सांसदहरूको प्रश्नमा प्रधानमन्त्री ओलीको मजाक

सांसदहरूको प्रश्नमा प्रधानमन्त्री ओलीको मजाक

240
SHARES

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न सोध्ने सांसदहरूसँग उल्टै प्रतिप्रश्न गरेका छन्। जवाफ दिनुको सट्टा प्रधानमन्त्री ओली उल्टै प्रश्नको जवाफबाट भागेका छन्। प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कर्मकाण्डी मात्रै बनेको छ। उनले सांसदहरूको प्रश्नलाई मजाकमा उडाए। गम्भीरता देखाएनन्।

सांसदहरूका प्रश्नको उत्तर दिन रोष्ट्रममा उभिएका प्रधानमन्त्री आफैँ झर्किए। प्रधानमन्त्री ओलीलाई आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गरेको प्रश्नले संसदमा सन्नाटा नै छाएको छ।

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रमको अन्तिममा सांसद साहले ८ प्रश्न सोधेका थिए। जवाफ दिन रोष्टममा आसीन प्रधानमन्त्री ओलीले प्रश्नमा कुण्ठा, विरोध, आक्रोश र घृणा मात्रै भएको भन्दै आपत्तिजनक भने।

प्रधानमन्त्री ओलीको जवाफ सुनेर सत्तापक्षका सांसदले टेबुल ठोके भने प्रतिपक्षी सांसदहरू हासेका थिए। प्रधानमन्त्रीले जवाफ नदिएर उल्टै प्रतिप्रश्न गरे पछि उठेका सांसद साहलाई सभामुखले दोहोरी नखेल्न सचेत गराए।

सभामुखले सहज पारिदिए पछि प्रधानमन्त्री ओली सम्हालिँदै प्रश्नमै उत्तर रहेको भनेर पन्छिए।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री ओलीलाई पहिलो प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले बिचको साढे तीन वर्ष आफू सरकारमा नरहेको बरु सांसद ज्वाला भौतिक पूर्वाधार मन्त्री बनेको उल्लेख गर्दै प्रतिप्रश्न गरे।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अहिले अर्थतन्त्र कमजोर बनेको बताए पछि प्रधानमन्त्री ओलीले रुचिकर प्रश्न भन्दै कटाक्ष गरे।

संसद् भवनबाट बाहिरिने क्रममा सांसद प्रभु साहले ४ दिन अघि दिएका प्रश्न सोध्दा प्रधानमन्त्री ओलीले कानुनी शासनको उपहास गरेको आरोप लगाए। सांसद साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य पनि आजकै दिनबाट सकिएको बताए।

सांसद साहले आफूले नियमापत्ति गर्दा पनि सभामुख देवराज घिमिरेले आफूलाई बोल्नबाट बन्देज लगाएको आरोप लगाउँदै यो सामान्य कुरा होइन, भने।

प्रभु शाहले सोधेका प्रश्न :

नेपाली नागरिकता त्यागेर विदेशी हुनेहरूको सङ्ख्या कति छ? उनीहरूको पैतृक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ? ती अवैध सम्पत्तिहरूलाई राज्यको जिम्मामा ल्याउन तपाईँले के के गर्नुभयो? खुलेआम अवैध बाटोबाट ती अवैध सम्पत्तिहरू विदेश लैजाँदा रोक्न नसक्ने तपाईँलाई हामीले सक्षम भन्ने कि असक्षम प्रधानमन्त्रीज्यू ती अवैध सम्पत्तिलाई किन रोक्न रोक्नुभएन?

झन्डै ७० लाख भन्दा बढी नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन्। उनीहरूको श्रम समझौतानुसार प्रत्येक वर्ष झन्डै ४० वर्ष भन्दा बढी रेमिट्‌यान्स आउनुपर्ने हो? तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३(१४ खर्ब आउने सम्भावना छ। मेरो प्रश्न छ(हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन? के नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालाधन साट्नलाई विदेशमा मरिरहेका छन्? होइन भने सङ्ख्याको अनुपातमा रेमिट्यान्स किन आएन?

वैदेशिक रोजगारमा जाने नेपाली मजदुरहरूले विदेशमा आफ्नो ट्रेड युनियनको हक पाएका छैनन्। किन ट्रेड युनियनको हक नपाउने गरी श्रम सम्झौता गर्नुभयो? अहिलेको २१औँ शताब्दीमा नेपाली मजदुरलाई दासता र नारकीय जीवनमा धकेल्दा तपाईँहरूले के कति लाभ पाउनुभएको हो?

