यूएनएचसीआरको सम्झौतासँगै भुटानी शरणार्थीहरूमा खुसीको सञ्चार

यूएनएचसीआरको सम्झौतासँगै भुटानी शरणार्थीहरूमा खुसीको सञ्चार

320
SHARES

काठमाडौँ : भुटानी शरणार्थी शिविरमा खुसीको सञ्चार भएको छ। खानाबिना नै ज्यान गुमाउनु पर्ने अवस्था तत्कालका लागि टरेको छ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)ले नेपाल सरकारसँग शरणार्थी शिविरमा पुन सुरक्षा, सहयोग र दिगो समाधानको कार्यक्रम सुरु गर्ने सम्झौता गरेको छ। जुन सम्झौतालाई नेपालको शरणार्थी शिविरमा रहेकासहित विश्वका विभिन्न देशमा पुर्नवास भएका भुटानीहरूले ठुलो उपलब्धिको रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

यूएनएचसीआरले शरणार्थीका लागि गर्दै आएको सहयोग मात्रै होइन सन् २०२० देखि झापाको दमकस्थित कार्यालय नै बन्द गरेको थियो। सहयोग बन्द भएदेखि शिविरमा रहेका भुटानी शरणार्थी अन्योलमा बाँचेका थिए।

समझदारीमा नेपालको तर्फबाट सहसचिव रामचन्द्र तिवारी र यूएनएचसीआर नेपाल प्रतिनिधि मोनिक सोखानले हस्ताक्षर गरेका छन्। सम्झौताको तस्बिर सहित यूएनएचसीआरले सार्वजनिक गरेको वक्तव्यमा लेखिएको छ,’नेपालमा शरणार्थीहरूको सुरक्षा, सहयोग र दिगो समाधान सुनिश्चित गर्ने साझा प्रतिबद्धतालाई पुन पुष्टि गरेको छ, सँगै हामी शरणार्थीहरूको सुरक्षा र मर्यादामा बाँच्न सक्ने भविष्यतर्फ काम गर्न जारी राख्छौँ।’

शिविरमा बसेका शरणार्थीहरूको तेस्रोदेश पुर्नवास कार्यक्रमसँगै विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले दिँदै आएको खाद्यान्न सहयोग सन् २०१७ देखि बन्द भएको थियो। शरणार्थी समस्या समाधानका लागि युएनएचसिआरले सम्झौता नवीकरण गरेको छ।

सन् २००७ सम्म भुटानी शरणार्थीको तेस्रोदेश पुर्नवास प्रक्रिया सुरु भएको थियो। सन् २०१८ सम्म चलेको पुनर्वास प्रक्रियामा विभिन्न आठ देशमा एक लाख १३ हजार पाँच सय शरणार्थी पुनर्वास भएको यूएनएचसीआरको तथ्याङ्क छ। हाल शिविरमा रहेका ६ हजार भन्दा बढी शरणार्थी अन्योलमा परेका थिए।

नेपाल र तेस्रोदेश पुर्नवास भएका शरणार्थीहरूले खुसीको सञ्चार भएको प्रतिक्रिया जनाएका छन्। दयनीय सहाराविहीन अवस्थामा रहेका शरणार्थीहरूमा सम्झौताले आशाको सञ्चार गराएको प्रतिक्रिया सार्वजनिक भएका छन्।

भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल, भुटानी राजनीतिक बन्दी रिहाइका लागि विश्वव्यापी अभियानका संयोजक राम कार्की, सुदर्शन दाहाल, डिएनएस ढकाल, निका माप्चन, टिका अधिकारी, भक्तराज गिरी, पर्सु दाहाल, नवीन नेपाल, गोपाल काफ्ले, गणेश कार्की, नारायण पोखरेल लगायतले सम्झौताको स्वागत गरेका छन्।

विश्वव्यापी अभियानका संयोजक कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’आशा गरौँ कि युएनएचसिआरले छिट्टै शिविरहरूमा आफ्नो राहत कार्यक्रम पुनः सुचारु गर्नेछ र यस मानवीय सङ्कट समाधान नपाएसम्म जारी रहनेछ।’

अन्तर्राष्ट्रिय सहयोग बन्द हुने, भुटानी राजाले आफ्ना नागरिक नै होइनन् भन्ने, भुटानको परराष्ट्र नीति हातमा लिएर भुटानी नागरिक खेदिएको ठाउँमा विकास गर्न भारतले सहयोग गरिरहेको अवस्था थियो। भुटानी शरणार्थी मर्नु न बाच्नुको अवस्थामा पुगेको बेला युएनएचसिआरले पुन सम्झौता नवीकरण गरेकोमा मानवअधिकारवादी नेता रिजालले पनि खुसी व्यक्त गरेका छन्।

विश्वले बुझेको छ भुटानी शरणार्थी समस्या। तर, भुटानी राजा बुझ पचाएर अन्याय, अत्याचार गरिरहेका छन्। विश्व समुदायले भुटानी जनताको मर्म बुझेको पुन पुष्टि भएको छ,रिजालले भने,यो सम्झौताले भुटानी राजामाथि धक्का लागेको छ।

भुटानी राजाले जनतामाथि खेलबाड गरिरहेको रिजालले बताए। ‘हिजो किन रोक्यो,आज किन दिदैछ,भुटानी राजाले बुझ्नुपर्छ र आफ्ना नागरिकलाई भुटानमा स्वागत गर्नुपर्छ,’उनले भुटानी राजालाई प्रश्न गरे,’आफ्ना नागरिक खेदेर जमिनदार मात्रै बन्ने कि, स्वागत गरेर देशकै राजा बन्ने?’

भुटानको इतिहास विश्वले बुझेको भन्दै रिजालले सहयोग पुन सुरु गर्ने सम्झौता गरेकोमा आभार व्यक्त गरे। सन् २०२५ को लागि शरणार्थी मामिला समन्वय राष्ट्रिय एकाइ, गृह मन्त्रालय र यूएनएचसीआरबीच सहयोग कार्यक्रम पुन सुरु गर्ने सम्झौता भएको हो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.