काठमाडौँ — त्यो दिन आमा शशिकला पन्तका आँखा ओभाएनन्। उनी निकै दिन अविश्रान्त रोइरहिन्। आमा किन रोइन्? सुनिलबाबु पन्त ठम्याउँछन्, ‘सायद छोराले तिरस्कार भोग्नुपर्ला भनेर!’ आमा नबोलीकन एकोहोरो टोलाउन थालिन्। सुनिलबाबु अड्कल काट्छन्, ‘सायद समाजले छोरालाई छिःछि र दुरदुर गर्ला भनेर होला।’ परिवारले सम्झाउँदा पनि आमाका अश्रुशृंखला रोकिएनन्।
आमा रुवाउने मन सुनिलबाबुको कहाँ थियो र? न चाहन्थे, आमाका गह भरिएका आँखा हेर्न! तर, छोराका लागि बुनेका सपना एकाएक उध्रिए। छोराका लागि साँचेका रहर एकाएक टुक्रिए। आमाको चाहना थियो, ‘जवान छोरासँगै घरमा बुहारी भित्र्याउने। अनि नातिनातिना हेर्ने।’
बेलाबेलामा भन्थिन्, ‘अब त बिहे गर्नुपर्छ।’ आमाले मात्र हैन, परिवार र आफन्तहरूले पनि त्यही इच्छा राख्थे। त्यो त समाजको इच्छा थियो, सुनिलबाबुको थिएन। उनी एकमुष्टलाई भन्न चाहन्थे, मनका कुरा। बुझाउन चाहन्थे आफ्ना कुरा। तर सोच्थे, ‘भन्ने कसरी ? बुझाउने कसरी?’ डरको सिलसिला कहिलेसम्म भन्ने प्रश्नले ठुँगिरहन्थ्यो।
सन् २००१ तिर, सुनिलबाबुले लैंगिक तथा यौनिक अल्पसंख्यकका अधिकारका लागि लड्ने संस्था ‘नील हीरा समाज’ स्थापना गरे। यौनिक अल्पसंख्यकहरूलाई मजबुत बनाउन उनी विभिन्न अभियान गर्दै थिए। एक दिन साथीहरूलाई आत्मविश्वास जगाउँदै भने, ‘तपाईंको फोटो र नाम गोप्य हुन्छ, आफ्नो कथा भन्नुहोस्।’ उनले अन्तर्वार्ताका लागि पत्रकार बोलाए। तर, बोल्न तयार पारेर राखिएका साथीहरू एकाएक गायब भए। सुनिलबाबुलाई लड्नु थियो। यौनिक अल्पसंख्यकका मुद्दा स्थापित गर्नु थियो। पत्रकारले भने, ‘उसो भए तपाईं नै दिनुस्।’ आफैंले नभनेसम्म अरू नआउने रहेछन् भन्ने सुनिलबाबुले बुझे। अनि अन्तर्वार्ता दिए।
अंग्रेजी पत्रिकामा दिएको अन्तर्वार्ता सीमित मान्छेले पढे। विशेषगरी ‘बौद्धिक सर्कल’ मा उनको लैंगिक पहिचानबारे थाहा भयो। गाउँसम्म पुग्न पाएन। त्यसपछि अर्को अन्तर्वार्ता कान्तिपुर साप्ताहिकमा प्रकाशित भयो। उनले आफ्नो पहिचान बताउँदै भने, ‘म समलिंगी पुरुष हुँ।’ लामा वर्षहरूको उकुसमुकुस र सुस्केरालाई उनले एकैशब्दमा बिसाए। खबर सहरदेखि गाउँसम्म फैलियो। दिदीले पत्रिका पढेर झस्किइन्। घरमा बा–आमालाई पढेर सुनाइन्। बाले त केहीबेर चिन्ता लिए। पछि सामान्य माने। आमाका अश्रुधारा बग्न भने रोकिएनन्। आफन्तहरू आए। सम्झाइबुझाइ गरे। र भने, ‘बिहे गराइदियो भने ठीक हुन्छ।’ लैंगिक अल्पसंख्यकको पहिचानको लडाइँमा होमिइसकेका सुनिलसँग अब कुनै डर थिएन। उनले घरमा सम्झाउँदै भने, ‘अबदेखि विवाहको कुरा लिएर नआउनू।’
