनिधि चिन्तित छन्। विकासको नाममा राजनीतिकरण भएको छ। यो वार्ता र संवादबाट केबलकार बनाउने वातावरण बनोस् भन्ने माग हो।
वार्ताबाट निकास निस्कन सकिरहेको छैन। पाथीभरा मातासँग कामना छ, पाथीभरा देवी सुरक्षित रहनका लागि, पाथीभराको संरक्षण र सम्बद्र्धनको निमित्त केबलकार बनाउनु पर्छ। केबलकार गरिबीपनलाई माथि उठानका निमित्त हो।
ताप्लेजुङ जिल्लामा मात्रै ४० ४५ हजारको सङ्ख्यामा नर्सरीदेखि प्लस टु सम्म अध्ययन गरिरहेका बालबालिकाको भविष्य कता सुनिश्चित गर्ने? भन्ने चिन्ता छ। गरिबीपनलाई माथि उठाएर रोजगारी सिर्जना गर्न सकौँ। व्यवसायीक वातावरण बनोस् भन्ने छ। यो प्रोजेक्ट जसरी भए पनि बन्नुपर्छ।
केबलकार बन्नु भनेको विकासले फड्को मार्नु हो। विकासले फड्को मार्नु मात्र होइन, ताप्लेजुङ जिल्लाको गरिबीपनलाई माथि उठाउनु पनि हो। ताप्लेजुङका पर्यटकीय क्षेत्रहरू आज ओझेलमा परेका छन्। सरकारसँग पनि पर्यटकीय क्षेत्रमा बाटो पुर्याउन माग राखेका छौँ। विकासका परियोजना जति भित्र्याउन सक्छौँ, त्यसले ताप्लेजुङलाई मात्र नभएर पुरै कोशी प्रदेशलाई संवृद्ध बनाउँछ भन्ने विश्वास राखेका छौँ।
बहुजाति, बहुभाषिक बसेको मुलुक हो। लिम्बु समुदायले आदिम कालमा ताप्लेजुङको भूमि प्रयोग गरेको थियो होला अथवा राज्य सञ्चालन गरेको थियो होला। हालीमुहाली विभिन्न हक अधिकार जमाएर बसेको थियो होला। तर, पाथीभराको इतिहास, किंवदन्ती के हो भन्ने सबैले बुझ्नुपर्छ। इतिहास नबुझी लिम्बु समुदायको संस्कृतिमाथि आज अतिक्रमण भइरहेको छ भनेर राज्यलाई दबाब दिन मिल्छ?
राज्यको काम र कर्तव्य भनेको चारै तिर चौतर्फी विकास गर्ने हो। राज्यले नसके विदेशी कम्पनीलाई गुहारेर भएपनि चौतर्फी विकास गर्ने हो। जबकि लिम्बु समुदायको धर्म संस्कृतिमाथि अतिक्रमण भइरहेको छ भन्ने कुरा गलत हो। कपोलकल्पित अफवाह फैलाएर सबै लिम्बु समुदायलाई भ्रमित बनाएर यो गलत काम गरिएको छ।
त्यो लिम्बुहरूको मुन्धुमस्थल पनि होइन, मन्धुमबाट आएर जोडिने मात्र हो। मुन्धुमबाट डाँडाकाँडा, खोलानालाको नाम पनि आउँछ। नाम फलाक्दै गर्दा आउँछ भनेर त्यो लिम्बुहरूको संस्कृति हो,लिम्बुहरूको मुन्धुमी थलो हो,लिम्बुहरूको शिर हो भनिरहनु राम्रो कुरा जस्तो लाग्दैन।
पाथीभर केबलकार निर्माण गर्न नसके ताप्लेजुङको भविष्य छैन भन्दा हुन्छ। हिजो ताप्लेजुङ जिल्ला बस्ने ठाउँ होइन रहेछ, केही गरी खाने ठाउँ छैन भनेर धेरै माइग्रेसन भएको अवस्था छ। आज उनीहरू नै कराइरहेको अवस्था छ। विद्धान साथीहरू नबुझी कराइरहेको अवस्था छ। हरेक साधुसन्तहरु कराइरहेको अवस्था छ।
तर, यो होइन। पाथीभरा भनेको गुरुङ जातिको भेडा व्यवसायबाट पत्तो लागेको हो। पाथीभरा देवी रहेको ठाउँबाट ५ सय मिटर तल ओडारबाट पञ्चकन्या देवी निस्किएर फोहोरमैला नपारिदिनु भन्दा गुरुङका सबै भेडागोठाला भेला भएर पूजा अर्चना गरी माफ मागेपछि त्यहाँ देवी छन् भन्ने किंवदन्तीले गर्दा पूजाआजा गर्ने चलन बढेको हो।
ओडार अप्ठ्यारो ठाउँ भएकोले गर्दा बाजे हर्कजंग मादेनले सबै लिम्बु समुदाय, सबै जातजातिलाई भेला गरेर माथि डाँडामा विधि पूर्वक शिला लगेर राखियो। त्यहाँ भक्तजनहरूले आज दुर्गामाताको मूर्तिदेखि गणेशको, हनुमानको मूर्ति राखेका छन्। त्यतिखेरको समयमा कोही पनि बोलेन।
