"/>
काठमाडौं : नेपालमा बंशतन्त्र फालेर व्यक्तितन्त्र सुरु भएको छ। व्यक्तितन्त्र र नेताराजको विरुद्धमा नागरिक फेरी सडकमा उत्रने तयारीमा लागेका छन्। बेथिति, विसङ्गति, भ्रष्टाचार अन्त्यका लागि बृहत् नागरिक आन्दोलनले सडकमा उत्रनुपर्ने आवश्यकता औँल्याएको हो।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर आन्दोलनले नागरिक चेतना जगाउन सकेमा दलहरूलाई तह लगाउन सकिने बताएको छ। तह नलाग्ने दलहरू आफैँ फालिने राजनीति शास्त्री एवं प्राध्यापक कृष्ण खनालले बताए।
देशमा तीन जना शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राज चलेको नागरिक आन्दोलनले ठहर गरेको छ।
दोस्रो पुस्ताका नेता पनि भक्तिगानमा सीमित बनेका छन्। नागरिकले आशा गरेका नेताहरू पनि पद पाउनका लागि सम्झौतामा लागेका छन्। दलहरू अनुत्तरदायी भएका छन्।
भ्रष्ट नेतालाई अनुमोदन गर्न मात्र मिसन ८४ को नारा लागेको खनालले बताए। खनालका अनुसार पार्टी असफल भएको होइन, नेता असफल भएका छन्।
व्यक्तिगत राज चल्दासम्म लोकतन्त्रको अनुभूति गर्न सकिँदैन। नागरिक यतिवेला फुटाऊ र राज गर भन्नेहरूको चपेटामा परेका छन्।
ब्युटीफुल माइन्डेट अर्थात् योग्यता र क्षमतावान्लाई देशमा टिक्न नदिने नेताहरूको राजविरुद्ध खबरदारी सुरु भएको हो। जात व्यवस्था अन्त्यको घोषणा भए पनि देशमा अन्तरजातीय विवाह गर्नेलाई राज्य कठालो समाइरहेको छ।
नेताहरूले भोटको अपमान गरेका छन्। योग्यता र दक्षता भन्दा चाकडी र चाप्लुसी मौलाएको छ। नेताहरूको छत्रछायामा रहे मात्र अस्तित्व छ नत्र छैन।
राणा शासनमा पासपोर्ट खुला गरिदिएको भए अहिले पनि देशमा प्रजातन्त्र नआउने नागरिक आन्दोलनले स्मरण गरेको छ। देशको नेता हुनुपर्ने पार्टीको नेता बनेका छन्।
नेताहरूले गरिब हटाउन खोइ शक्ति प्रदर्शन गरेको? देशमा युवा जनशक्ति टिकाउन खोइ शक्ति देखाएको? नेताहरूप्रतिको असन्तुष्टि चिया चौतारामा मात्र सीमित भइरहेको भन्दै अब सडकमा देखाउने बेला भएको बृहत् नागरिक आन्दोलनले बताएको छ।
ठुलो बलिदान र सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रमा नेताराज हाबी भएको भन्दै त्यसको अन्त्य गर्न खबरदारी गर्ने आन्दोलनले जनाएको छ। ‘हामीलाई नेताराज स्वीकार्य छैन। हामी यो विषवृक्ष ढाल्न चाहान्छौं’ पत्रकार सम्मेलनमा सार्वजनिक विज्ञप्तिमा भनिएको छ।
फागुन ७ वि.स.२००७ सालमा जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातान्त्रिक व्यवस्था स्थापना भएको दिनको सम्झनामा बुधवार प्रजातन्त्र दिवस मनाइदैछ।
प्रजातन्त्र स्थापना भएको ७ दशक बढी भएको छ। यसबिचमा प्रजातन्त्रको घाँटी निमोठ्दै उदाएको निरङ्कुश राजतन्त्रको अन्त्यको लागि २०४६/०४७ को जनआन्दोलन, दश वर्षे सशस्त्र युद्ध हुँदै २०६२/०६३ को आन्दोलन भयो।
राजतन्त्र अन्त्य गर्दै उदाएको सङ्घीय लोकतान्त्रिक व्यवस्थामा पनि राजनीतिक बेथिति र दलीय सत्तास्वार्थ तथा नागरिकप्रति अनुत्तरदायी प्रवृत्ति बढेपछि नागरिक समाजले फेरी खबरदारी बढाउने भएको हो।
बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार र सत्तास्वार्थको जालो मिल्काउन, राजनीतिलाई निष्पक्ष र अर्थपूर्ण बनाउन नागरिकहरू फेरी देशैभर जाग्ने समय आएको उल्लेख गर्दै नेताराज अन्त्यको अभियानमा सबै नागरिकलाई देशव्यापी अगाडी बढ्न आह्वान गरेको छ।
नागरिक आन्दोलनले राजनीतिक दल, संसद् र सरकार समक्ष विभिन्न ६ बुँदे माग पनि अघि सारेको छ।
दलहरूको बेथिति रोक्न विद्यमान राजनीतिक दलसम्बन्धी कानुनमा पुनरावलोकन गर्नुपर्ने, दल छुट्टिने र गाभिने प्रावधान स्पष्ट र पारदर्शी हुनुपर्ने, दलको चन्दा, आर्थिक सहयोग, दानको सीमा आदी आर्थिक पारदर्शिता हुनुपर्ने विषय आन्दोलनले उठाएको छ।
एकै व्यक्ति पटक पटक प्रधानमन्त्री हुने खेल अन्त्य गर्न माग गर्दै दुई पटक भन्दा बढी एक व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न भनिएको छ।
संविधानले नै निर्देश गरेको महिला, दलित, जनजाति, अपाङ्गता भएका, यौनिक तथा लैङ्गिक समुदाय वा सीमान्तकृतले पाउनुपर्ने समानुपातिक प्रतिनिधित्व नेताराजको लागि लेनदेनको साधन वा फगत “ट्याउँट्याउँ” बनेको नागरिक आन्दोलनको निष्कर्ष छ।
गणतन्त्रविरुद्ध धावा बोल्ने समय पर्खेर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले अब सबै देशवासीले राजतन्त्रलाई साथ दिने समय आएको बताएका छन्।
उनले राष्ट्रको हितमा उदारता राख्दै आएको, जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुखसुविधालाई पनि त्याग गरेका भन्दै अब चुप नलाग्ने चेतावनीपूर्ण सन्देश जारी गरेका हुन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.