त्यो दिन शशिकलाको अनुहार उज्यालिएको थियो। जुन दिन छोरा सुनिलले जीवनसाथी घर लिएर आए। सुनिलका ‘पार्टनर’ थिए बेलायती नागरिक पिटर मिल। उनी ब्रिटिस प्रोजेक्टमा काम गर्थे। ‘जब म खुलेर आएँ, त्यसपछि पिटरसँग भेट भयो। हामी काठमाडौं घरमा सँगै बस्न थाल्यौँ,’ उनी सुनाउँछन्। आमाले बुहारी हैन, छोराको साथमा जीवनसाथी चाहेकी रहिछन्। त्यसपछि त उनी ढुक्क भइन्। छोरासँगै बसेका बाआमा पिटरका साथ पाउँदा थप रमाउन थाले। पिटरबाट बा आमाले थुप्रै कुरा सिके। अनि बाआमाबाट पिटरले। उनीहरूले एकअर्काका संस्कृति बाँडे, प्रेम बाँडे। लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचानलाई पनि उनीहरूले नजिकबाट बुझे। पिटरलाई सन्चो नहुँदा सुनिलबाबु मात्र हैन, बाआमा पनि दुख्थे। हँसिलो अनुहारमा उनीहरू पनि रमाउँथे। साँच्चै, बा आमाले पिटरलाई पनि सुनिललाई जस्तै स्नेह गर्न थालेका थिए।
सुनिल ०२९ सालमा गोरखाको गाईखुरमा जन्मिए। बा रामजी पन्त स्कुलका शिक्षक थिए। आमा शशिकलाको दैनिकी गाउँमा भारीसँगै उकालीओराली गर्दैमा बित्थ्यो। छोरीपछि छोरी जन्मिँदा परिवार र समाजमा शशिकलाले छोरा पाउनुपर्ने दबाब झेलिन्। त्यही दबाबस्वरूप तीन दिदीपछि दाइ अनि सुनिलबाबु जन्मिए। सबैको मायामा हुर्किए सुनिल। सन्तान हुर्काउनमा शशिकलाले कुनै कसर बाँकी राखिनन्। आमाका खाली कुर्कुच्चा, पटपटी फुटेका हात र टाउकोमा गह्रुगो भारी। पछिसम्म पनि सुनिलले यही देखिरहे। ‘लाग्छ, आमाले कहिल्यै आफ्नो लागि बाँच्नुभएन,’ सुनिल सम्झन्छन्।
सुनिल आफ्ना लागि आमा दुखेको पनि सम्झन्छन्। एक पटक उनी लडेर शरीरमा चोट बोकेर आए। त्यो देखेर आमा अत्तालिइन्। रुन थालिन्। ‘हाम्रो सानो चोटले पनि आमालाई धेरै दुखाउँदो रहेछ,’ उनी ठम्याउँछन्। सुनिल हुर्कंदै गर्दा पछिसम्म पनि आमालाई पछ्याइरहन्थे। आमा कतै गए उनलाई पनि सँगै जानुपर्थ्यो। जान नपाउँदा रुने र घुर्की लगाउने उनको स्वभाव थियो। एकपल्ट बा आमा काम परेर काठमाडौं हिँड्न थाले। सुनिलबाबुले रुँदै भने, ‘म पनि सँगै जान्छु।’ बाआमाले फकाउन खोजे। उनले मानेनन्। बरु उल्टै घुर्की लगाउँदै भने, ‘मलाई नलगे हराइदिन्छु।’
