काठमाडौँ : नक्कली भुटानी शरणार्थी मुद्दामा धरौटीमा रिहा भएका रामशरण केसी काठमाडौँ जिल्ला अदालतको तारेखमा अनुपस्थित भएका छन्। अदालतले केसी उपस्थित नभएकाले मुद्दाको पेशी नतोकिएको जनाएको छ। केसीले तारेख गुजार्दा मुद्दाको पेशी तोकिने समय अनिश्चित बनेको छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा पुर्पक्षका लागि कारागार चलान भएका केसी उच्च अदालतको आदेशमा १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। उच्चको आदेशमा रिहा भए पनि केसी काठमाडौँ जिल्ला अदालतको तारेखमा छन्।
तर, उनी सोमबार तारेख बुझ्न अदालत गएनन्। केसी अनुपस्थित हुँदा मुद्दाको पेशी तोक्न ढिलाइ भएको छ। धरौटीमा रिहा भएका नक्कली शरणार्थी प्रकरणका आरोपी अब फागुन २५ मा काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुपर्नेछ।
बिचौलियाको भूमिका खेलेका केसी उपस्थित भए २५ फागुनमा भुटानी शरणार्थी मुद्दाको पेशी तोकिने अदालत प्रशासनले जनाएको छ। अमेरिका पठाउने भन्दै रकम बुझाएका पीडितहरूले १९ जेठ ०७९ मा प्रहरीमा पुगेका दिएका थिए।
उजुरी परेको एक वर्ष पछि १० जेठ २०८० मा काठमाडौँ जिल्ला अदालतमा सङ्गठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखत किर्तेसम्बन्धी मुद्दा दायर गरिएको थियो। पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल लगायत ३० जनाविरुद्ध मुद्दा दायर भएको थियो।
यो प्रकरणका मुख्य बिचौलिया बेचेन झा गत १४ असारमा पक्राउ परेका थिए। उनी अदालतको आदेशमा कारागारमा छन्। काठमाडौँ जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा दिएको निवेदनमा रिहा नहुने आदेश पाएका बेचेन सर्वोच्च अदालत पुगेका छन्।
सर्वोच्च अदालतले बेचेनको बन्दीप्रत्यक्षीकरण मुद्दामा सम्बन्धित मिसिल इजलास समक्ष देखाउन भनेको छ। न्यायाधीश शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको ४ फागुनको इजलासले पेसीका दिन इजलास समक्ष देखाई फिर्ता लैजाने गरी काठमाडौँ जिल्ला अदालतबाट झिकाई नियमानुसार पेस गर्ने आदेश दिएको छ। सर्वोच्चले यसअघि निलम्बित गृह सचिव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.