नेपालमा जिडिपी र राजस्वको अनुपात हेर्दा सरकारले जिडिपीको झन्डै एक तिहाइ राजस्व उठाउने गरेको छ। ५७ खर्ब जिडिपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झन्डै १४ खर्ब भन्दा बढी राजस्व उठाउने, प्रदेश सरकारले झन्डै २ खर्ब र स्थानीय सरकारले पनि झन्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको छ, जो जिडिपीको ३०५ हुन आउँछ। यसलाई कर आतङ्क नभने के भन्ने त प्रधानमन्त्रीज्यू? यो कर प्रणालीले के हाम्रो अर्थतन्त्र उँभो लाग्छ?

तपाईँले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जादैछु भनेको कहिले हो? निम्तो नै नआईकन किन जान्छु भन्नुभयो? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन? प्रस्ट पारिदिन अनुरोध गर्दछु।

यो सरकार दुई तिहाइ बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो, तर आफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहुमत नहुँदा अहिले बिचल्लीमा परेको जस्तो अनुभूति हुँदैन? सत्ता(सहयात्रामा रहेका दलले नै अध्यादेश अस्वीकार गर्ने निर्णय गरेपछि तपाई कुन नैतिकताले पदमा बस्न मिल्छ?

सङ्घीय राजधानी जोड्ने सबै राजमार्गहरू अस्तव्यस्त छन्। तपाई किन एकपटक आफै ती राजमार्ग हुँदै यात्रा गर्नुहुन्न? अहिले ती सडक(यात्राको क्रममा जनताको आन्द्रा(भुँडी खस्ने डर छ, दुर्घटनाबाट हुने क्षतिको जिम्मा कसले लिन्छ?

आवासविहीनहरूलाई घर बनाउन सुरक्षित आवास भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईँले किन आवासविहीन गरिब दलितहरूसँग मजाक गर्नुभयो?

सांसद शाहीको अभिव्यक्तिमा राष्ट्रियसभाको आपत्ति

राष्ट्रिय सभाले प्रतिनिधि सभाका सदस्य एव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)को अभिव्यक्तिप्रति खेद प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सभा बैठकले राष्ट्रिय सभाको कामकारबाहीबारे सामाजिक सञ्जाल फेसबुकमा दिएको अभिव्यक्तिप्रति खेद प्रस्ताव पारित गरेको हो।

राप्रपाका प्रमुख सचेतक शाहीले मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पारित गरेर राष्ट्रियसभाले आउने पुस्ताको उज्ज्वल भविष्य अन्धकार पारेको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा बोल्न पाउनुपर्ने स्वतन्त्रताका लागि लडेका सहिदसँगै राजा त्रिभुवनदेखि बिपी कोइराला, मदन भण्डारीसम्मको पाप लाग्ने लेखेका छन्।

राष्ट्रिय सभाको कुनै औचित्य नरहेको भन्दै वृद्धाश्रम जान लागेका बाजेलाई थन्काउने थलो भएकाले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता भएको टिप्पणी गर्नुभएको खेद प्रस्तावमा भनिएको छ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शाहीलाई आगामी दिनमा अभिव्यक्ति दिँदा गम्भीर भएर दिन निर्देशनसमेत दिए।

प्रतिनिधिसभामा गणपूरक पुगेन

संसद्मा गणपूरक सङ्ख्या नपुग्दा नेपाल नागरिकता संशोधन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन। विधेयकमाथि सामान्य छलफल सकेर गृहमन्त्री रमेश लेखकले जवाफ दिए पछि निर्णयार्थ पेस गर्ने सभामुख देवराज घिमिरेको प्रस्ताव गणपूरक सङ्ख्या नपुग्दा असफल भएको हो।

तीन मिनेट घण्टी बजाएर गणना गर्दा आवश्यक ६९ मा ६८ जना मात्रै सांसद उपस्थित रहेकाले बाँकी कार्यसूची अगाडी बढ्न सकेन। कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको छ।

सांसदहरू हाजिर गर्ने, बोल्ने पालो भए बोलेर टाप ठोक्ने प्रवृत्तिका कारण गणपूरक सङ्ख्या पुर्‍याउन प्राय धौधौ पर्ने गरेको छ। आइतबारको बैठकमा पनि सांसदहरू टाप ठोकेपछि गणपूरक सङ्ख्या पुगेन। बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.