समय सधैं एकनास रहँदैन। आमालाई के थाहा? त्यतिबेला घुर्की लगाउने छोरा कुनै दिन ठूलो हुन्छ। करिअरका लागि कहाँकहाँ पुग्छ। वर्षौं हराइदिन्छ। अनि कागजमा अक्षर गुँथेर पठाउँछ। आमाका आँखाहरू चिठीमा छोरालाई महसुस गर्न महिनौंदेखि प्रतीक्षारत हुन्छन्। खैर, सुनिल आमाको बाटो कुरिरहेको रुन्चे बालकतर्फ फर्कन्छन्। एकपल्ट आमा माइत गइन्। उनी रुँदै आमा आउने बाटो हेरिरहे। राति आमासँगै सुत्ने बानी। आमाबिनाका रात सजिलै कट्दैन थिए। भोक न निद्रा लाग्थ्यो। दिदीहरू सम्झाउन खोज्थे। ‘दिदीहरूले जति माया गरे पनि आमा हुनुजस्तो त कहाँ हुन्थ्यो र ?,’ उनी सम्झन्छन्।
सुनिलले विस्तारै अरू केटाहरूभन्दा आफूलाई फरक महसुस गर्न थाले। किशोरवयमा हुर्कंदै गर्दा साथीहरू केटीप्रति आकर्षित हुन्थे, जिस्काउँथे। तर उनलाई त्यो मन पर्दैन थियो। उनलाई भने केटाप्रति नै प्रेमभाव पलाउन थाल्यो। आफूमा आइरहेको परिवर्तन उनले आफूभित्रै गुम्साए। सुनिललाई मन पराउने केटी साथी पनि थिए। उनीहरू होमवर्क सिकाउने बहानामा उनको नजिक पर्थे। तर उनीहरूप्रति उनलाई कुनै आकर्षण थिएन। उनी केटासँगै प्रेमको कल्पना गर्थे। रोमाञ्चित हुन्थे। यो कुराले उनीभित्र डर पैदा गर्न थाल्यो। ‘लैंगिक तथा यौनिक अल्पसंख्यकलाई अपाच्य शब्द प्रयोग गर्ने समाजमा म आफूलाई कसरी खुलाउन सक्थेँ ?,’ उनी सुनाउँछन्। आफ्नो पहिचानका बारेमा कसैले थाहा पाउला कि भन्ने डरले डसिरहन्थ्यो। कुनै रात आँखाहरू भिजाइरहन्थ्यो। त्यसैले उनी यो समाजबाट जति सक्दो छिटो भाग्न चाहन्थे। जान चाहन्थे टाढा। अन्ततः २०४७ मा उनी बीकम पढ्न युक्रेन गए। त्यहाँ पनि आफ्नो भावना कसलाई पोख्ने ? ‘साथीहरूलाई शंका नहोस् भनेर गर्लफ्रेन्ड पनि बनाएँ। तर सम्बन्ध कुनै टिक्दैन थियो,’ उनी सम्झिन्छन्। सम्बन्ध नटिकेको देखेर साथीहरू ठट्टा गर्दै उनलाई भन्थे, ‘यो पन्तले कति गर्लफ्रेन्ड फेर्छ।’
यो सकसलाग्दो दुनियाँमा उनी उकुसमुकुस थिए। उनी आफूलाई भुलाउन पुस्तकालय जान्थे। त्यहाँ दर्शनमा थुप्रै पुस्तक पढे। पुस्तकले उनको मनलाई धेरै राहत दिए।
एकपल्ट मेडिकल चेकअपका लागि सुनिलबाबु एक क्लिनिकमा पुगे। क्लिनिकमा टाँगिएका ‘होसियार’ शब्द उनका लागि हतियार जतिकै धारिला लागे। लेखिएको थियो, ‘ड्रग्स खानेहरूसँग होसियार, यौनकर्मीसँग होसियार, समलिंगीसँग होसियार…।’ त्यो दिन पहिलो पटक उनले समलिंगी शब्द सुने। ‘समलिंगी हुनु ठूलो अपराधजस्तो रहेछ,’ उनी त्यो कस्टपूर्ण क्षण सम्झन्छन्। यतिन्जेल उनले आफू जे हुँ त्यो कहिल्यै देखाउन सकेनन्।