अहिले विरोध गर्नुको कुनै तात्पर्य देखिँदैन। पाथीभरामा केबलकार लैजानु पर्छ भन्ने स्थानीयको माग हो। तीन चार जना मान्छे बाहेक विरोध गर्ने अरू मान्छे पनि छैनन्। आज तीन/चार जनाको मात्रै नैसर्गिक अधिकार हो कि? ९० प्रतिशत ताप्लेजुङ जिल्लावासीको नैसर्गिक अधिकार हो? त्यो पनि राज्यले ख्याल गर्नुपर्ने हुन्छ।
पाथीभरा दर्शन गर्न जाने भक्तजन जो ६० वर्षमाथिका छन्, ६० वर्षपछि रोग लाग्दै जान्छ, बुढो हुँदै जान्छ। त्यो बुढो जिउलाई लान गाह्रो हुन्छ भनेर बुढापाकाहरू जान सक्दैनन्। बाध्यतावश जानै पर्ने भाकल छ भने २०/२५ हजार रुपैयाँ गोजीमा बोकेर जानै पर्छ। जान र आउनका लागि बूढाबूढीलाई बोकाउनका निम्ति यो पैसा तयार गर्नुपनि ठुलो कुरा हो। किनभने सबैसँग पैसा हुँदैन। बुढाबुढी, अपाङ्गता, अशक्त, बालबालिकाको सहजताका लागि केबलकार बनाउनु पर्छ भन्ने हाम्रो मान्यता हो।
कुनै पनि समुदायको संस्कृति नष्ट हुँदैन। कुनै पनि जातजातिहरूले मानिराखेको, सबै धर्मावलम्बीहरूले मानिराखेको आस्थाको केन्द्रमाथि ठुलो राजनीतिक प्रहार भएको छ। राज्यले जसरी भए पनि केबलकार बनाउने वातावरण वार्ता र संवादको माध्यमबाट बनाउनुपर्छ। संस्कृतिमाथि अतिक्रमण भएको छ भन्ने कुरा पनि गलत छ। संस्कृतिमाथि अतिक्रमण भएको छैन। पाथीभरा डाँडा भत्काउने पनि होइन। कुनै पनि संरचनाहरू भत्काउने पनि होइन। त्यसलाई जस्ताको त्यस्तै बारेर संरक्षण गरेर र त्यसको संम्र्बद्धन गरेर विकास गर्नुपर्छ भन्ने कुरा हो। त्यहाँ केबलकार लैजाँदा छिमेकी भारतका सनातन हिन्दु धर्म मान्ने लाखौँ भक्तजनलाई भित्र्याऊँ भनेर यो परियोजना सुरुवात गरिएको हो। ताप्लेजुङ जिल्ला मात्रै सम्बुद्ध हुन्छ भन्ने होइन। केबलकार बन्दै गर्दा पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ जिल्ला संवृद्ध हुन्छ। विकासको मूल फुटाउँछ।
दिनप्रतिदिन युवाहरू विदेश जाने क्रम बढिरहेको छ। किन भन्दा विकास नभएर। काम गर्ने, व्यापार गर्ने आधार नभएपछि के गर्ने त? राज्यले रोजीरोटीको सुनिश्चितता गर्न सकेको छैन। राज्यसँग त्यो अवस्था छैन।
देशमा विकास नभएको कारणले गर्दा युवाहरू विदेश जाने क्रम बढिरहेको छ। जति युवा विदेश जान्छन्, त्यति नै जग्गा जमिनहरू बाझिँदै जाने अवस्था बढिरहेको छ। प्लस टु पढिरहेका बालबालिकालाई जहिले पनि ४०/४५ डिग्रीको तापक्रममा काम गर्न पठाउने? मलेसियामा मर्न पठाउने? कमसेकम यस्ता परियोजनाहरू भित्र्याउनुपर्छ। पछि पर्नु हुँदैन। स्वदेशी होस् या विदेशी कम्पनी ल्याएर भएपनि यो देशलाई हराभरा बनाउनु पर्छ भन्ने कुरा सबैले सोच्नु पर्छ। हाम्रो सोचमा परिवर्तन आउनुपर्छ।
हामीले सबैको साझा सम्पत्तिलाई, सबैको पहिचानलाई, सबैको संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्दै विकास गर्नलाई सबै मिलेर जोड गर्नुपर्छ। चारैतर्फ विकास भएमा हाम्रा युवा विदेश जाँदैनन्। जति विदेश गएका छन्, तिनीहरूलाई स्वदेशमा फर्कने वातावरण बनाउनुपर्छ। सबैलाई व्यावसायिक बनाउनु पर्छ भन्ने कुरा हो।
सुनौँ फुङलिङ नगरपालिकाका मेयर अमिर मानेदसँग गरिएको कुराकानी :
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.