जनयुद्धपछि एक्लिएका प्रचण्डलाई ‘हिंसा’ उपहार

जनयुद्धपछि एक्लिएका प्रचण्डलाई ‘हिंसा’ उपहार

864
SHARES

काठमाडौँ : तत्कालीन विद्रोही माओवादीले हतियार बोकेर युद्ध गरेको ३० वर्ष पुग्यो। १ फागुन २०५२ मा मार्न र मर्न तयार भएर सुरु भएको युद्ध ५ मङ्सिर २०६३ मा शान्ति सम्झौता गरेपछि अन्त्य भयो। युद्ध अन्त्य भएको पनि दुई दशक पुरा भएको छ।

२०६४ मा भएको पहिलो संविधान सभा चुनावमा माओवादी पहिलो दल बन्यो। देशको प्रधानमन्त्री बने युद्धका कमान्डर पुष्पकमल दाहाल प्रचण्ड। २०६५ साउन ३१ देखि २०६६ जेठ ११ सम्म पहिलो पटक प्रधानमन्त्री बने। पहिलो संविधान सभा संविधान जारी नगरी विघटन भयो। त्यसबेला प्रधानमन्त्री थिए डा. बाबुराम भट्टराई। उनी माओवादीमा प्रचण्डपछि दोस्रो वरियतामा थिए।

संविधान जारी भए पछि प्रचण्ड २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म दोस्रो पटक प्रधानमन्त्री बने। २०७९ पुस १० गते तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले युद्ध अन्त्य भएको दुई दशक पुग्नै लाग्दा जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गराए।

सार्वजनिक बिदा दिने पहिलो औपचारिक निर्णय सर्वोच्च अदालतको आदेशले २०८० देखि रोक लगायो। २०८० असारमा विश्वासको मत गुमाएका प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी प्रतिपक्षी कित्तामा छ।

प्रचण्डले पहिलो र दोस्रो पटक प्रधानमन्त्री पदमा रहँदा फागुन १ मा सार्वजनिक बिदा दिनुपर्ने निर्णय गराएनन्। तर जनमत कम हुँदै गए पछि भने प्रचण्डले फागुन १ मा हतियार उठाएर जनता तर्साएको दिनको सम्झना गरेका छन्।

माओवादीले सशस्त्र युद्ध सुरु भएको ३० औँ वर्षगाँठ मनाइरहँदा युद्धमा नेतृत्व गरेका नेताहरू भने दशतिर फर्किएका छन्। जनयुद्ध सुरु गरेको ३ दशकमा डा.बाबुराम भट्टराई नेसपा (नयाँ शक्ति)को अध्यक्षमा निर्वाचित भएका छन्। उनी माओवादीमा छैनन्।

छिन्नभिन्न भएर शक्ति कमजोर हुँदै जाँदा जनयुद्ध शब्दमाथि नै प्रतिबन्ध लाग्ने अवस्था छ। माओवादी जनयुद्ध भनिरहँदा माओवादीकै पूर्वनेता रामबहादुर थापा बादल माओवादीले हिंसा गरेको बताउँछन्।

माओवादी यतिवेला छिन्नभिन्न भएर कमजोर अवस्था छ। प्रचण्डलाई सँगै युद्ध लडेकाहरूले छोडे। संविधान जारी गर्दा एकमत रहेका दलहरूले पनि विश्वास गर्न छोडेपछि प्रचण्डमा छटपटी देखिएको छ।

राजतन्त्र अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक व्यवस्था ल्याउन आफूले सुरु गरेको युद्धलाई हिंसा भनेपछि प्रचण्डसँगै माओवादीका नेताहरूले आक्रोश व्यक्त गरेका छन्। माओवादी भन्दै आएको जनयुद्धलाई संविधानमा सशस्त्र द्वन्द्व लेखिएको छ

पछिल्लो समय सशस्त्र द्वन्द्वलाई हिंसाको रूपमा व्याख्या गरिएपछि माओवादी नेताहरू हिंसा भन्नेहरूप्रति थप खनिएका छन्। माओवादी नेता जर्नादन शर्माले जनयुद्ध शब्दमा हजार प्रतिबन्ध लागे पनि फरक नपर्ने बताए।

प्रचण्ड सत्ताबाट बाहिरिएपछि संसद्मा समेत हिंसा शब्द प्रयोग हुँदा चर्काचर्की भएको थियो। माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धलाई एमाले नेताहरूले हिंसा र व्यक्ति हत्याको शृङ्खला भन्दै आएका छन्। सशस्त्र जनयुद्धका पूर्वसैन्य कमान्डरसमेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले केहिदिन अघि जनयुद्धलाई हिंसा नै भएको बताए।

बादलको पनि यस्तो भनाई आएपछि माओवादी नेताहरू थप चिढिएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धलाई मेटाउने दुस्साहस भएको भन्दै जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू नै खरानी हुने चेतावनी दिए।

जनयुद्धकै एक कमान्डर नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्ध नभएको भए सय वर्षसम्म देश सामन्तवादको कब्जामा हुने सुनाएका छन्। उनले जनयुद्धलाई गलत ढङ्गले व्याख्या गरेकोमा आपत्ति जनाए।

माओवादी नामबाटै टाढिएका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाउन प्रस्ताव गरेका छन्। शब्दको जुँगाको लडाइँ छोडेर फागुन १ गतेलाई राज्य र सबै दल, जनताकोतर्फबाट ‘जनक्रान्ति दिवस’ को रूपमा मनाउन भट्टराईको प्रस्ताव छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.