उनी अध्ययनका क्रममा जापान गए। त्यहीँ गएपछि हो, सुनिलबाबुले आफ्नो पनि अस्तित्व छ भन्ने ठानेको। आफ्नो पनि अधिकार छ भन्ने बुझेको। आँट बढाएको। आफू हैन, समाजको दृष्टिकोण गलत छ भनेर निर्क्यौल गरेको। ‘त्यहाँ थुप्रै लैंगिक अल्पसंख्यकहरूसँग भेट भयो। उनीहरूले खुलेरै सम्मानजनक जीवन बाँचिरहेका छन्। त्यसपछि ममा हैन, समाजको आँखामा समस्या छ भन्ने ठानेँ,’ उनी सुनाउँछन्। डरैडर र हिनताबोधमा जीवन बाँचिरहेका सुनिल हिम्मत बढाएर नेपाल फर्किए। त्यसपछि एमफिलका लागि हङकङ गए। त्यहाँ उनले क्लब, रात्रि जीवनका बारेमा थाहा पाए। तर हङकङमा पुनः निराश भए। ‘यहाँ लैंगिक अल्पसंख्यकहरूको जीवन यौनको वरिपरि घुम्ने रहेछ ठानेँ। अनि हङकङ छाडिदिएँ,’ उनी सुनाउँछन्।
हङकङबाट प्रशस्त अवसर त्यागेर नेपाल फर्किएको छोरा अचानक भिक्षु अवतारमा देखियो। आमालाई छोराको भिक्षु अवतारले झस्कायो। उनी भिक्षु बन्न हिँडे। शशिकला नराम्रोसँग रोइन्। ‘आमा धेरै रोएपछि नमज्जा लाग्यो, जान सकिनँ,’ उनी सम्झिन्छन्। संन्यासी बनेर छोराले सम्बन्ध तोड्छ भन्ने तोड परेको थियो आमालाई। उनी आमाकै आँसु देखेर रोकिए। त्यसपछि सोचे, ‘अब आफ्नै समुदायका लागि काम गर्छु।’ नाम राखे, नील हीरा समाज। उनले लैंगिक तथा यौनिक अल्पसंख्यक खोज्न थाले। रत्नपार्क, पशुपतिमा कतिपय यौनकर्ममा थिए। उनीहरूका कथा सुने। ‘कसैलाई घरबाट निकालेको कथा छ, कसैलाई बलात्कार गरेको कथा छ। कसैलाई ब्ल्याकमेल गरेको छ,’ उनी भन्छन्, ‘ती हृदयविदारक थिए।’
उनी एक जना पात्र सम्झन्छन्। त्यतिबेला दोहोरी साँझमा महिला राख्ने चलन थिएन। ती पात्र केटी बनेर दोहोरी साँझमा नाच्थिन्। ‘राति नाच्ने कुरा घरमा भनेको रहेनछ। एक दिन साथीहरू वियर खान आउँदा उनलाई त्यहाँ देखेछन्। कुटपिट गरेर अनुहारमा घाउ भएछ,’ उनी सुनाउँछन्, ‘अब आफू समाजमा घृणाको पात्र हुन्छु भनेर उनले आत्महत्या गरिछन्।’ एक जना समलिंगी बैंकको जागिरे थिए। १५ वर्षदेखि उनको मासिक पारिश्रमिकको आधा प्रतिशत एक जनाले ब्ल्याकमेल गरेर खाँदो रहेछ। यस्ता थुप्रै विभेद र शोषणाका घटना उनले सुने, देखे। त्यसपछि निर्णय गरे, ‘अब संगठित भएर लाग्नुपर्छ।’
संस्था दर्ताका लागि उनले लैंगिक अल्पसंख्यक साथीहरूलाई अनुरोध गरे। नागरिकताको फोटोकपी पटक–पटक ल्याउन भने। तर उनीहरू हच्किए। ‘मैले भिनाजु, बाआमा, दिदीहरूको नागरिकताको फोटोकपी लगेर दर्ता गरेँ,’ सुनिल सुनाउँछन्। नील हीरा समाजले लैंगिक अल्पसंख्यकको अधिकारका लागि थुप्रै संघर्ष गर्यो। अधिकार प्राप्ति हुँदै गयो। कानुनमा हक र अधिकार समेटिँदै गए। यही सिलसिलामा सुनिलबाबु नेकपा संयुक्तबाट पहिलो संविधानसभाको सदस्यसमेत निर्वाचित भए। पहिलो चरणमा संविधान बनेन। तर उनले गरेको यत्नले संविधानमा लैंगिक अल्पसंख्यकका अधिकार समेटिए। उनको यो कदमबाट बा आमा सधैँ प्रफुल्लित रहे।
उनी संविधानसभा सदस्य हुँदाताका नै पिटरसँग प्रेमसम्बन्धमा थिए। त्यो प्रेमले परिवारको आकार लियो। प्रेमले फैलाइरहेको सुनिलको खुसी लामो समयसम्म भने टिकेट। सुखद् चलिरहेको सम्बन्धको अन्त्य साह्रै दुःखद् रह्यो। नेपालमा हुँदा नै पिटर बिरामी हुन थाले। उनमा न्युरोलोजिकल बिमार बढ्न थाल्यो। रिँगटा लाग्ने, पिसाब लागिरहने र अचानक बेहोस हुने। ‘पिटरको उपचारका लागि म बेलायत गएँ। हामी उतै बस्न थाल्यौँ,’ उनी सुनाउँछन्। पिटरका लागि उनले प्रार्थना नगरेका दिन थिएनन्। ५ वर्ष त पिटर स्याहार्दै बित्यो। हाँसेर बोलिरहने पिटर अचानक बोल्न नसक्ने भए। खान नसक्ने भए। उनी झन्झन् गल्दै गए। अन्ततः पिटरले आफ्नो अन्तिम श्वास सुनिलकै काखमा बिसाएर बिदा भए।
पिटरको बिदाइ, सुनिलबाबुका लागि पीडाको चरमबिन्दु थियो। पिटरसँग बिताएका हरेक क्षणहरू सुनिलबाबुका आँखामा बग्न थाले। पिटर हुँदाको कोठा, नहुँदा निस्सार थियो। बेलाबेला हतारिँदै तरकारी किन्न जान्थेँ। ‘अब त पिटर नै छैन। कसका लागि हतारिनु,’ उनी भित्रभित्रै गले। कति महिना त आँखा ननिदाई बिते। र, कति महिना घण्टौँ सुतेर पनि। उनी लन्डन सिफ्ट भए। जहाँ पुगे पनि पिटर उनका आँखाबाट हटेनन्। प्रेमध्वज प्रधानको गीतको अन्तरा जस्तै– ‘पहाडमा पनि शान्ति छैन, तिम्रो याद नआउने कुनै ठावैँ छैन।’
उनी पुनः भिक्षु अवतारमा देखिए। २ वर्ष ३ महिना ध्यान गरेर बसे। लामो समय ध्यान गरेपछि मन सन्चो भयो। पुनः लयमा आए सुनिल। त्यसपछि बल्ल नेपाल फर्किए। अहिले उनी बालुवाटारस्थित घरमा बाआमासँगै छन्। आमा शशिकला चाहन्छिन्, ‘अब छोरा आँखाबाट पर नजाओस्।’ ८१ वर्षकी आमालाई सन्तानप्रतिको आसक्ति रत्तिभर कम छैन। उनी बा आमाका अनुहारमा हेर्छन्। अनुहार मुजा परेका छन्। छोरा हुँदा ती मुजाहरू खुसी भएर खुम्चन्छन्। बुढ्यौली चढ्दै गरेका बा आमाबाट उनी पनि टाढा हुन चाहन्नन्। बरु पछुतो छ, ‘यतिका वर्ष किन टाढा भएँ।’
घरबाहिर जाँदा आमा सोधिरहन्छिन्, ‘कतिबेला आउँछौ?’ कतै पुग्नुभन्दा पहिले नै आउँछ आमाको फोन। सोध्छिन्, ‘कहिले फर्किन्छौ।’ सुनिललाई लाग्छ, ‘मेरो पनि त अब बाआमाबाहेक को छन् र?’ उनी बाआमाले खाने औषधिको समय नाघ्न दिँदैनन्। सायद चाहन्छन्, ‘घट्दै गरेको बाआमाको उमेर अझै बढ्दैबढ्दै जाओस्।’
कान्तिपुर दैनिकमा समर्पण श्रीको यो फिचर स्टोरी प्रकाशित भइसकेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.